निःशुल्क सेवालाई हजारौँ खर्च
असुरक्षित गर्भपतनको जोखिममा ग्रामीण महिला
तल्कोट गाउँपालिका, दाँतोला रजाडाकी पुतली विष्टको पेटमा २ महिने गर्भ थियो । एक छोरा र एक छोरीकी आमा उनले छिमेकी गाउँ मेलविसौनाको खौला बजारमा रहेको एक मेडिकलबाट औषधी किनेर खाइन् । त्यही औषधीले उनको ज्यान झन्डै गएन ।
निरक्षर पुतलीलाई आफूले खाएको औषधी र त्यो बेच्ने पसलेको नाम थाहा छैन । "यस्तो होला भन्ने थाहा पाएको भए अस्पतालमै आएर गर्भ फाल्ने थिएँ," भन्छिन्, "हामी नपढेको मान्छे डाक्टर नै होला भन्ने लाग्यो । कसैलाई नसोधी खाइहालेँ ।"
जयपृथ्वी नगरपालिकाकी २९ वर्षीया रामकला नेपालीले सुरुमा जिल्ला अस्पताल बझाङमै आएर सुरक्षित गर्भपतन गराइन् । त्यसको केही महिनापछि धनगढीमा सुरक्षित गर्भपतनका लागि गइन् । एक महिनापछि भारत गएर जँचाउँदा फेरि पनि छोरी नै भएको थाहा पाइन् । तेस्रो पटक मेडिकलको औषधी खाएर गर्भपतन गराउन खोज्दा अत्यधिक रक्तश्राव भएपछि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गयो ।
भारतको पलिया, पिलिभित, लखिमपुरलगायतका सीमावर्ती बजारमा छ्यापछ्याप्ती खुलेका भ्रुणको लिंग परीक्षण गर्ने क्लिनिकमा परीक्षण गराउने र छोरी भए स्वास्थ्यको ख्यालै नगरी गर्भपतन गर्दा यस्तो समस्या आएको बझाङका स्वास्थ्यकर्मी औँल्याउँछन् ।
नेपाल सरकारले तालिमप्राप्त स्वास्थ्यकर्मीले मान्यताप्राप्त स्वास्थ्य संस्थामा मात्र गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ । साइपाल गाउँपालिकामा न सरकारी मान्यताप्राप्त गर्भपतन गराउने संस्था छन्, न त त्यहाँका मानिसलाई सुरक्षित गर्भपतनको ज्ञान छ ।
"महिनामा १५/२० जनालाई हामीले नै औषधी दिने गरेका छौँ," एक मेडिकल पसले भन्छन्, "श्रीमान् घरमा नभएका र विवाह नगरेका महिला अस्पताल जान सक्दैनन्, हामीकहाँ नै आउँछन् ।" गर्भपतन गराउने औषधीबापत २ हजारदेखि ५/७ हजारसम्म लिने गरेको उनले सुनाए ।
असुरक्षित गर्भपतन गराउँदा खतरा अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने गरेको जिल्ला अस्पताल प्रमुख डा अनुप रेग्मी बताउँछन् । "महिनामा कम्तीमा ७/८ वटा यस्ता केस जिल्ला अस्पतालमा आउँछन्," भन्छन्, "जिल्लामा असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै छ ।" अवैध गर्भपतन गर्ने र औषधी बेच्नेलाई कारबाही भने भएको छैन ।
बझाङमा जिल्ला अस्पताल सिमखेत, रायल प्राथमिक स्वास्थ्य केन्द्र, देउलेक प्राथमिक स्वास्थ्य केन्द्र र अमिसा अस्पताल चैनपुरले मात्र गर्भपतन गराउन सरकारबाट मान्यता पाएका छन् ।
पटक-पटकको असुरक्षित गर्भपतनले धेरैजसो महिलाको पाठेघरमा संक्रमण हुने, गन्हाउने पानी बग्ने, तल्लो पेट दुख्ने र कतिपयको पाठेघर नै निकाल्नुपर्ने, बाँझोपन हुने आदि समस्या देखिएको जिल्ला अस्पताल बझाङकी नर्सिङ इन्चार्ज लक्ष्मी शाही बताउँछिन् ।
अपूर्ण गर्भपतन गरेकै कारण पाठेघर सफा गर्न आउने महिलाको संख्या वाषिर्क २० हाराहारी रहेको नर्सिङ इन्चार्ज शाहीको भनाइ छ । जिल्ला अस्पतालका अनुसार १२ साताभन्दा बढीको गर्भपतन गराउन खोज्नेलाई फर्काउने गरिएको छ ।
तालिम तथा सरकारी मान्यताप्राप्त व्यक्ति र संस्थाले मात्र बिक्री गर्न पाउने गर्भपतनको औषधी जथाभावी बेचिँदा ग्रामीण महिलालाई ज्यानको जोखिम भएको प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुँवर बताउँछन् । भन्छन्, "चाउचाउ, बिस्कुट बेचे जसरी गर्भपतनको औषधी बिक्री भइरहेको सुनेका छौँ । अब अनुगमन बढाउँछौँ ।'
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...