भन्न बाँकी हजार कथाहरु
मण्डला नाटकघरमा किरणको निर्देशनमा जोखना मञ्चन भइरहेको छ । बेपत्ता नागरिक र उसको परिवारले भोग्नुपर्ने पीडा अनि त्यसमाथि परम्पराको आडमा समाजका गन्यमान्यले थपिदिने नुनचुकलाई नाटकको केन्द्रमा राखिएको छ ।
पाँचथरको कुरुम्बाबाट झापा झर्दा किरण चाम्लिङ राई, २९, को महत्त्वाकांक्षा एउटै थियो, प्लस टु पढ्ने । सहर प्रवेशसँगै रहर थपिँदै गए । सुरुआत भयो, संगीतबाट । त्यसपछि रंगकर्म । समय बित्दै गयो । झापाबाट काठमाडौँ आए तर रंगमञ्चप्रतिको प्रेम पातलिएन, बरु घनीभूत हुँदै गयो ।
यतिबेला अनामनगरस्थित मण्डला नाटकघरमा उनको निर्देशनमा जोखना मञ्चन भइरहेको छ । बेपत्ता नागरिक र उसको परिवारले भोग्नुपर्ने पीडा अनि त्यसमाथि परम्पराको आडमा समाजका गन्यमान्यले थपिदिने नुनचुकलाई नाटकको केन्द्रमा राखिएको छ । भन्छन्, “किराँती मुन्धुम संस्कृतिसँगै हाम्रो सामाजिक–राजनीतिक मुद्दा उठाउन खोजेको छु । नाटकले व्यवस्थाप्रति प्रश्न सोध्नुपर्छ जस्तो लाग्छ ।”
किरण यस्तो परिवारमा हुर्किए, जहाँ एउटै आशीष पाइन्थ्यो, लाहुरे हुनू । उनका जेठा दाइ सिंगापुरे लाहुरे छन् । उनी भने परिवार र समाजले उस्तो नरुचाएको क्षेत्रमा स्थापित हुने संघर्षमा छन् ।
जोखनामा अभिनय गर्दै संगीता थापा | तस्बिर प्रयास वान्तवा
दुई वर्षअघि किरण निर्देशक वर्कसपमा सहभागी भए । उनीसँगै १२ नयाँ सिर्जनशील निर्देशक मिलेर केही महिनाअगाडि नाटक तयार पारे, खबर हराएको चिठी । पोखरा आसपासका बेपत्ता नागरिक परिवार र आफन्तसँग भलाकुसारी गरेपछि नाटक बनाइएको थियो । किरणले चाहिँ २० मिनेटको छोटो नाटक तयार पारे । यत्तिले उनको प्यास मेटिएन । यही छेकोमा वियस राईको कथासंग्रह हिउँमाझी हात पर्यो । यसैभित्रको ‘जोखना’ कथाले किरणलाई तान्यो । वियससँग स्वीकृति लिएपछि राजन मुकारुङ नाट्य रुपान्तरका लागि तयार भए । किरण भन्छन्, “जोखना कथाको सारलाई लिएँ । त्यसमा मेरो आइडिया मिसाएर नाटक तयार पारिएको छ ।” ८ वैशाखसम्म चल्ने यो नाटक नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–०७५ मा पनि छानिएको थियो ।
झापा ओर्लिएपछि अनायासै संगीतमा मोहित भएका थिए, किरण । तीन वर्षसम्म लगातार गायन सिके । जब गाउन थाल्थे, स्वर्णिम संसारमा पुगेको अनुभूत हुन्थ्यो । स्थानीय गन्तव्य थिएटरसँग जोडिएपछि उनको कला–ऊर्जा अझ फस्टायो । तर गाएर र अभिनय गरेर मात्र टिक्न सम्भव थिएन । त्यसैले खर्च धान्नकै लागि भिडियो सम्पादन सिके र स्थानीय हिमशिखर टीभीमा जागिर खान थाले । किरण सम्झन्छन्, “यहाँ बसेर मेरो प्रगति हुन्न भन्ने आभास हुन थाल्यो, बिस्तारै । त्यसैले झापा छाडेँ र काठमाडौँ हानिएँ ।” बिरानो सहरमा पाइला राख्दा जति नर्भस थिए, उति जिज्ञासु पनि ।
सम्पादन सीपले कामको अभाव भएन, न्युज २४ टिभीमा जोडिए । सँगै नेपाल म्युजिक सेन्टरमा संगीत सिक्न थाले । जागिर र पढाइको सन्तुलन मिल्दै थियो । त्यही बेला देशभर सांगीतिक यात्रा गर्ने अवसर जुर्यो । लामो यात्रा भएकाले जागिर छाड्ने बाध्यता आइलाग्यो । त्यही यात्राको दौरान भेटिए, रंगकर्मी घिमिरे युवराज । राजधानी छिरेपछि छायामा परेको किरणको नाट्यप्रेम घिमिरेको संगतले पुनः जागृत भयो । तिनताका घिमिरे नयाँ नाटकघर खोल्ने गृहकार्य गर्दै थिए ।
तस्बिरहरु : महेश प्रधान
सिफलबाट दुई घन्टा हिँडेर थापाथलीस्थित शिल्पी अफिस आइपुग्थे, रोजै । किरण सम्झन्छन्, “त्यतिविघ्न ऊर्जाको स्रोत के थियो, ठ्याक्कै भन्न सक्दिनँ । आफ्नै नाटकघर भएपछि गुरुकुलका कलाकारले झैँ नियमित नाटक गर्न पाइन्छ भन्ने लोभले तानेको थियो सायद ।” त्यतिबेला सडक नाटक गर्दै देशभर दौडिए तर पारिश्रमिक आउँदैनथ्यो । शिल्पीको भवन बनाउन जम्मा गरियो । पसिना बनाउँदा–बगाउँदै तीन वर्ष बित्यो । र, तयार भयो, बत्तीसपुतलीमा शिल्पीको गोठाले नाटकघर । यहाँको पहिलो नाटक कोमा : अ पोलिटिकल सेक्समा अभिनय गरे । यसपछि आफ्नै लेखन, निर्देशन र अभिनयमा यल्लो कमेडी तयार पारे । जम्माजम्मी २० मिनेटको यही नाटक हेरेर हो, अनुप बरालले दोख फिल्ममा उनलाई खेलाएको । यल्लो कमेडीपछि उपेन्द्र सुब्बाका दुई कथा ‘प्रभु माइला’ र ‘मनमाया’ जोडेर लाटो पहाड नाटक निर्देशन गरे । त्यसले व्यापक चर्चा पायो ।
निरन्तर साधनाले रंगकर्मीसँग संगत र सम्पर्क पनि बढ्यो । बाहिरबाट नाटकका प्रस्ताव आउन थाले । जीवन धान्न पनि अरुसँग सहकार्य गर्नुपर्ने बाध्यता थियो । तर शिल्पीको एउटा नियम बाधक बन्यो, बाहिर काम गर्न नपाउने । “म स्वतन्त्र भएर उड्न चाहन्थेँ । त्यो माहोल त्यहाँ मिलेन,” किरणको आवाज दरिलो सुनियो, “पाँच वर्षपछि शिल्पी छाड्नुपर्दा डर थिएन, बरु त्यसको माया थियो ।” त्यहाँबाट बाहिरिएपछि रंगकर्मबाट केही समय ओझेल परे । फिल्ममा स्टिल फोटोग्राफी, भिडियो निर्देशन र सम्पादनको काम गरे । तर ध्यान त नाटकमै थियो । अनुप बराल निर्देशित थाङ्लाबाट ‘कमब्याक’ गरे । प्रदर्शनरत फिल्म साइँलीमा पनि उनको अभिनय छ ।
नाटकमा संगीत र कोरियोग्राफीलाई महत्त्व दिन्छन् किरण । हमेसा आफ्नै क्षेत्र र संस्कृतिका कथा रोज्छन् । “विदेशी नाटक गर्ने आँट आउँदैन । देखे/भोगेका कथाचाहिँ जीवन्त शैलीमा भन्न सक्छु जस्तो लाग्छ,” किरण भन्छन्, “हाम्रा आफ्नै हजारौँ कथा भन्न बाँकी छन् । यस्तै नाटकबाट मात्र संसारमा हाम्रो पहिचान निर्माण हुन सक्छ ।” संगीतसँगै मार्सल आर्टस् र डान्स सिकेका छन् । ‘भिजुअल मेकिङ’ को ज्ञान छ । यी कुराले नाटकमा कहीँ न कहीँ मद्दत गर्ने विश्वास छ उनको । प्रायः रंगकर्मी कुनै न कुनै नाटकघर र संस्थामा जोडिएका हुन्छन् । किरण भने कतै आबद्ध देखिन्नन् । यसको फाइदा– मर्जीअनुरुप काम । बेफाइदा– दुःखजिलो गरेर नाटक बनायो, मञ्चको अभाव । तैपनि किरण मुस्काइरहेकै छन् । पुछारमा भन्छन्, “यही स्वतन्त्रता र संघर्षमा रमाइरहेको छु ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...