पर्यटकजस्ता प्रशासक
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको खटनपटन संघीय सरकारबाट हुने भए पनि नटिक्ने, नटिकाउने समस्या
तीन वटै तहको निर्वाचनपछि स्थिर सरकार बनेको छ । तर कर्मचारी संयन्त्रमा ठीक उल्टो भइदिएको छ, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सवालमा ।
अहिले ७ सय ५३ वटै स्थानीय तहलाई आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम कार्यान्वयनको चटारो छ । तर आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा १३ अर्ब वाषिर्क बजेट रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाको सरुवा भयो, २ वैशाखमा ।
२ वैशाख ०७५ मा काठमाडौँ महानगरमा हाजिर भएका कोइरालालाई मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेपछि ९ वैशाखमा तोकिएको मुकाम पुगे । महानगरका मेयर विद्यासुन्दर शाक्य भन्छन्, "छिटोछिटो हुने सरुवाले काम टुंग्याउने प्रक्रिया र नीति कार्यान्वयनमा प्रभाव पार्दो रहेछ ।"
विशिष्ट श्रेणी (सचिव) दरबन्दी रहेको काठमाडौँ महानगरमा प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेको सरुवा भएको छ । कोइराला काठमाडौँ महानगर आउनुअघि प्रदेश १ सरकारको कामु सचिव थिए ।
स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने न्यौपाने चौथो हुन् । ३१ वैशाख ०७४ मा स्थानीय तहको निर्वाचनताका प्रमुख कार्यकारी अधिकृत रहेका ईश्वरप्रसाद पौडेलको साउनमा सरुवा भयो । उनी स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भएकै अवस्थामा ०७३ फागुनमा आएका थिए ।
त्यसपछि २९ साउनको मन्त्रीस्तरीय निर्णयबाट प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा आए, सहसचिव धनीराम शर्मा । तर २० चैत ०७४ को मन्त्रिपरिषद्ले काठमाडौँ महानगरमा विशिष्ट श्रेणी -सचिव) लाई प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गरेपछि कोइरालाको पदस्थापन भयो ।
काठमाडौँ महानगरको उदाहरण प्रतिनिधिमूलक घटना मात्र हो । ३१ वैशाख, १४ असार र २ असोज ०७४ मा तीन चरणमा भएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिले पद बहाली गरेपछि प्रमुख प्रशासकीय अधिकृत फेरिने क्रम अझ बढ्दो छ ।
निजामती सेवा ऐन, ०४९ को दफा (१८) को उपदफा (३) को खण्ड (ख) अनुसार कर्मचारीलाई २ वर्षसम्म सरुवा गर्न मिल्दैन । तर कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत २/३ महिना पनि टिक्दैनन्, टिकाइँदैन ।
त्यसको अर्को दृष्टान्त हो, जाजरकोटको शिवालय गाउँपालिकामा स्थानीय तहको निर्वाचनपछि ५ पटक प्रशासकीय अधिकृत फेरिनु । हाल धनीराम शर्मा कार्यरत रहेकामा यसअघि क्रमशः गोमा पन्थी, लोकबहादुर कुसारी, रवीन्द्र बुढाक्षत्री, नमानन्द दमास फेरिसकेका छन् ।
पूर्वसचिव खेमराज नेपाल अहिले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत 'टुरिस्ट कर्मचारी' जस्तै बनेको टिप्पणी गर्छन् । उनी प्रश्न गर्छन्, "यसरी छिटोछिटो सरुवा भए त्यो वर्षको बजेट तथा कार्यक्रम, पेस्की र बेरुजुको जवाफदेही को हुने ?"
बाझिन्छ स्वार्थ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको बाराको फेटा गाउँपालिकामा रञ्जित यादवलाई खटायो, चैत अन्तिम साता । २८ चैतमा फेटा पुगेका उनलाई हाजिर गर्न दिइएन, बरु 'एक साता काम गर्दै गर्नुस् अनि हाजिर गर्नुहोला' भनियो ।
तर एक सातापछि अहिलेसम्म हाजिरै नगरेर के हेरेर बसेको भन्दै गाउँपालिका अध्यक्ष अमिरीलाल यादवले हप्काएपछि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फर्किए । अध्यक्ष अमिरीलाल भने रञ्जित पहिलो दिन आएर हाजिर गरे पनि त्यसपछि गायब भएको जिकिर गर्छन् ।
रञ्जितलाई हाजिर गर्न नदिनुको एउटै कारण थियो, संघमा रहेका कर्मचारीलाई प्रशासकीय अधिकृतका रूपमा खटाउने अधिकारप्राप्त संघीय मामिला मन्त्रालयले 'जनप्रतिनिधिले चाहेअनुसारको अधिकृत नपठाउनु' ।
गाउँपालिका जनप्रतिनिधिले बरु रञ्जितलाई फर्काएर यसअघिका निमित्त प्रशासकीय अधिकृत नायब सुब्बा सुशील यादवलाई नै निरन्तरता दिन उचित ठाने र सोहीअनुसार गरे । जबकि त्यसअघि गाउँपालिकाका अध्यक्षसहितले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर ज्ञापनपत्र नै बुझाएका थिए, प्रमुख प्रशासकीय अधिकृतका लागि ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का गत साउनमा सरुवा भएपछि फेटा निमित्तको भरमा चलिरहेको छ ।
संघीय मामिला, कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रुद्रसिंह तामाङ भन्छन्, "जनप्रतिनिधिले चाहेअनुसारका प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा हाजिर नै नगराउने, असहयोग गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्ति विशेषगरी तराईका केही स्थानीय तहमा छ । सोही कारण त्यहाँ प्रमुख प्रशासकीय अधिकृत जानै मान्दैनन् ।"
कैलालीको धनगढी उपमहानगरको कार्यपालिकाले गत माघमा स्थानीय तहअन्तर्गतका कर्मचारीको एक तह बढुवा गर्ने निर्णय गर्यो । तर कर्मचारी बढुवा गर्ने अधिकार कार्यपालिकालाई नभएको र ऐनबिनै निर्णय लिन नसकिने अडान प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि पाण्डेयले राखेपछि जनप्रतिनिधिसँग द्वन्द्व चुलियो । ०७५ भदौमा धनगढी आएका उनले जनप्रतिनिधिको दबाब थेग्न नसकेपछि संघीय मामिलामा काज सरुवा मिलाए । यद्यपि, एक तह बढुवाको निर्णय सार्वजनिक गरिएन भने कार्यान्वयन पनि भएन ।
धनगढीका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको छोटो अवधिमै अन्यत्र जाने पाण्डेय एक्ला होइनन्, जनप्रतिनिधि निर्वाचित भएपछि ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
अहिले नारायणप्रसाद सापकोटा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । निर्वाचनपछि धनगढी आएका उनी पाँचौँ प्रशासकीय अधिकृत हुन् । त्यसमध्ये भरतमणि पाण्डेय र सन्तबहादुर सुनार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ३ महिना नहुँदै अन्यत्र गए ।
धनगढी उपमहानगरपालिका मेयर नृप वडको भनाइमा जनप्रतिनिधिसँग बेमेलका कारण प्रशासकीय अधिकृतको सरुवा भएको नभई संघीय सरकारले समन्वयबिनै तिनको सरुवा गर्ने गरेको छ ।
विज्ञहरू जनप्रतिनिधिमा प्रशासकीय निर्णय गरेकै भरमा सबैथोक गर्न सकिन्छ भन्ने सोच रहनु समस्याको जड भएको तर्क गर्छन् । पूर्वसचिव नेपाल भन्छन्, "ऐन नबनाई पहिलेजस्तो प्रशासकीय निर्णयले मात्र काम चल्दैन भनेर जनप्रतिनिधिले बुझ्न जरुरी छ ।"
अर्को उदाहरण हो, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका । गाउँपालिका अध्यक्ष डफुकुमार बास्तोलाले निर्माणसम्बन्धी पुराना बिल भुक्तानीका लागि तत्कालीन कार्यकारी अधिकृत श्यामश्वर राईलाई फाइल सुम्पिए । आवश्यक कागजात नभएको भन्दै उनले मानेनन् । घटना त्यतिमा मात्र टुंगिएन, गाउँपालिका सभाले ६ वटा वडामा सडक बनाउने प्रस्ताव पारित गरेकामा एउटै उपभोक्ता समिति बनाउन खोजियो । राईले त्यसलाई पनि अनुचित ठहर्याए । त्यसैको परिणाम सरुवामा परे । नेचासल्यानमा अहिले टंकनाथ घिमिरे प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् ।
जानै मान्दैनन् कर्मचारी
संविधानतः तीन वटै तहका सरकार अधिकारसम्पन्न छन् । सबैभन्दा बढी कर्मचारी पनि स्थानीय तहमै आवश्यक छ । तर संघीय सरकार मातहतका कर्मचारीसमेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न जान मान्दैनन्, बरु कतिपय त मन्त्रालयमै बिनाभूमिका बस्न बाध्य छन् ।
पूर्वसचिव नेपालको भनाइमा कर्मचारीमा 'हामी संघका कर्मचारी हौँ, स्थानीय तहमा किन जाने' भन्ने मनोविज्ञान देखिएको छ । "जानेहरूले पनि तनमन लगाएर काम गरिरहेका छैनन्," उनी भन्छन् ।
संघीय मामिलाको सरुवा मापदण्ड, ०७४ मा प्रस्ट भनिएको छ, 'केन्द्रीय स्तरमा मात्र कार्यालय र दरबन्दी रहेका निकायबाट स्थानीय तहमा सेवा प्रवाह गर्ने कार्यालय तथा दरबन्दी हुने निकायमा प्राथमिकता दिइनेछ ।" कार्यान्वयन ठीक उल्टो देखिन्छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका रहेकामा ३५ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । तीमध्ये २२ गाउँपालिका पहाडी र हिमाली क्षेत्रका छन् भने बाँकी तराईका ।
सरुवा मापदण्डमै अगाडि भनिएको छ, 'सेवा प्रवाह गर्ने निकाय तथा दुर्गम स्थानका कार्यालयमा सकेसम्म पद रिक्त नहुने गरी सरुवा गरिनेछ ।'
"चुनावअघि सबै निर्णय कार्यकारी अधिकृतमार्फत हुन्थ्यो । अहिले जनप्रतिनिधि आएपछि कर्मचारीले हेपिएको महसुस गरेका छन्, जसकारण शाखा अधिकृतसहित माथिल्लो तहका कर्मचारी स्थानीय तहमा जान चाहँदैनन्," राष्ट्रिय गाउँपालिका महासंघका कार्यकारी निर्देशक विमल पोखरेल भन्छन् ।
सरकारले १५ चैतमा कर्मचारी समायोजनका क्रममा ७ सय ५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ४३ हजार ८ सय ७ जना मात्र समायोजन भएका थिए । तीमध्ये पनि कतिपय कर्मचारी संघमा समायोजन गरिदिन दौडधूपमा छन् ।
स्थानीय तहको सम्पूर्ण प्रशासनिक र वित्तीय कामको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ । काठमाडौँ महानगरबाहेक ५ महानगरपालिका र ११ उपमहानगरपालिका गरी १६ मा सहसचिव, नगरपालिकामा र बढी जनसंख्या रहेका २५ गाउँपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । बाँकी गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहन्छन् । तर ३० वटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिका शाखा अधिकृतले निर्वाह गरिरहेका छन् ।
मन्त्रालय, कर्मचारी प्रशासन महाशाखा प्रमुख तामाङ दरबन्दी अभाव हुँदा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको बताउँछन् । जानकारका भनाइमा स्थानीय तहमा जाँदा वृत्ति विकास, बढुवा, विदेश भ्रमण तालिम, अध्ययनबाट वञ्चित हुनुपर्ने मनोविज्ञान कर्मचारीमा छ, जसकारण उनीहरू केन्द्रमै बस्न चाहन्छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...