उपराष्ट्रपतिको अंग्रेजी–मोह
अचेल अंग्रेजी शब्द उपयोगको विस्तारले दैनिक बोलीचालीमा समेत नेपाली शब्द हराउन थालिसके । अर्कातिर मातृभाषा र स्थानीय भाषा–मोह संसारभर बढ्दै छ ।
अचेल अंग्रेजी शब्द उपयोगको विस्तारले दैनिक बोलीचालीमा समेत नेपाली शब्द हराउन थालिसके । अर्कातिर मातृभाषा र स्थानीय भाषा–मोह संसारभर बढ्दै छ । सामान्य सन्दर्भमा पनि अंग्रेजी शब्दको प्रयोग त्यति रुचिकर लाग्दैन । सरकारी तहबाटै नेपाली शब्दको हेलाहोचा हुँदा झनै नमीठो लाग्ने रहेछ । उपराष्ट्रपति नन्दबहादुर पुनको नयाँ निवासको नामले मन कटक्क बनाइदियो । कान्तिपथको ‘बहादुर भवन’ बाट केही महिनाअघि लैनचौरको समाज कल्याण परिषद् भवनमा सरेका उपराष्ट्रपति पुनले भवनको नाम राखिदिए– ग्रीनहाउस ।
तर त्यही ग्रीनहाउसको सट्टा ‘हरितगृह’ वा यस्तै कुनै उपयुक्त नाम राखेको भए के बिग्रिन्थ्यो ? कम्तीमा सरकारी स्तरबाट त नेपाली शब्द प्रयोगलाई बचाइराख्न सकिन्थ्यो । दरबारिया झल्कोबाट मुक्त हुन उपराष्ट्रपतिले भवनको रंग र नाम परिवर्तन गरेका हुन सक्छन् । जे भए पनि भवनलाई नेपाली नामकरण गर्न सकिन्थ्यो ।
बल्खुका छुच्चा कर्मचारी
झ्याल नम्बर १४ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको यो झ्यालबाट बीएडको ट्रान्सक्रिप्टका लागि फाराम बुझाउने र लिने गरिन्छ । वर्षका केही दिन विद्यार्थीको भीड हुन्छ, यो झ्यालमा । अरु बेला कर्मचारीलाई घाम ताप्ने प्रशस्त फुर्सद । तर त्यही भीडमा तीन महिला कर्मचारी रिसाइरहेका मात्रै हुन्छन् विद्यार्थीसँग । गाली गरिरहेका हुन्छन् । म पनि ११ असारमा बहिनीको ट्रान्सक्रिप्टका लागि त्यो झ्याल पुगेँ । तर प्रथम वर्षको मार्कसिटमा नामको स्पेलिङ गलत रहेछ । एक महिलाले नाम सच्याउन भनिन् । तर कहाँ जाने, के गर्ने केही बताइनन् ।
‘गल्ती गर्ने तपाईँहरु दुःख पाउने हामी, प्रस्टसँग त बताउनुस्’ भनेको मात्रै के थिएँ, मसँग पड्किन् भुटेको मकैजस्तै । बल्ल थाहा भयो निवेदन लिएर २ नम्बर कोठा जानुपर्ने रहेछ । त्यहाँ पनि उपरखुट्टी लगाएर बसेकी अधबैँसे महिला त्यस्तै रिसाहा । ती महिलाले मलाई ३ पटक निवेदन सच्याउन लगाइन् । पैसा तिर्न लगाइन् बैंकमा । कसैको भने पैसा नतिरिएको निवेदनसमेत बुझिरहेकी थिइन् । पैसा तिर्नुपर्ने हो कि होइन मैले बुझिनँ ।
२ नम्बर झ्यालबाट पठाइयो गोप्य शाखा । त्यहाँका कर्मचारी झनै रिसाहा । ‘मैले हुँदैन भनेपछि हुँदैन, जहाँसुकै जानुस्’ गोप्य शाखाको बीएड फाँटका कर्मचारी सातो जाने गरी कराए । तिनले प्रवेशपत्रको सक्कल प्रति मागे । सक्कल प्रति खोटाङमै थियो, ल्याउन सम्भव थिएन । पछि ल्याउँछु भन्दा पनि फाराम बुझेनन् । भोलिपल्ट सवा १० मै पुगेँ । अघिल्लो दिनकै फाइल बुझाएँ । सक्कल छैन भनेर फेरि थर्काए । रिसाउँदै फाइलमाथि लेखिदिए, प्रवेशपत्रको सक्कल प्रति र कलेजको चिट्ठीसहित ३ दिनपछि आउनू । पछि जाँदा न प्रवेशपत्रको सक्कल मागे, न त कलेजको चिट्ठी ।
त्यहाँबाट २ नम्बर झ्यालमा पठाए । त्यहाँ भनियो– १० दिनपछि आउनू । किनकि त्यो फाइलमा हस्ताक्षर गर्ने सहनियन्त्रक बिदामा रहेछन् । २२ असारभित्र शिक्षण अनुमतिपत्रको परीक्षाका लागि फाराम भर्नुपर्ने म्याद । त्यो भ्याउन यति मरिहत्ते गर्नु परिरहेको छ, एक सातादेखि । अन्तिममा आएर १० दिनपछि अर्थात् २२ असारमा आउनू भन्छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशी भेट्न कार्यकक्ष पुग्दा विद्यार्थी नेतासँग बैठकमा रहेछन्, दुई घन्टादेखि । त्यो पनि चुकुल लगाएर बसेका । त्यही बेला सचिवालयका एक कर्मचारीले भने, “पनिकाले एउटा पक्र दिन्छ, ट्रान्सत्रिप्ट प्रक्रियामा रहेको भनेर । त्यसका आधारमा फाराम भर्नू ।”
पनिकालाई यो पनि थाहा रहेनछ कि शिक्षक सेवा आयोगले अनलाइन फारम मात्र लिइरहेको थियो, जहाँ यस्ता पत्रको काम हुँदैन । जोशी सर, विद्यार्थीको भविष्य नै अन्धकारमा पार्ने यस्तो लथालिंग र बेवारिसे पारा पनि हुन्छ पनिकाको ?
सुध्रेका ट्याक्सी ड्राइभर
सस्तो, भरपर्दो र सहज यात्राका लागि टुटल र पठाओले बजार खिचेका छन् । प्रविधिमैत्री नभएकाहरुले त्यति ख्याल नगरे पनि ट्याक्सी चढियो भने महसुस हुने रहेछ टुटल र पठाओको बजार दबाब । अचेल केही भन्नुपर्दैन । सीधै मिटर चलाउन थाल्छन्, ट्याक्सी ड्राइभर ।
शुल्कमा पनि सहज भइदिएछ । अघिल्लो साता मैतीदेवी–सानोठिमी (मगरगाउँ) पुग्दा ३ सय ७२ रुपैयाँ उठ्यो । साँझ फर्किंदा ३ सय ८८ । आश्चर्यचाहिँ लागेको थियो उस्तै–उस्तै किन भनेर । अर्को पटक अघिल्लो शुक्रबार सानो भर्याङदेखि अनामनगर आउँदा २ सय ८८ रुपैयाँ उठेको थियो, जबकि केही दिन पहिला २ सय ७२ थियो । त्यति धेरै रकम उठ्नुमा जाम पनि कारण थियो । आइतबार रत्नपार्क–रानीवन पुग्दा पनि ३ सय रुपैयाँ कटेन । मंगलबार पनि अनामनगर–नयाँबजार पुग्दा २ सय ३२ उठ्यो । र, राती साढे ९ बजे फर्किंदा २ सय ९८ उठ्यो । यी सबैमा मिटर चलाउनु नभन्दै मिटर सुरु गरेका थिए । मंगलबार साँझ ट्याक्सी ड्राइभरलाई सोधेँ– “अचेल टुटल र पठाओले गर्दा मिटरमा हिँड्न थालिएछ है !” ती ड्राइभरले टुटल र पठाओलाई गाली गर्दै मिटरमा चल्न दबाब दिएको स्वीकारे ।
प्रतिस्पर्धाले सेवाग्राहीलाई फाइदै पुग्दो रहेछ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...