बीपीको अप्रकाशित मन्तव्य
बीपीसँग दाजु केशवराममार्फत कवितासंग्रहको पाण्डुलिपि लिएर चावहिल निवासमा मन्तव्यका लागि पुगेँ, ०१४ कात्तिकमा । त्यो नै बीपीसँग मेरो पहिलो भेट थियो । बीपीलाई मेरो पाण्डुलिपि बुझाएँ । उनमा राजनीति र साहित्यप्रति बरोबरी चासो रहेको पाएँ ।
बाउबाजे पुख्र्यौली कपडा व्यापारमा सक्रिय रहे पनि दाजु केशवरामको क्रान्तिकारी राजनीतिक लगावका कारण म युवावयमै साहित्यमा लहसिएँ । भर्खरै १९ लौरी टेक्दै थिएँ । बीए पढ्दै थिएँ । पाटन-काठमाडौँ आउजाउक्रम कहिले त दैनिक तीन-चारचोटिसम्म पनि हुन्थ्यो । काठमाडौँका सडकमा टहलिँदै गर्दा मेरो अन्तःस्करणमा साहित्यिक हुन्डरी चलेको हो ।
टुँडिखेल खरीको रुखले शाह/राणाकालीन शासनको महत्ता पनि दर्शाउँछ । त्यही खरीको रुखमुनि बसेर राणा शासक जंगबहादुरले राजा राजेन्द्रविक्रमलाई अक्षम घोषणा गरी देश निकाला गरेपछि सुरेन्द्रविक्रम शाहलाई राजगद्दीको हकदार बनाएका थिए । बेलायती रानी एलिजावेथ द्वितीयको नेपाल भ्रमण (०१७) क्रममा खरीको रुख गिँडियो ।
त्यही खरीको रुखमुनि बसेर मैले साहित्यको श्रीगणेश गरेँ, १९ मंसिर २०११ मा । पहिलो कविताको शीर्षक थियो, '....त पागल हुँदैन' । ६० कविताको ठेली तयार पारेँ । उबेलाको राजनीति, बीपी कोइराला, जवाहरलाल नेहरु, स्टालिनजस्ता राजनीतिज्ञ र समाजको अन्तरकुन्तर, मानवीय हृदयको चीत्कारजस्ता शब्द राखिएर लेखिएका कविता थिए, त्यसमा ।
सुरुमा साहित्य लेखनमा मस्तिष्कको डुलाइ सीमित भए पनि मेरो विचारथैलीचाहिँ असीमित थियो । त्यसपछि गद्य शैलीको ज्योत्सना खण्डकाव्य (०१३), पत्नीस्तुति कदम खण्डकाव्य, बैनीपूजाको महत्ता दर्शाउने बैनीपूजा (०१५), रुसी लेखक लियन्टियेवले लेखेको पुस्तकलाई समाजको विकास नाम दिएर नेपालीमा अनुवाद गरेँ । ०१७ पछि लेखन यात्राको रुट बदलियो । इतिहास र संस्कृतिमा घुसेँ ।
अध्ययन, कपडा व्यापार, व्यवसाय सम्हाल्ने जिम्मेवारी मैमाथि रहेको हुँदा कविता सिर्जना गर्दा रातभर सुत्दिनथेँ । त्यसैकारण मलाई निद्रा नलाग्ने समस्या भयो । उबेला (०१६/१७) काठमाडौँका नाम चलेका डाक्टर सिद्धिमणि दीक्षित, जितसिंह मल्ल र हल्डर (नेपाली सेनाका डाक्टर) सँग जँचाउन पुगेँ । तर डाक्टरी औषधीले मलाई निको भएन ।
म सुन्धारा घर भएका काइँला मामा वैद्य थिरगोविन्दकहाँ जडीबुटी औषधीका लागि गएँ । उनले निद्रा आउने अनौठो उपाय प्रयोग गरे ममाथि । चिउरा र छ्यापी हालेको तरकारी खान दिन्थे । यो क्रम करिब १२-१५ दिनसम्म चल्यो । त्यही चिउरा र छ्यापीले मलाई निद्रा लाग्न थाल्यो । कविता लेख्न छाडिदिएँ । इतिहास र संस्कृति लेखन थालनी गरेँ ।
कविताको ठेलीलाई कामना कविता संग्रह न्वारान दिएर नाम चलेका अग्रज साहित्यकारको मन्तव्यको खोजीमा लागेँ । यसै मेसोमा बीपी कोइराला, सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथितसँग सम्पर्क हुन सक्यो ।
बीपीसँग दाजु केशवराममार्फत कवितासंग्रहको पाण्डुलिपि लिएर चावहिल निवासमा मन्तव्यका लागि पुगेँ, ०१४ कात्तिकमा । त्यो नै बीपीसँग मेरो पहिलो भेट थियो । बीपीलाई मेरो पाण्डुलिपि बुझाएँ । उनमा राजनीति र साहित्यप्रति बरोबरी चासो रहेको पाएँ ।
युवावयमै साहित्यमा लागेर देश र समाजका लागि राम्रो गरेको भन्दै बीपीले धाप दिए । मसँग राजनीतिबारे खासै केही बोलेनन् । अझ अगाडि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । बीपी निवासमा चिया खाएर दाजुभाइ फर्कियौँ । केही दिनपछि दाजु बीपी निवास गएर पाण्डुलिपि फिर्ता ल्याए, २२ कात्तिक ०१४ मा ।
बीपीले मेरो साहित्यप्रति यस्तो मन्तव्य लेखे, 'श्री हरिराम जोशीको सुन्दर रचना पढेँ । कोमल भावनाले ओतप्रोत भएका कविताहरु रसिला छन् । राम्रो प्रेरणा त युवक कविमा वर्तमान भएको बुझिन्छ । अनुभव र चिन्तन, जो उमेरका साथ बढ्दै जान्छ, उपलब्ध भएपछि निश्चय नै श्री जोशीको कवितामा त्यो दृढता र भावनाको निश्चितता आउनेछ, जसले उहाँलाई सुहाउँदो स्थान नेपाली कविता पाठकको हृदयमा प्राप्त हुनेछ । मैले जस्तो उत्सुकतासाथ यी कविताहरु पढेँ, त्यस्तै उत्सुकतासाथ उहाँको कविताको विकास भएको हेरिरहनेछु ।'
पछि आफ्नै कवितामा चित्त बुझेन मलाई । त्यस्ता मूर्धन्य साहित्यकारका मन्तव्य पाएर पनि त्यो संग्रह प्रकाशन गरिनँ ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...