झेल्नै मुस्किल (फिल्म समीक्षा : भारत)
बलिउडमा राष्ट्रवादको मसला खुब बिक्छ । भारत–पाकविवाद र द्वन्द्व अझ बिकाउ विषय हो । सलमान खानको नयाँ फिल्मको नामै भारत छ ।
बलिउडमा राष्ट्रवादको मसला खुब बिक्छ । भारत–पाकविवाद र द्वन्द्व अझ बिकाउ विषय हो । सलमान खानको नयाँ फिल्मको नामै भारत छ । फिल्ममात्र होइन, फिल्मभित्र सलमानको पात्रको नाम पनि भारत नै । अब अनुमान लगाउन दकस पर्दैन, देशभक्ति महिमागान कति होला ? लेखक/निर्देशक हुन्, अलि अब्बास जाफर । अब्बास–सलमानले यसअघि सुल्तान र टाइगर जिन्दा हेमा सहकार्य गरेका थिए । ती फिल्मको केन्द्रमा राष्ट्रभक्ति नै थियो । नाम र दाम दुवै कमाए । तर भारतचाहिँ फिक्का र हल्का लाग्छ । मुख्य पात्र र उसको भोगाइलाई नै आत्मसात् गर्न सकिन्न । यो फिल्मकोरियन मेलो ड्रामा ओड् टु माई फादरबाट प्रभावित छ ।
सन् १९४७ अर्थात्भारत–पाक विभाजनबाटै फिल्म सुरु हुन्छ । त्यतिबेला भारत (सलमान) आठ वर्षका हुन्छन् । दंगा चर्कंदै गएपछि ज्यान जोगाउन मुस्लिम बाहुल्य क्षेत्रबाट उनको परिवार भारत आउँछ । एउटी बहिनी र बाबु (ज्याकी श्राफ) उतै छुट्छन् । छुट्ने बेला बाबुले भारतलाई भन्छन्, ‘जुनसुकै हालतमा आमा र भाइबहिनी जोगाउनू ।’ बाबुको यही बोली पूरा गर्न अनि बहिनी र बाबुको प्रतीक्षामा भारतले गरेको संघर्षको फेहरिस्त छ, फिल्ममा ।
फिल्म युनिटको नारा थियो, ‘एउटा मान्छे र देशको सँगैको यात्रा ।’ सरसर्ती हेर्दा, लाग्छ पनि त्यस्तै । अंग्रेज उपनिवेशबाट मुक्त र पाकिस्तानसँग विभाजनपछि भारतको विकासक्रम र त्यसले एउटा सामान्य व्यक्तिको जीवनमा परेको प्रभावलाई एकसाथ अगाडि बढाइएको छ । तर अविश्वसनीय प्रस्तुतिले पात्रको पीडा अनुभूत गर्न सकिँदैन । जस्तै, सानै छँदा कम्बल चोरेर बेचेको, राधा (दिशा पटानी)सँगको भेट, भारत र राधाको रोमान्स, भारतको सर्कस प्रवेश र बिदाइ आदि–इत्यादि । खासमा सलमानका फ्यान रिझाउने लोभमा मसला घोलघाल गर्दा फिल्मको स्वाद बिग्रिएको हो । सलमानले सर्कसमा बाइक उडाउने मार्का दृश्यसँग मूलकथाको खास सरोकार छैन । फुच्चे भारत यति छिटो ‘सलमान खान’ हुन्छन्–बाबु र बहिनीसँगको विछोड दर्शकले बिर्सिसकेका हुन्छन् । यही डरले हुनुपर्छ, निर्देशकले मुख्यपात्र र उनको साथी बिलायती खान (सुनील ग्रोबर)को मुखबाट बाबुको अन्तिम वचन सम्झाउँछन्, घरि–घरि ।
फिल्ममा कैटरिना कैफ पनि छिन् । भारतजस्तै उनको भूमिकासमेत फिक्का छ । सरकारी जागिरे हुन्छिन्, तर कामदार भारतप्रति मोहित हुन समय लाग्दैन । सलमान–कैटरिनाको अबुधाबीका दृश्यले टाइगर जिन्दा हेको झल्को आउँछ । त्यस्तै, हराएका आफन्त टेलिभिजन कार्यक्रमबाट भेट्ने दृश्यले पीकेका अनुष्का शर्मा र सुशान्तसिंह राजपुतको याद दिलाउँछ । यद्यपि भारतको भावुक दृश्यमध्ये पर्छ यो । पानीजहाजभित्र अपहरणकारी र भारतको टिमको नृत्यले निर्देशक अब्बासको नियत प्रस्ट पार्छ । ७० वर्षका सलमानले गुन्डालाई भकुर्ने पारा पनि दबंगझैँ छ । फिल्ममा यस्ता दृश्य सायदै छन्, जसमा प्रत्यक्ष/अप्रत्यक्ष राष्ट्रवादको वकालत गरिएको नहोस् । यो कुरा भिन्नै हो, ती दृश्य आँखाले हेर्छन्, आँखामै सकिन्छन् ।
पर्दामा २४ वर्षका सलमान र ७० वर्षका सलमानबीच तात्विक अन्तर देखिन्न, सेतो कपाल र दारीबाहेक । ९ वर्ष कान्छी सोनाली कुलकर्णी आमा र २७ वर्ष कान्छी दिशा पटानी सलमानकी प्रेमिका बनेकी छन् ।‘स्लो मोसन...’, ‘चास्नी...’जस्ता गीतले कथाप्रतिको मोहभंग गर्न थप भूमिका खेलेका छन् । भारतका एकाध पक्ष उल्लेखनीय पनि छन् । जस्तो, भारत–पाकिस्तानबीच अहिले पनि काटमारको अवस्था छ । तर फिल्मले दुई देशबीचको मानवीय पाटो र प्रेम उजागर गरेको छ । विभाजन दौरान आफन्त हराएकाहरुको पीडा र ठूल्ठूला राष्ट्रिय घटनाक्रमले भुइँमान्छेको जीवनमा पर्ने विपद् पोखिएको छ । तर बजार निर्देशित कमेडी, रोमान्स र गीतको चर्को दबदबाले यिनलाई ओझेल पारेको छ ।
भारतको भूमिकामा सलमान ‘फिट’ छँदैछैनन् । सुल्तान, बजरंगी भाइजानमाजस्तै पात्रमा आफूलाई ढाल्न उनको मिहिनेत र इमानदारी देखिँदैन । हरेक दृश्यमा ‘सलमान’ नै लाग्छन् । कैटरिनाको भूमिका पनि कामचलाउ मात्र हो । त्यसो त प्रियंका चोपराले ‘धोका’ दिएपछि कामचलाउकै रुपमा कैटरिनालाई लिइएको थियो । सुनील ग्रोबरको योगदान हँसाउनमै सीमित छ । हिरोको मिल्ने साथीवाला पात्र आफैँमा अति ‘क्लिसे’ भइसक्यो । ज्याकी श्राफ, दिशा पटानी, सोनालीजस्ता सहायक कलाकारको उपस्थिति पनि उतिविघ्न चहकिलो छैन । अब्बासको करिअरको सबभन्दा फितलो फिल्म हो यो ।
कथालाई मूर्त र विश्वसनीय ढंगले पस्कन नभई राष्ट्रवादको एकोहोरो सवाइ गाउन जोडबल गरिएकाले भारत हेर्दा मन भरिँदैन । नेपाली दर्शकले त अझ आत्मसात् गर्नै सक्दैनन् । सलमान मात्र हेरे पुग्ने हो भने त अलग कुरा । नत्र पौने तीन घन्टा झेल्न मुस्किल पर्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...