संग्रहागारदेखि संग्रहालयसम्म

- हरिराम जोशी

इतिहास र संस्कृति विषयको अध्ययन र निजामती सेवा प्रवेशको पहिलो चरणमै नेपाल म्युजियममा पोस्टिङ (०२३) भएकाले मलाई संग्रहालयप्रति अझ बढी रुचि जाग्यो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कलात्मक, पुरातात्विक वस्तुको संरक्षण गरी ज्ञान बढाउने उद्देश्यले स्थापना गरिने संग्रहालयको इतिहास निकै पुरानो भए पनि नेपालमा हालै मात्र विकास भएको हो ।

नेपालमा संग्रहालयको इतिहास शाहकालदेखि सुरु भएको मानिन्छ । तर मल्ल र लिच्छविकालमै मन्दिर तथा विहारहरुलाई हातहतियार तथा धार्मिक पुस्तक भण्डारणको परम्पराले संग्रहालयको झल्को भने दिएका छन् । काठमाडौँ उपत्यकाका तीन दरबारमध्ये हनुमानढोकामा रहेको मल्लकालीन पुस्तकालयलाई राजा गीर्वाणयुद्ध विक्रम शाहले व्यवस्थित गरेका थिए, जुन मैले लेखेको र मदन पुरस्कार गुठीको मुखपत्र नेपाली त्रैमासिकमा प्रकाशित छ ।

नेपालको सबैभन्दा प्राचीन पुस्तकालय (ग्रन्थकुटी) नेवारी भाषामा सफूथुछेँ रहेको विसं १२४० मा प्रकाशित इतिहास समुच्चय ग्रन्थ पुष्पिकामा विष्णुदास जोशीले लेखेका छन् । यस स्थानमा पूर्वराजा–महाराजाका जीवनीसम्बन्धी विभिन्न प्राचीन, ऐतिहासिक वस्तुसमेत संगृहीत छन् । नेपालका संग्रहालय राजा/महाराजाको भौतिक वस्तु संकलन गर्ने मात्र नभई तत्कालीन सभ्यताको प्रामाणिक दस्तावेज पनि हुन् ।

नेपालका पहिलो प्रधानमन्त्री जर्नेल भीमसेन थापा (१८६३–१८९४) का दुई  निवासस्थान थिए । तीमध्ये एउटा काठमाडौँको लगन र दोस्रो काठमाडौँकै छाउनी थियो । लगनमा उनी स्थायी रुपमा बस्थे भने छाउनीमा सैनिक कवाज हेर्न जाँदा रात बिताउँथे । छाउनीस्थित भीमसेन थापाको घरलाई राणाकाल विसं १९८५ मा स्वदेशी तथा विदेशी हातहतियारको संग्रहागार सिलखाना (आर्सनल) बनाइयो । विसं १९९५ मा यो संग्रहागार सर्वसाधारणका लागि खुला गरिएको नेपाल म्युजियमको स्थापनाबारेको सन्दर्भमा उल्लिखित छ । विसं १९९८–०९९ तिर खुलेको जुद्ध जातीय कलाशाला हातहतियारबाहेकको आधुनिक संग्रहालयमा परिणत भयो ।

कालान्तरमा जुद्ध जातीय कलाशालामा ढुंगा, माटो, धातु, काठ, हाडका कलाकृतिलाई छुट्टाछुट्टै रुपमा संकलन गरियो । नेपालको पहिलो प्राकृतिक संग्रहालय पनि स्वयम्भूमै छ । पुरानो छाउनी सिलखाना र जुद्ध जातीय कलाशालालाई एकीकृत गरी नेपाल म्युजियम (राष्ट्रिय संग्रहालय) नामकरण गरियो, विसं १ फागुन १९९५ मा । सर्वसाधारणका लागि खुला गरिएको नेपाल म्युजियमले विसं ०१३ मा प्राचीन स्मारक संरक्षण ऐन कार्यान्वयनमा आएपछि गति लिएको हो ।

नेपालको ऐतिहासिक र प्राचीन इतिहाससम्बन्धी जानकारीको लगत राखिराख्न लुम्बिनी र कपिलवस्तुमा भगवान् गौतमबुद्धसम्बन्धी उत्खनन गरिएका विभिन्न वस्तुको संरक्षण र संग्रह गर्ने उद्देश्यले कपिलवस्तुमा संग्रहालय स्थापना गरिएको छ । यो संग्रहालयमा पुराताफ्विक वस्तु भाँडाकुँडा, माटो तथा प्रस्तरका मूर्ति तथा अन्य कलाकृति राखिएको छ । प्राचीन मानव सिर्जनाको अद्वितीय महफ्व राख्ने ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महफ्वका कला वस्तुको वैज्ञानिक ढंगले सञ्चालन, संरक्षण र अभिलेखन गरी सर्वसाधारणलाई जानकारी दिन संग्रहालय खोल्ने चलन संसारभर छ । 

जागिरे जीवनको अन्तिम समय तत्कालीन श्री ५ को सरकारले देशका ५ वटै विकास क्षेत्रका सदरमुकाममा क्षेत्रीय संग्रहालय स्थापनाको घोषणा गरेको थियो । क्षेत्रीय संग्रहालयको मूल उद्देश्यचाहिँ सम्बन्धित क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक वैभव र जनजीवनको प्रस्तुति झल्काउनु रहेको हुन्छ । त्यसमध्ये धनकुटा र पोखरामा संग्रहालय स्थापना भइसकेको छ । पोखरामा नेपालका हिमाल आरोहणका क्रममा भएका घटनाक्रमलाई नजिकबाट नियाल्न मिल्ने गरी बृहत् पर्यटन संग्रहालय स्थापना भइसकेको छ ।

इतिहाससम्बन्धी विज्ञता हासिल गरेको मेरा लागि नेपाल म्युजियमको जागिर अद्यापि पुरातात्विक तथा साहित्यार्जनका लागि मार्गदर्शक बनिरहेको छ । म्युजियममा १० महिनासम्म काम गरेर पुरातत्व विभागमा काज सरुवा भएपछि पनि मलाई नेपालको प्राचीन इतिहास, संग्रहालय, मूर्ति, शिलालेखलगायत विषयमा गहिरो अध्ययन, अनुसन्धान गर्ने अवसर जुट्यो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: श्रावण २, २०७६