एक घन्टा नमस्ते
साधारणतयाः नेपालमा औपचारिक कार्यक्रम तोकिएकै समय सुरु हुँदैनन् । अझ मन्त्री आउने कार्यक्रम त झन् ढिला सुरु हुन्छन् ।
अकाफुजी दाइको नामक जापानी संस्थाबाट ड्रम बजाउने कलाकार टोली काठमाडौँ आएको थियो, केही समय पहिले । उनीहरुको कार्यक्रम अपराह्न ४ बजे होटल याक एन्ड यतीमा हुँदै थियो । अर्को कार्यक्रम सकेपछि कुर्नुपरे पनि उतै जानुपर्यो भन्दै म ४ बजे नै होटलतिरै लम्किएँ ।
साधारणतयाः नेपालमा औपचारिक कार्यक्रम तोकिएकै समय सुरु हुँदैनन् । अझ मन्त्री आउने कार्यक्रम त झन् ढिला सुरु हुन्छन् । आयोजक पनि तोकिएको समयमै तयारी अवस्थामा रहँदैनन् । होटल पुग्दा कन्सर्ट हेर्न आउने आगन्तुकका लागि स्वागत गर्न जापानी कलाकार दोस्रो तल्लाको बरन्डामा दुवै साइडमा दुई हात जोडी नेपाली शैलीमा नमस्ते भन्दै उभिएका थिए । आगन्तुक नमस्ते खाँदै हलभिक्र छिरे ।
कार्यत्रमका मुख्य अतिथि संस्कृतिमन्त्री थिए । परम्परा किन तोड्थे र मन्त्रीले ? एक घन्टा बितेपछि बाहिर हेर्न जाँदा जापानी कलाकार उसैगरी उभिएर प्रमुख अतिथि कुरिरहेका रहेछन् । मन्त्रीजी आएपछि बल्ल कार्यक्रम सुरु भयो । ड्रमको कन्सर्टका लागि तीन वर्षकी सानी नानीदेखि हजुरबुबासम्मको पुस्ताले मनमोहक प्रस्तुति दिए । करिब ४० जनाको जम्बो टोलीलाई कुटुम्ब ब्यान्डले साथ दियो । यसबाट दुइटा कुराका सिकाइ अविस्मरणीय रहे । पहिलो, कलाकार मुडी हुन्छन् भन्ने भ्रम । दोस्रो, अनुशासन । यति विनम्र कलाकार तीन वर्षकी बच्चीदेखि कपाल सेतै फुलेका ७० कटेका हजुरबुबासम्म त्यसरी लाइनमा घन्टौँ उभिएर सत्कार गर्नु चानचुने होइन ।
ट्याक्सीवालाको चलाखी
मलाई मध्य बानेश्वरदेखि त्रिपुरेश्वरसम्म काम विशेषले आउनु थियो । सीधा रुटको गाडी नचल्ने । छिटो पुग्नुपर्ने हुँदा महँगै भए पनि ट्याक्सी चढेँ । कार्यालय समयमा गाडीको भीडभाड त हुने नै भयो । जाममा पनि छोटो बाटो निस्कन काठमाडौँका ट्याक्सी चालक खप्पिस हुन्छन् । सरकारले ट्याक्सी चालकलाई अनिवार्य मिटर चलाउन निर्देशन दिएपछि सर्वसाधारणले पनि केही राहत पाएका छन् । तर म सवार ट्याक्सी चालकले छोटो होइन, लामो बाटो रोजे । अर्थात्, सीधै बानेश्वर । त्यसपछि बानेश्वर बीचको बाटोमा कुँदाए । अनि हामी जाममा पर्यौँ ।
बिस्तारै घडीले नेटो काटेको थियो । १० बजे गन्तव्य पुग्नुपर्नेमा साढे १० त्यहीँ हुन लागिसक्यो । बल्लतल्ल तीन वटा ट्राफिक जाम छलेपछि हामी त्रिपुरेश्वर पुग्न लाग्यौँ । त्यसमा पनि अरु बेला साइडमै मिलाएर रोकिदिने ट्याक्सीले त्यतिखेर ट्राफिकले चिट काट्छ भन्दै कालीमाटी साइडमा रोकिदिए । मध्य बानेश्वरदेखि त्रिपुरेश्वर आइपुग्दा मिटरमा १ सय ७० रुपैयाँ चढेको थियो । मैले २ सय दिएँ । ट्याक्सी चालकले चानचुन छैन भनेर फिर्ता गरेनन् । त्यसैगरी अर्को पटक पनि ट्याक्सी चालकले चढ्नुअगाडि नै ४०/५० थप्नुपर्छ अनि मात्र लैजान्छु भने । त्यसबेला मलाई कुपन्डोलबाट मध्य बानेश्वर जानु थियो । ट्याक्सी चालकको आम प्रवृत्ति छ, नजिकको रुटमा जानै नमान्ने । धनीमानीले मात्रै चढ्छन् भन्ने मानसिकतामा ट्याक्सी चालक भ्रममा रहेको ठानेँ । त्यसैले त मैले हिजोआज ट्याक्सी चढ्न छाडेकी छु । यसको विकल्पमा ‘पठाओ’ रोजेँ ।
ट्याक्सीबाट मजस्ता कैयौँ सेवाग्राही ठगीमा परिरहेका छौँ । एक दिन ट्याम्पो चढेर अफिस जाँदै थिएँ । ट्याम्पोका यात्रुले मलाई ट्याक्सी चालकले दिएको पीडा सुनाए, ‘सर्वोच्च अदालतबाट कालो कोट लगाएको मान्छे र पत्रकारले ट्याक्सी रोक्यो भने जहाँ जान पनि मान्छन् । हामीजस्ता सर्वसाधारणले रोके टेर्दैनन् ।’ ट्याक्सी पछाडिपट्टिको सिसामा ‘सरकार हामीलाई गरेर खान देऔ’ भनेर ट्याक्सी चालकले मिटरको विरोध गरेको जोकोहीले देख्न सक्छन् ।
छिः कार्यालय
आफू र घर सफा भए पुग्ने, नेपालीको पुरानै बानी हो । रिपोर्टिङका क्रममा पुलचोकस्थित नेपाल विद्युत् प्राधिकरणको अवस्था त्यस्तै देखियो । बिजुली बत्तीको बिल तिर्ने ठाउँमा झ्यालको चौकोसअगाडि भुइँभरि बिलको थुप्रो ।
कर्मचारी काउन्टरभित्र बसेर पैसा लिइरहेका थिए भने काउन्टरबाहिर कागजको बिल जथाभावी फालिएको दृश्यले कार्यालय अशोभनीय देखिन्थ्यो । त्यसमाथि सडकबाट आउने धूलोले पनि साथ दिएको । हरेक कार्यालयमा सफाइ कर्मचारी राखिन्छन् । तर पुलचोकको यो बिजुली अड्डा भने कैयौँ दिनदेखि सफा नगरिएजस्तो लाग्यो ।
कार्यालयले फोहोर फ्याँक्ने डस्टबिन कतै नराखेकाले सेवाग्राहीले बिल जथाभावी फालेका हुन् सक्छन् । डस्टबिन भए पो सेवाग्राही सचेत हुन्थे । अचम्म के भने मूर्ति थपना गरेजस्तो फोहोर गरिएकै दायाँपट्टि माथि ‘कार्यालय सफा राखौँ’ भनेर सेतो अक्षरमा सानो नीलो बोर्ड झुन्ड्याइएको देखियो । लेख्ने मात्र होइन, कार्यान्वयन पनि गर्ने कि ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...