बझाङकी ‘बोल्ड’ नेतृ
शान्ति बोहरा बझाङमा ०४२ मै हलो क्रान्ति सुरुआत गर्ने पहिलो महिला । उनले छाउगोठ त्यागेको तीन दशक भइसकेछ । उनीसितै माइतीमा आमा, भाउजू, बहिनीहरुले पनि त्यागेछन् ।
हालैको एक बिहान चैनपुर, बझाङको चिया पसलमा चिया पिउँदै थिएँ । मेरो अघिल्तिर बस्न आइपुगिन्, एक महिला । हेर्दै हँसिली, फरासिली । शान्ति बोहरा पुजारा, ४७ । ठेगाना सुर्मा गाउँपालिका ।
राजनीतिक पृष्ठभूमिको खानदानी परिवारकी छोरी रहिछन् । बुबा नरपति बोहरा ०२७ का प्रधानपञ्च । दाजु वीरबहादुर बोहरा ०३५ का प्रधानपञ्च । शान्ति बझाङमा ०४२ मै हलो क्रान्ति सुरुआत गर्ने पहिलो महिला । उनले छाउगोठ त्यागेको तीन दशक भइसकेछ । उनीसितै माइतीमा आमा, भाउजू, बहिनीहरुले पनि त्यागेछन् ।
बझाङकै जयपृथ्वी क्याम्पसबाट स्नातक गरिन् । जुम्ला बस्न थालेदेखि खसी, कुखुरा आफैँले काटमार गर्न थालिन् । गएको दसैँ त दलित बस्तीमै मनाइन् । दलित परिवारसँग बसेर खाइपिई गरिन्, टीका, जमरा लगाइन् । चाहे हलो समाउँदा होस्, छाउगोठ त्याग्दा, काटमार, दलितसँग दसैँ मनाउँदा समाजले ‘बहुलाको’ संज्ञा दियो ।
उनले २४ वर्ष शिक्षण सेवा गरिन् । सुर्माको दौलीचौर माविमा ६ वर्ष (०५१–०५७) प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी थिइन् । उनी त्यो बेलाकी बझाङकै पहिलो महिला प्रअ थिइन् । वाह महिला हुनु त यस्तो !
बीसअघि बिहेबारी !
कलकलाउँदी । हिस्स परेकी । कपाल सपक्कै बाँधेकी । कुर्ता, सलबार लगाएर चिटिक्कै परेकी । कुन्नि कताबाट मेरो नजर उनको सिउँदोमा ठोक्कियो । सिउँदोमा रातो सिन्दूरको लामो धर्को । उमेर सोधेँ । १५ वर्ष भनिन् । कक्षा ९ मा पढ्दिरहिछन् । विवाह भएको वर्ष दिन पुग्न लागेछ ।
बझाङ सदरमुकाम, गाउँघर जताततै यस्ता पात्र थुप्रै भेटिए । सिउँदोमा रातो लामो धर्कोवाला बालिका अधिकांश १२ देखि १६ वर्षका देखिन्थे । मुलुकी ऐनले पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष पूरा हुनुपर्ने प्रावधान तोकेको छ ।‘बिहेबारी बीस वर्षपारि’ अभियान पनि सरकारले चलाएकै हो । तर बझाङलाई छोएन ।
बझाङमा ५३ प्रतिशत बालविवाह हुने गरेको महिला तथा बालिबालिकाकै तथ्यांकले पनि देखाउँछ ।पढ्ने, लेख्ने, भविष्य कोर्ने उमेरका बालिका वैवाहिक बन्धनमा बाँधिनुपर्ने अवस्थालाई चिर्न सरकारले नसकेको हो या सामाजिक मानसिकताले ?
सुदूरपश्चिममा वाचिपा
सुदूरपश्चिममा नयाँ वर्षको बेग्लै रौनक थियो । यस क्षेत्रकै मानक मानिने चैतली मेला बझाङको छविसपाथिभेराको बान्नी चौरमा हरेक वर्ष भव्य रुपमा मनाइने रहेछ । बझाङमै भएकाले जाने सोच बनाएँ । जिप रिजर्भ गर्नलाई एक चरण तयारी पनि भइसकेको थियो । बिहान १० बज्दा पनि पानी परिरहेको थियो । आकाश धुम्मिएको थियो । पानी रोकिने, मौसम खुल्ने छाँटै देखिएन । उसै पनि भीरैभीरको कच्ची सडक हुँदै मेलामा जानुपर्ने ।
दिउँसो २ बजेपछि मैले नै नजाने निर्णय गरेँ । ज्यादै चिसो भएकाले एक होटलमा छिरेँ । त्यही बेला वाचिपाको याद आयो । वाचिपा लोकल कुखुराबाट बनाइने किराती परिकार हो । तिक्खर स्वादको हुन्छ । केही तीतो पनि हुने भएकाले तीते पनि भन्छन् कतिपय ।
कान्तिपुरका स्थानीय संवाददाता वसन्तप्रताप सिंहलाई म्यासेज लेखेँ, ‘मेला जानुको सट्टा कतै गाउँतिर गएर वाचिपा बनाएर खाऔँ ।’ रिप्लाइ आयो, ‘ल त्यसै गरौँ ।’ तर लोकल कुखुरा कहाँ पाइने ? बझाङ ठकुरी समुदायको बाहुल्य जिल्ला । कुखुरा पाल्ने त परको कुरा ।
बेलुकीतिर हामी लोकल कुखुरा खोज्न बजारतिर लाग्यौँ । पायौँ पनि । साहूजीले कुखुरा काटेर पोल्दिन थाले । म डढेको प्वाख बटुल्न थालेँ । भुवन र आशीष ‘प्वाँख पो खाने हो’ भन्दै खुब हाँसे । होटल आयौँ । कुक किचनमा थिए । यो परिकार बनाउन आउँछ कि भनेर सोध्यौँ । आउँदैन भने । पकाउन र स्वाद जानेकी मै थिएँ । मै छिरेँ किचनमा र पकाएँ । त्यो प्वाँख पनि हालेको थाहा पाएर साथीहरुले नखाने हुन् कि भनेर डराइरहेकी थिएँ ।
हामी चारै जना एउटा टेबलमा बस्यौँ । कुकले भाग लगाएर प्लेटमा ल्याइदिए । खान सुरु गर्यौँ । मैले पटक–पटक कस्तो लाग्यो स्वाद भनी सोध्ने नै भएँ । साथीहरुले मीठो छ भन्थे । स्वाद मानी–मानी खाएको देख्दाचाहिँ पत्याउनै पर्यो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...