हरायो पानी जोगाउने ज्ञान

- सुनिता लोहनी

प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको मन्त्रिपरिषद्ले राष्ट्रिय पञ्चायतका सदस्य वीरेन्द्रकेशरी पोखरेलको नेतृत्वमा जल आपूर्ति तथा ढल निकासको अवस्थाबारे छानबिन अध्ययन समिति गठन गर्‍यो, १८ माघ ०४३ मा । अध्ययनको एउटा उद्देश्य निरीक्षण गर्नु थियो । १२ वर्षदेखि विश्व बैंकले सहरी क्षेत्रमा जल आपूर्ति तथा ढल निकास गर्न नेपाल सरकारलाई ऋण दिई थुप्रै परियोजना सञ्चालन गरेको थियो । तर ती आयोजनाले सर्वसाधारणको घरघरमा पानी आउन त परै जाओस्, पानी आउने परम्परागत संरचनासमेत बिगारिदिए । देशलाई ऋणको भार पनि बोकाइदिए । समितिका एक सदस्य दीपक ज्ञवाली सम्झन्छन्, “रिपोर्टमा विश्व बैंकको गल्ती देखिएपछि त्यसलाई रोक्न उनीहरूले ठूलो राजनीति खेलेका थिए ।”

पानीमाथि खेलाँचीको यो एउटा दृष्टान्त थियो । १७ औँ शताब्दीमा बनेका राजकुलोबाट काठमाडौँ उपत्यकामा पानी व्यवस्था गरिएको थियो । काठमाडौँमा बूढानीलकण्ठबाट, भक्तपुरमा महादेव खोलाबाट र पाटनमा शेषनारायणको राजकुलोबाट ढुंगेधारामा पानी आउँथ्यो । पञ्चायतकालदेखि नै जथाभावी जमिन दोहन गर्नाले राजकुलो मासिँदै गए । ढुंगेधारामा पानी सुक्दै गए । बर्खे पानीको सदुपयोग गर्न बनाइएका पोखरी मासिँदै गए । ढुंगेधारा र पोखरीका जग्गा अतिक्रमण भए । जस्तो, लैनचौरमा ठूलो पोखरी भएको ठाउँमा अहिले स्काउट भवन छ । ढुंगेधारामाथि नै ललितपुर महानगरपालिका कार्यालयको भवन छ ।

मह जोडीले केही वर्षअगाडि काठमाडौँमा पानीको हाहाकारलाई व्यंग्य गर्दै एउटा टेलिसिरियल निर्माण गरेका थिए, जलपरी । त्यसमा प्याकप्याके र सुकसुके टोल पानीको हाहाकार देखाउन विम्बका रूपमा प्रयोग भएका थिए । काठमाडौँ उपत्यकाको हबिगत त्यही नै हो । काकाकुल काठमाडौँ उपत्यकामा मेलम्ची अझै पनि ‘दिवास्वप्न’ बन्न गएको छ । आयो–आयो भन्दै नआएको मेलम्चीको आशामा उपत्यकाबासीले झन्डै २० वर्ष बिताइसके । त्यतिन्जेल जनसंख्या पनि चौगुणा बढिसक्यो । मेलम्ची आए पनि त्यसले ५० प्रतिशत माग धान्नेछ । बाँकी ५० प्रतिशतका लागि भगीरथ प्रयास गर्नुपर्ने देखिन्छ । २५ वर्षअघि पनि पानीको ठूलो अभाव थियो । त्यतिबेलाको करिब १५ लाख जनसंख्याका लागि व्यवस्था गरिएको ९ करोड लिटर पानी नै अहिलेको ४० लाख जनसंख्यालाई वितरण गरिएको छ ।

जलस्रोतको धनी देशकै राजधानीमा पानी पुर्‍याउन लिच्छविकालदेखि नै सकस भएको प्रमाण तत्कालीन ढुंगेधाराहरूले देखाउँछन् । मानव सभ्यता सुरु भएसँगै बस्ती माथि बस्ने र तलतिर पानीका स्रोत रहेका दृष्टान्त भेटिन्छन् । पानीको समस्या निवारण गर्न र यसलाई घर–घर पुर्‍याउन किराँतकालदेखि अनेक उपाय गरेको सहरी योजनाकार पद्मसुन्दर जोशी सम्झन्छन् । भन्छन्, “किराँतकालदेखि नै डाँडामा थुम्का खनेर पोखरी बनाइन्थ्यो । लिच्छविकालमा ढुंगेधारा बनाइए ।”

काठमाडौँ उपत्यकाका अधिकांश ढुंगेधारा गोही आकारमा देउता थपना गरी बनाइएको देखिन्छ । लिच्छविकालमा कीर्तिको नामले चर्चित यी ढुंगेधारा मल्लकालमा हिटी (धारा) को नामले अहिलेसम्म प्रख्यात छन् । कुनै बेला ठूलो दह भएको काठमाडौँ उपत्यका बस्तीयोग्य हुने समयकालदेखि नै ढुंगेधाराको व्यवस्था भएको प्रस्तुत विभिन्न मूर्ति तथा ताम्रपत्रमा उल्लिखित लिपिहरूले जनाउने विज्ञहरू बताउँछन् ।

इतिहासविद्का अनुसार लिच्छविकालमा (ईसं. ७८ देखि ८८०) मा जनतालाई पानीको हाहाकारबाट जोगाउन जल आपूर्ति गर्ने ठूला परियोजना सञ्चालन गरिएका थिए । आकाशबाट परेको वा मूल फुटेर निस्केको पानी ठूल्ठूला पोखरीमा जम्मा पार्नु वा ढुंगेधारासम्म पुर्‍याउनु त्यसैको एक उदाहरण हो । “अहिले हेर्दा त्यसबेलाको इन्जिनियरिङ अविश्वसनीय लाग्छ,” वातावरणविज्ञ भूषण तुलाधर भन्छन्, “कसरी गर्छन् थाहा छैन, प्राचीन उपाय साँच्चै वैज्ञानिक छ ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भने बर्खाको पानी सदुपयोग गर्ने कुनै प्रयास गरेको छैन । केयूकेएलका उपप्रबन्धक प्रकाश राई भन्छन्, “हामी अहिले पूर्णतया सतही र भूमिगत पानीमा निर्भर छौँ । बर्खाको पानी सदुपयोगका लागि केयूकेएलले कुनै अभ्यास गरेको छैन ।”

सुक्दो स्रोत

पानीका मुख्य तीन स्रोत छन् । आकाशको पानी, सतही पानी (पोखरी, खोला, नदीनाला, समुद्र), भूमिगत पानी । काठमाडौँमा जमिनको पानी दुई किसिमका छन्– सतही र डिप बोरिङ (भूमिगत) पानी । अधिकांश उपत्यकाबासी भूमिगत पानीमा निर्भर छन् ।

कुनै बैला पाँच लाख मानिसका लागि योजना गरेर निर्माण गरेका मुहानमा अहिले करिब ४० लाख मानिस निर्भर छन् । दैनिक माग ४२ करोड छ भने अहिले सुक्खायाममा १३ करोड र वर्षायाममा १७ करोड केयूकेएलले दिइरहेको छ । चार गुणा मागको एक गुणा मात्रै पानी पुर्‍याइरहेको संस्थाले आकाशको पानी जोहो गर्न कुनै अभ्यास नगरेको केयूकेएलका उपप्रबन्धक प्रकाश राई स्वीकार्छन् । तर विज्ञहरूका भनाइमा काठमाडौँ उपत्यकामा पानीका लागि मूल फुटेर बनेका खोलानाला, भूमिगत पानी र बर्खाको पानी नै उपयुक्त हुन् । बर्खाको पानी जोहो गर्न नसक्दा सीधै खोलामा मिसिई बाढी आइरहेको छ । तर त्यसको सदुपयोग हुन सकेको छैन । पूर्वमन्त्रीसमेत रहेका ज्ञवाली भन्छन्, “काठमाडौँका लागि बर्खाको पानी सदुपयोग गर्नेबाहेक अन्य कुनै विकल्प उपयुक्त हुन सक्दैन । ३० मध्येको एक विकल्पका रूपमा तत्कालीन सरकारले मेलम्ची आयोजना अघि सारेको हो । त्यसको हबिगत त देखिएकै छ ।”

केयूकेएलका अनुसार हाल ठूलासाना गरी ६ स्किमअन्तर्गत जम्मा ३५ वटा सतही पानीका स्रोत सञ्चालित छन् । तिनमा सुन्दरीजल र शिवपुरी प्रमुख दुई ठूला जलाधारका रूपमा छन् । सुन्दरीजल र वीरधारा स्किम भनिने त्यहाँको पानी काठमाडौँबासीले पिइरहेका छन् । त्यसैगरी भक्तपुर स्किमअन्तर्गत महादेव खोला, चापागाउँ स्किमभित्र मूलडोल, नल्लुलगायत ५ वटा स्रोत छन् । कुनै बेला विद्युत् निकालेको फर्पिङ रिजर्भ्वायर अहिले पिउनका लागि उपयोग भइरहेको छ । फर्पिङ स्किममा यीबाहेक हिटिडोल, डल्लु स्प्रीङ स्रोत गरी ५ वटा छन् । तीन भीम धारा स्किममा बाउडे, भन्डारेलगायत पाँच स्रोत छन् । त्यसैगरी भूमिगत पानी झिक्न ७८ वटा ट्युबवेलमध्ये केयूकेएलको ५९ मात्र सञ्चालनमा छ ।

एकातिर प्राकृतिक मुहानका स्रोत सुक्दैछन् भने अर्कोतिर तीव्र अव्यवस्थित सहरीकरणले पानीको समस्या झन् चर्किदै गएको छ । उत्तर र उत्तरपूर्वी साँखु, कपन र बूढानीलकण्ठलगायतका मुहानका स्रोत नजिक बस्ती बढ्नाले मुहान सुक्दै गएका छन् । काठमाडौँको बीचमा बनेका हाउजिङ तथा ठूल्ठूला होटलले धेरै मात्रामा जमिनमुनिको पानी दोहन गरिरहने र जमिन सबैतिर सिल गरिएकाले बर्खाको पानी जमिनमा छिर्न नपाउने समस्या रहिरहे सहर छिट्टै भासिने खतरा रहेको विज्ञहरूको ठम्याइ छ । तुलाधर भन्छन्, “परम्परागत ढुंगेधारा र पोखरी भएका क्षेक्र अतित्रमण गरेर भवन निर्माण गर्नु र राजकुलो मासिनु गलत हो ।”

उपत्यकामा जमिनको दोहन भइरह्यो । ठूल्ठूला हाउजिङ बनिरहे । घर तथा बाटो बनाउन जथाभावी डोजर चलिरहे । त्यसले पुरातन नहर भत्काए । पानी सिञ्चित क्षेत्र अर्थात् पोखरी मासिँदै गए । विकासको होडमा जमिन सिलिङ गरियो, जसले जमिनभित्र पानी छिर्नै पाएन । राजकुलो भत्कियो, त्यसलाई ढल बनाइयो । त्यसबेला भएका संरचनाको मात्रै जोहो भएको भए अहिले पानीको समस्या मेटिन्थ्यो त ? सहरी योजनाकार जोशी भन्छन्, “त्यो जोगाउँदैमा पानीको समस्या हुँदैन भन्नु भ्रम मात्र हो । पानीको समस्या लिच्छविकालमा पनि थियो । त्यो समस्यालाई त्यसबेलाका इन्जिनियरहरूले कसरी सम्बोधन गरे, त्यो बुझ्नु जरुरी छ ।”


के हो राजकुलो

१७ औँ शताब्दीमा उपत्यकामा ठूलो परिणाममा पानी जम्मा पार्न काठमाडौँका राजा प्रताप मल्ल र भक्तपुरका जितामित्र मल्लले राजकुलो नामक ठूलो नहर बनाए । उक्त नहर धार्मिक महत्त्वका साथै जीविकोपार्जनका लागि बनाइएको इतिहासविद् बताउँछन् । ढुंगेधारा खाल्डो बनाएर सीधा राखिन्थ्यो । राजकुलोबाट पोखरीमा पानी आउँथ्यो । आकाशको पानी जमिनले संरक्षण तथा प्रशोधित गर्छ । जमिनको अलिकति तल ढुंगेधारा राखिन्थ्यो । त्यो ढुंगेधारामा परम्परागत नहर माटो या टेलिकोटाको बनाइन्थ्यो । त्यो लाइन धारासम्म जोडिन्थ्यो । कतिपय ढुंगेधाराभित्र पानी प्रशोधन संयन्त्र थिए ।

उत्खननका क्रममा भेटिने सामग्री नेपाली संस्कृतिसँग जोडिएको हुन्छ । ढुंगेधारामुनि भगीरथको मूर्ति हुन्छ । भगीरथले गंगालाई स्वर्गबाट ल्याई धर्तीबासीलाई पानी खुवाएको धार्मिक विश्वास छ । ढुंगेधारा बनाउनु सानो कुरा होइन, त्यो पनि त्यसबेलाको समय ।

त्यसो त वीरशमशेरले सुन्दरीजलबाट यही राजकुलोमार्फत सुन्धारामा वीरधारा बनाए । तर अहिले संरक्षण अभावमा पानी सिञ्चित क्षेत्र मासिँदै गयो भने उता प्राचीन समय कसरी पानीलाई संरक्षण र सदुपयोग गरिन्थ्यो भन्ने ज्ञान पनि हरायो ।

पानी संरक्षणको जात्रा

ढुंगेधारा तथा पोखरीको धार्मिक र सांस्कृतिक महत्त्व छ । संरक्षण गरून् भनेर नै पुर्खाहरूले यिनीहरूलाई संस्कृतिसँग जोडेको वातावरणविद् तुलाधरको तर्क छ । भन्छन्, “रातो मच्छिन्द्रनाथको जात्रा पानी संरक्षणका लागि हो । रथ बाँध्ने बेत पुलचोकको त्यही पोखरीमा धुनुपर्छ । कमलको फूल चढाउनुपर्छ, त्यो पनि तोकिएकै पोखरीबाट ।”

दुई महिनासम्म चल्ने मच्छिन्द्रनाथको जात्रा २५ वैशाखबाट विधिवत रूपमा पूजाआजा गरी सुरु भइसकेको छ । दुई महिना लगाएर रथ पाटन घुम्छ । जात्राको पृष्ठभूमि नै पानीसँग जोडिएको छ । जब काठमाडौँमा खडेरी पर्‍यो, आसामबाट मच्छिन्द्रनाथ भित्र्याइयो । अग्लो रथ त्यसपछि लगनखेल रोकिन्छ, जुन पाटनको पानीको मुख्य स्रोत हो । पहिला त्यो पूरै पोखरी थियो ।

भौगोलिक रूपमा हेर्दा पनि पानी पर्दा जमिन सिञ्चित हुन त्यहाँको माटो उपयुक्त रहेको विज्ञहरूको भनाइ छ । पानी व्यवस्थापनका लागि यस जात्रामा जिम्मेवारी बाँडफाँट हुन्थ्यो र अझै हुन्छ । सबै पाटनबासी एकजुट भएर लाग्छन् । रमाइलो गर्छन्, भोजभतेर खान्छन् । भक्तपुर, कीर्तिपुर र काठमाडौँको पनि यस जात्रामा जिम्मेवारी हुन्छ । कति भूमिका समुदायले वहन गर्थे भने कतिपय तत्कालीन राज्यले ।

जात्रा अन्त्यमा पूजा हुन्छ । जात्रा समापनमा यति खर्च भयो भनेर लेखा परीक्षण गरेजस्तो ॅभगवान्’ लाई सुनाइन्थ्यो र सुनाइन्छ । दुइटा माछा सतलपातलमा छाडिन्छ, मर्त्यलोकमा सुनाइनदिनू भनेर । दुइटा चरा उडाइन्छ, स्वर्गलोकमा सुनाउन जात्रा इमानदारीपूर्वक गरियो भनेर । संस्कृतिमा पानी व्यवस्थापनदेखि खर्चको हिसाबकिताब त्यसरी गाभिएको थियो । अहिले परिस्थिति बदलिएको छ । तुलाधर भन्छन्, “त्यसबेलाका मानिसले पानी संरक्षण गर्न प्रयोग गरेका इन्जिनियरिङको हाम्रा विश्वविद्यालयमा न पढाइ हुन्छ, न त अनुसन्धान नै ।”

अहिले अशोक स्तुपसँग जोडिएको सतलपातल पोखरी, कुमारीपाटीको सानो पोखरी र चिडियाखानाभित्रको सानो पोखरी एउटै भएर पुल्चोकसम्म फैलिएर एउटै ठूलो पोखरी थियो । आकाशको पानी पनि त्यसैमा सञ्चित हुन्थ्यो । त्यही सञ्चित पानी कयौँ वर्ष लगाएर जमिनभित्र पस्थ्यो । अहिले जमिन दोहन मात्र भइरहेको छ । ६० प्रतिशत जनता जमिनमुनिको पानीमा निर्भर छन् । नास्टका प्राज्ञ ज्ञवाली भन्छन्, “केयूकेएलका नीति देखाउने दाँत माक्र हुन् । नीति कार्यान्वयन गर्ने इच्छाशत्ति ठ्याम्मै छैन ।”

अहिले उपत्यकामा ट्युबवेल, पम्प तथा डिप वाटर बोरिङ भइरहेको छ । ट्यांकरको पानी पनि उपत्यकाभित्रकै मुहानबाट ल्याइन्छ । यसरी सबैतिर पानी दोहन मात्रै गरिरहने तर जमिन रिचार्जका लागि ठोस कार्य नगर्ने हो भने उपत्यका एकादेशको कथा हुन बेर लाग्दैन ।


सहरको तिर्खा मेट्दै गाउँका मूल

पानीको समस्या परापूर्वकालदेखि झेल्दै आएको छ काठमाडौँले । त्यसैले त यहाँ अकाल पर्दा विभिन्न देवतालाई पुकार्ने परम्परा यथावत चलिआएको छ । मत्स्येन्द्रनाथ, इन्द्र, नाग आदि देवतासँग सम्बन्धित थुप्रै जात्रा तथा संस्कृतिको सम्बन्ध काठमाडौँ उपत्यकामा परेको अकालसँग सम्बन्धित छन् । किंवदन्ती यसै भन्छन् । प्राचीन समय काठमाडौँ उपत्यकाका सहर स–साना गाउँजस्ता थिए । जनसंख्या थोरै थियो । अहिले अवस्था फरक छ । काठमाडौँको आकार उस्तै छ, तर जनसंख्या सयौँ गुणा बढेको छ ।

संसारभरि नै सहरीकरण बढिरहेको छ । सहरीकरण विस्तारसँगै गाउँहरू सहरमा परिवर्तित हुने क्रम पनि बढ्दै गएको छ । दैनिक उपभोगका थुप्रै वस्तुका लागि सहर ग्रामीण भूमिमा आश्रित हुन्छ । श्रमिक, तरकारी, धान, चामल, तेलहन, जडीबुटी, दाउरा आदि । नाम थुप्रै छन् । यसमा पछिल्लो केही वर्षमा थपिएको अकाट्य नाम हो, पानी । उपत्यकाका सडकमा दिनरात पानी बोकेर कुदिरहेका ट्यांकर यसका प्रत्यक्ष उदाहरण हुन् । सहरको पानीको आवश्यकता पूरा गर्न कुदेका ती ट्यांकर काँठ क्षेत्रका स्रोतमा पानी भर्छन्, सहरका घरमा रित्तिन्छन् । तथ्यांकअनुसार उपत्यकाका दुई दर्जनभन्दा बढी पानीका भूमिगत एवं सतही स्रोत र केही खोलाले सहरको पानीको आवश्यकता केही हदसम्म धानिरहेका छन् । पानीका यी स्रोत अधिकांश ग्रामीण क्षेत्रमा छन् । गोदावरी, टौखेल, थैब, बल्खु, चोभार, चाल्नाखेल, सुन्दरीघाट, मातातीर्थ, स्वयम्भू, रानीवन, बालाजु, मनमैजु, चावहिल, जोरपाटी, गोठाटार, झौखेल, हात्तीवन, ग्वार्को उपत्यकामा पानी आपूर्तिका स्रोत केन्द्र हुन् । यी केन्द्रबाट दैनिक ६ सयभन्दा बढी व्यावसायिक पानी ट्यांकर र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का दुई दर्जनभन्दा बढी ट्यांकरले पानी ओसार्छन् । वार्षिक ६ लाख पटकभन्दा बढी पानी ओसारिँदा करोडौँ लिटर खपत गर्छ, सहरले । 

उपत्यकामा ट्यांकरबाट वितरण भइरहेको ९० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत पानी हो । सहरभरि हजारौँको संख्यामा घरघरै भूमिगत पानी तान्ने मेसिन जडान गरिएका छन् । घरैपिच्छे जडित यी मेसिनले तान्ने असीमित पानीको तथ्यांक भेटिँदैन । यसरी भइरहेको भूमिगत पानीको अधिक दोहनका कारण जमिनमुनि पानीको सतह घट्दै गएको छ । सहरको पानीको यो तिर्खा हरेक वर्ष बढ्दै छ । शोधकर्ताहरू भन्छन्, पानीको तिर्खा केही वर्षमा दोब्बरले बढ्न सक्छ । उपत्यकाको पानीको तिर्खा मेट्न तीन दशकअघि सुरु मेलम्ची परियोजनाले आजआज, भोलिभोलि गर्दै समय बढाइरहेको छ । उपत्यकाको जनसंख्या र पानीको आवश्यकता परियोजना सुरु हुँदाको अवस्थाभन्दा कैयौँ गुणाले बढिसकेको छ । मेलम्ची उपत्यका भित्रिँदा पनि पानीको समस्या यथावत रहने संकेत प्रस्ट भइसकेको छ ।

पूर्वजहरूले पानीको आवश्यकता पूरा गर्न ढुंगेधारा, इनार, पोखरी, तालतलैया बनाएका थिए । पानी वितरणका यी प्राचीन माध्यम थिए । सहर बढेसँगै यी पानीका स्रोत सुक्दै गए । स्रोत सुक्न थालेसँगै भूमिगत पानीको दोहन झन् बढेको छ । राजकुलो ढुंगेधाराका पानीका स्रोत हुन् । प्राचीन समयका मानिसले पानीको जोहो गर्न उपत्यकाका थुप्रै स्थानमा राजकुलो व्यवस्था गरेका थिए ।  अव्यवस्थित सहर विस्तारले राजकुलोको अस्तित्व लगभग समाप्त भएको छ । यसको सीधा असर ढुंगेधारामा परेको छ । खोला सुक्नु र भूमिगत पानी घट्दै जाँदा उपत्यका वरपर काँठ क्षेत्रका कृषक सिँचाइका लागि पानी नपुगेर छटपटाउन थालेका छन् । सहरीकरणसँग कृषि क्षेत्रको असन्तुष्टि र द्वन्द्व बढ्न थालेको छ ।

हाम्रा पूर्वजले खुला जमिन र पोखरीको महत्त्व बुझेका थिए । पानीको आवश्यकता पूर्ति गर्न यी महत्त्वपूर्ण थिए । किनभने खुला जमिन र पोखरी भूमिगत पानीको चक्र सन्तुलित राख्ने माध्यम हुन् । तर सहर विस्तारसँगै प्राचीन सहरभित्र र बाहिरका खुला जमिन मासिएका छन् । पोखरी अतिक्रमित भएका छन् । दुई दशकमा उपत्यकाको सहरी जनसंख्या ह्वात्तै बढेको छ । जनसंख्या वृद्धिको बढ्दो चापका कारण उपत्यकामा पानीको समस्या झन्झन् विकराल बनेको छ । खेतीयोग्य जमिन, खुला चौर र पोखरी अतिक्रमित हुने, घडेरीमा परिवर्तित हुने क्रम बढ्दा कचौरा आकारको सानो र सुन्दर उपत्यका कंक्रिटको जंगल बनेको छ । यसले उपत्यकाको वातावरणमा नकारात्मक प्रभाव पारेको छ । काँठ र गाउँका स्रोत सुक्दै जाँदा पानी खोज्न टाढाटाढा पुग्नुपर्ने अवस्था छ । यसले पानीको ढुवानी लागत बढेको छ ।

एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन भन्छ, ‘बढ्दो सहरीकरणले नगर र कृषि प्रणालीबीच द्वन्द्व बढ्दै छ ।’ विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयका दर्जनभन्दा बढी अनुसन्धानकर्ताको शोधपत्रका आधारमा सहरीकरणले निम्त्याएको यो समस्या उजागर गरिएको हो । यो नसोचिएको तथ्यको मारमा हामी सबै अघोषित रूपमा फस्दै गएका छौँ ।

संसारभरि नै देखिएको वातावरण र तापक्रममा आएको परिवर्तनको समस्यामा हामी पनि गाँजिएका छौँ । के गाउँ, के सहर, जलस्रोतको धनी देश भनेर संसारभरि चिनिए पनि हामी सधैँ पानीको अभावले छटपटाइरहेका हुन्छौँ । खोलानाला र भूमिगत पानीका स्रोतको अधिक दोहन गरेर ग्रामीण जमिन मरुभूमीकृत बनाउने कर्ममा सहरबासीको प्रमुख भूमिका रहेको तथ्य विभिन्न अध्ययन प्रतिवेदनले प्रमाणित गरिसकेका छन् । वैज्ञानिकले त घोषणा नै गरिसकेका छन्, यदि सहरियाले पानी प्रयोगको व्यवहारमा सुधार नल्याए सन् २०५० सम्म विश्वका एक चौथाइ मानिस पानीको अभावले पीडित हुनेछन् ।

 

प्रकाशित: जेष्ठ ५, २०७६