बाढीको वार्षिक योजना

- सुरेश किरण

यो वर्षको बाढी पनि राम्ररी नै आएछ । नेपालमा हरेक वर्ष कुनै विलम्ब नगरी ठीक समय आउने कुनै कुरा छ भने त्यो बाढी मात्रै हो । बाढी हरेक वर्ष आउँछ । १०–१२ हजार घर डुबाउँछ । सय–डेढ सय मानिसको ज्यान लिन्छ । केहीलाई बेपत्ता बनाउँछ । हजारौँलाई घरबारविहीन बनाउँछ अनि फर्कन्छ । मानौँ, यति काम सम्पन्न गर्नु बाढीको वार्षिक परियोजना नै हो ।

मानिस भन्छन्, हरेक वर्ष बाढी आएपछि प्रभावित हुने गरिब जनता मात्रै हुन् । अझ खासगरी तराईका गरिब जनता यसबाट प्रभावित भएका हुन्छन् । हामी बाढीबारे त्यति जानकार त छैनौँ । तर सत्य के हो भने बाढीबारे राखिने यो धारणाचाहिँ सही होइन । यो गलत धारणा हो । बाढीले धनी र गरिब कसैलाई छाड्दैन । यो सबैतिर एकनासले आइपुग्छ । तराईका गरिबको घरमा मात्र होइन, सहरका धनीको घरलाई पनि बाढीले प्रभावित बनाएको हुन्छ । विशेषगरी मन्त्रीज्यू, सचिवज्यू, सहसचिवज्यू, उपसचिवज्यू, अधिकृतज्यू, ठेकेदारज्यू, व्यापारीज्यूको घरलाई पनि बाढीले प्रभावित गरेको हुन्छ । त्यसैले बाढीले प्रभावित भएका जति पनि घरमा जस्तापाता, कम्बल, पाल, टेन्ट, चामल, दाल, चिनी, चाउचाउ, औषधी आदि सामान पुग्छन्, ठीक त्यही सामान उहाँ मन्त्रीज्यू, सचिवज्यू, सहसचिवज्यू, उपसचिवज्यू, अधिकृतज्यू आदि/इत्यादिज्यूहरुको घरमा पनि पुगेकै हुन्छ । बाढीले ‘प्रभावित’ नगरेको भए त्यसरी पुग्थ्यो ?

फरक कति मात्रै हो भने तराईका घरमा पानीको बाढी आउँछ मन्त्रीज्यू, सचिवज्यूहरुको घरमा यही कम्बल, चामल, दाल, चिनी, टेन्ट, चाउचाउको बाढी आउँछ । आखिर जेको भए पनि बाढी त बाढी नै हो नि, होइन र ?

 

 

प्रकाशित: श्रावण २, २०७६

ट्याग: परिहास