वर्ष ०७५ : कला न व्यापार
नेपाली फिल्मको वर्ष ०७५ को वस्तुगत विश्लेषण गर्दा एउटै निष्कर्षमा पुगिन्छ, निराशा
सिनेमा : ०७५
वर्ष ०७५ मा ९४ फिल्म रिलिज भइसके, दुई बाँकी छन् । नेपालको जनसंख्या तीन करोड हाराहारी छ । अनौपचारिक अध्ययन भन्छन्, यसमध्ये तीन प्रतिशत पनि फिल्म हेर्न नियमित हल पुग्दैनन् । बजार साँघुरो छ । तर हप्तैपिच्छे सरदर दुई फिल्म हलमा लाग्छन् । अनि लगानी उठोस् कसरी ? प्रदर्शितमध्ये छक्का-पञ्जा ३ सुपरहिट भयो । जय भोले र नाईं नभन्नु ल ५ ले धेरथोर नाफा कमाए । अरु एकाध फिल्मले जेनतेन लगानी उठाए । बाँकी सबै घाटामा ।
गत साउनबाट सरकारले चलचित्र विकास बोर्डमार्फत काठमाडौँ उपत्यकामा बक्स अफिस प्रणाली जडान गर्यो । फिल्मको व्यापार पारदर्शी हुने अपेक्षा थियो । तर निर्माता बक्स अफिसको यकिन तथ्यांक सार्वजनिक गर्न अनुदार देखिए । रिलिजका दौरान लाखौँ-करोडौँ कमाएको ढोल पिटाउने, केही सातापछि पुर्पुरोमा हात राख्ने प्रवृत्ति अझ मौलायो । बक्स अफिसका 'कन्सल्ट्यान्ट' मनीष पण्डितकै शब्दमा, नेपाली फिल्मको व्यापार अत्यन्त निराशाजनक छ । भन्छन्, "बाहिर प्रचार हुने आँकडा र वास्तविक व्यापारबीच आकाशपातालको फरक छ ।" तर बजार धूलीसात भएको चिन्ता कसैलाई देखिन्न । 'मुर्गा' फसाउने संस्कार फस्टाउँदो छ । शनिबार गोपीकृष्ण हलमा जम्मा भीडको तस्बिर फेसबुकमा हालेर निर्माताहरु आत्मरतिमा रमाउँदा छन् । आइतबारदेखि हल सुनसान ।
नेपाली फिल्मको औसत लगानी एक करोड २० लाख रुपैयाँ पुगेको छ । नेपालभित्रबाटै यति लगानी उठाउन ३ करोड ६० लाख कलेक्सन गर्नैपर्छ । एकातिर हल कम छन्, अर्कोतिर देशी/विदेशी फिल्मसँग जुध्नुपर्छ, हल बाँडिन्छन् । व्यापार घट्ने भइहाल्यो । तर बजारको वस्तुगत अध्ययन र कमाइको नयाँ स्रोत नपहिल्याई लगानी खन्याउनेहरु यस वर्ष पनि आए, गोजी रित्याए, गए । जस्तो, तीन करोड रुपैयाँ खर्चेर गोमा विष्टले रणवीर बनाइन् । प्रमोसनको पैसा पनि उठेन । 'निर्देशकले डुबाए' भन्दै रोइलो मच्चाइन् । तीन करोड लगानीकै अर्को फिल्म द ब्रेकअप पनि सुपरफ्लप भयो । अनमोल केसीको क्याप्टेनले समेत लगानी उठाएन । अर्का स्टार प्रदीप खड्का अभिनीत रोजका निर्माता रिलिजपछि गुमनाम भए । पारिश्रमिक नपाएपछि कलाकारले उजुरी गरे । पाँच करोड खर्चिएको द म्यान फ्रम काठमाडौँले रिलिजको दिनबाटै दर्शक खडेरी सामना गर्नुपर्यो ।
हालत यस्तो छ । तर कलाकार र निर्देशकको पारिश्रमिक अस्वाभाविक ढंगले बढेको बढ्यै छ । रामबाबु गुरुङले साइँलीको लेखन/निर्देशनका लागि ४० लाख रुपैयाँ लिए । कृ फ्लप हुँदा पनि अनमोलको पारिश्रमिक ५० लाख पुगेको चर्चा चल्यो । प्रदीप ४० लाख, दयाहाङ राई र विपिन कार्कीले २० लाख लिन थाले । हिरोइनमा चाहिँ साम्राज्ञीराज्यलक्ष्मी शाह अगाडि छन्, उनले मारुनीमा १६ लाख लिइन् । यो वर्ष नेपाली फिल्ममा कलाकारको पारिश्रमिक बढ्नुबाहेक अर्को उल्लेख्य प्रगति भएन । सुन्दा तीतो लागे पनि सत्य यही हो ।
व्यापार त डाँवाडोल भइहाल्यो नै, सिर्जनात्मक पाटोमा पनि नेपाली फिल्म शिथिल रहे यो वर्ष । हरिले कथावाचनमा नवीन प्रयोग गर्यो । मौलिक कथा र कलाकारको जीवन्त अभिनयले बुलबुललाई चौतर्फी प्रशंसा दिलायो । 'इन्डी- फिल्म' चक्कर हलमा प्रदर्शन हुन पायो । बाँकी दीर्घकालसम्म प्रभाव पार्ने ल्याकत भएका फिल्म बनेनन् । पटकथालाई चरम बेवास्ता गर्ने, कथित स्टारडममा भर पर्ने नियतिले यसपटक पनि निरन्तरता पायो । गीत खिच्न कि हिमाल धाउने, कि युरोप उड्ने क्रम रोकिएन ।
छक्का-पञ्जाको धङधङीबाट पूरापूर ग्रस्त भयो फिल्म उद्योग । त्यो भनेको, जसरी-तसरी हँसाउने, त्यो पनि दृश्य होइन, संवादबाट । पूर्णेन्दु झा, दीपेन्द्र के खनालजस्ता फिल्मको औपचारिक अध्ययन गरेका र खगेन्द्र लामिछानेजस्ता सिर्जनशील भनिएकाले पनि यही बाटो रोजे । थ्रिलर जनराको सुनकेशरीमा पनि जबर्जस्ती कमेडी हाबी हुँदा दर्शक निराश भए । हिट हुने बिकाउ सूत्रको पछि दौडेर फिल्मको कलात्मक पाटो कहिले उँभो लाग्छ ? नेपाली फिल्ममेकरले कहिल्यै आफैँसँग प्रश्न गरेनन् ।
चार गीत, एकाध एक्सन, रोमान्स, रोनाधोना घोलघाल पारिएका बासी स्वादका फिल्मको पनि लर्को लाग्यो । आर्यन सिग्देलले यही शैलीलाई आदर्श मानेर कायरा बनाए तर साख बचाउन सकेनन् । साम्राज्ञीको इन्टु मिन्टु लन्डनमाले पनि नेपालबाटै लगानी उठाउन सकेन । यस वर्ष अर्को लाजमर्दो संयोगको साक्षी हुनुपर्यो । केही महिनाको अन्तरमा कोहलपुर एक्सप्रेस र झमकबहादुर रिलिज भए । दुवैको कथा उही । किनभने स्रोत एउटै थियो, हिन्दी फिल्म मुम्बई एक्सप्रेस । थाई फिल्म पी मकबाट उडाएर रामकहानी बनाइयो । गोपी, खाग, कथा ७२, कागजपत्रजस्ता स्थानीय कथामाथि बनेका फिल्म पनि कमजोर सावित भए । अनि, यस वर्ष एउटै नेपाली फिल्मले प्रतिष्ठित विदेशी फेस्टिभलमा सानदार उपस्थिति जनाउन सकेनन् ।
यो वर्ष त यस्तै भइहाल्यो । बनिरहेका र बन्ने क्रममा रहेका फिल्मलाई नियाल्ने हो भने ०७६ मा पनि यही निम्छरो नियतिले निरन्तरता पाउने सम्भावना बलियो छ । बजारको वस्तुगत विश्लेषण र कलाप्रतिको इमानदारी फिल्ममेकरमा अझै देखिँदैन । प्रायः क्षणिक लाभ र प्रायोजित प्रशंसाको मार्गमा अग्रसर छन्, जुन विडम्बना हो । यस्ता प्रवृत्ति अन्त्यबिना नेपाली फिल्म क्षेत्र समृद्ध होला र ?
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...