हकका लागि मरिमेट्ने, दायित्व बिर्सने
नैतिक शिक्षाको अभाव, तीव्र सहरी विकास र विश्वासको संकटले बढ्दो संवेदनहीनता
बा १ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठले सेवाग्राही गोपाल कारञ्जित अचानक बेहोश भएपछि न्यूनतम संवेदना पनि नदेखाई बीच बाटोमै अलपत्र छाडिदिए । उनी बितेको खबर परिवारले थाहा पाएपछि प्रहरी खोजबिनका क्रममा घटना सार्वजनिक भयो । तत्क्षणलाई चौतर्फी विरोध त भयो, तर त्यो धेरै समय चलेन । धेरैले समाचार पढे, अनि भुले ।
चैत ०७२ मा नक्कली भूकम्पपीडितले राहत रकम लिएको उजुरीबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँले छानबिन थाल्यो । २ चैतमा काठमाडौँका २५ जनाले भूकम्पपीडितका नाममा लिएको रकम फिर्ता गरे । भूकम्पले सिंगो देशलाई थिलथिलो बनाएका बेला आफैँले सक्दो सहयोग गर्नुपर्नेमा कतिपय सरकारी कर्मचारीदेखि सर्वसाधारण सकेसम्म राहत सामग्रीको दोहन गर्न उद्धत देखिए ।
केही समयअघि सरकारले लुट्न हुन्छ भने हामीले किन हुँदैन भन्दै पशुपति शर्माको 'लुट्न सके लुट' गीत खुबै हिट भयो । गीत व्यंग्यात्मक भए पनि यसको स्वीकारोक्तिलाई देखेर हाम्रो समाज साधुलाई भन्दा चोरलाई बढी सराहना गर्छ भन्ने प्रमाण दिन्छ ।
यी केही उदाहरण मात्र हुन् । अचेल समाजमा यस्ता घटना झनै बढिरहेका छन् । चाहे त्यो पशुपति आर्यघाटमा शव पोलिरहेको दृश्य कैद गर्ने जमात होस् वा केही बेर ट्राफिकजाममा कुर्नु परेकामा कानै खाने गरी हर्न बजाउने चालक । शवसँग सेल्फी खिचेर फलोअर्स बढाउने व्यक्ति हुन् वा जथाभावी बाटो काट्ने यात्रु । हामी अधिकारका लागि जति सचेत छौँ, त्यति नै आफ्नो दायित्व निर्वाह गर्न उत्सुक छैनौँ भन्नलाई यी दृष्टान्त काफी छन् । ठूलै दुर्घटना मानिने यस्ता घटना हिजोआज किन सामान्य हुँदै गइरहेका होलान् !
युवाको पहल
केही भएको छैन भनिरहँदा भावना श्रेष्ठ तथा सागर सत्याल 'माई इमोसन्स म्याटर' नामक संस्थामार्फत युवा, वरिष्ठ नागरिकलगायतलाई संवेदनशील बन्न उत्प्रेरित गरिरहेका छन् । कलेज तथा विभिन्न संस्थाहरूमा उनीहरूले दयालु हुन, समानुभूति राख्न र सही भावना अभिव्यक्त गर्न सिकाइरहेका छन् ।
डेढ वर्षअघि सुरु संस्थाको पृष्ठभूमिबारे सागर भन्छन्, "सन् २०१३ मा दक्षिण अफ्रिकामा भइरहेको सिमा ग्लोबल बिजनेस च्यालेन्जमा भाग लिन जाँदा चकित भएँ ।" उनले प्रतिस्पर्धामा रहेका २४ देशमध्ये नेपालको शैक्षिक स्तर फरक पाए । उनीहरूको वैचारिक दृष्टिकोण फराकिलो । आफ्ना भावना सजिलै व्यक्त गर्न सक्ने । अनि शैक्षिक क्षेत्रप्रति उनको मोह ।
०७२ को भूकम्पताका नजिकका आफन्त गुमाएपछि जीवनप्रति सागरको दृष्टिकोण नै बदलियो । भन्छन्, "जीवन भनेको पढाइ मात्र होइन, राम्रो नम्बर ल्याएर पास गरेर मात्र पुग्दैन, जीवनमा प्रेम, पीडा दुवै हुन्छ । तिनीहरूलाई राम्रोसँग अभिव्यक्त गर्न सके मात्रै जीवन सुखी हुन्छ ।"
युवाहरू आफ्नो सही संवेदना पोख्न नसकेर छट्पटाइरहेको देखेपछि सागरले किङ्स कलेजमा 'मेन्टरिङ' गर्ने अवसर पाए, पाइलट प्रोजेक्टको रूपमा । उनले आत्मनिरीक्षण गर्न, दयामायाका साथ समानुभूति (एम्प्याथी) बढाउन ३ विद्यार्थीमाझ यो कार्यक्रम सुरु गरे । थप विद्यार्थी आकषिर्त भएपछि विभाग नै बनाएर कार्यक्रम सुरु गरे । भन्छन्, "हामी आफू को हौँ चिन्दैनौँ र आफ्नो भावना व्यक्त गर्न पनि जान्दैनौँ । आफैँलाई नचिन्ने मान्छेले समाजप्रति कसरी दायित्वबोध गर्न सक्छ ?"
सागरको यो अभियानमा भावना तब जोडिइन्, जब किङ्स कलेजमा एक विद्यार्थीले महिला प्रशिक्षक भए कार्यक्रममा भाग लिने बताइन् । इटहरीमा हुर्केकी भावना ७ वर्षअघि बालिकामाथि आफ्नै सहपाठीले सामूहिक बलात्कार गरेको घटनाको समाचार संकलन गर्न पुगेकी थिइन् । उनले त्यहाँ जे भोगिन्, त्यसले भावनाको जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदियो । घटना पूरै विद्यालयलाई थाहा भए पनि सबैले केटीलाई मात्र दोष दिँदा उनलाई झट्का लाग्यो । भन्छिन्, "बोलेर, मिडियामा समाचार लेख्दा मात्र केही हुँदो रहेनछ ।"
सानो ठाउँका कारण यस्तो भएको होला ठान्दै उनी ठूलो ठाउँमा आफ्ना कुरा सुनाउने इच्छाले काठमाडौँ आइन् । अन्यौलकै बीच 'टिच फर नेपाल' मा पहिलो ब्याचका रूपमा आबद्ध भइन् । त्यसपछि ललितपुरको एउटा सामुदायिक विद्यालयमा पढाउँदा छक्क परिन्, गाउँमा भन्दा यहाँ त झन् विकराल समस्या रहेछ । कसैका बाबु बेपत्ता, कसैका सौतेनी आमा धेरै, बाबुआमा जतिखेर रक्सी खाएर हिँडिदिने आदि/इत्यादि ।
किशोर अवस्थाका केटाकेटीमा पढाइको दबाब, व्यक्तिगत सम्बन्ध, परिवारिक तनाव देखेपछि पढाएर मात्र समस्या समाधान नहुने उनलाई लाग्यो । २ वर्ष पढाएपछि उनी देशको शैक्षिक प्रणाली नै खराब रहेछ भन्ने निष्कर्षमा पुगिन् । भन्छिन्, "पढ-पढ मात्र भन्छौँ तर हाम्रो पढाइले समस्या पर्दा समाधान गर्न सिकाउँदो रहेनछ ।"
काठमाडौँमा कलेज पढाउँदा पनि त्यस्तै समस्याग्रस्त विद्यार्थी भेटिन् । "विद्यार्थीहरू परिवार, शिक्षक, आफन्त अनि व्यक्तिगत सम्बन्धसँग डिल गर्न नसक्ने ।" के गर्ने भन्ने सोचिरहेका बेला कलेजले उनलाई सागरसँग मिलेर काम गर्न सुझाव दियो ।
सागरका अनुसार नेपालमा अधिकांश मानिस राम्रो, नराम्रो, निराश, रिसाएको तथा उदासभन्दा बढी अरू भावनात्मक अभिव्यक्ति दिन असमर्थ छन् । "त्यही भावना चिन्न हामी उनीहरूलाई तालिम दिन्छौँ । विदेशमा यस विषयमा पढाइ पनि हुन्छ, जसलाई 'इमोसनल इन्टेलिजेन्स' भनिन्छ," भावना भन्छिन् ।
उक्त विषयले विद्यार्थीलाई आफ्ना भावना कसरी अभिव्यक्त गर्ने, आफू को हो, सम्बन्ध व्यवस्थित गर्न, दयालु हुन, समाजप्रति समानुभूति राख्न सिकाउँछ । "हामीकहाँ आफू को हो थाहा छैन्, मन नपरेको काम गर्छन्, अनि त्यो रिस, केही बन्न नपाएको आक्रोश अरूप्रति पोख्छन्," भावना तर्क गर्छिन् । चिन्दै नचिनेका मानिसप्रति समानुभूति कसरी बढाउने त ? सागर भन्छन्, "चेतना नै हो । पहिलो त आफू जागरुक हुनुपर्यो ।"
फुटपाथमा सवारी राखेपछि बाटो हिँड्ने बटुवालाई गाह्रो
बाटो बिराउँदै समाज
अरूलाई सहयोग गर्नु, मीठो बोल्नु, समूहमा काम गर्नु, दयामाया गर्नु पूर्वीय सभ्यताको पहिचान हो । परोपकारः पुण्याय पापाय परपीडनम् । अर्थात्, अरूको भलो गरे पुण्य र दुःख दिए पाप लाग्नेछ । यही सिद्धान्तमा बसेको नेपाली समाज कसरी बाटो बिराउन पुग्यो ?
समाजशास्त्री चैतन्य मिश्र यसका लागि तीव्र विकास भइरहेको सहरलाई दोष दिन्छन् । भन्छन्, "पहिले अधिकांश मानिस गाउँ बस्थे, जहाँ सबैले सबैलाई चिनेका हुन्थे । आम्दानीको स्रोत खेतीपाती एकै ठाउँ हुन्थ्यो । अहिले मानिस काठमाडौँजस्ता सानाठूला सहरमा भेला हुन्छन् । एउटालाई अर्कोको केही मतलब हुँदैन । उसको दायित्व पनि परिवार र आफन्तजनमा मात्र सीमित रहन्छ ।"
नेपाली समाज अहिले किन संवेदनहीन बन्दै छ ? त्यो बुझ्न नेपाली समाजको जग पहिल्याउनुपर्ने धारणा राख्छन्, त्रिभुवन विश्वविद्यालय संस्कृति विभाग प्रमुख मदनकुमार रिजाल । भन्छन्, "नेपाली समाजको जग कृषिमा आधारित छ । खेतीकिसानी गर्न ठूला परिवार चाहिन्छ । तसर्थ संयुक्त परिवार हाम्रो जग हो । यसैसँग हाम्रा विभिन्न संस्कार तथा संस्कृति जोडिएका छन्, जुन अहिलेका मानिसले भुल्दै गए ।" मनोचिकित्सक नन्दिता शर्मा पनि मानिस हुर्केको परिवेशले उसको भविष्य निर्धारण गर्न जोड दिने बताउँछिन् । "अहिले नेपाली समाजमा प्रायः बच्चा एकल परिवारमा हुर्कने र सामाजिक नियमबारे जानकार नहुँदा यस्ता समस्या खडा भएका हुन् । "
विज्ञका अनुसार समाजमा तीन किसिमका मानिस देखिने गरेका छन् । एक, जो आफ्नो स्वार्थ मात्र हेर्छन्, दोस्रो, खाली समस्या औँल्याउँछन्, जसको चेपमा सर्वसाधारणदेखि राजनीतिज्ञसमेत पर्ने गर्छन् । तेस्रो, कसैको मुख नताकी चुपचाप कर्तव्य पालना गर्छन् । हामी सबैलाई तेस्रो प्रकृतिका मानिस मन पर्छ । सबैलाई सहयोगी, अनुशासित, करुणामयी, मृदुभाषी, कर्तव्यनिष्ठजस्ता मानिस मन पर्छ । तर तेस्रो किसिमका व्यक्ति किन कम छन् त समाजमा ? मिश्र भन्छन्, "समाजमा सबैखाले मानिस छन् । हामी आफूलाई बढी खराब सोच्छौँ ।"
जसरी युवापिँढी समाजको संवेदनहीनतालाई चिर्न लागिपरेको छ, ज्येष्ठ नागरिक पनि त्यसरी नै खटिएका छन् । २९ वर्षको प्रहरी सेवाबाट भर्खरै अवकाश पाएका पूर्वट्राफिक प्रहरी अधिकृत सीताराम हाछेथु अझै पनि बिनाबर्दीका प्रहरी हुन् । हाल काठमाडौँ र ललितपुरको ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका हाछेथु नागरिकको सेवा आफ्नो पहिलो धर्म भएको मान्छन् । अनुभव बाँड्छन्, "१५ वर्षअगाडि एक गाडीचालक मान्छेलाई ठक्कर दिएँ, मलाई कारबाही गर भनेर आउँथे । अहिले मान्छे ट्राफिकलाई कसरी उल्लू बनाउन सकिन्छ भनेर दाउ खोज्छ ।" अनावश्यक दुःख दिने भएकाले दुर्घटनापछि प्रहरीकहाँ सर्वसाधारण नजानुको कारण खोल्छन् हाछेथु, "पहिले-पहिले नबुझ्दा प्रहरीले दुःख दिन्थे । अहिले सामान्य सोधपुछपछि छाड्छ ।"
प्रविधिको विकाससँगै अरूको आङको जुम्रा देख्ने प्रवृत्ति पनि बढ्दो छ । समाजमा पछिल्लो समय आएको यो विकृतिलाई मनोचिकित्सक शर्मा नैतिक शिक्षाको कमी मान्छिन् । "अहिले न घरमा, न त विद्यालयमा नैतिक शिक्षा पढाइन्छ । मानिसलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुराको जानकारी छैन । खालि आफैँलाई केन्द्रमा राख्न जानेका छन् ।"
अघिल्लोभन्दा पछिल्लो पुस्ता संवेदनहीन बन्दै गएको संस्कृतिविद् रिजालको ठम्याइ छ । मूलतः माओवादी द्वन्द्वले मानिसको विश्वासमा ठूलो खाडल पारेको उनी मान्छन् । "नयाँ पुस्तालाई नेपाली संस्कृति थाहा छैन, जसरी पनि विदेसिन चाहन्छ । यसले केही समयपछि झन् ठूलो समस्या भित्र्याउनेछ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...