समाचार आक्रमण
लाखौँ–करोडौँ भ्युअर्स र फलोअर्स बनाउन पाइयोस् । सारा दर्शकश्रोतालाई समाचारको आनन्द र शत्रुविरुद्ध उत्तेजना जगाउन सकियोस् र प्रतिस्पर्धी मिडिया सबैलाई उछिनेर एक नम्बर हुन पाइयोस् ।
एक जना कर्मकाण्डी पुरेत रहेछन् । कसैले सोध्यो रे, “बाजे घरमा कति माउ गाई छन् ?” उनले जवाफ दिए रे, “उन्नाइस छन्, एक मरेपछि बीस हुन्छन् ।” प्रश्नकर्ता छक्क परेको देखेर पुरेतले प्रस्ट पारेछन्, “अब गाउँमा एक जना कोही मर्यो भने थप एउटा गाई दान पाइन्छ, अनि बीस हुन्छन् ।”
हाम्रा पेसा व्यवसाय पनि अनेक थरीका छन्, अरुको नोक्सान हुँदा आफूलाई नाफा हुने । मान्छेलाई असफलताले घेरे ज्योतिषीको अफिसमा भीड लाग्ने । रोगव्याधि जति बढे डाक्टरको बैंक ब्यालेन्स त्यति नै बढ्ने । मुद्दामामिला जति चर्क्यो उति वकिल बलिया हुने । धेरै छन् त्यस्ता व्यवसाय । गर्न जान्यो भने पत्रकारिता पेसा पनि त्यस्तै रहेछ । मान्छेको मुटुमा ढ्यांग्रो बजाएर सफलता प्राप्त हुने । नेपाली मिडिया पनि मन्द गतिमा त्यस दिशातिर पाइला चाल्दैछन् तर उनीहरुले छिमेकी भारतबाट धेरै कुरा सिक्न बाँकी छ । त्यहाँ त मिडियाले समाचार प्रहार गरेरै जनताका ज्यानमा काँडा उमार्ने मात्र होइन, उस्तै परे भाला बोकेर सडकमा उतार्ने क्षमता राख्दा रहेछन् ।
भर्खरै भारत–पाकिस्तान द्वन्द्व भएका बेला दौडादौड, हस्याङफस्याङ र उनीहरुले प्रसारण गरेका समाचार हेर्दा यस्तो लाग्थ्यो– धन्य ! यसपालि लडाइँ भयो र संसारलाई मिडियाको शक्ति प्रदर्शन गर्न पाइयो । लडाइँले त दुई देशबीचको सिमाना मात्र थर्कियो, मिडियाका समाचार आत्रमणले संसारै थर्कियो । त्यसमा पनि हामीजस्ता छिमेकमा बसेर मिडियाको भर पर्नेहरुलाई त लाग्यो– अब पाकिस्तान माटोमा मिल्छ र हामी छिमेकी हावामा हराउँछौँ ।
भारतीय पत्रकारको देशभक्तिपूर्ण समाचारले भन्थ्यो, पाकिस्तानले अझै निहुँ खोजोस् र त्यसलाई ठीक पार्न भारतले लडाइँ छेडोस् । घोर घमासान होओस् । पाकिस्तानले बन्दी बनाएका पाइलटलाई यातना देओस्, उनले यातनाको प्रतिरोध गरुन्, बरु ज्यानै दिऊन् तर माफी नमागून् । जवाफमा भारतले अझ कडा आक्रमण गरोस् ।
पत्रकारले दुई देशको विवादको आगोमा टिनका टिन घिउ खन्याइरहेका बेला पाकिस्तानी प्रधानमन्त्रीले अचानक ती पाइलटलाई रिहा गरेर लडाकू मिडियाको खेतीपातीमाथि असिना वर्षाइदिए । तैपनि लडाकूले हार मानेनन् । दौडादौड गर्दै उनीहरु पाइलट छुटेर स्वदेश छिर्ने गौँडामा थुप्रिए र पाकिस्तानतिर क्यामेरारुपी मेसिनगन तेर्स्याएर आक्रमण सुरु गरे । पाइलटलाई पठाउन आधा घन्टा ढिलो हुँदा षड्यन्त्रकारी पाकिस्तान ‘मुर्दावाद–मुर्दावाद’ भन्दै सराप्न थाले । पाकिस्तानले षड्यन्त्र गर्न खोजेको हो भने भारतले तुरुन्त आक्रमण गर्नुपर्छ भनेर लडाइँका लागि सरकारलाई हौसला पनि दिए । उनीहरु चाहन्थे, भयंकर लडाइँ होस् र मैदानमै गएर मिनेट–मिनेटका एक्सक्लुसिभ समाचार जनतालाई सुनाउन पाइयोस् । दनादन रिपोर्टिङका भिडिओ बनाउँदै युट्युबमा अपलोड गर्न पाइयोस् । लाखौँ–करोडौँ भ्युअर्स र फलोअर्स बनाउन पाइयोस् । सारा दर्शकश्रोतालाई समाचारको आनन्द र शत्रुविरुद्ध उत्तेजना जगाउन सकियोस् र प्रतिस्पर्धी मिडिया सबैलाई उछिनेर एक नम्बर हुन पाइयोस् । त्यस्तो अदम्य उत्साह, जोस र जाँगर लगाएर भोकप्यास, घामपानी, दिनरात नभनी क्यामेरायुद्ध छेडेर पाकिस्तानलाई घुँडा टेकाई पाइलटलाई उनीहरुले रिहा गराइछाडे । पाइलटले पनि देशमा फर्केर मिडियाहरूको महान् देशभक्तिको प्रशंसा गर्दै भनेको कुरा हाम्रा मिडियाले पनि मनन गर्न र सिक्न लायक छ । उनले भनेका छन्, “भारतीय लडाकू मिडियाहरु महान् छन् । तिललाई पहाड बनाउँछन्, समाचारको डढेलो लगाउँछन् र देशलाई त्यसमा सेकाउन चाहन्छन् ।”
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...