योगमाया वरिपरि
विसं १९२४ मा भोजपुरमा जन्मेकी योगमाया नीलम कार्की निहारिका, ४५, को ऐतिहासिक उपन्यासको प्रमुख पात्र हुँदै अहिले शिल्पीमा आइपुगेकी छन् ।
४ असार, ०७६ । चिरिक्क जीउ नै चर्कनेजस्तो घाम छ । कहिलेकाहीँ छोटो भ्रमण भिसामा आउँछ बादल । सडकमा सरकारकाविरुद्ध नाराबाजी चलिरहेछ, गुठी विधेयक ०७५ खारेजीका लागि । शिल्पी थिएटरको मञ्चमा कराउँदै छिन्, योगमाया सामन्तवादविरुद्ध ।
विसं १९२४ मा भोजपुरमा जन्मेकी योगमाया नीलम कार्की निहारिका, ४५, को ऐतिहासिक उपन्यासको प्रमुख पात्र हुँदै अहिले शिल्पीमा आइपुगेकी छन् । निहारिकाले चलिरहेको गुठी आन्दोलनलाई कटाक्ष गर्दै भनिन्, “हेर्नुस्, समाज खासै परिवर्तन भएकै छैन । योगमायाको धेरै मागमध्ये ‘भूदान गर’ पनि एक हो । हिजो योगमाया कराइन्, आज सडकमा जनता कराइरहेका छन् ।”
०५१ मै मौन जीवनबाट उपन्यासमा पाइला टेकेकी निहारिकाको नियतिको खेल, अर्की आइमाई, चीरहरणजस्ता उपन्यास प्रकाशित भइसकेका छन् । त्यसैगरी बेली, कागजमा दस्तखत, हवन कथासंग्रह र ब्रेन फिभर कवितासंग्रह प्रकाशित भइसकेका छन् ।
योगमाया राणा शासनमा समाज सुधारक थिइन् । उनले भारतबाट फर्केपछि भोजपुरमा सामन्तवादविरुद्ध लड्न चेतना फैलाइन् । योगमायाले दासप्रथा उन्मूलन, मानापाथीको कारोबारमा बेइमान नगर्न र सती प्रथाविरुद्ध चेतना फैलाएकी थिइन् ।
मञ्चमा सेतो पहिरनमा साध्वीको भेषमा मिथिला शर्मा छिन् । आफ्ना अनुयायीलाई सामन्तीविरुद्ध लड्न हौस्याउँदै छिन् । उनी ६८ अनुयायीसहित अरुण नदीमा जल समाधि लिन्छिन् ।
योगमायालाई नाट्य परिमार्जन तथा निर्देशन गरेका टंक चौलागाईं, ३७, थिएटरमा दर्शकको भीड देखेर प्रफुल्लित छन् । भन्छन्, “कसैले लेखिदिएको राम्रो किताबमा काम गर्न झनै मज्जा आउँदो रहेछ ।”
चौलागाईं स्वयं लेखक हुन् । उनका जिरो कटेज, काठमाण्डु गीत र टालाटुली उपन्यास प्रकाशित छन् । विद्यालयमा नाटक पढाउने चौलागाईंलाई लेखनभन्दा पनि निर्देशन प्रिय लाग्छ । ०७३ मै माधवी नाटक मञ्चन गरेर ख्याति कमाएका उनले योगमायामा पात्रहरुको भीडै लगाएका छन् । कर्ली कपाल हल्लाउँदै उनी भन्छन्, “मलाई धेरै पात्रहरुसँग काम गर्न मन पर्छ । उपन्यासमै धेरै पात्र थिए ।” दोहोरो र तेहरो पात्र खेलेर कुल २८ कलाकारले चरित्र निर्वाह गरेका छन् ।
चौलागाईंलाई धेरै कलाकारसँग काम गर्न मज्जा आउँछ । तर व्यक्तिगत रुपमा यति धेरै कलाकारसँग काम गर्दा सबैको अभिनय क्षमता उत्कृष्ट निकाल्न गाह्रो हुन्छ, अभिनयको पाटो खड्केको उनी महसुस गर्छन् । “हामीले भरपूर कोसिस गरेका छौँ,” उनी थप्छन् ।
निहारिकालाई भने उपन्यासमा धेरै पात्र भएको मन पर्दैन । चीरहरण मा धेरै पात्रसहितको उपन्यास लेखे पनि महाभारतको कथासँग जोडिएकाले सजिलो भएको उनी तर्क गर्छिन् । “सत्य घटनामा आधारित, ती व्यक्तिका सन्तति अझै छन्,” उनी थप्छिन्, “मैले अध्ययन–अनुसन्धान गरेर लेखेकी हुँ । एकदम गाह्रो भएको थियो ।” लेखनको कुरा गर्दा योगमायाले ब्लड प्रेसरको तनाव दिएर गएको निहारिका बताउँछिन् । बाटोमा हिँड्दा कतै योगमाया, कतै गंगा, कतै प्रेमनारायण भेटेको । चरित्रको धङधङीले उनलाई पछिसम्म पनि छाडेनछ ।
नाटक मञ्चनका क्रममा चौलागाईंले थुप्रै चुनौती खेपेका थिए । एक त अरुको चलेको सिर्जनामा काम गर्न र न्याय दिन गाह्रो हुन्छ । “लेखकलाई चित्त बुझाउनुपर्यो । उपन्यासका आफ्नै पाठक हुन्छन्, उनीहरुलाई पनि चित्त बुझाउनुपर्यो,” चौलागाईं प्रस्ट्याउन खोज्छन् ।
नाटकको अर्को बाध्यता समयसीमामा बाँधिनुपर्छ । निहारिकाको मोटो उपन्यासलाई सुरुमा उनले ३ घन्टा हुँदै अन्ततः १ घन्टा ३० मिनेटमा झारे । जल–समाधि दृश्यलाई स्टेजमा उतार्ने क्रममा धेरै कठिन भएको उनी सम्झन्छन् ।
नदी देखाउन सेतो कपडा वा प्रोजेक्टरको सहायता लिने चलन भए पनि उनलाई त्यस्तो ‘क्लिसे’ लाग्छ । निर्देशक भन्छन्, “मैले सेतो कपडा पनि किनेको थिएँ ।” केही विकल्पै नभए प्रयोग गर्ने सोच उनले बनाएका थिए । अन्तमा उनले विम्बलाई रोजे । विम्बजति उचित न्याय पाठकका लागि अरु के होला ?
केही दर्शक जो ऐतिहासिक पात्रका आफन्त थिए, उनीहरु नाटकमा खेलाइने कलाकार स्वयं पात्र नै हुन् भन्ठान्थे । मैले मामा फटिकबहादुर, डम्बरबहादुरलाई देखेको छैन । उहाँहरु यस्तो हुनुहुन्छ र ? भन्नेसम्मका अन्तरसंवाद चौलागाईंसँग छन् । त्यसकारण उनी यसमा जोखिम पनि देख्छन् । तर हरेक कुराको गुणदोष भएजस्तै बलियो कथा भएकाले प्रस्तुतिमा मात्र ध्यान दिन सजिलो भएको उनी सुनाउँछन् ।
उसो त लेख्नु पनि सजिलो काम होइन । निहारिका उपन्यास लेख्दाको क्षण सम्झिँदै भन्छिन्, “कहिले एउटै वाक्यमा पनि एक घन्टा अड्किएकी छु । त्यसकारण पनि मलाई पात्रहरुको असाध्यै माया लागेर आउँछ ।” रिहर्सलदेखि तीन पटक दर्शकसँगै नाटक हेरेकी निहारिकालाई चौलागाईंको निर्देशन चित्त बुझेको छ ।
नाटकमा योगमायालाई सती प्रथा उन्मूलनका पक्षमा उभिएको मात्र देखाइँदा चित्त नबुझेको उनी बताउँछिन् । “सती प्रथाविरुद्ध योगमायाले बोलेकी मात्र हुन् । तर दासप्रथा उन्मूलन गर्न उनले अभियानै चलाएकी थिइन् । चन्द्रशमशेरलाई पत्र नै पठाएकी थिइन्,” निहारिका भन्छिन्, “भोजपुर पुग्दा कसैले सती प्रथाबारे योगमायालाई सुनाएको मात्र हो । उनी आफैँले देखेकी होइनन् । उनले महिलाका लागि मात्र नभएर समग्र समाजका लागि काम गरेकी हुन् । यो सन्देश मात्र नजाओस् भन्नेमा म चिन्तित छु ।”
रत्नबहादुर बस्नेत हत्कडी लगाएर विसं १९९५ मा जेलमै बितेको, टेकबहादुर बस्नेत जेल तोडेर भागेको । यिनलाई निहारिका बलियो पात्रको रुपमा हेर्छिन् । तर नाटकमा यिनीहरुले त्यति स्थान नपाएको उनको गुनासो छ ।
त्यसैगरी योगमायाले सात वर्षे छोरी नैनकलाको बिहे गरिदिन्छिन् । नाटककारले सुरुमा यो चरित्र राख्न नमानेको उनी सम्झिन्छिन् । निहारिका भन्छिन्, “उनीहरुले उमेर बढाएर राख्न चाहेका थिए । तर मैले मानिनँ ।”
इतिहासलाई तोड्न नहुने तर्क छ उनको । योगमायाको त्यो निर्णयलाई उपन्यासमै उतार्न पनि निकै कठिन भएको उनी सम्झिन्छिन् । पछि नाटकमा ठूलो उमेरकी केटीलाई सात वर्षे बालिकाको भूमिका दिइएको छ ।
दाहाल यज्ञनिधिबाट प्रेरणा पाएपछि निहारिकाले योगमाया लेखेकी हुन् । सांग्रिला बुक्सका मणि शर्माले नाटक बनाउने योजना सुनाएपछि निहारिकाले मिथिला शर्मालाई नै योगमायाको चरित्रका लागि उपयुक्त देखिन् । योगमाया करिब ६० वर्ष उमेरकी र रंगमञ्चमा काम गरेको अनुभव भएकाले मिथिला नै उपयुक्त लागेको थियो निहारिकालाई । त्यसपछि चौलागाईंले योगमायाको छविमा मिथिलालाई नै देखे । “मैले भरोसा हस्पिटलमा स्क्रिप्ट लिएर भेट्न जाँदा उहाँकी आमा बित्नुभएको थियो,” उनी सम्झन्छन् ।
गोपीकृष्ण चरित्र चौलागाईंलाई खुबै मन पर्छ । उपन्यासमा खासै धेरै स्थान नभए पनि उनले गोपीकृष्णबाटै नाटक सुरु गरेका छन् । उनी आफैँले सुरुमा गोपीकृष्णको भूमिका गरेका थिए । तर पछि कामविशेषले युरोप जानुपर्ने भएपछि उनले उक्त चरित्र अरु कसैलाई दिए । गोपीकृष्णले तल्लो जातको केटी बिहे गरेपछि जात काट्छ, समाजले अनि उसले आत्महत्या गर्छ । त्यसैगरी काइँली कमिनी चौलागाईंको अर्को मन पर्ने चरित्र हो । सो चरित्रमा छुवाछूत एकदमै बलियो भएर आएको छ ।
सुन्दरीजलमा उत्तरवाहिनी गुफा छ । त्यहाँ वज्र घर छ, जहाँ योगमायाका अनुयायी प्रेमनारायण आएर तपस्या गरी बसेका थिए । निहारिकाले उपन्यास लेखनका क्रममा ती ठाउँमै गएर अनुसन्धान गरेकी थिइन् । अन्यायको जाँतोमा पिसेर मर्नुभन्दा बरु यही ढुंगाले थिचेर मर्नु जाती । माइतीले गाली गर्यो भने यति सानो सहयोग पनि गर्न सकेनन् भने कुन भरोसाले बाँचोस् यो चेली । जब उनले खिपेर लेखेका संवाद पात्रले मञ्चमा बोल्थे, जीउमा सिरिंग काँडा उम्रेको उनी बताउँछिन् । काइँली कमिनीको पात्र जसरी नाटकमा प्रस्तुत भएको छ, निहारिकाको चित्त बुझेको छ ।
अहिले पनि अत्याचारको विषय आउँदा उनी योगमाया सम्झिन्छिन् । “योगमायाले त्यो बेला गरेको काम अहिले हामी किन गर्न सक्दैनौँ ?” निहारिका भन्छिन्, “योगमायाको समाधि माक्र होइन, क्रान्तिका कुरा फैलाउनु पनि जरुरी छ ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...