रसिलो अर्ग्यानिक खुराक (फिल्म समीक्षा : साइँली)
रैथाने स्वाद र शैली पारखीलाई साइँली प्रिय लाग्छ । भाषामात्र होइन, हरेक कोणबाट अपनत्व आभास हुन्छ । यत्ति हो, यो फिल्म नराम्रो लाग्नेलाई पनि पराईचाहिँ लाग्दैन, आफ्नै लाग्छ ।
नेपाली समाजको तीतो नियति हो, वैदेशिक रोजगार । त्यस्तो परिवार भेट्न धौधौ हुन्छ, जसका सदस्य कामको सिलसिलामा परदेशिएका नहोऊन् । यो यथार्थलाई नेपाली सिनेमाले अनदेखा गरेका छैनन् । समस्याचाहिँ बिकाउ र सतही चित्रणमै सीमित छन् ।सार करिब एउटै हुन्छ,पैसा कमाउने लालसामा श्रीमान् विदेश जान्छ, यता श्रीमतीचाहिँ परपुरुषसँग सल्किन्छे । रामबाबु गुरुङ निर्देशित साइँलीको केन्द्रमा पनि वैदेशिक रोजगार छ तर विद्यमान 'क्लिसे' धङधङीबाट ग्रस्त छैन । बरु यसको गहन र व्यावहारिक पाटोलाई पटाक्षेप गरिएको छ । गुरुङको 'ट्रेडमार्क' झैँ प्रस्तुति हास्यरस नै छ । अनि, पात्र, उनीहरुका बोलीचाली, व्यवहार,लोकेसनमा स्थानीयपनको सुगन्ध । अर्थात्, कबड्डीकै विरासतलाई गुरुङले निरन्तरता दिएका छन् ।
कास्कीको सुन्दर गाउँका वीरे (दयाहाङ राई) र पीताम्बर (गौरव पहारी) मिल्ने साथी हुन् । दुवैको इलम छैन, हल्लिएरै दिन काट्छन् । यस्तैमा पल्लोगाउँकी साइँली (मेनुका प्रधान) सँग पीताम्बरको माया बस्छ । साइँलीकी सखी सुनीता (केनिपा सिंह) लाई वीरेले मन पराउँछन् । वीरेका लागि 'प्रेम आए आँप गए झटारो' हो । पीताम्बरचाहिँ साइँलीबिना बाँच्नै नसक्ने हुन्छन् । तर न साइँलीसँग उनको जात मिल्छ, न वर्ग । साइँलीका बाबु फुर्तिमान (माओत्से गुरुङ) सँग लिएको ऋण तिर्न नसकेर पीताम्बरका बाबु पद्म(प्रकाश घिमिरे)लाई उस्तै तनाव छ । यस्ता अनेक अवरोध आएपनि साइँली र पीताम्बर विवाह गर्छन् । तर कमजोर अवस्थाका पीताम्बर साइँलीसँग सुखले एकसाथ बस्न पाउलान् ? पैसाकै अभावमा यो सम्बन्धमाथि आइपरेको संकटवरपर घुमेको छ, फिल्म ।
यो फिल्मको नाम हेमन्त रानाको बहुचर्चित गीत 'सुन साइँली...'बाट सापट लिइएको हो । हेमन्त पनि निर्मातामध्ये एक हुन् । उक्त भिडियोमा साइँला-साइँलीको रुपमा गौरव-मेनुकालाई नै देख्न पाइन्थ्यो । तर, भिडियोको कथाभन्दा फिल्म बिल्कुल अलग छ । त्यही अपेक्षा लिएर हल पुग्ने दर्शक निराश हुन्छन् भन्नै परेन तर यसलाई स्वतन्त्र ढंगले हेर्दाचाहिँ मुहारमा मुस्कान छाउने अनेक गुण छन् ।
हामीकहाँ सीमापारिका फिल्मबाट नक्कल गरी वा अचाक्ली प्रभावित भएर बनाइएका फिल्मको चर्को दबदबा छ । भाषाबाहेक ती फिल्मलाई आत्माबाटै आफ्नोपन महसुस गर्न सकस पर्छ । साइँलीचाहिँ हाम्रै परिवेश, जीवनशैली र भोगाइको समीप छ । हरेक पात्रमा कहीँ न कहीँ आफूलाई भेटिन्छ । कथा अगाडि बढाउने मामलामा चाहिँ लेखक/निर्देशक गुरुङको गति धीमा छ । मध्यान्तरसम्म पीताम्बर र साइँलीको माया, वीरेको निर्दोषपना, केही पारिवारिक उल्झनमै अल्झाइएको छ । पीताम्बरको जोडीको रोमान्स झर्रो शैलीमा पस्कन समय खर्चिएको छ । मूल विषयको प्रवेश ढिला छ । यत्ति हो, लगभग हरेक दृश्यमा हाँस्न पाइन्छ ।
मध्यान्तर पश्चात् भने फिल्म गम्भीर हुँदै जान्छ । विवाहपछिको व्यावहारिक कठिनाइले पतिपत्नीबीच उत्पन्न हुने मनमुटाव मनछुने ढंगले उन्न खोजिएको छ । नामअनुसार फिल्मकी मेरुदण्ड साइँली नै हुन् । उनी देवकोटाको मुनामदन पढिरहिन्छन् । मदन भोट जाँदा दुःखी हुन्छिन् तर उनी आफैँ मदनको आधुनिक संस्करण बन्नुपर्छ । अझ धेरै महिला घरको चौघेरामै सीमित छन् । साइँली परिवारको सुखद भविष्यका लागि परदेसिने हिम्मत गर्छिन् । यसमानेमा उनी सशक्त र प्रेरणादायी पात्र हुन्, हाम्रा लागि ।
खट्कने पक्ष पनि उत्तिकै छन् फिल्ममा । फुर्तिमान ऋण दिएन भनेर बडो फुर्ति लगाउँछन् । पूर्ववडाध्यक्षको ऋणको प्रभाव पनि चर्को छ, कथामा । तर ऋण कति हो र पात्रहरुले त्यति सास्ती भोग्नुपर्यो ? निर्देशक मौन छन् । पीताम्बर विदेश जान नपाएको कारण 'सिनेमा लिबट्री' भित्र पर्दैन बरु हास्यास्पद लाग्छ । साइँलीका पुरुष पात्रहरु गुरुङ निर्देशित यसअघिका फिल्मकाभन्दा खास फरक छैनन् । दयाहाङमा कबड्डीका विजय बराल र बुद्धि तामाङको झल्को आउँछ । पूर्ववडाध्यक्षले हात जोडेर माफी माग्नुपर्ने के गल्ती गरेको थिए ? भेउ पाइन्न । बरु स्थानीय जनप्रतिनिधिको दलालमा रुपान्तरणचाहिँ सामाजिक कटाक्ष हो । मध्यान्तरपछि पीताम्बरमा देखिएको रुखोपना विश्वसनीय लाग्दैन । सेटअप पनि कबड्डीको जस्तै-जस्तै छ । यद्यपि, साइँलीसँगै अन्य पात्र र उनका व्यथाहरु आत्मीय लाग्ने भएकाले झेल्न मुस्किल हुन्न । हाँस्दाहाँस्दै आँखा रसाउने दृश्य उत्तिकै छन् ।
साइँलीमा अधिकांश फिल्ममाझैँ हँसाउनकै खातिर द्विअर्थी र बेअर्थी संवाद थोपरिएको छैन । पात्र र दृश्यको भाव अनुरुप रसिला संवाद छन् । धेरै हदसम्म गाउँले बोलीचाली र बान्कीका भएकाले प्रिय लाग्छन् । यो पनि सत्य हो, गुरुङको ध्यान उम्दा दृश्यभन्दा हास्यरसका संवाद सिर्जन ज्यादा छ । फिल्म निर्देशकलाई यस्तो प्रवृत्तिले शोभा दिँदैन । तर पछिल्ला दुई फिल्म मिस्टर झोले र पुरानो डुंगाबाट निराश पारेका गुरुङ साइँलीबाट आफ्नै लयमा फर्किएका छन् । थप निखारचाहिँ देखिन्न । यही पकवान कहिलेसम्म ? उनले आफैँलाई सोध्नुपर्छ ।
मेनुका पछिल्लो समयकी प्रभावशाली अभिनेत्री हुन् भन्ने नयाँ प्रमाण हो साइँली । पात्रलाई आत्मसात् गर्ने मामलामा कुशलता देखिन्छ उनमा । दयाहाङलेचाहिँ फिल्ममा ताजगी ल्याइरहन्छन् । उनको बोल्ने शैली, व्यवहार, हिँडाइ, मनमौजी स्वभाव उनका फ्यानलाई प्यारो लाग्छ । दयाहाङजस्ता खारिएका कलाकारसँग ' स्क्रिन सेयर' गर्दा पनि गौरव पहारी कमजोर लाग्दैनन् । उनका लागि पनि यो फिल्म सम्झनालायक हुनेछ । डेब्यु फिल्ममै केनिपा सिंह सिनियर कलाकारको भीडमासमेत आफ्नो अलग छवि बनाउन सफल छिन् । प्रकाश घिमिरे, माओत्से गुरुङ, किरण चाम्लिङ राईजस्ता सहायक कलाकार पनि उत्तिकै फिट छन् । अप्सरा मिस (इष्टु कार्की) लाई हलबाहिर निस्कँदा पनि बिर्सन सकिन्न । 'नाच माया...' र 'प्याट प्याटे....' गीतलाई कथावाचनमै प्रयोग गर्न खोजिएको छ । दृश्यको मर्म अनुकल छ, शैलेन्द्र डी कार्कीको खिचाइ पनि ।
रैथाने स्वाद र शैली पारखीलाई साइँली प्रिय लाग्छ । भाषामात्र होइन, हरेक कोणबाट अपनत्व आभास हुन्छ । यत्ति हो, यो फिल्म नराम्रो लाग्नेलाई पनि पराईचाहिँ लाग्दैन, आफ्नै लाग्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...