अपरिपक्व प्रयास (फिल्म समीक्षा : द म्यान फ्रम काठमाडौँ)
द म्यान फ्रम काठमाडौँको अन्त्यतिर जोसे म्यान्युल भन्छन्, 'यहाँको सबै सिस्टम गलत छ ।' यो तीर फिल्मतिरै सोझ्याउन सकिन्छ । किनभने, फिल्मको हालत पनि करिब-करिब यस्तै छ ।
राजनीति र अपराध जोडिनु घातक हुन्छ । तर घरी-घरी हामी यही विडम्बनाबाट पिल्सिरहेका छौँ । अझ त्यसमा धर्म मिसियो भने स्थिति कति भयावह होला ? नेपाली समाजले अहिलेसम्म खास भोग्नुनपरेको तर त्यसका संकेत देखापरिसकेको यही विषय उठाइएको छ, फिल्म द म्यान फ्रम काठमाडौँमा । फिल्ममा धर्मको आडमा आपराधिक हर्कतमार्फत आफ्नो निहित स्वार्थपूर्ति गरेर राजनीतिक आवरणले ढाकछोप गर्नेसँग रस्साकस्सी छ ।
निर्देशक पेमा धोन्डुपले यति फराकिलो र संवेदनशील कथा त रोजे तर प्रस्तुति अब्बल हुन सकेन । हरेक पात्र र घटना सतही लाग्छन् । फिल्ममा बलिउडका गुल्सन ग्रोबर, पाकिस्तानका हमिद शेख र अमेरिकी कलाकार जोसे म्यानुअल मुख्य भूमिकामा छन् ।
अमेरिकामा बस्छन्, फैजल (जोसे) । उनकी आमा हिन्दु, बुबा मुस्लिम । तर बुबा गायब छन् । परिवारका सबै सदस्य बुबालाई नराम्रो भन्छन् तर फैजलचाहिँ योद्धा मान्छन् । बुबासँग भेट्ने मिसनमा उनी केही दिनका लागि काठमाडौँ आउँछन् । यहाँ एकपछि अर्को लफडामा फस्छन् । आतंककारी संगठन आईएसआईका लडाकू बनेका भनिएका बुबालाई भेट्न फैजल सफल होलान् या उनको जीवनको उद्देश्य नै बदलिन्छ ? यिनै सवाल वरपर घुमेको छ, फिल्म ।
मुस्लिम भएकै कारण फैजलले पाइलैपिच्छे अमेरिकामा विभेद र अपमान बेहोर्नुपर्छ । त्यसैले अमेरिकाप्रति चरम घृणा छ उनमा । पटकथासमेत लेखेका निर्देशक पेमाले फैजल माथिका दुव्र्यवहारका दृश्यलाई मूर्त ढंगले देखाउन सकेका छैनन् । समुद्री किनाराको झगडामा पनि फैजलप्रति खास अनुराग पैदा हुन्न ।
उनको कुरा सुन्दा बाबु हराएको गहिरो चोटमा छन् जस्तो लाग्छ । तर त्यो पीडा दर्शकसम्म प्रवाह हुन्न । मुस्लिम धर्मावलम्बी नेता अबु मिया (गुल्सन ग्रोबर), हिन्दु धार्मिक नेता पण्डित (हमिद शेख), समाजसेवी सुरेश (नीर शाह) र नेताको इशारामा अपराध गर्न उद्यत शेर (कर्मा) को चरित्रचित्रण पनि सपाट छ । अबु र पण्डितलाई खुंखार गुन्डा जसरी उभ्याउन खोजिएको छ तर संवादबाट मात्र । अनि कसरी कथासँग 'इन्गेज' हुन सकिन्छ ?
फिल्ममा बिझाउने अर्को पक्ष हो, डबिङ । कलाकारको भावभंगिमा र संवादबीच कुनै तालमेल छैन । विदेशी होइन, नेपाली कलाकारकै डबिङ पनि अमिल्दो छ । एकातिर दृश्य आफैँमा सशक्त छैन, त्यसमाथि संवाद र बोल्ने शैली प्राकृतिक लाग्दैन । यो दोहोरो अवगुणले फिल्मप्रति वितृष्णा जगाउन भरमार भूमिका खेलेको छ ।
फैजल र उनकी आमा (मिथिला शर्मा) को झगडाको दृश्य निर्देशनमा गरिएको खेलाँचीको नमुना हो । एकै शैलीमा कोरियोग्राफ गरिएका लामा-लामा एक्सन दृश्यले उस्तै झिझ्याट पैदा गर्छ ।
यसबीच छुटाउन नहुने पक्षचाहिँ निर्देशकले हाम्रो सन्दर्भमा 'आउट अफ बक्स' कथामाथि फिल्म बनाउने दुस्साहस गरे, यसका लागि उनलाई धाप मार्नैपर्छ । अन्तर्राष्ट्रिय कलाकारलाई अभिनय गराउनु पनि आफैँमा सुखद हो । उनीहरुका कारण विदेशी बजारमा कहीँ न कहीँ नेपाली फिल्मको प्रचार हुन्छ । त्यस्तै, धर्म र अपराधलाई सनसनी बनाउने नियत पनि देखिँदैन । तर जे देखाउन खोजे, त्यही जीवन्त छैन । अर्थात्, लेखन र निर्देशनमा परिपक्वता भएन । खिचाइमा पनि उतिसारो कौशल देखिन्न । दृश्यभावलाई प्रभावकारी बनाउन पृष्ठमूभि संगीतले अपेक्षाकृत भूमिका खेल्न सकेको छैन । 'आकाशै घुमेर...' गीत सुमधुर छ । फिल्ममा यसको प्रयोग सान्दर्भिक नै लाग्छ । फैजल र नम्रता (आना शर्मा) को अन्तरंग दृश्य थोरबहुत कलात्मक लाग्छ ।
फिल्मको केन्द्रमा रहेका जोसे म्यानुअलकै अभिनयमा निखार देखिँदैन । आफूभित्रको आक्रोश र बेचैनी अभिव्यक्त गर्ने मामलामा निम्छरो लाग्छन् । गुल्सन ग्रोबर र हमिद शेखसँग पनि तृप्त हुन सकिनन् । डबिङ स्वाभाविक नहुँदा उनीहरुको उपस्थिति सानदान हुनसकेको छैन । कर्मा र मिथिला शर्मा 'लाउड' लाग्छन् । आना शर्मा, अमिर गौतम, नीर शाहलगायतका कलाकारले धेरैहदसम्म चरित्रलाई न्याय गरेका छन् । अन्य विदेशी कलाकारको अभिनय पनि स्वाभाविक लाग्दैन । कथालाई जीवन्त शैलीमा पस्किएर मौलिक दृश्यभाषा निर्माणमा निर्देशक पेमा चुकेका छन् । यसको सीधासीधा सन्देश हो, फिल्ममा स्टार र बजेटभन्दा सिर्जनशीलता जरुरी हुन्छ ।
द म्यान फ्रम काठमाडौँको अन्त्यतिर जोसे म्यान्युल भन्छन्, 'यहाँको सबै सिस्टम गलत छ ।' यो तीर फिल्मतिरै सोझ्याउन सकिन्छ । किनभने, फिल्मको हालत पनि करिब-करिब यस्तै छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...