[विशेष] स्याडो बक्सिङ
दुई विश्व शक्तिको टकराव थलो नेपाल
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणताका १५ वैशाखमा दुई देशबीच बेइजिङमा वाणिज्य तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुँदै थियो । सोही दिन एक उच्च अमेरिकी अधिकारी भने अकस्मात काठमाडौँ ओर्लिएर आफ्नो राजनीतिक सक्रियता बढाइरहेकी थिइन् । आपतकालीन काठमाडौँ उत्रने अमेरिकी कूटनीतिक अधिकारी हुन्, एलिस वेल्स, जो दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रमुख सहायक मन्त्री हुन् ।
चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को नक्साभित्र नेपाल परेकै साइतमा वेल्स काठमाडौँ ओर्लिनु संयोग मात्र थिएन । बरु नेपाललाई बीआरआईको प्रभावबाट टाढा राख्ने प्रयत्न थियो । स्मरण रहोस्, भारत, पाकिस्तान र भुटान भ्रमणमा निस्केकी वेल्सको भ्रमणसूचीमा नेपाल अटाएकै थिएन । अमेरिकी स्टेट डिपार्टमेन्टद्वारा २२ अप्रिलमा जारी प्रेस नोटमा नयाँ दिल्ली, इस्लामावाद र थिम्पुलाई मात्र वेल्सको भ्रमण स्थलमा राखिएको छ ।
तर वेल्स भारतबाट नेपाल छड्किन् र सोझै प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगिन् । नेपाल–अमेरिका दौत्य सम्बन्ध गाँसिएको ७२ वर्ष पुगेको अवसरमा दुवैले आपसी हितका विषयमा छलफल गरेको अमेरिकी राजदूत रेन्डी बेरीले ट्वीटमार्फत सार्वजनिक गरे पनि भेटमा चिनियाँ बीआरआई र अमेरिकी इन्डो–प्यासिफिक स्ट्रयाटेजी (आईपीएस) परियोजनाबारे लामो विमर्श भएको थियो । वेल्सले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगसमेत भेट्ने खबर पठाएकी थिइन् । तर प्रचण्ड उपत्यकाबाहिर भएकाले भेट सम्भव भएन ।
बीआरआई सम्मेलनका लागि राष्ट्रपति भण्डारी साताव्यापी उत्तरी छिमेकी मुलुकको भ्रमणमा रहँदा भएको यो आपतकालीन अमेरिकी दौडधूप त्यसपछि पनि रोकिएन । वेल्स फर्किएको १५ दिनपछि अर्का अमेरिकी कूटनीतिज्ञ नेपाल ओर्लिए । ३१ वैशाखमा काठमाडौँ झरेका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी निमित्त उपसहायक मन्त्री डेभिड रेन्जले चीनको बीआरआईबाट सावधान रहन नेपाललाई सचेत गराए । रेन्जले पत्रकारसँग भनेका थिए, “बीआरआई सुन्दा गज्जब लाग्छ । खुला र प्रस्टजस्तो देखिन्छ । तर विभिन्न मुलुकमा यसअन्तर्गतका परियोजना कसरी चलिरहेका छन् भन्ने बुझ्नु जरुरी छ ।”
रेन्जको यो अभिव्यक्ति नौलो भने थिएन । बरु बीआरआईबारे अमेरिकी आक्रामक धारणाको निरन्तरता थियो । अन्तर्राष्ट्रिय मामिलाका अध्येता सफल घिमिरे आईपीएसलाई अमेरिकाको चतुष्कोणीय रणनीति मान्छन्, जसले जापान, भारत, अस्ट्रेलियाजस्ता चीनका ऐतिहासिक र समकालीन स्पर्धीलाई एकै ठाउँ ल्याएको छ । यी मुलुकले कुनै कदम नचाले त्यसले प्रशान्त, दक्षिणपूर्वी एसिया र दक्षिण एसियामा चीनको प्रभाव ह्वात्तै बढ्ने निश्चित छ ।
चीन–अमेरिका छाया
तीन महिनाअघि मात्रै अमेरिकी कूटनीतिक अधिकारीले नेपाली भूमिबाट बीआरआईको तिखो आलोचना गरेका थिए । दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले १३ फागुन ०७५ मा नेपाल भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी पारदर्शी र चीनको मात्र नभई नेपालको समेत हितमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए । यति मात्र होइन, इन्डो–प्यासिफिकमा सहभागी हुँदा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा विविधता आउने र सार्वभौमिकता सबल हुने दाबीसमेत गरे । फेल्टरको भनाइ थियो, “यसले नेपालको विकासमा सघाउनेछ भने लोकतान्त्रिक संस्थालाई मजबुत बनाउनेछ ।”
हत्तपत्त प्रतिक्रियात्मक नबन्ने चीन पनि यो मामिलामा प्रतिवादमा उत्रियो । भोलिपल्टै चिनियाँ राजदूत होउ यान्छीले फेल्टरको भनाइ ‘अमेरिकाको गैरजिम्मेवार अभिव्यक्ति’ भएको बताइन् । काठमाडौँमा आयोजित बेल्ट एन्ड रोड इनिसियटिभ : नेपाल कनेक्टिङ द वर्ल्ड नामक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा खण्डन गरेका यी कुरा नेपालस्थित चिनियाँ दूतावासले आफ्नो वेबसाइटमै अभिलिखित गरेको छ । लेखिएको छ, ‘यदि कुनै पनि मुलुकले विकासोन्मुख देशलाई सहयोग गर्न सक्दैन भने कम्तीमा सहयोग गरिरहेका राष्ट्रलाई बाधा पुर्याउने कामबाट चाहिँ ऊ अलग रहनुपर्छ । विवादको बिउ रोपेर आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्दा लाभदायी मुलुकका जनताको समेत चित्त दुख्छ ।’
नेपालस्थित चीन र अमेरिकाका कूटनीतिक नियोगबीचको यस्तो जुहारी अहिले पनि जारी छ । अमेरिकी निमित्त उपसहायक मन्त्री रेन्जले नेपाललाई बीआरआईको कार्यशैलीदेखि सजग रहन औँल्याएर फर्किएको एक सातापछि ९ जेठमा चिनियाँ दूतावासले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गर्यो । बीआरआईबारे अमेरिकी धारणा भ्रमपूर्ण रहेको राजदूत यान्छीले बताइन् । साथै नेपाल र चीनलाई रेलमार्गबाट जोड्ने कुरामा समेत प्रतिबद्धता जनाइन् । रेल परियोजना बीआरआईकै हिस्सा हो ।
चीन र अमेरिकाबीच शक्तिको लडाइँ नयाँ उचाइमा पुगेसँगै नेपालमा समेत त्यसको प्रभाव सतहमै प्रकट हुन थालेको छ । चीनले प्रतिपादन गरेको बीआरआईभन्दा आफ्नो आईपीएस नेपालका लागि फलदायी हुने निरन्तरको अमेरिकी आग्रह त्यसैको परिणाम हो । बीआरआईमार्फत चीनले आफ्नो व्यापारिक मार्ग विश्वव्यापी बनाउँदै लगेको छ । व्यापारिक सन्जाल बलियो बनाएपछि चीनले आफ्नो आर्थिक हैसियत झनै मजबुत बनाउनेछ र विश्वमा आफ्नो राजनीतिक नियन्त्रण कायम गर्नेछ भन्ने अमेरिकालगायत पश्चिमा मुलुकको आकलन छ । चीनको यही फैलावटलाई टक्कर दिन अमेरिकाले आईपीएस अवधारणा ल्याएको हो । ज्ञातव्य रहोस्, प्यासाफिक अमेरिकाको परम्परागत पकड क्षेत्र हो ।
पूर्वप्रधानसेनापति गौरवशमशेर राणाका अनुसार दोस्रो विश्वयुद्धपछि निर्मित विश्व–व्यवस्थालाई अमेरिकाले नेतृत्व गर्यो । “अहिले चीनले आर्थिक सामर्थ्य बढायो । आफ्नो शक्तिमा अर्कोले दक्खल दिने अवस्था निम्तिएपछि द्वन्द्व देखिएको छ,” राणा भन्छन्, “यो द्वन्द्वमा नेपाल कहाँ छ ? साँढेको जुधाई बाच्छोको मिचाइमा परेका छौँ । हामी चनाखो हुनुपर्छ ।”
तानातानमा नेपाल
पुस ०७५ मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकाले डेढ दशक लामो कालखण्डपछि भव्य आतिथ्य प्रदान गर्यो । उच्च कूटनीतिक सम्मान पहिर्याउनुको रहस्य त्यतिखेर खुल्यो जतिखेर ज्ञवाली स्वदेश नओर्लिंदै अमेरिकाले आईपीएसमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा द्विपक्षीय छलफल भएको रहस्य एकतर्फी खोलिदियो । यसपछि समेत ज्ञवालीले आईपीएसबारे नभई क्षेत्रीय मामिलामा मात्रै कुराकानी भएको जिकिर गरिरहे । तर अवस्था त्यस्तो नरहेको त्यसपछि शंखलाबद्ध तवरमा भइरहेका अमेरिकी कूटनीतिक लबिङले प्रस्ट पार्छ ।
“आईपीएसबारे हाम्रा परराष्ट्रमन्त्रीसँग कुराकानी भएको भनेर अमेरिकाले लिखित वक्तव्य दिइसक्यो । हामीले त्यसलाई झूटो भनेका छेनौँ,” वैदेशिक मामिलाका जानकार टीकाप्रसाद ढकाल भन्छन्, “त्यसबारे छलफल भएको छैन भनेर कसैले पत्याउँदैन । तर मन्त्रीज्यूले यसलाई ‘लो–प्रोफाइल’ मा राख्न खोजेजस्तो देखिन्छ ।”
परराष्ट्रमन्त्रीले यो प्रकरणलाई लो–प्रोफाइलमा राख्न खोजे पनि बीआरआई र आईपीएसमा नेपालको भूमिकालाई लिएर विश्वका दुई ठूला शक्ति तानातानमा उत्रिएको प्रस्टै देखिन्छ । नेपाल भ्रमण गर्ने पछिल्ला निमित्त उपसहायक मन्त्री रेन्जले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आईपीएसकै अंग भएको खुलासा गरिदिए ।
०७४ भदौमा नेपाल र अमेरिकाबीच ५ सय मिलियन अमेरिकी डलर बराबरको एमसीसी सहायता कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन न्यासले हस्ताक्षर गरेका थिए । हस्ताक्षर भएको दुई वर्षपछि अमेरिकाले सहायता परियोजना आईपीएस मातहत ल्याएको हो । एमसीसीले कृषि, सिँचाइ, यातायात पूर्वाधार, स्वास्थ्य र शिक्षामा पहुँच, उद्यमशीलता, भूमि अधिकार, भ्रष्टाचार निवारणका क्षेत्रमा काम गर्छ । “अमेरिकाले चतुर्याइँपूर्वक अरू राष्ट्रलाई आफ्नो रणनीतिक साझेदारका रूपमा तानिरहेको छ,” सेन्टर फर साउथ एसियन स्टडिज (सीएसएएस) का निर्देशक निश्चलनाथ पाण्डे भन्छन्, “एमसीसीमा हामीले आईपीएसको कार्यक्रम भनेर सहमति जनाएको होइन । कतै हामी बीआरआई र आईपीएसको पेलानमा पर्दै गएका त होइनौँ ?” एमसीसीले आन्तरिक मामिलामा समेत हस्तक्षेप गर्न सक्ने पाण्डेको आकलन छ । भन्छन्, “भ्रष्टाचारविरोधी कार्यक्रमलाई सहयोग गर्ने बुँदाले यो जोखिम निम्त्याउन सक्छ ।”
भूरणनीतिक अवस्थितिमा उभिएको नेपाललाई दुवै देशले आफ्ना परस्पर चुनौती सामना गर्ने बिन्दुका रूपमा हेरेका हुनाले यस्तो पेलान अस्वाभाविक होइन । त्यसमाथि अर्को क्षेक्रीय शत्ति भारत उत्तरबाहेक तीन दिशामै नेपालको सँधियार हो । चीनलाई चुनौती दिन अमेरिकाले भारतलाई अगाडि सार्दै आएको छ । स्मरणीय रहोस्, भारत बीआरआईबारे बेखुस छ । नेपाललाई समेत बीआरआईमा जान भारतले अप्रत्यक्ष दबाब दिएको इतिहास छ । ०७२ मा बीआरआईको सदस्य बनेको नेपालले यससम्बन्धी अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्न दुई वर्ष लगायो । ०७४ वैशाखमा मात्रै यसमा नेपालले हस्ताक्षर गरेको थियो । यो उल्झनमा भारतीय भूमिका थियो ।
“भौगोलिक हिसाबले नेपाल विश्वकै उच्च बिन्दुमा पर्छ । यसको निश्चित सैन्य महत्त्व हुन्छ । खासगरी जासुसीका लागि । भूउपग्रहमार्फत हुने जासुसीमा समेत नेपालको ठूलो महत्त्व छ,” पूर्वप्रधानसेनापति गौरवशमशेर राणाको विश्लेषण छ, “यही कारण विश्वका शक्तिशाली मुलुकको यो द्वन्द्वमा अहिले नेपालको महत्त्व बढेको छ । यहाँ आफ्नो प्रभाव रहोस् भन्ने उनीहरूको इच्छा हुन्छ ।”
सैन्य चासो
विधिको शासन, स्वतन्त्रता, प्रजातन्त्र र समृद्धिको नारा दिएर अमेरिकाले आईपीएस अवधारणा ल्याएको हो । धेरैले यसलाई अमेरिकामा डोनाल्ड ट्रम्पले शासन लिएपछिको अवधारणा मान्छन् । तर यसबारे लामो समयदेखि बहस चल्दै आएको थियो । ट्रम्प प्रशासनले यसलाई औपचारिकता दिएको मात्र हो । सन् २०१२ मा अस्ट्रेलियामा आयोजित २७ मुलुकका सेना प्रमुखहरूको सम्मेलनमा यो अवधारणाबारे पहिलो पटक औपचारिक छलफल भएको थियो । उक्त सम्मेलनमा सहभागी पूर्वप्रधानसेनापति राणाका अनुसार दुई महासागर एक क्षेत्रबारे लामो छलफल चलेको थियो । “हिन्द र प्रशान्त महासागरमा पर्ने भूभागलाई एउटै क्षेत्रमा राख्नेबारे पहिलो पटक औपचारिक कार्यक्रम भएको थियो,” उनी भन्छन् । सम्मेलनमा चीनलाई निम्त्याइएको थिएन ।
आईपीएसलाई ट्रम्प प्रशासनले औपचारिक रूपमा लागू गराएपछि त इन्डो–प्यासिफिक कमान्डका प्रमुखले नेपाल भ्रमणसमेत गरिसकेका छन् । पुस ०७५ मा इन्डो–प्यासिफिक कमान्डका कमान्डर अड्मिरल फिलिप डेभिड्सन नेपाल आएका थिए । दुई दिने नेपाल बसाइमा उनले सेनाप्रमुख पूर्णचन्द्र थापासँग त भेटे नै, प्रधानमन्त्री ओली र रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि बेग्लाबेग्लै भलाकुसारी गरे ।
आईपीएसबारे अमेरिकी राजदूतले नेपाली सेनालाई समेत जानकारी गराइसकेका छन्, औपचारिक कार्यक्रममार्फत नै । मध्य माघ ०७५ मा राजदूत रेन्डी बेरीले काठमाडौँको शिवपुरीस्थित कमान्ड एन्ड स्टाफ कलेज पुगेर यो क्षेत्रमा आईपीएसको महत्त्वबारे बताएका थिए । यसबारे बेरीले ट्वीटमा लेखेका छन्, ‘क्षेत्रीय कनेक्टिभिटीका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न हाम्रो इन्डो–प्यासिफिक स्ट्रयाटेजीको महत्त्वबारे बताउन पाउँदा खुसी लागेको छ ।’
लाभ कि विलाप ?
अमेरिकामा ट्रम्प शासन आएपछि चीन र अमेरिकाबीचको द्वन्द्वले अर्को रूप लियो, व्यापारमार्फत । आफ्नो मुलुकमा आयात हुने चिनियाँ सामानमा अमेरिकाले भन्सार भारी मात्रामा बढाइदिएपछि दुई प्रतिद्वन्द्वी मुलुकबीच विवाद बढ्दो छ । अमेरिका चीनको ठूलो बजार हो । अमेरिकी तथ्यांक विभागका अनुसार उसले चीनबाट सन् २०१८ मा ५ खर्ब अमेरिकी डलर बराबरको सामान आयात गरेको थियो भने १ खर्ब डलर मूल्यको सामान चीन पठाएको थियो । अमेरिकाको चीनसँगको व्यापार घाटा ४ खर्ब डलर छ । चीनमा अमेरिकी लगानीका ठूला कम्पनी खुलेका छन् ।
यसको अर्थ हो अन्ततः यी प्रतिस्पर्धी मुलुकलाई कुनै बेला व्यापारिक स्वार्थले मिलाप बिन्दुमा घचेट्न सक्छ । आईपीएसअन्तर्गत अमेरिका भारतलाई अग्रभागमा राखेर चीनको फैलावट रोक्ने दाउमा रहे पनि भारत स्वयं यसबारे प्रस्ट छैन । सीएसएएसका निर्देशक पाण्डे भन्छन्, “भारत अझै पनि पर्ख र हेरकै चरणमा छ । चीनलाई हेर्ने दृष्टिकोणमा उसले पूरै अमेरिकालाई सघाउँछ भन्नेमा प्रशस्त शंका गर्ने आधार छन् ।”
पाकिस्तान र भारतको विवादित भूमिबाट बीआरआई परियोजनाको सडकमार्ग बनाएपछि भारत चीनसँग रुष्ट बनेको हो । यसबाहेक बीआरआईप्रति भारतको सैद्धान्तिक मतान्तर छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ समकक्षी सी चिन फिङबीच वैशाख ०७५ मा चीनको उहान प्रान्तमा भएको अनौपचारिक भेटमा छिमेकीसँग ‘टु प्लस वान’ को नीति लिने सहमति बनिसकेको छ । यो नीतिअन्तर्गत चीन र भारत मिलेर अर्को देशलाई सहयोग गर्ने हो ।
आपसी असहमति हुँदाहुँदै पनि चीन र भारत दुवै ‘पेट्रोलियम क्रेता क्लब’ गठन गर्ने सहमति नजिक पुगेका छन् । पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकको संगठन ओपेकमा अमेरिकी प्रभाव बढेपछि दुवै मुलुकले यो विकल्पमा छलफल थालिसकेका छन् । पेट्रोलियम बजारमा ४० प्रतिशत तेल ओपेकको नियन्त्रणमा छ । अमेरिका र इरानबीच परमाणु ऊर्जा विषयमा तनाव गहिरिँदै गएपछि भारत र चीनले किन्ने तेलमा समस्या देखिएको हो । दुवै मुलुक तेलमा परनिर्भर छन् । अमेरिकाले समेत चीनलाई तेल नबेच्न इरानलाई आग्रह गरिरहेको छ ।
यो पृष्ठभूमिमा भारतीय जनता पार्टीको विजयबारे औपचारिक घोषणा नहुँदै चिनियाँ राष्ट्रपति सीले नरेन्द्र मोदीलाई शुभकामना दिएर दुई मुलुकबीचको वातावरण झन् न्यानो बनाउन चाहेको सन्देश दिएका छन् । लोकसभा चुनावको मुखमा चीनले मुस्लिम अतिवादी समूह जैस ए मोहम्मदका नाइके मसुद अजहरलाई आतंककारी घोषणा गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सघाएको थियो । चार पटक भारतको यो प्रस्ताव रोकेको चीनले चुनावसम्मुख भने एकाएक पक्षमा मत दिएको थियो । यसबाट मोदीलाई आन्तरिक राजनीतिक समीकरण आफ्नो पक्षमा पार्न लाभ मिलेको ठानिन्छ ।
विश्व राजनीतिमा देखिएको यस्ता घटनाक्रमले चीन र अमेरिकाको प्रतिस्पर्धी कार्यक्रम त्रमशः बीआरआई र आईपीएसबाट नेपालले फाइदा लिन सक्ने विश्लेषकको मत छ । अन्तर्राष्ट्रिय मामिलाका अध्येता सफल घिमिरेका अनुसार अन्तर्राष्ट्रिय सम्बन्धको यस्तो प्रतिस्पर्धी मञ्चबाट नेपालले लाभ लिन सक्छ । भन्छन्, “म त यसलाई अवसरै अवसर भन्छु । यदि हामीले समयमै गतिशील परराष्ट्र नीति तय गरी कार्यान्वयन गरेको खण्डमा ।” घिमिरेका विचारमा अमेरिका, भारत र चीन मात्रै होइन, ब्राजिल, इन्डोनेसिया, अमेरिकासँग विमति राख्न थालेको इयूसँगको भावी सम्बन्ध कस्तो हुने भन्ने नेपालले स्पष्ट खाका र बाटो पहिल्याउनुपर्छ । घिमिरे भन्छन्, “भोलि सेकेन्डरी प्लेटफर्ममा यिनै मुलुकले प्रभाव पार्छन् । यस्तै साना मुलुकको समस्या केलाउने र आवाज उठाउने फोरमलाई सक्रिय बनाउने वा बनेकालाई बुलन्द पार्न पनि यस्ता परिघटनालाई अवसरमा बदल्न सकिन्छ ।”
उत्तरतिर अमेरिका, दक्षिणतिर चीन
नेपाली सेनाले दिने तालिममा समेत अमेरिका र चीनको सामरिक स्वार्थ झल्कन्छ । मुस्ताङमा हुने तालिममा अमेरिकी सेनाको बाहुल्य छ भने बाराको तालिममा चिनियाँ सैनिकको सहभागिता बढी देखिन्छ । मुस्ताङको जोमसोममा सेनाको माउन्टेन वारफेयर तालिम केन्द्र छ । सन् १९९० देखि हालसम्म यहाँबाट ४६ अमेरिकी सैनिकले तालिम लिएका छन्, जुन चिनियाँ सैनिकभन्दा दोब्बर बढी हो । उक्त अवधिमा २५ चिनियाँ सेनाले यो तालिम लिएका छन् ।
यसबाहेक गत माघ ०७५ मा अमेरिकाको इन्डो–प्यासिफिक कमान्डका ७ सैनिकले नेपाली सेनासँग मुस्ताङमा संयुक्त उच्च हिमाली युद्धकला अभ्यास गरेका थिए । मुस्ताङको तालिम केन्द्र अमेरिकी सेनाकै सहयोगमा स्थापना भएको हो ।
नेपालको मैदानी भूगोलमा अवस्थित बाराको जंगल वारफेयर तालिम केन्द्रमा भने ठीक उल्टो छ । जंगल वारफेयरमा तालिम लिन अमेरिकी सेनाभन्दा चिनियाँ सेनाको रुचि बढी देखिन्छ । सन् २०११ मा स्थापना भएको जंगल वारफेयर तालिममा अहिलेसम्म ४ अमेरिकी सेना सहभागी भएका छन् भने चिनियाँको संख्या ५ गुणा बढी छ ।
चार वर्षयता अमेरिकाले आफ्ना सैनिकलाई जंगल वारफेयरको तालिममा पठाउन छाडिसकेको छ । सन् २०१५ मा २ सैनिक पठाएको अमेरिका त्यसयता आएको छैन । जबकि चीनले सुरुदेखि नै बर्सेनि २ जना पठाउँदै आएको छ ।
सेनाले माउन्टेन वारफेयर, जंगल वारफेयरसहित कमान्ड एन्ड स्टाफ, प्यारा बेसिक, आर्मी अफिसर्स क्याडेट तालिममा विदेशी सैनिकलाई सहभागी गराउँदै आएको छ । सैन्य कूटनीतिका हिसाबले विभिन्न मुलुकलाई यस्ता तालिममा सहभागिता गराइने विश्वव्यापी चलन छ ।
यद्यपि चीनको ध्यान दक्षिणतिर र अमेरिकाको आकर्षण उत्तरतिर बढी रहेको तथ्यांकले देखाउँछ । नेपालको भूरणनीतिक अवस्थितिले विश्व महाशक्तिको होडबाजीमा रहेका यी दुई मुलुकलाई दक्षिण र उत्तरतिर पुर्याएको बुझ्न गाह्रो छैन ।
पूर्वसहायक रथी सुरेश शर्माका अनुसार यस्ता तालिमबाट सैन्य सम्बन्ध त बढ्छ नै, शत्रुविरुद्ध लड्नुपर्दा आवश्यक ज्ञानसमेत आर्जन हुन्छ । लडाइँमा भौगोलिक ज्ञानको ठूलो अर्थ हुन्छ । त्यो ज्ञान यस्ता तालिमबाट पत्तो लगाउन सकिन्छ । “धेरै मुलुकका सेना तालिममा आउने भएकाले कहिलेकाहीँ शत्रु राष्ट्रको क्षमता, उनीहरूको लड्ने तरिका पनि थाहा पाउन सकिन्छ,” शर्मा भन्छन्, “धेरै रणनीतिक महत्त्वका कुराबारे ज्ञान हुन्छ ।”
रणनीतिक महत्त्वकै प्रसंगमा चीन र अमेरिकाको रुचि देखिएका यी दुवै तालिम थलो सीमा क्षेत्रमा पर्छन् । मुस्ताङ चीनसँग सीमा जोडिएको जिल्ला हो भने बारा भारतसँग । साँध जोडिएको स्थानमा दुई महाशक्तिको रुचि देखिनुको अन्तर्य के हुन सक्छ ?
मुस्ताङ यस्तो थलो हो, जहाँबाट अमेरिकी बाह्य गुप्तचरी संस्थाले विसं २० को दशकमा तिब्बतलाई चीनबाट मुक्त गराउने अपरेसन चलाएको थियो । तिब्बती धार्मिक नेता दलाई लामाका अनुयायीलाई प्रयोग गरेर अमेरिकाले तिब्बतमाथि हमला गर्ने तयारी गरेको थियो । नेपाललाई सैन्य आधार मानेर उक्त अपरेसन चलेको थियो । भलै उक्त योजनालाई नेपाली सेनाले विफल तुल्याइदिएको थियो ।
अहिले पनि मुस्ताङमा तिब्बती शरणार्थी क्याम्प छ भने स्वतन्त्र तिब्बतको मामिला सुल्झिएको छैन । अमेरिकाले तिब्बती स्वशासनको मुद्दालाई सघाउँदै आएको छ । “अमेरिकाका लागि मुस्ताङ इतिहासदेखि नै रुचिको भूगोल हो,” पूर्वसहायक रथी नेपालभूषण चन्द भन्छन्, “नेपालमा आधार बनाएर उसले चीनलाई चुनौती दिन खोज्छ । मुस्ताङ यसका लागि उसले अनुकूल देखेको हुन सक्छ ।”
यही भूगोल भएर सन् १९९९ को डिसेम्बरमा १७ औँ कर्मापा उगेन ट्रिन्ली दोर्जे नाटकीय रूपमा तिब्बतबाट भागेर भारत पुगेका थिए । कर्मापा तिब्बती बौद्धमार्गीका चार विचारधारामध्येको एक हो, जसको पश्चिमा मुलुकमा ठूलो संख्यामा अनुयायी छन् । यो घटनाले चीनलाई ठूलो धक्का लागेको थियो । उनी अहिले भारतको धर्मशालास्थित दलाई लामाको निवास नजिकै बस्छन् । कर्मापालाई भगाउन अमेरिकी हात रहेको बेइजिङको बुझाइ छ । चीन र अमेरिकाबीचको प्रतिस्पर्धा चुलिएको यो बेला मुस्ताङको भूरणनीतिक मूल्य झनै बढ्नु स्वाभाविक हो ।
अर्कोतिर मैदानी भागमा चीनको रुचि देखिनुमा भारतसमेत जोडिन्छ । स्वतन्त्र तिब्बत मामिलामा भारतले अमेरिकालाई साथ दिँदै आएको छ । यो चुनौती कम गर्न सीमा जोडिएको बारामा चीनले उपस्थिति देखाएर भारतलाई सन्देश दिन खोजेको हुन सक्ने नेपाली सेनाका एक सहायक रथीको भनाइ छ ।
अमेरिका, चीन र भारत नेपाली सेनामा पकड राख्न चाहन्छन् । सेनामाथि परम्परागत प्रभाव छ, भारतको । ०६३ को परिवर्तनपछि यसमा चीन महत्त्वाकांक्षी बनेर आयो । ०६८ देखि भारत र नेपालबीच ६/६ महिनाको अन्तरालमा ‘अभ्यास सूर्यकिरण’ नामक दुईदेशीय सैन्य अभ्यास हुँदै आएको छ । अमेरिका र नेपालबीच पनि यस्तो अभ्यास हुँदै आएको छ । सन् २०१७ मा ‘टेक नेल’ नाम दिएर दुई मुलुकबीच सैनिक अभ्यास गरिएको थियो । अमेरिकाले विपद् व्यवस्थापनमा नेपाली सेनासँग लामो समयदेखि साझेदारी गर्दै आएको छ ।
भारत र अमेरिकालाई पछ्याउँदै चीनले ०७३ देखि नेपालसँग संयुक्त फौजी अभ्यास सुरु गर्यो । भारतीय सञ्चार माध्यमले नेपाली सेनामा चीनको प्रभाव बढेको दाबी गरेपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले १४ पुसमा पत्रकार सम्मेलनमै चीनसँगको सैन्य अभ्यासबारे निर्णय नभएको जिकिर गरे । त्यसको भोलिपल्टै चीनको विदेश मन्त्रालयका प्रवक्ता याङ युजुनले नेपालसँग संयुक्त सैन्य अभ्यास हुने प्रस्ट्याएका थिए । त्यसता यो अभ्यास नियमित हुँदै आएको छ ।
यी घटनाक्रमले नेपाल परस्पर प्रतिस्पर्धी शक्तिराष्ट्रका लागि महत्त्वपूर्ण थलो रहेको प्रस्ट्याउँछ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...