कोइलाखानीले उठीवास
जथाभावी उत्खननले कतिपय बस्ती नै भासिन थालेपछि छटपटीमा गाउँले
माथागढी–४, झडेवाको रोहिनीबास, पीपलडाँडा, मकलेलगायतका स्थानमा जथाभावी कोइला उत्खनन भइरहेका छन् । उत्खननले यस क्षेत्रमा पानीका मुहान सुकेका छन् भने ठाउँठाउँमा पहिरो खसेका छन् । जमिन भासिएका छन् । खानी उत्खनन र निकासीका कारण आफूहरूको थातथलो नासिने भन्दै स्थानीयले सरोकारवालासँग हारगुहार गरिरहे पनि सुनुवाइ भएको छैन ।
यसअघि छिमेकी पूर्वखोला गाउँपालिकाको देवीनगर र जाल्पाका विभिन्न स्थानमा यस्तै कोइलाखानी खोजतलास गरिएको थियो । “यस्तो अवस्था आउला भन्ने हामीले सोचेकै थिएनौँ,” माथागढी–४, झडेवाका सुदर्शन रायमाझी भन्छन्, “जथाभावी उत्खनन रोक्नुपर्ने हाम्रो मुख्य माग हो ।”
झडेवा, देवीनगर, जाल्पालगायतका गाउँमा अव्यवस्थित कोइला खानी उत्खनन भएको स्थानीयले गुनासो गर्दै आएका छन् । विगत वर्षमा कोइला उत्खनन गरिएका क्षेत्रमा पहिरो जाँदा सुरुङ पुरिएको छ । उत्खननकै कारण अन्नबालीसमेत कम उब्जाउ हुन थालेको रायमाझीको दुखेसो छ । पीपलडाँडाका १३ घर बस्ती जोखिममा छन् । छिस्कुनडाँडा हँसुरे सामुदायिक वन क्षेत्रको माथिल्लो भागमा बस्ती छ । “गत वर्ष नै कोइलाखानी उद्योगबाट बाटो खन्ने, बिजुली ल्याउने प्रतिबद्धता भएको थियो,” स्थानीय अम्बिसरा सारु भन्छिन्, “हामीलाई केही सहयोग गरिएन । आफैँ पैसा उठाएर खनेका हौँ ।’
उत्खननकै कारण थपनडाँडा, मुन्टुङ, काफलडाँडा, मर्सिडाँडा, उड्डाँडा, सिमल्दी, चिर्तुङमा जमिन भासिएको छ । झडेवाको देवगीर, मकले, पीपलडाँडा, जाल्पाका विभिन्न स्थानमा सयभन्दा बढी पहिरो खसेको छ । पछिल्लो समय पीपलडाँडा, मकलेलगायतका स्थानबाट निकालिएको कोइलाखानीबाट प्रभावित हुने भन्दै आन्दोलनमा उत्रेको स्थानीय लक्ष्मण रायमाझी बताउँछन् । भन्छन्, “स्थानीयलाई विभिन्न आश्वासन दिने र अगुवालाई समाएर खानी उत्खनन गर्ने परिपाटी छ ।”
महालक्ष्मी कोल प्रालिले चार वर्षअघि अनुमति पाएको हो । पाल्पा कोल प्रालि र त्रिवेणी कोल प्रालिले ०६१ मै कोइला खोजतलास अनुमति पाएका थिए । १० वर्षपछि पुनः उनीहरूले थप खोजतलास अनुमति पाएका छन् ।अव्यवस्थित कोइला उत्खननले गाउँ, जंगल, बाटोलगायतमा जथाभावी ‘डम्प’ गर्दा वातावरणीय प्रदूषण बढ्दो छ । कतिपय बस्ती नै भासिने खतराले स्थानीय थप चिन्तित हुन थालेको रायमाझीको तर्क छ ।
महालक्ष्मी कोलले झडेवाका विभिन्न स्थानमा उत्खनन सुरु गरेसँगै जंगलभरि कोइला खनेर थुपारेको छ । प्रारम्भिक वातावरणीय अध्ययन भए पनि त्यसको पालना नगरी जथाभावी सुरुङ बनाएको स्थानीय नुनबहादुर सारुको भनाइ छ । उनका अनुसार गत वर्ष कोइला उत्खनन गरिएका स्थानमा समेत पहिरो गइसकेकाले थप वातावरणीय समस्या देखिएको छ । पाल्पा कोलले ७ दशमलव ४७ वर्गकिलोमिटर क्षेत्रफलमा पत्थर कोइला उत्खनन गर्न खानी तथा भूगर्भ विभागबाट ०६१ देखि ०७१ सम्मका लागि अनुमति पाएको थियो । त्रिवेणी कोलले पनि ८ दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफलमा उत्खनन अनुमति पाएको थियो ।
महालक्ष्मीले पाएको १ दशमलव ७६ वर्गकिलोमिटर क्षेत्रफलमा भने तराईका सिमेन्ट, इँटा, धुप, उद्योगका लागि प्रयोग भइरहेको छ । विगतमा स्थानीय तहलाई बुझाउनुपर्ने राजस्वसमेत गोलमाल गरेर हजारौँ मेट्रिक टन कोइला जिल्लाबाहिर निकासी भएको थियो । स्थानीयको जानकारीबिनै बस्ती आसपासमा जथाभावी रूपमा ४०/५० मिटरको सुरुङ निर्माण गरी कोइला उत्खनन हुने गरेको छ । अहिले पनि ३० जनाले दैनिक कोइला खन्ने काम गरेका छन् । स्थानीयलाई बोकाउन, लोड गर्न मात्र प्रयोग गरिने प्रभावित क्षेत्रका बासिन्दा विष्णुप्रसाद सिग्देल बताउँछन् । “माथिल्लो भेगमा कोइलाखानी उत्खनन हुने र सोही कालो माटो आएर बसेपछि खेती हुँदो रहेनछ,” सिग्देल भन्छन्, “क्षति न्यूनीकरणका उपाय अपनाउनुपर्छ भन्ने हाम्रो माग हो ।” विभिन्न कम्पनीले खोजतलास र परीक्षण गर्न भन्दै वार्षिक हजारौँ ट्रक कोइला निकासी गरिरहेको उनको दाबी छ ।
तस्बिरहरु : माधव अर्याल
उत्खननकै कारण बस्तीमुनि र माथि जंगल आसपास पहिरो जाने र जमिन भासिने समस्या देखापरेको स्थानीय कृष्णबहादुर जिसीको गुनासो छ । भन्छन्, “आसपासका सयौँ घर र विद्यालयसमेत प्रत्यक्ष प्रभावित भएका छन्, तर यस विषयमा बोलिदिने कोही छैन ।” कोइलाखानीले गाउँमै धेरथोर रोजगारी दिए पनि अव्यवस्थित उत्खनन हुँदा बस्ती क्षेत्रको भू–भाग भासिने हो कि भन्ने चिन्ताले पिरोलेको जिसी बताउँछन् ।
बस्ती रहेको ५० मिटरभित्रै खानी तथा खनिज पदार्थ ऐन, ०४२ विपरीत सुरुङ बनाएर कोइला उत्खनन भइरहेको छ । सर्तअनुसार कोइला निकालेपछि त्यसलाई पुर्ने र थुन्नुपर्नेमा त्यसो गरिएको छैन । कोइला उत्खनन कम्पनीले सर्त पालना नगर्दा धेरै गाउँका पूरै डाँडै पहिरो चपेटामा परेको स्थानीय शिक्षक रामप्रसाद खनालको भनाइ छ । कोइला निकाल्न र स्थानीयले प्रयोग गर्ने मोटरबाटो पहिरोले पुरिएको छ । उत्खनन गर्दा ५० मिटरभित्रसम्म जथाभावी सुरुङ खनिएको खनालको दाबी छ ।उत्खनन गरेर जथाभावी डम्पिङ गर्ने, वातावरणीय प्रदूषण बढाउने आदि काम भए पनि त्यसलाई अनुगमन गर्ने निकाय फितलो देखिएको स्थानीय धर्म रायमाझी बताउँछन् । भन्छन्, “उत्खननको दुई–चार वर्ष केही नभए पनि अहिले जतासुकै पहिरा गएका छन् ।”
महालक्ष्मी कोलका प्रतिनिधि किशोर दाहाल खानी तथा भूगर्भ विभागबाट स्वीकृत लिएर प्रक्रियाअनुरूप कोइला खोजतलास गरिएको दाबी गर्छन् । भन्छन्, “सरोकारवाला निकायसँगको समन्वयमै कोइला निकाल्न लागेको हो । स्थानीयको अवरोधले केही समय रोकिए पनि पछि कुरा मिल्छ ।”
उनका अनुसार डिभिजन वन कार्यालयबाट अनुगमन गरी सोहीअनुसारको जग्गा अन्यत्र किनेर दिने सम्झौता भइसकेको छ । १४ वर्षअघि कोइलाखानी सुरु हुँदा देवीनगरका पुरन रास्कोटी खुसी थिए । सोही ठाउँका कृष्णप्रसाद श्रेष्ठ पनि फुर्सद समय कोइला खन्ने र बोक्ने गर्थे । अहिले उनलाई बेलाबेलामा बिरामी हुने समस्या आइलागेको छ । “गाउँ आसपास र पल्लो गाउँमा सुरुङ खनिएको छ,” श्रेष्ठ भन्छन्, “पहिले काम गर्दा थाहा भएन, अहिले संकट आउलाजस्तो छ ।” जाल्पा, देवीनगर, झडेवाका वासिन्दा कोइलाखानी सुरु हुँदा जति खुसी थिए, अहिले त्यति नै दुःखी छन् । उनीहरूले कोइलाखानीमा कामदारका रूपमा जागिर पनि पाए । एकै गाउँमा कम्तीमा १५ भन्दा बढीले कोइलाखानीको रोजगारी पाए । सिजनमा ५० भन्दा बढीले काम पाए । सुरुङ खनेर कोइला निकाल्ने र ट्र्याक्टरमा लोड गर्ने काम गर्थे ।
खानी उत्खननका क्रममा सुरुङ धेरै भित्रसम्म पुगेको छ । ५०/६० मिटरसम्म पुगेको सुरुङले गाउँबस्ती नै जोखिममा परेको छ । “अहिले बल्ल त्यसको असर हामीले भोग्नुपरेको छ,” देवीनगरकै यमबहादुर जर्घा भन्छन्, “त्यसबेला क्षणिक रोजगारले सबैलाई खुसी बनायो । अहिले समस्या थुप्रिए ।”
उदयपुर, दाङ, कैलालीलगायत स्थानबाट कोइला खन्ने मजदुर आउँथे । अहिले पनि छन् । बिदा समय विद्यार्थीले कोइलाखानीमा काम गरेर पैसा कमाउने र पढाइ खर्च चलाउने गरेका थिए । अहिले भने गाउँबस्ती नै भासिने र बसाइँ सर्नुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता सबैमा रहेको स्थानीय नरबहादुर सारु बताउँछन् । जाल्पा, देवीनगर र झडेवामा ५ सयभन्दा बढी कोइलाखानी निकालेको सुरुङ छ । माथिल्लो भागमा खानी सकिएपछि अहिले डाँडाको तल्लो स्थानमा कोइला खोजतलास गरिएको छ । झडेवाका सुदर्शन रायमाझीका अनुसार जथाभावी उत्खननले ३ सयभन्दा बढी घरपरिवार प्रभावित छन् ।
कोइला निकालेका अधिकांश स्थानमा सुरुङको जमिन भासिएकाले गाईवस्तु फस्ने समस्या बढेका छन् । माथागढी–४ झडेवाका वडाध्यक्ष मधु पराजुली भन्छन्, “स्थानीयको गुनासाका आधारमा दुवै पक्षसँग छलफल भएको छ । कम्पनीले पनि क्षति न्यूनीकरणका उपाय अपनाउनु जरुरी छ ।”
गाउँका केही टाठाबाठा, अगुवालाई साथ लिने र सर्वसाधारणलाई रोजगार दिएको बहानामा डाँडा, बस्ती नजिक सुरुङ खनिएको छ । पहिले गाउँमा खानेपानी, मोटरबाटो निर्माण, विद्यालय सञ्चालनमा केही रकम सहयोग गरेपछि स्थानीय सहमत भए पनि अहिले खानी उत्खननले समस्या निम्ताएको रायमाझीको दाबी छ ।
पाल्पा कोल र त्रिवेणी कोलले १४ वर्षअघि र केही वर्षयता महालक्ष्मी कोलले कोइला उत्खनन गर्दै आएका छन् । अव्यवस्थित उत्खननकै कारण थपनडाँडा, मुन्टुङ, काफलडाँडा, मर्सिडाँडा, उड्डाँडा, सिमल्दी, चिर्तुङ, झडेवाको देवगीर, पीपलडाँडालगायतका स्थानमा सयभन्दा बढी पहिरो खसेको छ । माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई भने अहिले कम्पनीबाट व्यक्त प्रतिबद्धताअनुसारका सर्त सम्बोधन गरेर मात्र कोइला निकासी खोल्नुपर्ने निष्कर्षमा पुगेकी छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...