अमरदहका अनेक याद
हाम्रो घरभन्दा अलि पर एउटा चियानास्ता दोकान थियो । ती दोकानदारलाई महिन्द्रे भन्थे । म धैरैजसो अलि परको मावली जान्थेँ । त्यहाँ जानुमा पनि मलाई आनन्दै अर्कै । कम्तीमा आमाको कचकचबाट जोगिन्थेँ ।
त्यो हात्ती लमकलमक हिँडेको सम्झना अहिले पनि छ, मलाई । दुई–तीन जनासहित आफ्नो हात्तीमा घमन्डीलाल जिमदार हुन्थे । सबैले टोटावाला बन्दुक भिरेका । जिमदार चढेको हात्तीलाई कसैले ठाडो आँखाले हेर्न सक्थ्यो र ? अरुका आँखा ठडिनासाथ बन्दुकेले काँधमा भिरेको बन्दुक पनि हात्तीमाथिबाटै ठडिइहाल्थे । तैँ चुप मै चुप हुन्थे ।
अमरदह वरिपरि सखुवाका रुखको जंगलै थियो । त्यो बेला जीएमसी नामक ६ चक्के ट्रकले ती रुखका टुना भरेर ल्याउँथे । बाटो छेउमै हाम्रो घर भएकाले अरु दौँतरी मिलेर ट्रकको पछाडि तेर्सिएका सखुवाका टुनामा हामी झुन्डिन्थ्यौँ । ट्रकले फालेको धूलोको हामीलाई कुनै परवाहै हुँदैनथ्यो । बसमा झुन्डिएर अलि परसम्म जानुको मजा त हामीलाई मात्रै थाहा थियो । कहिलेकाहीँ आमाले थाहा पाएर मेरा कन्सिरीका रौँ पनि गन्नुहुन्थ्यो । तर त्यो दुखाइलाई ट्रकको पछाडि झुन्डिएको मजाले उछिनिहाल्थ्यो ।
हाम्रो घरभन्दा अलि पर एउटा चियानास्ता दोकान थियो । ती दोकानदारलाई महिन्द्रे भन्थे । म धैरैजसो अलि परको मावली जान्थेँ । त्यहाँ जानुमा पनि मलाई आनन्दै अर्कै । कम्तीमा आमाको कचकचबाट जोगिन्थेँ । छेउमै वक्राहा खोलामा साथीहरुसाग पौडी खेलेर किनारको बालुवामा घुस्रेर त्यसको ताप लिनुको आनन्द झन् बेग्लै । मलाई हजुरआमाले बिहानै बालटिनमा चार सेर दूध बोकाएर महिन्द्रेको दोकानमा बेच्न पठाउनुहुन्थ्यो । मचाहिँ वक्राहाको पानी हालेर चार सेर दूधलाई पाँच सेर बनाएर एक सेर दूधको पैसा गुट्मुटयाई हाल्थेँ । यो कुरा न हजुरआमालाई, न त महिन्द्रेलाई थाहा भयो । मामाको नाम लोकबहादुर कार्की थियो । मटरमार सिगरेटको बट्टा र साततारे लाइटर जहिले उनको हातमा हुन्थ्यो । उनको हैकम निकै ठूलो थियो ।
हाम्रो छेउका चन्द्रबहादुरको घर अगाडि ट्युबवेल थियो । एकाबिहानै नुहाउने बानी थियो, मेरो । सायद हाम्रो घरको ट्युबवेल बिग्रिएको थियो । नुहाउनुअघि उनले तान्दै गरेको चिलिम अगाडि बसेर कुरा सुन्थेँ । त्यसरी बस्नुको मनसायचाहिँ उनकी जवान छोरी भित्र–बाहिर गरेको हेर्नुमा बढी थियो । उनको त्यो चिलिमभित्र कंकड भर्थे कि गाँजा भर्थे भन्ने हेक्का नभए पनि धूँवाको वास्ना अहिलेसम्म पनि मेरो नाकले बिर्सेको छैन । टिनको छाना भएको काठैकाठको त्यो घरमा भकारी थियो । त्यहाँ हुनेखाने काजीहरुले धान जम्मा गर्थे । पञ्चायतले सबै जम्माकर्ताको नामावली दुरुस्त राख्थ्यो । फेहरिस्त श्रीप्रसाद वैदारले तयार गर्थे । चन्द्रबहादुर सबै गाउँलेका आँखा छलेर सनपाटको बोरा र काठ प्वाल पार्ने छिनो लिएर जाँदा रहेछन् । घरमा भकारीमुनि छिरेर काठमा प्वाल पारेर बोरामा धान भर्दा रहेछन् । मान्छे छिर्न सक्ने अग्लो थियो, भकारी । उनी बोरा भर्दै ओसार्दा रहेछन् ।
एक दिन कसोकसो आफ्ना दुई दौँतरीसँग त्यहाँ पुग्दा घरमा चिलिम भरेजस्तै बोरामा धान भर्दै रहेछन् । हामीलाई देख्नासाथ उनी हडबडाएर बोरा अर्कोतिर पन्छाउादै भने, “ए केटा हो, यो मैले पाउने धान हो । क्यै हल्ला नगर्नू, भोलि तिमेरुलाई एक–एक पुरिया बिस्कुट दिन्छु ।” बिस्कुट पाउने लोभ त छँदैथ्यो । तर देखेको दृश्य पिसाब रोक्न नसकेझैँ उपप्रधानपञ्चका अगाडि फुत्किहाल्यो । उपप्रधानपञ्च हत्त न पत्त त्यहीँ पुगेर रंगेहात समातेर पञ्चायतमा ठिंग्याइहाले ।
मामा मटरमार चुरोटको धूँवा उडाउँदै हिँड्थे । उनका पछि एक हूल धुपौरे पनि हुन्थे । धुपौरेको नाइकेचाहिँ त्यही चैनपुरे हुन्थे । सबैभन्दा अगाडि मामा चुरोटको धूँवा उडाउँदै हिँड्ने, त्यसको ठीक पछि चैनपुरे मामाका पौरखको बखान गर्दै हिँड्ने अनि बाँकी कोही घुँडासम्मका सुरुवाल लगाएका, सिरुपाते खुकुरी भिरेका, हातमा सखुवाका लाठा घिसारेका राईहरु हुन्थे । तिनका पछौटे मगर, गुरुङ, भण्डारी कोही सुल्पा तान्दै, कोही आज हुने बबन्डरको योजना बनाउँदै हिँड्थे । तिनीहरुकै आडमा मामाको अहँ चुरोटको धूँवाझैँ फैलिन्थ्यो । म त्यही जत्थाको कहिले अघि, कहिले पछि चेप्पिँदै लुरुलुरु तमासबिन बन्दै हिँड्थे । मलाई त्यसरी मावलीबाट त्यो जुलुसजस्तै भीडमा हिँडाउने महेन्द्रेको दोकान पुगेर मामाले किन्दिने आलु, पेडा र पापड थिए । मामा जहाँ गए पनि आफूसँग ठूलो हुन्डरी लिएर पुग्थे ।
अर्का मामा थिए, भवानीशंकर थापा । उनको रवाफै बेग्लै । दाहिने खुट्टो खोच्याउने भए पनि हुँकार उनकै पिउन बिर्खेले सधैँ बोक्ने चिल्लो डन्ठाजस्तो ठाडो थियो । उसै पनि पञ्चायतका प्रधानपञ्च, मस्त घोडामा चढेर कहिले त बिहानै ८ बजे नै आएर हाम्रो घरको थाममा घोडाको लगामलाई सुर्कने पारेर कस्थे । उनी घोडा बाँधेर जसै छेउको साइँली दिदीको भट्टीमा रामरौस गर्न थाल्थे, म लगाम फुकालेर घोडाको पिठ्याुमा ऐस गर्दै सानातिना घोडा पाल्नेको घरअघि पुगेर चाबुक बजाइहाल्थेँ । यो देख्दा सायद सानो घोडा पालेको मेख मर्थ्यो । बुर्कुसी मार्दा घोडाले कति धूलो उडाएछ भनेर लख काट्न म कहिलेकाहीँ पछाडि फर्किन्थेँ । यसरी फर्किंदा म दुई पटक घोडाको पिठ्युँमा थेगिन नसकेर त्यही धूलो चाटेको सम्झना उत्तिकै छ ।
“म १४ वर्षको हुँदा जेठो छोरो जन्मेको थियो । तिमेरु छोराका बाउ भएँ भनेर के डिङ हाँक्छौ ?” आफ्नो पुरुषत्वमाथि गर्व गर्दै, रक्सी चढ्न थालेपछि भवानीशंकर प्रायः भन्थे । भवानीशंकरको तुजुक अर्कोतिर । हाम्रा मामा दलबलका साथ ‘चनहो याँ कुरा के छ भने’ चोरऔँलो ठड्याएर कुर्लेपछि वरिपरिका सबै थर्कमान हुन्थे नै । अलि पर हप्तैपिच्छे एउटा हाट लाग्थ्यो, सुगाहाट । त्यो हाटमा किसिम–किसिमका तरकारीदेखि गाउँमा हुने केरा सरिफा, मेवा, लिची, आँप, अम्बकजस्ता मौसमी चीज गाउँलेले बेच्न राखेका हुन्थे ।
अर्कोपट्टि सुर्ती र खुदो हालेर बनाएका चुरका र गाँजाका थुप्रा पनि सानातिना पहाडझैँ ठडिएका हुन्थे । त्यसबेला गाँजामा कुनै छेकबार थिएन । कुनै गँजेडीले त गाँजा चाख्न आफूले ल्याएका सुल्पा भरेर छेउमै धूँवाको मुस्लो उडाएको देखिन्थ्यो । हाटको एउटा किनारमा खसी र अर्को किनारमा सुँगुर पनि काट्थे । आइमाई त्यसकै छेउमा किटको कन्तीमा मासु पकाउँदै हुन्थे । उनीहरुका अगाडि लोकल रक्सीका बोतल प्नि ठडिएका हुन्थे । मतवालाहरु परालको गुन्द्रीमा पलेटी कसेर मासु र रक्सीको आनन्द लिँदै गरेका देखिन्थे । हाटको रौनक बढ्दै गएपछि मामा आफ्ना धुपौरेसँगै हाटमा पस्थे ।
वक्राहा खोलापारि कुल झोलाबाट खुकुरी भिरेर मोटामोटा लौरा लिएर लिम्बूहरु आउँथे । मामाको उर्दीसँगै दुई पक्षको भिडन्त हुनासाथ हामी भने छेउको अग्लो टुङ घरमा छिरेर रमिता हेर्न थाल्थ्यौँ । त्यत्रो गुलजार हाट एकैछिनमा रणमैदानमै परिणत हुन्थ्यो । भिडन्तको हुन्डरीले हाटको रमझमलाई उडाएर वक्राहाको किनारमा पुर्याउँथ्यो । दुवै पक्षका योद्धा भने दोकानदारले बटुल्न नभ्याएका सामान कुम्ल्याउन थाल्थे । मामा फर्किंदा एउटा सेनापतिले युद्ध जितेको शानसँगै अलि परको भट्टीमा दलबलसहित छिर्थे । मचाहिँ बाहिरै प्याजी र भुजा चपाएर बस्थेँ । भट्टीबाट मामा ढुन्मुनिएर बाहिर निस्किँदै गर्दा पछौटेहरुले अचेटेर काँध थापिहाल्थे । सबैले पालोपालो गर्दै बोकेर मामालाई घरमा पुर्याएर आ–आफ्नो बाटो लाग्थे ।
हाम्रो घरभन्दा अलि पर एक जना थिए । खुइले डाक्टर भन्थे सबैले । किनकि उनको टाउकामा गन्न सकिने २५/३० वटा जति रौँ थिए । उनी हरेक बिरामीलाई सुई घोचेरै ठीक पार्थे । खासगरी आइमाई गए भने ‘चाकमे सुइया भोंकनेसे जलदी ठिक हेते और दुखाइ भी नरम होते ।‘ भन्दै तिनीहरुका साडी उचाल्थे । बिमारी त ठीक गर्नु नै थियो, अर्कोतिर लाजशरमको पनि कुरा थियो । त्यसैले डाक्टरले आफ्नो सारी उचाल्दा आइमाईहरु अर्कोतिरको तिघ्रो छोप्न हात चलाउँथे । डाक्टर भने आफ्नो डाक्टरी र उनीहरुको नांगो शरीरको मजा लिन्थे ।
मलाई यी सबै कुरा थाहा हुन्थ्यो । किनभने डाक्टरकी कान्छी स्वास्नीले माया गरेर बोलाइरहन्थिन् । म उनले तेजपात हालेर झानेको दाल र माछाको झोलको मजा लिन पुग्थेँ । खुइले डाक्टर सुई दिइसकेपछि आइमाईहरुको नांगो चाकमा हात रगड्न थाल्थे । आइमाईहरु भने नांगो चाक छोप्न चाहन्थे । डाक्टर भने ‘एनाके मालिस करनेसे दवाइ सब तरफ फैलके अखैन ठिक भ्याजेतो’ भन्दै अरु चाकमा मालिस गर्थे ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...