चित्तको भित्तोमा एक प्रश्न

- खगेन्द्र संग्रौला

शंकर लामिछाने घरिघरि भन्थे— जीवनमा नयाँ केही छैन । र, अब नयाँ हुनु पनि केही छैन । जे भइसक्यो, अब हुने केवल त्यसैको पुनरावृत्ति हो । सविनय प्रश्न सोधिन्थ्यो– तब मान्यवर, साहित्यका नाउँमा यो थोत्रो जीवनबारे थोत्रा कुरा लेख्नु किन ? बासीको पुनरावृत्ति त झनै बासी पो हो । प्रयोगधर्मी उत्तर आउँथ्यो– केवल पुरानोलाई नयाँ कोणले हेर्न र नयाँ काइदाले भन्न । लामिछानेको यो कथनलाई मैले निरपेक्ष सत्य मानिनँ । र, असहमतिमा मैले भनिरहेँ– जीवन नित्य नयाँको उपासना हो । नयाँको अन्वेषण । नयाँको आविष्कार । सोचाइमा, अनुभूतिमा, भोगाइमा, सम्बन्धमा । हर चीजमा । यतिका दिनपछि, अचेल मलाई लामिछानीय कथनको प्रेतले लखेटिरहेजस्तो लाग्छ । र, मलाई जीवन तत्काललाई केवल थोत्रो–पुरानोको घोर अरुचिकर कार्बनकपीजस्तो छ । मियोवरिपरि बूढो गोरुझैँ निरन्तर घुमिरहेको । यहाँ यो सानो अनुभव म आज कहन्छु ।

एक हातमा लाइट छ, अर्को हातमा लठ्ठी । कुममुनि छ, उही खुइलिएको रातो झोला । म बिहान ४ बजे ‘मर्निङ वाक’ मा निस्कन्छु । माथि चाबेलदेखि तल गुह्येश्वरीसम्म जे देख्छु, सुन्छु र अनुभूत गर्छु, मलाई सबै पुरानो लाग्छ । सबै फगत बासी कार्बनकपी । त्यसैत्यसै उच्चाटलाग्दो । के जाडो के गर्मी, के बतास के बर्खा, खुला पेटीमा सधैँ तन्नम भिखारी सुतिरहेको हुन्छ । विनोद चौधरीको वैभवको विशाल रासको छेवैमा । मानिसद्वारा पूर्ण परित्यक्त भई भुस्याहा कुकुरको साथमा । छेवैको धमिलो आहालमा ट्वारट्वारे भ्यागुतो कथा सुनाइरहेको हुन्छ । बतासे बातमा समृद्धि र सुखको कथा । हावा गफमा समानता र समाजवादको कथा । सबै बासी, सबै बितिगएको हिजोको कार्बनकपीतुल्य ।

जब गौरीघाट पुग्छु, म सधैँ भक्तको करुण पुकार सुन्छु । ‘हे गौरी माते ! यो झक्तलाई हेर ।’ यसो नियाल्छु– याचक वृद्ध र असक्त छैन । न त रोगी र कृषकाय छ । ऊ उमेरदार छ । पर्वत उचाल्लाजस्तो ज्यान छ । तर यो भुसतिघ्रे भीमसेनलाई मानौँ आफूमाथि एकरत्ति विश्वास छैन । उसलाई आफ्नो कष्टसाध्य यत्न, आफ्नो लगन, आफ्नो उद्यम, आफ्नो पौरख र आफ्नो गौरवमाथि मानौँ लेस मात्र पनि निष्ठा छैन । ऊ लु स्यूनवर्णित तन्नेरी कुममाथि बूढो टाउको भएको जीवात हो । र, नै ऊ आत्महीन मुद्रामा दिनानुदिन अगोचर गौरीसामु हात पसार्छ । मानौँ अनस्तित्ववासी गौरीमाता पाषाणहृदयी छिन् । त्यसैले उनको कठोर चित्त पगाल्न यो याचक, यो लम्पट, निजत्वशून्य यो लरिल्वाँठ, यो निहुरमुन्टी ‘न’ रुन्चे स्वरमा तुरुक्क आँसु चुहाउँछ– ‘हे गौरी माते !’ एउटा भक्त आउँछ, रुन्छ, जान्छ । अर्को भक्त आउँछ, उसैगरी रुन्छ, जान्छ । अनि अर्को, अनि अर्को, अनि झन् अर्को । तरुण, अधबैँसे र वृद्धको लावालस्कर । हिजो पनि, आज पनि, सके भोलि पनि । सके भोलिपछिका कतिकति भोलिसम्म पनि । उद्विग्न मुद्रामा म सोच्छु– के यो आत्महीन याचकहरुको बाहुल्य भएको देश हो ?

म फटाफट अलि परको गुह्येश्वरी पुग्छु । मेरो पछि लागेर भक्तिमार्गी याचक लमक–लमक उतै पुग्छ । र, ऊ पुनः उही रुन्चे पुकार गर्छ– ‘हे गुह्येश्वरी माते ! यो भक्तको रख्खे गर ।’ भक्त ढाड दोब्य्राउँदै मन्दिरका मूर्तिहरुलाई एउटै नबिराई ढोग्छ । यो भक्त देहमा किञ्चित राप र तापसहितको छ । याचना गरिने पत्थरको मूर्ति जड छ । भक्त हलचल गर्छ, मूर्ति अचल छ । भक्तको मुखबाट लाचारीको लबजमै सही, वाणी प्रस्फुटन हुन्छ । मूर्ति अवाक् छ, त्यो हर्दम मौन छ । तैपनि जड मूर्तिका कृपाले कुनै दिन कतै शून्यबाट केही झर्ला कि भनेर लोभिँदै भक्त दिनानुदिन एकाबिहानै हात पसारेर तुरुक्क रुन्छ । मेरो चित्तको भित्तोमा कष्टकर प्रश्न उठ्छ– के मानिसको पराश्रयमुखी अन्धभक्ति र दासतामुखी मूढमति उपचार नहुने मनोरोग हो ? प्रत्युत्तरमा सिंहासनवासी ट्वारट्वारे भ्यागुतो भन्छ– हो पनि, होइन पनि । यो द्वन्द्ववाद हो ।

प्रकाशित: असार २९, २०७६

ट्याग: विचार