निराशाको निशानामा आफन्त !
पारिवारिक हत्याको अन्तर्य– डिप्रेसनको समयमै पहिचान र उपचार नहुनु
भोजपुर सदरमुकामस्थित पानी ट्यांकीमा २२ महिने बालकलाई आमा सम्झना थापाले हत्या गरिन्, १४ जेठमा । । उनले घरको छतमा लगेर खुकुरीले छोरो सम्बोधनको घाँटी छिनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । लघुवित्त कम्पनीमा जागिर खाने उनका पति सूर्यबहादुर घरमा थिएनन् । यही बेला सम्झनाले आफैँ सन्तान चुँडिन् ।
पर्साको जिराभवानी गाउँपालिकामा भाइले आफ्नै दाइलाई मारे, २ जेठमा । जिराभवानी–१ बलुवा टोलका शेख सेरामुद्दीन, ३८, ले दाइ शेष फारुक, ४८, लाई गोली हानी हत्या गरे । उनीहरूबीच सामान्य घरायसी विवाद थियो । यो घटनापछि परिवार मात्र होइन, गाउँ नै चिन्तित छ ।
भर्खर २५ वर्ष टेक्दै थिइन्, ललितपुरकी अञ्जना लामा महत । बाहिरबाट हेर्दा परिवारमा खास समस्या थिएन । तर उनै अञ्जनाको हत्या भयो, वैशाख अन्तिम साता । त्यो पनि अरूबाट होइन, आफ्नै जेठाजु उज्ज्वल महतबाट । खुकुरी प्रहारबाट अञ्जनाको शरीर छियाछिया भएको थियो ।
पाँचथरको मिक्लाजुङमा दुई परिवारका ९ जनाको हत्या भयो, ७ जेठमा । कान्छा ज्वाइँ मानबहादुर माखिमले सबैको हत्या गरेको दाबी प्रहरीको छ । कारण उही घरायसी विवाद । ९ जनाको ज्यान लिएपछि मानबहादुरले आत्महत्या गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।
व्यक्तिका लागि परिवार छहारी हो । सन्तान त बाबुआमाका प्यारा । तर तीन साताको बीचमा भएका माथिका चार घटनाले यो पारिवारिक प्रेम कति भयभीत दिशातिर जाँदै छ भन्ने प्रतिविम्बित गर्छ ।
आर्थिक वर्ष ०७२/७३ मा आफन्तबाट मारिनेको संख्या १ सय ५७ थियो । यही संख्या ०७४/७५ मा २ सय ६ पुग्यो, (हेर्नुस् इन्फो) । त्यसमा पनि जघन्य र आततायी ढंगले मार्ने क्रम देखिन थालेको छ । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, “हाम्रो परिवार र समाजभित्रको संस्कारमा एकाएक विचलन आयो । सद्भाव र प्रेम खल्बलियो । नैतिक आचरण क्षय भयो । जसले जे पनि गर्ने अवस्था सिर्जना भएको छ ।” व्यक्तिवादी सोच हाबी हुनुलाई पनि परिवारभित्रको हत्याको एउटा कारण मान्छन् पोखरेल ।
चाहे प्रविधिको चरम प्रयोगले होस्, चाहे अभाव र गरिबीले । वैदेशिक रोजगारी, देशभित्रका अन्य अव्यवस्थाले पनि निराशा बढाइरहेको छ । नेपालमा करिब ८ लाख मानिस डिप्रेसनबाट पिल्सिएको विभिन्न अध्ययनले देखाएका छन् । तनावले डिप्रेसनसम्म पुर्याउँछ । डिप्रेसन बढ्दै गएपछि आत्महत्या हुन सक्छ भन्ने आम बुझाइ छ । सत्य यति मात्र होइन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्राडा सरोज ओझा भन्छन्, “निराशाले मर्नुअगाडिको प्रतिशोध जन्माउँछ ।”
उनका अनुसार डिप्रेसनबाट पीडितले आफूलाई बाँच्नुको बेकार मान्छ । पृथ्वीको भार ठान्छ । भित्रभिक्रै जल्छ । जब कुनै व्यत्तिका कारण आफू पीडामा फसेको शंका हुन्छ, तीमध्ये अधिकांश अपराधकर्मतिर मोडिन्छन् । ओझा भन्छन्, “यस्तो अवस्थामा कमजोरले आत्महत्या गर्छ, अलि कठोर स्वभावको छ भने अरूलाई मार्छ र आफू पनि मर्छ ।” यहाँसम्म पुग्नमा पारिवारिक आदर्श र अनुशासनको भारी गिरावट भएको तीतो नियति कारक त छँदै छ ।
आफन्त हत्यामा संलग्नको पृष्ठभूमि केलाउँदा प्रायः कुनै न कुनै तनावबाट गुज्रिएको देखिन्छ । जस्तो, बुहारी हत्याको आरोप खेपेका ललितपुरका उज्ज्वल डिप्रेसनबाट पिल्सिएका थिए । यस्ता व्यक्ति सानै निहुँमा आक्रोशित हुन्छन्, तर रिस नियन्त्रण गर्न सक्दैनन् । कतिपयमा प्रेम र पारस्परिक सद्भाव नै समाप्त भएको छ ।
दोलखाबाट सुन्दै आङ सिरिंग हुने घटना बाहिरिएको थियो, वैशाख पहिलो साता । सैलुङ गाउँपालिका–४ का चूडाबहादुर रेग्मी, ४४, छोरा हत्या अभियोगमा पक्राउ परे । २२ वर्षीय छोरा वेदबहादुर हिँड्न सक्दैनथे । घस्रँदै जताततै दिसापिसाब गर्थे । कारण यत्ति हो, चूडाबहादुरले छोराको ज्यान लिनुको । उनले वेदबहादुरलाई टाउकोमा हथौडाले हानेर हत्या गरी कम्बलमा पोको पारेर खहरे खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
०७५ मंसिरमा विराटनगर–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको ज्यान गयो । २२ वर्षका चुनु मण्डलले बुबा शशी मण्डलको हत्या गरेका हुन् । छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भए । सामान्य मनमुटावमै कात्तिक ०७५ मा गुल्मीको मुसीकोट–७, इन्द्रेगौंडाका ३५ वर्षीय पंकज कुमालले आफ्नै पत्नी लालीलाई चिर्पटले हिर्काएर मारे । मनोविश्लेषक वासु आचार्य प्रश्न गर्छन्, “मानसिक अवस्था ठीक भएको मान्छे बित्थामा यति क्रूर हुन सक्छ ?”
आचार्यका अनुसार यस्ता घटना कति योजनाबद्ध ढंगले हुन्छन्, कति क्षणिक रिसकै परिणाम हुन्छन् । कहिलेकाहीँ सामान्य रूपमा तर्साउन खोजेको हुन्छ, तर स्थिति विकराल बन्छ, हत्या नै हुन सक्छ । किन ढिला सुतेको भनेर सोध्दा पनि हत्या प्रयास भएको घटना बाहिरिएका छन् । “चिन्ता, शंका र दिक्दारीको चरम सीमामा पुगेकाले अरूलाई घात गर्न खोजिन्छ । जसले जे बोले पनि शत्रुझैँ लाग्छ,” आचार्य भन्छन्, “त्यसैले सहजताका लागि हत्या गरेर समाधान खोज्छन् । तर सबै मानसिक समस्या भएकाले अपराध नै गर्छन् भन्नेचाहिँ होइन ।” निराशाको दलदलमा फसेकालाई आफ्नै जीवनसँग प्रेम हुन्न, विरक्ति मात्र हुन्छ । अनि अरूप्रति कसरी आत्मीयता पलाओस् ?
परिवार भनेको एउटै घरभित्र बस्नु मात्र होइन, एकाअर्काको व्यवहार र मनोदशालाई नजिकबाट नियाल्नु, आफ्नोपनको आभास गराउनु पनि हो । तर व्यक्तिवादी प्रवृत्ति कति हाबी हुँदै गएको छ भने एकअर्काप्रति कसैलाई वास्तै हुन्न । खासमा डिप्रेसनको अहं कारण भनेकै प्रेम अनुभूत नहुनु हो । जब मेरो कोही छैन भन्ने चिन्ताले सताउँछ, तब सानै समस्याले पनि धेरै पिरोल्छ । यसको मात्रा बढ्दै गएपछि अपराधकर्मतिर प्रेरित गर्ने मनोविज्ञहरूको भनाइ छ । यस्ता अपराध नियन्त्रणमा प्रहरीको परम्परागत कार्यशैली नै प्रभावकारी हुँदैन ।
प्रहरी प्रवक्ता पोखरेलका शब्दमा यस्ता घटनाको पृष्ठभूमिमा विपन्नता, विभेद, अभाव र अशिक्षाले भूमिका खेल्छ । कलिला छोराछोरीको हत्या गर्ने अधिकांश आमाले कि सन्तानलाई चाहेजस्तो पढाउन सकेका हुँदैनन् कि पतिको प्रेम पाएका हुँदैनन् । पोखरेल भन्छन्, “गरिबी र वितृष्णाले बच्चाप्रति प्रेम हराउँछ । न आफैँप्रति संवेदनशील हुन्छन् । त्यसपछि मारेरै मुक्ति खोज्ने प्रयास गर्छन् ।” संगठितभन्दा यस प्रकृतिका परिवार र आफन्तभित्रै हत्याका घटना बढेकाले प्रहरी आफैँ अचम्मित छ । प्रहरी प्रवक्ता भन्छन्, “प्रहरीले मात्र यस्ता अपराध नियन्त्रण गर्न सक्दैन । परिवारका सदस्य वा नागरिक समाजलाई नै अगुवा बनाउनुपर्छ ।”
एकातिर व्यक्ति आफैँ तनाव र निराशाको रापमा हुन्छ । अर्कातिर त्यस्तो बेला रक्सीमा सहज पहुँच हुन्छ, कति त लागूपदार्थको दुर्व्यसनमै फसेका हुन्छन् । मस्तिष्क थप विचलित र अस्थिर हुन्छ । सही र गलत छुट्याउनै सक्दैनन् । कुलतले अपराध गर्न उक्साउँछ ।
मनोविज्ञका अनुसार यस्तो नियतिबाट गुज्रिएकाले ढिलोचाँडो अपराध गर्छन् नै । नियमित उठबस हुने भएकाले परिवारका सदस्य ज्यादा निशानामा पर्न सक्छन् । तर परिवारले कुनै सदस्य डिप्रेसनमा फसेको र उसलाई परामर्श/उपचार जरुरत रहेको भन्ने भेउ नै पाएका हुँदैनन् । बरु पढाइ वा करिअरमा सफल नभएको, फलानोले जति प्रगति नगरेको भन्दै टोकसो सहनुपर्छ ।
यस्तो रुखो व्यवहारले पीडितमा भित्रभिक्रै आक्रोश थपिँदै जान्छ । मनोचिकित्सक ओझा भन्छन्, “निराशाको विकल्प मर्नु र मार्नु होइन, यसको उपचार छ । मनोसामाजिक स्वास्थ्यसम्बन्धी यति ज्ञान आम मानिसमा भए पनि पारिवारिक हत्या र आत्महत्या न्यून हुने थियो ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...