पञ्चायतको कैँची मास्टर
निजामती सेवा प्रवेशको ६ वर्षपछि अर्थात् ०२८ देखि सञ्चार मन्त्रालयमा पञ्चायती व्यवस्थाविरोधी गतिविधिका लेख/समाचार काँटछाँटको जिम्मेवारीमा रहेँ म । बहुदलीय व्यवस्था, प्रजातन्त्र, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ आदि नाम छापिएका विदेशी पत्रपत्रिका पञ्च शासकका लागि टाउको दुखाइका विषय हुन्थे ।
निजामती सेवा प्रवेशको ६ वर्षपछि अर्थात् ०२८ देखि सञ्चार मन्त्रालयमा पञ्चायती व्यवस्थाविरोधी गतिविधिका लेख/समाचार काँटछाँटको जिम्मेवारीमा रहेँ म । बहुदलीय व्यवस्था, प्रजातन्त्र, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ आदि नाम छापिएका विदेशी पत्रपत्रिका पञ्च शासकका लागि टाउको दुखाइका विषय हुन्थे । अहिलेजस्तो पत्रपत्रिकामा प्रकाशित समाचारको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल अस्तित्वमा आइसकेको थिएन ।
खासगरी भारतबाट प्रकाशित हुने व्यवस्थाविरोधी समाचारमा कैँची लगाउने जिम्मा उबेला सञ्चार मन्त्रालय, सूचना विभाग, रक्षा मन्त्रालय, बागमती अञ्चलाधीशको कार्यालय र जिल्ला प्रशासनलाई थियो । पञ्चायती गुणगान गाएबाहेकका विदेशी पत्रपत्रिका सेन्सरपछि मात्र एउटै थलो काठमाडौँ, नयाँ सडकको सन्देशगृहमार्फत बिक्री-वितरण गरिन्थे ।
सञ्चार मन्त्रालयले दरबारको निर्देशनमा हामीजस्ता कर्मचारीलाई खटाएर शासन व्यवस्थाविरोधी समाचार प्रकाशित भए/नभएको खुट्याउन सेन्सर अखडा नै खडा गरेको थियो । ०३३ तिर पूर्वी छिमेकी देश सिक्किम भारतमा गाभिएपछि राष्ट्रवादको एकसूत्रीय नारामा टिकिरहेको पञ्चायती शासकलाई सन्त्रस्त पारिदियो । नेपाल र भारतबाट प्रकाशित हुने विभिन्न पत्रिकाले सिक्किम विलयबारे आ-आफ्ना विश्लेषणसहित समाचार प्रकाशन गरेका थिए । दिल्लीबाट नवभारत टाइम्स, बनारसबाट टाइम्स अफ इन्डिया, पटनाबाट इन्डियन नेसन्स, मद्रासबाट द हिन्दू, अलाहावादबाट नेसनल हेराल्ड, ब्लिट्ज साप्ताहिकलगायतका पत्रिका नेपाल आइपुग्थे ।
सञ्चार मन्त्रालयको कार्यकक्षमा पत्रिका सेन्सरको काम गरिरहेको थिएँ । सञ्चारका सचिव तीर्थराज तुलाधर मेरो कार्यकक्षमा आएर नेपाल-भारतबाट प्रकाशित समाचारको एउटै सार हुने गरी सिक्किमका सम्बन्धमा एउटा लेख लेख्न अह्राए । मैले सिक्किम घटना सम्बन्धमा जे-जस्तो जाने/बुझेको थिएँ, त्यहीअनुसार ६ पानाको लेख तयार गरेर सचिव तुलाधरलाई जिम्मा लगाएँ । तर त्यो लेखमा सिक्किम विलय अवैधानिक नभएको जिकिर गरेको थिएँ । त्यसमा सञ्चार सचिवलाई चित्त बुझेनछ ।
खासमा सचिव तुलाधरलाई दरबारले नै सिक्किम विलयमा भारतको बदमासीबारे लेखाउन निर्देशन गरेको रहेछ । तुलाधरले मलाई बोलाएर भने, "जोशीजी तपाईंको लेख त ठीक छ तर त्यसमा सिक्किम घटनाबारे भारतलाई दोषी देखाउनु भएनछ ।" सिक्किमले भारतमा गाभिँदा कानुनी रुपमा सबै औपचारिक प्रक्रिया पूरा गरेको थियो ।
मैले सिक्किम विलय सम्बन्धमा कानुनी रुपमा भारतको कुनै गल्ती नभएको बरु गाभिएकाले नै नैतिक रुपमा गल्ती महसुस गर्नुपर्ने हो भनेँ । तुलाधरले लेख दरबारका निम्ति भारतलाई दोषी देखाएर लेख्नुपर्ने विवशता पोखे । मैले कानुनका छिद्रहरु व्याख्या गरेपछि मात्र उनी विश्वस्त देखिए ।
पत्रिका सेन्सरकै क्रममा सञ्चारबाट रक्षा मन्त्रालय, कहिले सूचना विभाग, कहिले बागमती अञ्चलाधीशको कार्यालय, कहिले त्रिभुवन विमानस्थल भन्सार विभागलाई समेत मुकाम बनाउनुपथ्र्यो । विदेशबाट आउने पत्रपत्रिका सबैभन्दा पहिले हामीकहाँ ल्याइन्थे । पञ्चायती शासनको बर्खिलाप लेखिएका, राजाको विरोध गरिएका, बहुदलीय शब्द र राजनीतिज्ञमाथि लेखिएका भए त्यसलाई जफत गरिन्थ्यो । व्यवस्थाविरोधी नठहरिए मात्र बजार पुर्याएर पाठकका हातमा पर्थे ।
बागमती अञ्चलाधीशको कार्यालयमा सेन्सरका लागि माधव टण्डन थिए । उनी काम त गर्थे तर असाध्यै ढिला । मैले आधा घन्टामा गर्ने पत्रिका सेन्सर उनले ५-६ घन्टा लगाइदिन्थे । त्यतिबेलै दिल्लीबाट प्रकाशित हुने दिनमान पत्रिकाले 'नेपाल अंक' छाप्यो, ०३२ मा । त्यो पत्रिकामा नेपालमा प्रजातन्त्र स्थापना, राजनीतिक नेताहरुबारे गुणगान र पञ्चायतको आलोचना गरिएको रहेछ ।
बागमती सह-अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले दिनमानको नाम लिएर चेतावनीको भाषामा भनेका थिए, "हेर्नुस्, जोशीजी ! यो पत्रिका बजारमा एक प्रति पनि देखिए तपाईंमाथि कारबाही हुन्छ । यसलाई रोक्ने सबै जिम्मा तपाईंको हो ।" मैले भनिदिएँ, "जहाजबाट भन्सारमा आएको पत्रिका सबै जफत भइसक्यो । अरु बाहिरबाट र व्यक्तिगत तबरमा बजारमा आए मेरो जिम्मेवारी हुँदैन ।"
भारतबाटै प्रकाशित हुने आज पत्रिकाले नेपालसम्बन्धी समाचार लेखेको थियो, ०३४ मा । त्यसमा बीपीको भाषण उल्लेख रहेछ, केवल दुई हरफ । नुनको सोझो गरेर त्यसलाई समेत जफत गरिदिनुपर्यो । मैले यसको जानकारी सञ्चार मन्त्रालयका सचिव चित्रबहादुर केसीलाई पनि दिएँ । रक्षा मन्त्रालयमा बसेर पत्रिका सेन्सर गर्दा भने त्यसको जानकारी रक्षा सचिवलाई मात्र दिए पुग्थ्यो ।
जंगी अड्डामा निजामती कर्मचारीकै हैसियतमा ग्याजेट सुब्बा (ग्यासु) मा कार्यरत रहँदा पनि पत्रिका सेन्सरकै काम गरियो । यसरी पञ्चायतविरोधी लेख/समाचारको सेन्सर गर्दागर्दै १० वर्ष बित्यो । सञ्चार मन्त्रालयकै कर्मचारी ठट्टा गर्थे, ' तपाईं त शब्द कटनीछटनी गर्ने कैँची मास्टर पो हुन पुग्नुभयो ।'
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...