[पुस्तक समीक्षा] दमित चेतनाको बन्दी वृत्तान्त
राजा ज्ञानेन्द्रद्वारा मञ्चित शाही कदमका दिनमा सञ्चालित धरपकड, नियन्त्रण र दमनका सिलसिलामा दुई पटक बन्दी रहेका बेला लिखित डायरी हो । नेपाली भाषामाथिको आचार्यको गहिरो पकड, लेखनशैलीको उच्चता र सरलता यो पुस्तकमा खुलेर आएको छ ।
नेपाली कांग्रेसभित्र प्रखर गणतन्त्रवादीको छवि बनाएका र पार्टीभित्र गणतन्त्रको वकालत गरेबापत त्यसबखत कारबाही र किनारामा पारिएका नरहरि आचार्य केही वर्षयता स्वास्थ्यमा अकस्मात् आएको असुविधापछि राजनीतिबाट केही छायामा परेजस्तो समय व्यतीत गरिरहेका थिए । त्यही असुविधा सामना गरिरहेको दिनमा उनले सरल, पठनीय र आकर्षक शैलीमा बन्दी वृत्तान्त लिएर आफ्नो सक्रियताको भिन्न स्वरुप जारी राखेका छन् । यो राजा ज्ञानेन्द्रद्वारा मञ्चित शाही कदमका दिनमा सञ्चालित धरपकड, नियन्त्रण र दमनका सिलसिलामा दुई पटक बन्दी रहेका बेला लिखित डायरी हो । नेपाली भाषामाथिको आचार्यको गहिरो पकड, लेखनशैलीको उच्चता र सरलता यो पुस्तकमा खुलेर आएको छ ।
गणतन्त्रलाई बयलगाडा चढेर अमेरिका जाने तमासा भनेर सस्तो टिप्पणी गर्नेहरु सत्तामा आसीन भएको यो समय डेढ दशकअघिको नेपाली समाजले कोल्टे फेर्न गरेको तपस्या विस्मृतितिर गएको छ । यही बेला आचार्यको गणतन्त्रको यात्रा बन्दी वृत्तान्तले एक पटक सतही रुपमा भए पनि स्मरण गराउँछ । भलै यसले गणतन्त्रका ‘खास यात्री’ हरुलाई सर्वथा बेवास्ता गरेको छ । गणतन्त्र आउनुको वस्तु यथार्थलाई नजरअन्दाज गरेको छ । तर कसरी बयलगाडा सिद्धान्तका विश्वासीहरु राजाकै तानाशाहीमा पनि केही दिन पक्राउ गरिएजस्तो गरेर छाडिए । उनीहरुभन्दा तल्लो हैसियत भएका उही पार्टीका कार्यकर्ता महिनौँ सरकारी बन्दी जीवन बिताउन विवश भए भन्ने तथ्यले हामीलाई गणतन्त्रको ताज कसरी यसको ‘स्वत्व’ लाई नै नामञ्जुर गर्नेहरुकोमा बन्दी छ भन्ने प्रस्ट्याउँछ ।
पुस्तकमा आचार्यले उल्लेख गरेको विवरणले कांग्रेसभित्र कसरी चक्र बाँस्तोलाहरु पछाडि धकेलिए र कृष्ण सिटौलाहरु राजनीतिमा गड्गडाएर अघि आए, दिल्लीलाई पानीपँधेरो बनाउने सिटौला, सुजाताहरुको क्रियाशीलताले नेपाली राजनीतिमा बाह्य योजनामा कसरी नेताहरु अघि सारिन्छ भन्ने संकेत गर्छ ।
♦♦♦
आचार्य आफैँ पनि आफ्नो वृत्तान्तभरि नेपाली राजनीतिको निर्णायक स्तम्भ जनता र तिनको बलियो संघर्ष हो भन्ने विश्वासमा रहन सकेको देखिँदैन । कहीँ–कतै आन्तरिक रुपमा नेपाली दलहरुले गर्ने निर्णय प्रमुख हो भनेर उल्लेख गरे पनि निरंकुशताविरुद्धको संघर्ष या राजनीतिका निर्णायक जनताको भूमिका, उनीहरुको धारणालाई आचार्यले दोयम रुपमा समेत महत्व दिएको देखिँदैन ।
भारत, अमेरिका या विदेशीले के गर्लान्, माओवादीले के गर्ला भन्ने परमुखी अपेक्षामा आचार्य केन्द्रित देखिन्छन् किताबमा, मुखर रुपमै । यो परमुखी चिन्तन उदेकलाग्दो छ । जनतामा, जनताको प्रतिक्रिया के होला भन्नेमा रत्तिभर उत्सुकता, भरोसा नदेखिनु उनको राजनीतिक प्राथमिकताको त उद्घाटन हो नै, नेपाली राजनीतिको परमुखी प्रवृत्तिको नजानिँदो सत्यको उद्घाटन पनि हो ।
आचार्यको बन्दी वृत्तान्तमा उल्लिखित परमुखी प्रवृत्तिले निराश तुल्याएपछि मलाई बीपी कोइरालाको बन्दी वृत्तान्तको सम्झना हुन्छ । बीपी जनतामाथि, आधारभूत तहका मानिसप्रति अदम्य विश्वास र श्रद्धा गर्छन् । लेख्छन्, ‘तानाशाही व्यवस्थाको विरुद्ध जुलुस झिकेछन् । ...दाजुभाइ दिदीबहिनीहरु, गरिब देशबासीहरु मेरा माटाका देवता पनि त्यसमा लागेका रहेछन् (जेल जर्नल, पृ १६) ।
सत्ताविरुद्ध भएका एकाध जनविरोधलाई पनि बीपी भव्य सौन्दर्यकरण गर्छन् । आशा–उज्यालोको अद्भुत उद्घाटन देख्छन् । उनलाई जनताको चलमलाहट, तानाशाही सत्ताविरुद्ध कार्यकर्ताको विरोध अँध्यारोमा चम्किएको बिजुली लाग्छ । लेख्छन्, ‘त्यस अँध्यारो बादलको सबभन्दा कालो क्षेत्रमा–एउटा बिजुली हठात् झल्केछ । त्यहाँको नरनारी, सैनिक–असैनिक अनुहारलाई एकछिन उज्यालो पार्दै– केवल बादलको अन्धकारलाई झन् कालिमामय बनाउँदै । ...यो एउटा बडो साहसको कार्य थियो, जुन साहसलाई महान लक्ष्यका निम्ति मानिसले कहिलेकाहीँ मात्र प्रदर्शित गर्छ । ...इतिहासका यी तमाम सानासाना कुरा– मानिसले नै आफ्नो सानो मुटुमा साहस बटुलेर मृत्युको सामना गर्दै पाशविकतालाई चुनौती दिएको कुरा सम्झन्छु र भन्छु– मनुष्यलाई हरेस खाने आवश्यकता छैन (कोइराला, उही, पृ १५/१६) ।’
आचार्यलाई भने संसारलाई चकित पार्ने लाखौँलाख मानिस सडकमा उत्रिएको प्रलयकारी जनआन्दोलनले पनि उत्साहपूर्ण बयान गर्नुपर्ने स्तरमा प्रभावित पारेको देखिन्न । आन्दोलनको आकार, जनताको लोकतन्त्रप्रतिको भव्यतम अनुरागबारे आचार्यले थाहा पाएनन् भनौँ भने पनि उनकै भनाइमा बीपीजस्तो कालकोठरीमा होइन, मोबाइल फोन प्रयोग गर्न सकिने ‘थुनुवा’ जीवनमा थिए । यो त उदाहरण मात्रै हो नेताहरुबारे, उनीहरुको प्राथमिकता, जनताप्रतिको उनीहरुको आत्मीयता, समर्पण र विश्वासको ।
आफ्नो बन्दी वृत्तान्तभरि आचार्य नेपाली राजनीतिको निर्णायक स्तम्भ नेपाली जनता र तिनको बलियो संघर्ष हो भन्ने विश्वासमा रहन सकेको देखिँदैन ।
आचार्य भने परमुखी भएर किताबभर उद्घाटित हुन्छन् । उनी लेख्छन्, ‘राजा ज्ञानेन्द्रको घोषणा र अबको सन्दर्भमा माओवादीले कसरी लेलान् ? उनीहरुको तुरुन्तै र १५ दिनभित्र देखिने प्रतिक्रिया व्यवहार र कार्यक्रमले पनि यस कुराको आकलन र मूल्यांकन गर्न सकिन्छ । त्यसैगरी अन्तर्राष्ट्रिय सन्दर्भमा कस्तो प्रतिक्रिया आउला (पृ १९) ?’ राजाका कदम र लोकतन्त्रको अपहरणका सम्बन्धमा भारतको वास्तविक नीति बुझ्न सकिँदैन (पृ २४) । ‘नेपालमा भएको घटना’ लाई सामान्य मान्न नसकिने र यस्तो परिस्थितिमा भारतले सम्मेलनमा भाग लिन कठिनाइ हुने भन्नु राजनीतिक महत्वको देखिन्छ (पृ ३१) । माओवादीको हौवा देखाएर अन्तर्राष्ट्रिय समुदायको आँखामा छारो हाली देशभित्रका लोकतन्त्रवादीलाई दबाउन सकिन्छ कि भन्ने ज्ञानेन्द्रको मनसाय पूरा हुन त्यति सहज र सजिलो देखिएन (पृ ४६) । अमेरिकी विदेशमन्त्री कोन्डालिजा राइसको भारत भ्रमण र भारतीय विदेशमन्त्री नटवर सिंहसमेतको संयुत्त प्रेस सम्मेलनमा अभिव्यक्त विचार नेपालका निम्ति पनि गम्भीर महत्वको देखियो (पृ १२३) । यस्ता प्रसंग अनेकन पटक दोहोरिएका छन् ।
अझ आपत्तिजनक के भने कुनै दुई विदेशी राष्ट्रबीचको भेटघाट र जारी वक्तव्यमा तेस्रो राष्ट्र नेपाललाई मुछ्ने विषय महत्वको हुन्छ कि आपत्तिको ? अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास, राष्ट्रसंघीय बडापत्रविपरीत नेपाल उपस्थित नै नरहेको तेस्रो पक्षको वक्तव्यमा नेपालको आन्तरिक राजनीतिबारे टिप्पणी गर्ने विषय आचार्यलाई महत्वको लाग्नु खेदजनक छ । त्यसरी नै संविधान जारी भएपछि विभिन्न अन्तर्राष्ट्रिय फोरममा जारी भारत र तेस्रो राष्ट्रबीच जारी वक्तव्यमा नेपाललाई मुछ्ने हौसला आचार्यजस्तै त्यस्ता कदमलाई महफ्वपूर्ण मान्ने राजनीतिककर्मीको भित्री उक्साहटमा प्रकट भएको रहेछ भन्न सकिन्छ ।
♦♦♦
उनै आचार्यका आदर्श बीपीमा भने राजनीतिप्रति कति गहिरो प्रतिबद्धता छ ! आफूले वितरण गरेको विश्वासमा बाँधिएर जेलनेल भोग्न विवश कार्यकर्ता पंक्तिप्रति कति उत्तरदायित्वको अनुभूति छ उनमा ! लेख्छन्, ‘जब उनीहरुलाई सम्झन्छु, मलाई उत्साह आउँछ र जीवनका तुच्छता मबाट टाढा हुन्छन् । यदि मैले नेपालका लागि केही गर्न सकेँ भने म... त्यस्ता अनेकानेक व्यक्तिहरुप्रति आफ्नो कर्तव्य पूरा गरेको ठान्नेछु (कोइराला, उही, पृ ३८) ।’ तर आजका दिनमा आचार्य त बरु अरुभन्दा निकै संवेदनशील मानिन्छन्, आफैँलाई नेता बनाउन लड्दा कोखमा अड्किएको छर्रा निकाल्ने उपचार खर्च नपाएर कार्यकर्ता बिचल्ली हुँदा नेताहरु बिचौलियासँग क्रान्तिको साँवाब्याजको हिसाब असुलिरहेका भेटिन्छन् ।
पुस्तकभरि आचार्य आफ्नो परिवारको सुख–दु:ख, छोरीहरुको पढाइ, उनीहरुको प्रगति, शैक्षिक आर्थिक उन्नतिले उनमा ल्याएको खुसीलाई एउटा गम्भीर पिताको हिसाबले उचित जिम्मेवारी देखाउँछन् । यो स्वाभाविक पनि हो– हरेक अभिभावकलाई आफ्ना सन्तानको शिक्षा–दीक्षा, उनीहरुको प्रगति, उन्नयनले खुसी तुल्याउँछ । तर आचार्य पुस्तकभरि आफ्नो परिवार, सन्तानबारे यति धेरै केन्द्रित छन् कि त्यसले नेपाली राजनीतिक पेसेवरहरुको आत्मचरित्रको उद्घाटन गर्न सहयोग पुर्याउँछ । आफ्ना छोरीबारे जुन स्तरको चिन्ता, सरोकार प्रकट भएको देखिन्छ आचार्यमा– नेपाली समाज, जनताबारे रत्तिभर चिन्तन उनको डायरीमा देखिँदैन । त्यो एउटा विम्ब पनि होला, नेताहरु किन परिवारमुखी हुन्छन् र सत्तामा पुगेपछि जनता उनीहरुको प्राथमिकतामा पर्दैन भन्ने । भन्नका लागि त भनिएला, राजनीति गरिएको, जेलनेल बसेको नै देश र जनताका लागि हो । तर व्यवहारमा हेर्दा देश र जनता झन्झन् किन हीनत्तर भएका छन् र राजनीतिबाहेक अर्को कुनै आयमूलक पेसा नअपनाएका राजनीतिकर्मीको जीवन सुकुम्बासीबाट समृद्ध हैसियतमा कसरी पुगिरहेको छ भन्ने प्रश्नको उत्तर राजनीति गर्नेहरुको दिमागमा प्राथमिकतामा को छ भन्नेले पुष्टि गर्छ । भलै, आर्थिक इमानदारीमा आचार्य फरक होलान् ।
निजी जीवनको अन्तर्यको सत्य भनिने डायरीमा मानिसले आफ्नो चेतना, चरित्रको सत्य उद्घाटित गर्छ भन्ने गरिन्छ । आन्दोलनका दिनमा बन्दी बनेको राजनीतिककर्मी कुनै पनि दिनको डायरीमा भुइँमा टाँसिएका नेपाली जनता, तिनका सन्तानहरुको भविष्य, दुःख–सुखबारे कहीँ पनि चिन्तनमा देखिँदैन । केवल राजाको कदमले खोसिएको आफ्नो सत्ताभोग कुन स्वरुपमा फिर्ता ल्याउने भन्ने सवालमा अरुभन्दा अलि बढी अगाडि जान खोजेजस्तो देखिन्छ । अरु राजासहितको लोकतन्त्र भनिरहेका बखत आचार्यले राजारहितको लोकतन्त्र भनेका हुन्छन् । त्यो राजाबिनाको लोकतन्त्रमा जनता कहीँ पनि उनको बहसको केन्द्रमा छैन । जनताको भविष्य कसरी उज्यालो बनाउने भन्ने चिन्ता र चिन्तन देखिँदैन । तर परिवारको चिन्ता र चिन्तन यति प्रभावी भएर उद्घाटित हुन्छ कि त्यसले नेताहरु दिमागमा परिवार, तिनको उन्नति, सुखसयललाई मन–मुटुमा राखेर राजनीति गरिरहेका हुन्छन् । र, पदमा पुगेपछि मनमा सुषुप्त तवरले गडेर बसेको त्यही परिवार, नातेदार, आफन्त सुख, खुसीको संसार जोड्न पदको ‘सदुपयोग’ गर्छन् भन्ने प्रस्ट्याउँछ । त्यसैको प्रकटीकरण आजका दिनमा सासंदहरुले आफ्ना पीए सालासाली, भान्जाभान्जी, छोराछोरी रोजेको देखिन्छ । नियुक्तिमा नातावाद र पैसा प्राथमिकताका साथ अघि आएको छ । उल्लिखित विवरणले आचार्यको पुस्तक हाम्रा नेताहरुमा निहित तर दमित रुपमा रहेको चिन्तन, चरित्रको उद्घाटन गर्ने वृत्तान्त हो भन्दा फरक पर्दैन ।
♦♦♦
राजाको सम्पत्ति पारदर्शी हुनुपर्छ भन्दा कारबाही भोगेको उल्लेख गरेका आचार्यले नेताको सम्पत्ति पारदर्शी हुनुपर्छ भनेको कहीँ पढ्न पाइँदैन । आचार्यले पुस्तकमा कसरी एउटै पार्टीमा रहे पनि राजनीति गर्नेहरुको नाभि भिन्नभिन्न स्वार्थग्रन्थिद्वारा पालित–परिचालित भएको हुन्छ भन्ने प्रस्ट संकेत गरेका छन् । उही पार्टीका सहमहामन्त्री गोविन्दराज जोशी, रामशरण महत खुलेआम पत्रकार सम्मेलन गर्दै हिँड्दा, सभा–गोष्ठीमा सरिक हुँदा पनि पक्राउ नपर्ने तर काठमाडौँ कांग्रेसका नेता भीमसेनदास प्रधानसमेत लुकीलुकी हिँड्नुपर्ने अवस्था आउनुले नेताहरुको नाभि कता जोडिएको छ भन्ने संकेत गरिदिन्छ । त्यो त उदाहरण मात्रै हो । महाकाली सन्धि गर्दा देशलाई स्याटेलाइटमार्फत बिजुली बेचेर यति खर्ब, उति अर्ब नाफा हुन्छ भन्दै सार्वजनिक तवरले बोल्नेहरु सन्धि पारित गराउन पार्टीका सांसदलाई होटलमा थुनेर भेडाबाख्राको जस्तो मोल लगाउनेहरु जनता झुक्याउन राष्ट्रवादीको अभिनय गरेको र भोटको स्वार्थ पूरा भएपछि सक्कली अनुहारमा प्रकट हुन थालेको तथ्य हाम्रैसामु छ ।
पुस्तक : गणतन्त्रको यात्रा बन्दी वृत्तान्त | लेखक : नरहरि आचार्य | प्रकाशक : सांग्रिला बुक्स | पृष्ठ : ६३७ | मूल्य : ९९५ रुपैयाँ |
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...