कमेडीकै अपमान (फिल्म समीक्षा : दालभात तरकारी)
दालभात तरकारी नेपालीको प्रिय खाना हो । तर,फिल्म दालभात तरकारीचाहिँ पचाउन सकिन्न ।अचाक्ली मसलाले फिल्मको बजार विस्तार होइन, भएको बजार र दर्शक पनि भड्काउने खतरा हुन्छ ।
नेपाली समाजमा जस्तै सिनेमामा पनि लहड व्याप्त छ । छक्कापञ्जाको व्यावसायिक सफलतापछि हामीकहाँ कमेडी फिल्मको बाढी सुरु भयो । तर त्यस्ता फिल्ममा सिनेमा–सौन्दर्य र हास्यविधाको आधारभूत मान्यतासमेत आत्मसात् गरिँदैन । बरु लहडले सिर्जनशीलताको चीरहरण गरेको हुन्छ । यही प्रवृत्तिको उत्पादन हो, दालभात तरकारी । कथा र प्रस्तुतिभन्दा कमेडीलाई प्रधानता दिएकाले फिल्मको साख कमजोर भएको छ । यसलाई निर्देशन गरेका हुन्, सुदन केसीले । अनि लेखनचाहिँ हरिवंश आचार्यको । हरिवंशसँगै निरुता सिंह, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मालगायत कलाकारको भीड छ । तर स्तरीय कमेडी हेर्ने भोक मर्दैन । जबर्जस्ती हसाउने होड,जो छ ।
रामहरि (हरिवंश) र उर्मिला (निरुता)दम्पती बरोबर झगडा गर्छन् । उर्मिलालाई जसरी हुन्छ, अमेरिका जानु छ । सालिन्दा डिभी भर्छिन् तर पर्दै–पर्दैन । यसरी छटपटाइरहेका बेला गायक स्वामी (शिशिर वाङ्देल)ले एक करोड रुपियाँ पाए अमेरिका पठाइदिने वचन दिन्छन् । उर्मिला र रामहरिले घर धितो राखेर पैसा बुझाउँछन् । तर पैसा हात परेपछि स्वामी गायब हुन्छन् । रामहरिको परिवारले ठगिएको रकम फिर्ता पाउला ? अमेरिकासपना त्याग्ला ? यस्तै सवाल उधिन्न खोजिएको छ ।
मध्यमवर्गीय परिवारमा विद्यमान अमेरिका मोह दालभात तरकारीको केन्द्रमा छ । त्यस्तै डनगिरी, धर्मको नाममा ठगी, अपराध र राजनीतिको नेक्ससजस्ता समाजका अँध्यारा पाटा पनि उनिएको छ । तर विषय मात्र सबथोक होइन । कथा भन्ने तरिकाले खास अर्थ राख्छ । दुर्भाग्य ! यसको न कथा सशक्त छ, न त प्रस्तुतीकरण नै । रामहरि र उर्मिलाको सुरुआती लफडाबाटै फिल्मप्रति विरक्ति पैदा हुन्छ । घरभित्र लगातार आधा घन्टा झगडा गरिरहन्छन् तर त्यसले मूलकथामा खास योगदान गर्दैन । मह जोडीले बनाएका सिरियलमा समेत यस्तो लिरिङ–लिरिङ असाध्यै कम हुन्थ्यो । पात्रले बोल्ने संवादले पनि प्रहसनको छनक दिन्छ । यस्ता दृश्यमा निर्देशकीय कौशलको उस्तै खडेरी छ । केही ‘पन्चलाइन’ले मात्र भरथेग गर्दैन ।
पात्र र घटनात्रम अनुरुप स्वाभाविक ढंगले आउने कमेडीले मात्र फिल्मको शोभा बढाउँछ । तर हामीकहाँ दर्शक हँसाउने ध्याउन्न राखेर दृश्य र संवाद सिर्जना गरिन्छ । फलतः मूलमर्ममाथि आघात पुग्छ । कम्तीमा हरिवंशजस्ता हास्यकलाकारिताका ठूला हस्तीबाट यस्तो अतिरञ्जित कमेडी अपेक्षा गरिँदैन । केराको बोक्रामा चिप्लिएर लड्दा पनि कोही हाँस्ला तर त्यसमा कला हुँदैन । दालभात तरकारीलाई यही कोटिमा राख्दा खास अतिशयोक्ति हुन्न । यसमा नेपालीको ‘अमेरिकन ड्रिम्स’ र सामाजिक–राजनीतिक विकृतिमाथि वस्तुगत व्यंग्य गर्न सकिने प्रशस्त सम्भावना थियो ।
मल्टिस्टार र कमेडीले मात्र होइन, गीत, रोमान्स र एक्सनले पनि दालभात तरकारी बजारु मनोविज्ञानबाट पूरापूर निर्देशित देखिन्छ । सन्तुलन मिलेको भए यो आफैँमा प्रत्युत्पादक हुँदैनथ्यो । तर निर्देशक केसीले दृश्य होइन, पात्रको हाउभाउ र संवादबाट हास्य प्रवाह गर्न खोजेका छन् । पात्रझैँ उनीहरुको प्रस्तुति पनि अतिरञ्जित छ । लाग्छ, फिल्ममा जे गरिएको छ, सबै हँसाउनकै लागि मात्र । यसले हाम्रा फिल्मकर्मीको हास्यचेतको स्तर संकेत गर्छ । ‘भिजिट भिसा...’मा गीत केहीहदसम्म कथावाचनसँग नजिक छ । प्रियंका कार्कीको आइटम डान्स विनाअर्थ घुसाइएको छ । पार्श्वध्वनि उतिकै कर्कश छ । दृश्यलाई भौतिक रूपमा शानदार देखाउन निर्माताले कन्जुस्याइँ गरेका छैनन् । तर विभिन्न कम्पनीहरुका विज्ञापन थोपरिएको छ ।
पटकथाबाट निराश पारेका हरिवंशले कलाकारका रुपमा एकहदसम्म मन जित्छन् । हाउभाउ र केही संवादमार्फत अन्य पात्रको तुलनामाज्यादा राहत दिन्छन् । ‘लाउड’ भूमिका र अभिनयले निरुताप्रति प्रेम जागृत हुन्न । पुष्प, आँचल र वर्षा ‘चटनी’ हुन् । उनीहरुको न भूमिका प्रभावकारी छ, न त अभिनय विश्वसनीय । शिशिर, किरण केसी, रविन तामाङ, शिवहरि पौडेल, जयनन्द लामा, विल्सनविक्रम राईको हालत पनि उस्तै–उस्तै हो । बरु राजाराम पौडेलले थोरबहुत ‘रिफ्रेस’ गराइरहन्छन् । यही फिल्मबाट निर्देशक केसीसँग आशा राख्न सकिने कुनै गुन्जायस छैन । उनीजस्ता नयाँ निर्देशकसँग नवीन शैली र स्वादका सिनेमाको अपेक्षा हुन्छ, न कि सौन्दर्यहीन कमेडीको ।
दालभात तरकारी नेपालीको प्रिय खाना हो । तर,फिल्म दालभात तरकारीचाहिँ पचाउन सकिन्न ।अचाक्ली मसलाले फिल्मको बजार विस्तार होइन, भएको बजार र दर्शक पनि भड्काउने खतरा हुन्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...