सत्र सालका भुइँनायक

  • रङ

- राजकुमार बानियाँ

क्रान्तिमा मर्ने र मारिने भुइँतहकै कार्यकर्ता हुन्छन् । विश्वका कुनै क्रान्तिमा अपवादबाहेक नेता मारिएका छैनन् । तर इतिहास तिनै नेताको लेखिएको छ । महान्को पगरी पनि तिनैलाई गुथाइएको छ । इटालेली दार्शनिक अन्टानियो ग्राम्सीका पक्का चेलाजस्ता देखिन्छन्, कृष्णविक्रम नेम्बाङ, ७७ । त्यसैले त उनले ०१७ को शाही ‘कू’ पछि पूर्वाञ्चलको मेची अञ्चलमा रहेर लोकतन्त्र र मानव अधिकारका निम्ति पञ्चायतविरुद्ध भुइँतहबाट लडेका मुक्ति योद्धाको रुमानी इतिहास उधिनेका छन्, सत्र सालको क्रान्तिको सम्झनामा ।

लामो समय नेपाली कांग्रेसको राजनीतिमा संलग्न थिए, नेम्बाङ । उनको मातृ पार्टीमा बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि आदि नेताहरुको इतिहास मात्रै दुरुस्त राखिएको छ । जसले जीउज्यान अर्पेर देश र जनताका लागि लडे, तिनीहरु अझै गुमनाम छन् । सक्रिय राजनीति बिसाएपछि उनलाई लागिरह्यो– आजसम्म जे–जति इतिहास लेखिएको छ, त्यसमा नेताहरुको मात्रै एकलौटी रह्यो । पार्टीले त्यसको खोजीनिती गरेन । कसैलाई लेख्न प्रोत्साहन पनि गरेन । कार्यकर्ताले गरेका संघर्ष, त्याग र बलिदानको इतिहास खोइ ?

अरुबाट आश गर्नुको कुनै अर्थ थिएन । अन्ततः उनी आफैँ अघि सरे । आफ्नो पाँचौँ किताबमा लेखे– देशमा क्रान्ति गर्नुको उद्देश्य के थियो ? जनसंघर्ष कुन स्तरमा पुगेको थियो ? ती शहिद, जेलनेल भोगेका, मुद्दामामिला र यातना खेपेका, निर्वासनमा गएका, सिक्किम–भुटान पसेका १ सय ६० कार्यकर्ताको नाम, तस्बिर र गतिविधिको एकमुष्ट अभिलेखन गरे ।

“मैले इच्छा हुँदाहुँदै पनि कतिपय मुक्ति योद्धाका बारेमा खोज्न सकिनँ । मेरो जानकारीमा आएका इतिहासका तिनै नायकहरुलाई समेटेको छु,” उनी भन्छन्, “यो इतिहासको गौरवमय सम्झना हो, एउटा क्रान्तिकारीले युद्ध मैदानमा कस्तो कस्तो कुराको अनुभूति गर्न सक्यो भन्ने दस्तावेज हो ।”

उनको काम पक्कै सजिलो थिएन । उनले जुन समयको इतिहास लेखेका छन्, त्यो समय फोटो खिच्ने उपकरण जहाँतहीँ पाइँदैनथे । घरव्यवहारमा पनि फोटो चाहिँदैनथ्यो । क्यामेरा दुर्लभ यन्त्र थियो गाउँघरमा । नेम्बाङका नायकहरु त्यही गामबेँसीमा जन्मेहुर्केका थिए । ५०–६० वर्षअघिको फोटो जतनले राख्ने चेतना पनि कहाँ थियो र !

“यो नितान्त मेरो संस्मरण हो । राजनीतिक इतिहास नहराओस् भनेर सुरुआत मात्र गरेको छु, यसलाई सन्दर्भग्रन्थ बनाएर भविष्यमा सन्तान–दरसन्तानले खोज्न सकून् भन्ने मेरो सद्भाव छ,” उनी भन्छन्, “तर आफ्नो मान्छे भनेर कसैलाई राखिएको छैन । राख्नैपर्ने नाम मात्र छन् । मलाई खेद केमा छ भने सम्पर्क कांग्रेससित मात्र भयो । मैले भेटेको भए कम्युनिस्टलाई पनि समेट्थेँ । एक–दुई जनाचाहिँ कांग्रेसका हुन् कि के हुन् यकिन छैन ।”

निबुखोला उत्तर धनकुटा जिल्लाको पौवा गाउँमा जन्मेका थिए, नेम्बाङ । ०१८ मा जिल्ला विभाजन हुँदा उनी पाँचथरका बासिन्दा भए । ११ दाजुभाइमा साइँला उनको परिवार खानदानी कांग्रेस हो । ऊनका बडाबा सुब्बा नरबहादुर र बाबु ००७ को क्रान्तिमा लागेका रहेछन् । माइला बाबुका छोरा नरेन्द्रविक्रम कांग्रेसबाट मन्त्री भए, साइँला बाबुका छोरा झूविक्रम र तिलविक्रम (बैरागी काइँला) पनि पार्टी राजनीतिमै थिए । त्यसैले थाहै नपाईकन सहभागी भए नाराजुलुसमा । बिस्तारै त्यस्तै काम प्यारो लाग्दै गयो । एक प्रकारको नयाँ क्षेत्र भेटेजस्तो लाग्यो उनलाई ।

०१७ को कू’ का बेला उनी आफ्ना दाजुभाइसितै दार्जिलिङमा स्कुले विद्यार्थी थिए । दार्जिलिङको सभ्यता, स्वतन्त्रता, विकास र सामाजिक उत्तरदायित्वपूर्ण व्यवहार देख्दा उनलाई के छाप पर्‍यो भने यी सबै लोकतन्त्र भएको मुलुकमा मात्रै हुन्छ । पत्रपत्रिकामा पनि स्वतन्त्रता सेनानीका रोमाञ्चक कहानी छापिइरहन्थ्यो । त्यस्तो बेला आफ्नै देशमा लोकतन्त्र अपहरण भएपछि उनलाई लाग्यो– यो बेठीक भयो । त्यहीँको चोक बजारमा ४ पुसमा भएको विरोध सझालाई विद्यार्थीको नेतृत्व गर्दै कृष्णविक्रम, ठूला दाइ दिव्यवित्रमलगायतले सम्बोधन गरेका थिए ।

नेपालमा असली इतिहास लेखिएकै छैन । राम्ररी छानबिन र सोधखोज नगर्दा कृष्णविक्रम १८ वर्ष प्रवास बसेको लेखिएको छ ।

लगत्तै सेन्ट रोबटर्स स्कुल पढ्दापढ्दै उनीहरु क्रान्ति थाल्ने भनी गाउँतिर आए अनि झूविक्रम नेम्बाङको नेतृत्वमा आन्दोलन सञ्चालन समितिअन्तर्गत मुत्ति सेना गठन गरे । त्यही सेनाले १६ फागुन ०१७ मा पाँचथरको सुकिया पोखरीमा पहिलो पटक फौजी कारबाही गर्‍यो । कांग्रेसका तत्कालीन कार्यवाहक सभापति सुवर्णशमशेरले सत्याग्रह थाल्ने धम्कीपूर्ण पर्चा मात्र छरिरहेका बेला सुकियापोखरी एक्सन नै लोकतन्त्रवादीका तर्फबाट गरिएको पहिलो सशस्त्र विद्रोह भएको उनको जिकिर छ । ०१८ कात्तिकमा मात्रै पार्टीले सशस्त्र क्रान्तिको  बाटो लियो ।

११ जेठ ०१८ मा पार्टी संगठनको काममा सिलौटीबाट अन्यत्र जान लाग्दा धोबीनाथ नेम्बाङ र उनी पक्राउ परे । पाँचथर, जोरसालको सैनिक क्याम्पमा एक रात राखेर धनकुटा लगियो दुवैलाई । धनकुटा बडाहाकिम कार्यालयले दोषी प्रमाणित गर्‍यो । धोबीनाथलाई अराष्ट्रिय तफ्वको आरोपमा शान्ति सुरक्षा कानुनअन्तर्गत थुनामा राख्यो भने उनलाई सुकियापोखरीमा प्रहरीका राइफल लुटेको अभियानमा धनकुटा ट्राइब्युनलले मुद्दा चलाउँदै पुर्पक्षका लागि जेलमा कोच्यो । कांग्रेस हाइकमान्डले क्रान्ति स्थगन गरेपछि ०१९ मंसिरमा बन्दीगृहबाट धनकुटा बजारमै स्थानहद रहने गरी मुक्त भए । चार वर्षे हैरानीपछि उनले ‘फार्स्या’ पाए । त्यो फैसलामा के लेखिएको छ, उनलाई अहिलेसम्म थाहा छैन ।

त्यसपछि नेम्बाङ झापामा कांग्रेसको संगठन गर्दै बसे । ०२९ मा उनका नाममा पक्राउ पुर्जी जारी भयो र मेचीपारि नक्सलबाडी गएर बसे । उनलाई उदेक कतिखेर लाग्छ भने इतिहासमा गलत र भ्रामक तथ्यकै बोलवाला छ । “नेपालमा असली इतिहास लेखिएकै छैन । राम्ररी छानबिन र सोधखोज नगर्दा कृष्णविक्रम १८ वर्ष प्रवास बसेको लेखिएको छ,” उनी भन्छन्, “त्यही इतिहासलाई बंग्याउने चलनविरुद्ध नै मैले आक्षेप र पाठक प्रतिक्रिया (०७२) लेखेको हुँ ।” नयराज पन्त परिवार र संशोधन मण्डलकै कारण इतिहासमा केही काम भएको उनको ठम्याइ छ । भन्नै परोइन, उनलाई इतिहासकार मन पर्ने संशोधन मण्डलकै हुन् ।

०१७ देखि ०५९ असारसम्म कांग्रेसी राजनीतिमा व्यस्त भए नेम्बाङ । पार्टी फुटेपछि नेताहरुलाई नै सूचना दिएर निष्क्रिय भए । “गिरिजाबाबु, सुशील दाइसित निर्वासनदेखि नै मेरो राम्रै सम्बन्ध थियो, नेताहरुले हुँदैन भन्दाभन्दै मैले छाडिदिएँ,” उनी सम्झन्छन्, “म इमानदारीसित लागेँ, इमानदारीसित छाडेँ । दायाँबायाँ केही गरिनँ ।” एकीकृत पार्टी छाड्दा उनी जिल्ला सचिवको हैसियतमा थिए । आफू पद लिनेभन्दा पनि साथीहरुले जुन पद माग्छन्, त्यही दिएर काम लगाए । कांग्रेसका सम्पूर्ण आन्दोलनमा सरिक भए ।

राजनीति छाडेपछि पनि उनी चुपचाप बसेका छैनन् । पढ्छन्, लेख्छन् । नेताहरुलाई चिट्ठी लेख्दा र पार्टीका प्रतिवेदन लेख्दा इतिहासमा रस बस्यो । कानुनसम्बन्धी किताब पढेर उनी समाजको विकास कसरी भयो भन्ने थाहा पाउँछन् । छोराछोरीले बेलायत घुम्न बोलाए, उनले संस्मरण लेखे, डायरीमा बेलायत । ०१७ मा बीफी कोइरालाको क्रान्ति सशस्त्र क्रान्ति आह्वानबारे लेखे, स्मृतिमा बीपी आन्दोलन ।

त्यसो त अब नेम्बाङ परिवार सग्लो कांग्रेस रहेन । कतिपय सदस्य कम्युनिस्ट पार्टीमा लागेका छन् । इलाम नगरपालिकाकी उपमेयर सुशीला नेम्बाङ उनकी बहिनी हुन्, नेकपाका तर्फबाट जितेकी छिन् । अर्की बहिनीले ताप्लेजुङको सिनाम गाउँपालिकाको एउटा वडालाई निर्वाचित भएर नेतृत्व दिएकी छन् नेकपाबाटै । दशक ६० को सुरुमा चर्चामा आएको पुस्तक सम्झनाका तरेलीहरु लेखेका माइला दाजु अमर नेम्बाङ पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष थिए । उनको भर्खरै निधन भयो । चार छोरा र चार छोरीका पिता कृष्णविक्रमकी पत्नी तुलसाको क्यान्सरका कारण निधन भइसकेको छ । उनी कहिले पाँचथर त कहिले काठमाडौँ गर्दै बुढेसकाल बिताइरहेका छन् ।

पक्का लोकतन्त्रवादी कृष्णविक्रम नेम्बाङ वकालत र पत्रकारिताबाट आएका मान्छे राजनीति सफल भएको केही दृष्टान्त स्मरण गर्छन् । महात्मा गान्धी, बल्लभभाई पटेल, बीपी कोइराला वकालतबाट आएका थिए भने चर्चिल पत्रकारिता पेसाबाट । सत्र सालको क्रान्तिको सम्झना ०७१ मै मुद्रित भएको थियो । त्यो किताब परिमार्जन भएर दोस्रो संस्करण आउँदासमेत कांग्रेसका नेताहरुबाट कुनै प्रतिक्रिया नपाउँदा उनलाई अनौठो लागेको छैन । “अहिले त को पढ्छन् हौ ? मैले अनुरोध गर्नुपर्ने मान्छे नै छैनन् । सुशील दाइ भएको भए पढिदिनोस्, विमोचन गरिदिनोस् भन्थेँ होला,” उनको कसैसित गुनासो छैन, “अहिलेकालाई म चिन्दिनँ, उनीहरुले पनि मलाई चिन्दैनन् । पार्टी अफिसको लाइब्रेरीमा पठाइदिएको छु, बस् ।”

प्रकाशित: असार ३१, २०७६