एक रंगकर्मीको साबिती
राष्ट्रिय नाट्य विद्यालय (एनएसडी), दिल्लीबाट स्नातक गरेर फर्किएपछि थिएटर भिलेज स्थापना गरे, विमल सुवेदीले, सन् २०१३ मा ।
राष्ट्रिय नाट्य विद्यालय (एनएसडी), दिल्लीबाट स्नातक गरेर फर्किएपछि थिएटर भिलेज स्थापना गरे, विमल सुवेदीले, सन् २०१३ मा । नाटकघरको उद्घाटन हुने भयो, साबितीबाट । जगदीश घिमिरेको यही नामको उपन्यासलाई नाट्य रुपान्तरण गरिएको थियो । ‘यो उपन्यास स्टेजमा हेर्ने ज्यादै रहर छ । मलाई मेरो प्राण यसमै रोकिएजस्तो लाग्छ,’ त्यतिबेला घिमिरेले भनेका शब्द विमलका कानमा अझै गुन्जन्छन् । सुनील पोखेरलको एकल अभिनय थियो । पहिलो सोमा घिमिरेसहित विशिष्ट पाहुना थिए । तर पोखरेलको लापरवाहीले दर्शक बीचमै उठेर हिँड्नुपर्ने स्थिति आइलाग्यो । विमल दुःखी हुँदै सुनाउँछन्, “मेरा लागि असाध्यै खराब अनुभव थियो त्यो । डिप्रेसनमै गएँ ।”
घटनाको केही महिनापछि घिमिरे बिते । विमलको घाउमा नुन–चुक छर्केझैँ भयो । घिमिरेलाई नाटक देखाउन नपाएकामा पश्चात्ताप थियो । सात वर्षपछि विमलले सन्तोषको सास फेर्न पाएका छन् । भारतको साउथ एसियन युनिभर्सिटीमा साबिती मञ्चन हिन्दीमा अनुवाद गराई देखाउन उनी सफल भए ।
सार्कका सबै मुलुकका दर्शकले नाटक हेरे । सामाजिक–राजनीतिक बेथितिमाथि लेखिएको उपन्यासलाई समकालिक बनाइएको थियो । विमल खुसी पोख्छन्, “जगदीश सरका लागि मेरो तर्फबाट ‘ट्रिब्युट’ हो नाटक ।”साबितीको दिल्ली मञ्चन विशेष हुनुको कारण यत्ति मात्र छैन ।
नाटकमा एकल अभिनय थियो, अनुराधा मजुम्दारको । एनएसडी र फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) उत्तीर्ण अनुराधा नेपाली रंगप्रेमीमाझ उत्तिकै प्रिय छिन् । एक्टर्स स्टुडियोकी सहसंस्थापक अनुराधाले विमल मात्र होइन, अहिले चर्चामा रहेका धेरै रंगकर्मी/अभिनेतालाई अभिनय प्रशिक्षण दिएकी छन् । उनले बाँकी उज्यालोलगायत नेपाली नाटक खेलेकी थिइन् । हाल उनी फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, हरियाणामा अभिनय विभाग प्रमुखका रुपमा कार्यरत छिन् । विमल भन्छन्, “नेपाली थिएटरलाई असाध्यै माया गर्ने र साबितीको विषयवस्तुलाई मिहीन शैलीमा बुझेकाले अनुराधालाई अभिनय गराएको हुँ ।” नाटकमा न्यारेटरसहित आधा दर्जन चरित्रलाई आत्मसात गरेकी थिइन्, अनुराधाले । कोरसमा डाक्टर थिए । यसलाई छिट्टै नेपालमा देखाउने गृहकार्य हुँदै छ ।
नेपाली रंगकर्मीलाई आरोप लाग्ने गरेको छ, विदेशी साहित्य ‘एडप्टेसन’ गर्नमै मस्त भएको । हो पनि, हामीकहाँ औधी कम नाटक लेखिन्छ । प्रायः विदेशी नाटकलाई नेपालीकरण गरेर देखाइन्छ । विमल पनि यसबाट अछूतो छैनन् । उनलाई घरिघरि लाग्थ्यो, नेपाली साहित्यलाई चाहिँ विदेशी भाषामा अनुवाद गरेर विदेशमै देखाउन सकिन्न ? यसो गर्दा, स्वदेशी लेखकको ख्याति बढ्थ्यो, हाम्रो समाज, लेखनशैलीबारे विदेशी जानकार हुन्थे । विमल भन्छन्, “अन्तर्राष्ट्रिय मञ्चमा गर्वसाथ देखाउन र बहस गर्न सकिने दर्जनौँ साहित्यिक कृति छन् हामीकहाँ । त्यसको सुरुआत साबितीबाट गरेँ । अब हरेक वर्ष एक नेपाली कृति विदेशमा लैजाने योजना बनाएको छु ।” यो काम फत्ते गर्न उनलाई सहज पनि छ । पछिल्लो समय अन्तर्राष्ट्रिय रंगमञ्चमा उनको सक्रियताले यसमा काम गरेको छ ।
शेक्सपियरको ग्लोब थिएटरसँग सहकार्य गरेका छन् विमलले । शेक्सपियरकै हेम्लेट नाटकलाई नेपाली भर्सनमा बनाएर लन्डनको साउथ ब्यांक सेन्टरमा देखाए, बेलायती सरकारकै निमन्त्रणामा । संसारभरबाट खुला आवेदनमार्फत विमल र उनको नाट्य संस्था छानिएको थियो । त्यस्तै, मालिनी भारतका विभिन्न राज्यसँगै पाकिस्तान, जर्मनी र बेल्जियममा देखाए । हरियाणामा हिन्दी भाषामा मन्टोको बु नामक नाटक गरे । स्वीट्जरल्यान्डको लुजान विश्वविद्यालय र एनएसडी सिक्किममा उनी अतिथि लेक्चरर छन् । थिएटर म्यानेजमेन्ट कोर्सका लागि एक वर्ष युरोपमा बिताए, जसबाट उनले युरोपको कला, साहित्य, संस्कृति बुझ्न पाए । “पहिलो विश्वले सांस्कृतिक कूटनीतिलाई प्राथमिकतामा राखेको छ । थिएटर त्यसको प्रमुख माध्यम हो,” विमल भन्छन्, “तर हामीकहाँ सरकारले नाटकको गाम्भीर्य बुझ्न सकेकै छैन । हामी रंगकर्मी पनि काल–जमानाअनुसार स्तरीय नाटक बनाउन चुकेका छौँ ।”
थिएटरका सवालमा विमल संवेदनशील छन्, उनले गरेका कामले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाएका छन् । विडम्बना ! अहिले विमलको आफ्नै नाटकघर छैन । थिएटर भिलेज तीन वर्ष सञ्चालन भएर बन्द भएको पनि तीनै वर्ष बित्यो । “नाटकघर बन्द भएपछि वित्तीय संकट आइलाग्यो । सँगै किन, केका लागि नाटक गर्ने भन्ने प्रश्न उब्जिए आफैँसँग । त्यसैले सिर्जनशील कर्ममा एकाग्र हुन सकिनँ ।”
यसबीच विदेशमा अध्यापन र नाटक मञ्चनमा भने उनी क्रियाशील रहे । फरक र अब्बल दर्जाका नाटक मञ्चनबाट चिनिएको थिएटर भिलेज अब खुल्दैन त ? विमल सुनाउँछन्, “अवश्य खुल्छ । बन्द भएको चौथो वर्षअगावै सुचारु हुन्छ ।” नाटकघर ताहाचलमा खुल्ने उनले जानकारी दिए ।
विमलले अभिनय नगरेको एक दशक बित्नै लाग्यो । जबकि अभिनयबाटै रंगकर्ममा गाँसिएका थिए । सन् २००३ मा राष्ट्रिय नाचघरमा एक वर्षे अभिनय कोर्स गरे । गुरुत्रय थिए, प्रभाकर शर्मा, वीरेन्द्र हमाल र हरिहर शर्मा । चार वर्षपछि एक्टर्स स्टुडियोमा भर्ना भए, दोस्रो ब्याचमा । रंगकर्मको भोक अझ घनीभूत भयो । त्यसैले सन् २००९ मा एनएसडी गए । त्यहाँ निर्देशन र नाटक डिजाइन पढे ।
सुनील पोखरेल र अनुप बरालपछि एनएसडी पढ्ने तेस्रो र अहिलेसम्मका अन्तिम नेपाली हुन्, विमल । एनएसडी जानुअगाडि रणदुल्लभ, पैकेलो (मीन भाम निर्देशित खस भाषाको नाटक), टलकजंग भर्सेस टुल्के, बाँकी उज्यालोलगायत नाटकमा अभिनय गरेका थिए । तिनताका वर्षमा दुई–चार नाटक हुने भएकाले पाउनै मुस्किल हुन्थ्यो । त्यसैले टिक्नकै लागि मोडलिङ र र्याम्प सो पनि गरे । एनएसडीबाट फर्किएपछि निर्देशनमै केन्द्रित विमल भन्छन्, “अभिनय गर्न जति तयारी चाहिन्छ, त्यो ममा छैन । त्यसैले तत्काल अभिनय गर्दिनँ । जब गर्छु, पूरापूर तयारी गरेरै ।”
बालाजुस्थित नेपाल फिल्म एकेडेमीमा अभिनय विभागका प्रमुखको रुपमा कार्यरत छन् विमल । ओस्कार इन्टरनेसनल कलेजमा पनि पढाउँछन् । फिल्ममा कास्टिङ डाइरेक्सन गर्छन्, कलाकारका लागि वर्कसप गराउँछन् । तर जता गरे पनि विमलको ध्यानचाहिँ रंगकर्ममै छ, अझ निर्देशनमा । उनी स्वीकार्छन् पनि, नाटकघर र दर्शकअनुरुप नाटकको स्तरोन्नति हुन सकेको छैन । व्यावसायिक र प्रक्रियागत ढंगबाट होइन, जुगाड गरेरै नाटक बनाइन्छ ।
रंगकर्मीमा धैर्यको खाँचो छ, नाटक गर्नै हतारो हुन्छ । अनि कसरी बनून् अब्बल नाटक ? विमल भन्छन्, “केही राम्रा नाटक पनि छन्, त्यतिले मात्र पुग्दैन ।” यसमा उनी आफ्नो दायित्वबाट भाग्दैनन् । त्यसैले त उनले लगातार दुई वर्ष १५ प्रतिभाशाली नयाँ रंगकर्मीलाई ‘डिरेक्टर वर्कसप’ गराए । गत वर्ष निकै रुचाइएको नाटक खबर हराएको चिट्ठी यसकै प्रतिफल हो । आफ्नो नाटकघर खोल्नुअगावै नाटक निर्देशन गर्ने तयारी गर्दै छन् । नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव, २०१९ को आयोजकमध्ये एक विमल पनि हुन् । रंगमञ्चमा स्थानीय र अन्तर्राष्ट्रिय गतिविधि बढाउन आवश्यक रहेको उनी औँल्याउँछन् ।
नाट्यकर्मबाटै जीवन धान्ने स्थिति अझै सिर्जना हुन सकेको छैन । नाटक बन्छन् तर अपवादबाहेक टिकट बेचेर आर्जन हुन्न । सधैँ दाताकै भर । नाटकका लागि दुई–तीन महिना समय खर्चने कलाकारले एकाध हजार पारिश्रमिकमै चित्त बुझाउनुपर्छ । नयाँ जोश लिएर आउने धेरै बीचमै हराउँछन् ।
अरुको के कुरा, विमल आफैँले रंगकर्म सुरु भएको दशक नाघिसक्यो तर आफूलाई अझ संघर्षरत भन्न रुचाउँछन् । उनकै भनाइमा नाटक गरेर मात्र गुजारा चलाउन धौ–धौ छ । तर हतोत्साहित छैनन् । किनभने दर्शकको रुचि र चाख बढ्दो छ । “जुन क्षेत्रमा युवाको रुचि हुन्छ, त्यो फस्टाउँदै जान्छ,” विमल आशावादी सुनिए, “नेपाली थिएटरमा युवा बाहुल्य छ, अग्रसरता छ । त्यसैले भविष्य उज्ज्वल छ । ढिलो वा चाँडो भन्ने मात्र हो ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...