वर्ष ०७५ का ५ गैरआख्यान
वर्ष गैरआख्यान : ०७५
छुटेका अनुहार
महाआख्यानको क्यानभास छाडेर ससाना अनुभूतिलाई कुशलतापूर्वक बुनेका छन्, रमेश सायनले छुटेका अनुहारमा । यी अनुभूतिलाई सायनले एकातिर गतिलो निबन्धको पुट दिने भरमार कसरत गरेका छन् भने अर्कातिर आफ्नो कवि छापलाई फिक्का हुन दिएका छैनन् । आफ्नै समाजमा \'आफू\' हुनुको संघर्षदेखि पैसाका लागि विदेशी भूमिमा गरेका दुःखलाई सकभर इमानदारपूर्वक लेखेका छन् सायनले । प्रेम र यौनलाई बिनाआडम्बर सहज-सरल शैलीमा लेख्न सक्नु उनको खुबी माने हुन्छ । प्रशस्त हास्यसहितको उनको लयात्मक भाषा कहीँ कतै सूक्तिझैँ लाग्छन् । युवा मनोविज्ञानकेन्द्री मसिना घटनावली आकर्षक लाग्छन् ।
साइड हिरो
रेडियो, टेलिभिजन र सिनेमामा संगालेका तीन दशकका अनुभवलाई ब्रजेशले सरस ढंगले पस्केका छन्, साइड हिरोमा । बलिउडको प्रभावले भिजेको नेपाली सिनेमा त्यो कालखण्डलाई उनले निजात्मक अनुभूतिको मालामा उनेका छन् । हिरो हुने अवसरको खोजीमा संघर्ष गर्दा हात लागेका असफलतालाई कतै हास्यचेतसहित त कतै गम्भीर शैलीमा चित्रण गरेका छन् । लाग्छ, केन्द्रमा उभिन खोज्दा परिधिमा धकेलिनुपरेको पीडालाई उनले नोस्ताल्जियाको लेप लगाएर मिठास दिएका छन् । सरसर्ती पढ्दा ब्रजेशको निजी संघर्षकथा रुपमा उभिएको साइड हिरो नेपाली सिने इतिहासको अनुहार नियाल्ने दर्पण बनेको छ ।
सिकाउने शैली
नेपालको विद्यालयीय शिक्षाका चुनौतीलाई मार्मिक ढंगमा उठान प्रस्तुत गरिएको छ, खगराज बरालको सिकाउने शैलीमा । शिक्षक तालिम औपचारिकतामा सीमित रहेकाले पठनपाठन गुणस्तरीय हुन नसकेको पाटोलाई तार्किक रुपमा लेखिएको छ । बहुदलीय व्यवस्थापछिको सरकारले लिएका शैक्षिक नीति र त्यसका कार्यान्वयन पक्षलाई बरालले मिहीन ढंगले व्याख्या गरेका छन् । विद्यालयहरुको विसंगति र समस्यालाई उठान गरिएको यस पुस्तकले व्यावहारिक शिक्षामा जोड दिन्छ । लेखकले तराई, पहाड र हिमाली जिल्लामा रहेर काम गर्दाका अनुभवलाई संस्मरणात्मक शैलीमा पेस गरेकाले पुस्तक शिक्षा क्षेत्रका पाठक/अध्येताका लागि उपयोगी छ ।
बालापन जीवनको
सांगीतिक समूह राल्फाका अभियन्ता रामेशले साढे सात दशक उमेरबिन्दुमा उभिएर आफ्नो बाल्यकाललाई फर्केर हेरेका छन् । सधैँ सामाजिक न्यायको पक्षबाट लडेका रामेशले बाल्यकालीन दृश्यका माध्यमबाट पुरानो समयलाई अभिलेखमा उतारेका छन् । यो किताब एक जनगायकले बाल्यकालमा वाद्यवादन र सुरतालसँग गरेको संगतको साक्षी मात्र होइन, नेपाली राजनीतिको उतारचढावलाई निकटबाट अनुभूत गर्ने बाटो पनि हो । राणाकालीन सामाजिक संरचना र सोचको वास्तविकता पढ्न चाहने नयाँ पुस्ताका लागि बालापन जीवनको खुराक हुन सक्छ ।
प्रारब्ध
एक इन्जिनियरका आफ्ना मसिना अनुभवलाई रोचक ढंगले लेखिएको पुस्तक हो, प्रारब्ध । डायरी शैलीमा लेखिएको यो किताबमा भुवन चन्द ठकुरीले बाल्यकालीन जिज्ञासादेखि साठीको मध्यसम्मका तीता अनुभूतिलाई समेटेका छन् । आशा-निराशा, उत्साह-संघर्षजस्ता वैयक्तिक अनुभवलाई सामाजिक संरचनासँग सहज ढंगले बुन्न सक्नु लेखकको शक्ति हो । चिकित्सा विज्ञानले फड्को मारिसकेको वैश्विक परिवेशमा पनि झारफुकको शरणमा जान बाध्य भएको घटनालाई समेत उजागर गरेका छन् । कल्कलाउँदो वयमै मृत्युवरण गरेकी छोरीको सम्झनामा एक बाबुले उतारेको शब्दविन्यासले पाठकलाई द्रवित तुल्याउँछ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...