सिमानामा बसेर
साहित्य, संगीत र सिनेमाको फराकिलो वृत्त छ, काठमान्डू मोन्ताज् मा । यसमा काठमाडौँका छिँडी र गल्ली मात्र नभएर नेपालपारिको सिमानाका पात्र, दृश्य र परिवेश पनि छन् ।
काठमाडौँलाई अक्सर 'डिस्टर्ब’ गरिरहन्छन्, प्रकाश सायमी । त्यसले कसैलाई चकित बनाउँछ त कसैलाई विस्मित । उनको डिस्टर्ब-शैली विलक्षण छ । शंकर लामिछानेको 'एब्स्ट्रयाक्ट' कै प्रेरणास्वरुप तीन वर्षपहिले उनले काठमान्डू सेल्फी हानेका थिए भने हालै काठमान्डू मोन्ताज् पस्केका छन् । आखिरमा प्रकाशको सेरोफेरो साहित्य, संगीत र सिनेमा नै हो ।
साहित्य, संगीत र सिनेमाको फराकिलो वृत्त छ, काठमान्डू मोन्ताज् मा । यसमा काठमाडौँका छिँडी र गल्ली मात्र नभएर नेपालपारिको सिमानाका पात्र, दृश्य र परिवेश पनि छन् । गीतकार नगेन्द्र थापाको शब्दमा संगीत र सिनेमाको बीचमा साहित्यको स्वाद खापिएको 'डबल स्यान्डविच' नै हो, नयाँ किताब । प्रबल काव्यचेतनासहितको सिर्जनात्मक गद्यमा कलाका तीनै विधाका परिपाक छन् ।
आफूले प्राप्त गरेको सामान्य ज्ञानसमेत पाठकलाई बाँड्न उत्सुक हुन्छन् प्रकाश । हरेक निबन्धमा उत्तिकै वाचाल देखिन्छन् । पाठलाई रोचक बनाउन जुनसुकै हर्कत गर्न सक्छन् । 'मर्लिन मुनरोका लागि एक प्रार्थना' गरेर होस् या 'जेरिनियम, तिम्रो नाम के हो ?' सोधेर । भलै एउटै निबन्धमा 'जेरेनियम', 'जेरयिनम','जेरिनियम' गरी तीन थरी हिज्जे छन् ।
अतीतप्रति अनौठो सम्मोहन छ प्रकाशमा । उनी त्यसलाई स्वणिर्मकाल ठोकुवा गरेर दर्जा पनि दिन्छन् । पुण्य सुवेदीको 'साँघुरीवारि नि हौ त्यो धारापानी', अभि सुवेदीको 'शीतलुमाथि नि शीतलु पर्यो है' को स्वामित्व हडपेका धर्मराज थापाले सम्बन्धितलाई फिर्ता गरेको प्रसंग होस् या विजयकुमार र किशोर पहाडी इन्जिनियरिङ क्याम्पस पुल्चोकमा पिटर जे कार्थकका विद्यार्थी रहेको मृदुसम्झना ।
'ए टलम्यान प्रकाश थापा' मा उनी दौलतविक्रम विष्टको कथा 'जब बादल फाट्छ' किनेर सिन्दूर अनि केशवराज पिँडालीको कथा किनेर जीवनरेखा बनाएको गाथा गाउँछन् । एक 'नालायक' संगीतकारले गोरखा दक्षिणबाहु पाएपछि राजा महेन्द्रले दिएको अघिल्लो वर्षको तक्मा डेराको झ्यालबाट मकैबारीमा हुत्याइदिने अम्बर गुरुङको विस्मयकारी छवि, 'यो सिग्रेट होइन, ए ग्रेड हो' भन्ने अम्मली पारिजातको चर्चा अनि राजेश हमालले पारिश्रमिक १० हजार लिएपछि आफूलाई पाँच हजार बढी पाउनुपर्ने करिष्मा केसीको जिकिरपछि दुवै भाग्यरेखाबाट 'आउट' भएको किस्सा किताबमा छन् ।
यताको सामलमा मात्रै चित्त बुझाउँदैनन् लेखक । भूपेन हजारिकालाई पत्नी प्रियंगुले 'लता र मेरा पतिको अवैध सम्बन्ध छ' भनेको छुस्स चुहाउँछन्, 'स्टार-सिस्टम' नमान्ने वासु भट्टाचार्यले राजेश खन्नालाई कारबाट ओरालेर ट्याक्सीमा लगी सुटिङ गराएको स्मरण गराउँछन् । अमिताभ बच्चन र हरिवंश राय बच्चनको नेपाल सम्बन्ध खोतल्छन्, अनि देवानन्दले 'कान्छा रे कान्छी रे...' मार्फत बलिउडमा नेपाली मादलको ताल जीवित तुल्याइदिएकामा धन्य हुन्छन् ।
यताका डीपी भण्डारी, सौरभ, जीवन आचार्य, तीर्थबहादुर श्रेष्ठ अनि उताका साहिर लुधियानवी, सलमान रुस्दी, गालिब आदि नाम नलिईकन उनका लेखोटले आकार नै पाउँदैनन् । ०४५ को भूकम्पताका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले 'राहत' र 'दौरान' शब्द नेपाली जनजिब्रोमा घुसाएको दाबी गरिरहादा उनको आधिकारिकतामाथि प्रश्न नउठेका पनि होइनन् । तर प्रमाण र तर्कका आधारमा खण्डनमण्डन नहुँदा उनकै कुरा सदर हुन्छन् ।
'सत्यजितको संसारमा' निबन्ध पढ्दा प्रकाश आफूलाई कति महत्त्व दिन्छन् भन्ने छर्लंग हुन्छ । किस्सा काठमान्डूकाको सुटिङमा आएका सत्यजित रेलाई शाही चलचित्र संस्थानको आँगनमा भेटेको सम्झन्छन्, त्यहाँ भएका कुराकानीबारे केही लेख्दैनन् । भेटेको हो कि देखेको मात्र ? किताबमा अनगिन्ती खुलासा छन्, नारायण गोपाललाई पोखराको स्कुलमा 'लद्दु सर' भनिएको होस्, 'रातो र चन्द्र सूर्य' गाउने फत्तेमानलाई नै राष्ट्रिय झन्डासहित बिदाइ नगरिएको ।
सिनेमा आफैँमा ग्ल्यामरस संसार हो । प्रकाश सायमी भने साहित्य र संगीतबाहिरको जीवनलाई पनि सिनेमाजत्तिकै ग्ल्यामर दिन सिपालु छन् । स्रष्टाको निजी जीवन अनि 'मेजर वर्क' लाई मिसाएर अद्भुत रुपक आविष्कार गर्छन् । प्रकाश कुनै संगीतज्ञ होइनन् तर उनको संगीत समीक्षाकला सराहनीय छ । निबन्धमा उनी शरण प्रधान, कमला श्रेष्ठ, फत्तेमान, दिव्य खालिङ, हरिभक्त कटुवाल आदि संगीतशिल्पीलाई पात्र बनाउँछन् । तर त्यहाँभित्र थप पात्र उत्तिकै सलबलाइरहेका देखिन्छन् ।
उसो त प्रकाश सायमीका पनि आफ्नै सिमाना छन् । लेखकका रुपमा उनी ठीकठीकै हुन् तर नेपाली साहित्य, संगीत र सिनेमामा उनले जति प्रशंसा कमैले पाएका छन् । काठमान्डू सेल्फी, काठमान्डू मोन्ताज् पछि फेरि पनि उनले अर्को शृंखला ल्याइहाल्छन् । त्योचाहिँ पत्रपत्रिकामा छापिइसकेका टुक्रे लेखोटको संकलन मात्रै नहोस् । पाठकलाई नै सर्वोत्तम पुरस्कार मान्ने सायमीले यसो 'सरप्राइज' दिए पनि हुने हो ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...