कहीँ नभएको हेलचेक्र्याइँ गहनापोखरीमा
मौलिकता नामेट हुने गरी सिलसिलेवार खेलाँची, तर महानगर र पुरातत्व विभाग बेखबर
हरियो लेउ जमेको पोखरीमा यत्रतत्र फ्लास्टिकका टुक्राटात्री छन् । सिमेन्ट र कंक्रिटले घेरिएको छ । छेउमा लहरै बत्ती छन्, बीचमा सेतो रंगको फाउन्टेन । बाहिर फलामे बेन्च । रेलिङ । काठमाडौँ महानगरपालिका–५, हाँडीगाउँस्थित गहनापोखरी नजिकै बस्छन्, वडाध्यक्ष रमेश डंगोल । उनलाई सोधियो, “पोखरी कति पुरानो हो ?”
“लिच्छविकालभन्दा अगाडिको ।”
“अहिले पोखरीमा त्यति पुरानो ऐतिहासिकता झल्कन्छ त ?”
उनी अक्मकाए । पोखरीमा पूर्वलिच्छविकालीन त के, सय वर्ष पुरानो मौलिकताको झल्कोसम्म पाइँदैन ।
गहनापोखरी किराँतकालबाटै चल्दै आएको गहना खोज्ने जात्राको केन्द्र हो । खटमा टुँडालदेवी राखेर यही पोखरी घुम्नुपर्छ । तर पोखरीको यो अवस्थासँगै जात्राको मौलिक स्वरूप र प्रक्रिया नै संकटमा पर्ने चिन्ता बढेको छ ।
फाउन्टेन र बत्ती राखिएको दुई साता बित्न नपाउँदै सम्पदाप्रेमी र संस्कृतिविद्ले चर्को विरोध गरेका छन् । यसले स्वाभाविक रूपमा वडाध्यक्ष डंगोलको टाउको दुखाएको छ । लामो समयदेखि जात्रामा प्रत्यक्ष सहभागी हुँदै आएका डंगोल भन्छन्, “हामीले कुनै संरचना भत्काएका छैनौँ । ‘लुक्स’ राम्रो होस् भनेर बत्ती र फाउन्टेन राख्यौँ तर यसबाट केही समस्या देखापरे सुधार्छौं ।”पोखरीलाई यो हालतमा पुर्याउँदा आठ लाख रुपैयाँ चट् भएको छ । गहनापोखरीको चार किमि दूरीमा काठमाडौँ महानगरपालिका कार्यालय र पुरातत्व विभाग छन् । तर पोखरीको ऐतिहासिकता नामेट पारिसक्दा न महानगरपालिकालाई जानकारी छ, न त पुरातत्व विभागलाई ।
महानगरपालिका सम्पदा शाखा प्रमुख रामबहादुर थापा भन्छन्, “हामीसँग स्वीकृति लिइएको छैन । आरसीसी ढलान गर्नु नै गलत थियो । बत्ती र फाउन्टेन थप्न मिल्दै–मिल्दैन ।” याद रहोस्, वडा ५ को कार्यालय पोखरीबाट हिँडेरै दुई मिनेटमा पुगिन्छ । पुरातत्व विभागका कायममुकायम महानिर्देशक दामोदर गौतमले गहनापोखरी पुनर्निर्माणबारे आफ्नो कार्यालयलाई थाहा नभएको बताए । “सार्वजनिक महत्त्वका प्राचीन र पुरातत्व सम्पदालाई थोरै चलाउँदा पनि हामीसँग सल्लाह लिनुपर्ने प्रावधान छ,” उनले थपे, “तर गहनापोखरीको सवालमा हामीलाई पत्तै दिइएन, स्वीकृति लिनु/दिनु त परको कुरा ।” वडाध्यक्ष डंगोल पनि विभागको अनुमति नलिएको सकार्छन् ।
गहना खोज्ने जात्रा | बेहान्सडटनेट
यसपटक ७ वैशाखमा परेको छ, जात्रा । जात्राको तयारीमा लाग्नुपर्ने बेला पोखरीमाथि थपिएका संरचना र परिवर्तित हुलिया विवादमा फसेको छ । हाँडीगाउँका बासिन्दासमेत रहेका इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडीन एवं सम्पदा इतिहासकार प्रा सुदर्शनराज तिवारी भन्छन्, “पहिले–पहिले जहाँ खट राखेर घुमिन्थ्यो, अहिले त्यहाँ बिजुली जडान गरिएको फाउन्टेन छ । यसले आस्थामा आघात त पुग्छ नै, पानीभित्रको तारमा खराबी आयो भने दुर्घटना निम्तने खतरा पनि उत्तिकै छ ।” पोखरीमाथि यतिविघ्न खेलवाड हुँदा पनि महानगरपालिका र पुरातत्व विभागको बेखबर मौनतालाई उत्तिकै रहस्यमयी मानिएको छ ।
किराँत–लिच्छविकालमा काठमाडौँको राजधानी हाँडीगाउँ थियो । कैलाशकुट दरबारबाट सातौँ शताब्दीमा जारी गरिएको शिलालेखमा ‘अन्डिपीजात्रायाम’ भनेर लेखिएको छ । तिवारीका अनुसार उक्त शिलालेखमा यो जात्रालाई दरबारले वार्षिक एक हजार पण (तत्कालीन समयको मुद्रा), २२ घडा, बिजोर गहना र लत्ताकपडा दिनुपर्ने उल्लेख छ । सन् १९८८ मा इटालियन पुरातत्वविद्ले हाँडीगाउँको सत्यनारायणमा उत्खनन गरे । ढुंगेधाराको टुटीमा ‘ओम अन्डिग्रामे...’ लेखेको भेटियो । यसबाट त्यो ठाउँको मौलिक नाम अन्डिग्राम भएको प्रस्ट हुन्छ । किराँतकालमा चाहिँ अन्डिप्रिङ थियो । लिच्छवि आएपछि ठाउँको नाम परिवर्तन गरेर ग्राम र नगर बनाइयो । कारण, उनीहरू संस्कृत प्रयोग गर्थे । तिवारीका अनुसार अन्डिपछि अपभ्रंश हुँदै हाँडी बन्यो, ग्रामचाहिँ गाउँ । किराँतकालमा हरेक ठाउँमा फरक देवता हुन्थे, सोहीअनुसार जात्रा हुन्थे । कैलाशकुटको शिलालेखबाट यहाँ पहिलेबाटै जात्रा चलिरहेको प्रस्ट हुन्छ । अहिलेको गहना खोज्ने जात्रा त्यही ‘अन्डिप्रिङ’ भएको तिवारीको तर्क छ ।
अर्को रोचक इतिहास पनि छ । सातौँ शताब्दीमा चिनियाँ राजदूत वाङ हुयन चे नेपाल आएका थिए । नरेन्द्रदेवले हाँडीगाउँबाट राज्य सञ्चालन गरिरहेको समय थियो त्यो । नरेन्द्रदेवको मानमनितोबाट वाङ खुब प्रभावित भए । उनले स्वदेश फर्केर यात्रावृत्तान्तमा लेखे, ‘नरेन्द्रदेवले राजकीय र विशिष्ट पाहुनालाई कैलाशकुट दरबारको कौशीमा लगेर पोखरी देखाउँथे । पोखरीमा बेलाबेला अवलोकितेश्वर भगवान्को श्रीपेच आउँछ । फलाम हाल्दियो भने सुन निस्कन्छ भनेर बखान गर्थे ।’ तिवारी दाबी गर्छन्, “कैलाशकुटबाट नरेन्द्रदेवले देखाएको पोखरी गहनापोखरी नै हो । अन्त खोज्नैपर्दैन ।” अहिले पनि जात्रामा गहना हराएको भनेर खोज्ने गरिन्छ, टुँडालदेवीलाई खटमा राखेर ।
सन् १९८८ मा इटालियन पुरातत्वविद्ले हाँडीगाउँको सत्यनारायणमा उत्खनन गर्दा भेटिएको शिलालेख, जुन ‘ॐ’अन्डिग्रामे’ बाट सुरु हुन्छ ।
जात्राको गौरव यत्तिमै सीमित छैन । काठमाडौँका नेवार समुदायमा एउटा विश्वास छ । चार जात्रा हेरेन भने स्वर्ग जान पाइन्न । तीमध्ये एक हो, गहना खोज्ने जात्रा । मल्लहरूले शासन गर्न थालेपछि हाँडीगाउँबाट राजधानी सर्यो । काठमाडौँ, भक्तपुर र ललितपुरका आ–आफ्नै राजधानी थिए । त्यहाँ विशेष खालका जात्रा र पर्व मनाइन्थ्यो । हाँडीगाउँ र त्यहाँको जात्रा ओझेल पर्ला भन्ने चिन्ता भयो, शासकलाई । यही बेलादेखि एउटा कहावत बन्यो, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ ।
उसो त, यो उखान हिजोआज ‘हेप्न’ वा ‘खिल्ली’ उडाउन प्रयोग गरिन्छ । त्यतिबेला भने अभिप्राय सकारात्मक थियो– राजधानीमा समेत नहुने जात्रा हाँडीगाउँमा हुन्छ भन्ने सन्देश । तिवारी भन्छन्, “अन्डिपी जात्रा हेर्न नजालान् भनेर शासकहरूले त्यसो भनेका हुन् ।” उनका अनुसार यसलाई ‘गहना खोज्ने जात्रा’ भन्न थालिएको चाहिँ दुई दशकअगाडिबाट हो । त्यसअगाडि भिन्न कालखण्डमा भिन्न नामबाट मनाइन्थ्यो, कर्मचाहिँ करिब उस्तै ।
कैलाशकुट भवनको उत्तर दिशामा अवस्थित यो प्राचीन सम्पदालाई स्थानीयले ०५५ बाट संरक्षण र सुधार थालेका थिए । त्यसका लागि स्थानीय सांसद रमेशनाथ पाण्डेले सांसद विकास कोषबाट बजेट पनि छुट्याए । पहिलो चरणमा पोखरीमुनि इँटा हालियो । तिवारी सम्झन्छन्, “त्यतिबेलै मैले तल हिलो हटाएर इँटा राख्न र डोजर चलाउनु हुन्न भनेर सचेत गराएको थिएँ तर टेरेनन् ।” पहिले बूढानीलकण्ठदेखि राजकुलोबाट पानी आउँथ्यो । तिवारी स्वयंले पोखरीको उत्तर–पश्चिमबाट कुलोमा पानी आएको देखेका थिए, सानो छँदा । तर हिलो काटेर इँटा बिच्छ्याएपछि पानी सुक्न थाल्यो । अरू बेला त्यत्तिकै छाड्दा हुने, तर जात्रामा जसरी पनि पोखरी भरिनुपर्ने । केही सीप नलागेपछि नजिकै ट्युबवेल राखेर पानी भर्न थालियो । तर जोगाउनै मुस्किल । वडाध्यक्ष डंगोलका अनुसार दमकलबाट पानी हालेरसमेत जात्रा मनाइयो । बाह्रै महिना पानी भरिने पोखरी यतिविघ्न सुक्खा । कारण उही, इँटा । त्यसपछि पानी जोगाउने हेतुले माछा पाल्न थालियो तर समस्या सुल्झिएन । उल्टै माछा मरेर हैरान । लेउ जमेको फोहोर पानीमा माछा बाँच्न गाह्रो भयो ।
डंगोल भन्छन्, “त्यसपछि पोखरीको शोभा बढ्ने, माछालाई अक्सिजन पनि हुने भनेर फाउन्टेन राख्ने निर्णय गरियो । फाउन्टेन राख्न स्थानीयले निवेदनसमेत दिए ।” उनी अझै दंग छन्, साँझमा पोखरी वरपर रंगीबिरंगी बत्ती बल्छन्, बीचबाट पानीको फोहोरा आउँछ । डंगोल थप्छन्, “पोखरीमा वर्षमा एक दिन सांस्कृतिक कार्यक्रम हुन्छ । त्यसकै लागि किन त्यत्तिकै राख्नु ? बाँकी दिनमा पनि पोखरी सुन्दर देखियोस् भनेर बत्ती र फाउन्टेन राखिएको हो ।” सम्पदाप्रति जनप्रतिनिधिको संवेदनशीलता र बुझाइ थाहा पाउन उनको यत्ति अभिव्यक्ति काफी छ । अहिले भने जागरुकको आवाज बढ्दै गएको छ । संरक्षणको नाममा पोखरीको साख सखाप पारिएको तिनको आक्रोश छ । पुरातत्वविद्को माग छ, सबैभन्दा पहिले पोखरीमुनिको इँटा हटाउनुपर्छ ।
वडाध्यक्ष डंगोल फेरि पनि प्रश्न गर्छन्, “इँटा निकालेर माटो हाल्ने कुरा उल्टो भएन र ?” आर्किटेक्ट इन्जिनियर तिवारीचाहिँ इँटा हटाउने हो भने एकपटक पानी भर्दा चार–पाँच महिना अडिने र जात्राका दौरान खट लिएर घुम्दा जोखिम कम हुने दाबी गर्छन् । “हावाका लागि चाहिने भए पनि छेउ–छेउबाट फाउन्टेन गर्न सकिन्छ । बीचमा ठड्याउनु आवश्यक छैन । बक्ती र कंत्रिट पनि हटाउनुपर्छ,” उनी भन्छन्, “प्राचीन पोखरीलाई सकेसम्म मौलिक हिसाबमै बचाउनुपर्छ । पाँचतारे होटलको स्विमिङ पुलजस्तो बनाउनुहुन्न ।” ३२ जनाले खट बोकेर तीनपटक घुमाउनुपर्ने भएकाले सन्तुलन मिलाउन पहिलेझैँ पोखरीको दक्षिणपूर्वतिर थोरै कोल्टे पार्नुपर्ने, पोखरी बाहिर सिमेन्ट हटाएर दाँछी अप्पा इँटा बिछ्याउनुपर्ने उनको सुझाव छ ।
हाँडीगाउँका स्थानीय सम्पदाप्रेमीसँगै महानगरपालिकाको सम्पदा शाखा र पुरातत्व विभागको ध्यान तानिएपछि वडाध्यक्ष डंगोल केही हच्किएका छन् । विज्ञहरूको सल्लाहबमोजिम पोखरीलाई जोगाउने वाचा गर्छन् । “हामीले छिटो काम गर्न खोज्दा गडबडी भएको हुन सक्छ,” उनी भन्छन्, “अब सबैले तलको इँटा निकाल्नैपर्छ, बत्ती र फाउन्टेन हटाउनैपर्छ भन्नुहुन्छ भने हाम्रो अवरोध हुन्न ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...