३९ मिनेट, ११० रुपैयाँ

  • हाम्रो नेपालमा

- मनोज पौडेल

बुद्धस्थल प्राचीन कपिलवस्तु । तिलौराकोटको माटो छुन पाउँदा निकै खुसी हुन्छन्, धार्मिक पर्यटक । बुद्धलाई शान्तिका लागि उत्प्रेरित गर्ने नेपाली भूमिमा विभिन्न देशबाट गरिब, विपन्नसमेत दैनिक छाक कटाएर अन्नपात र पैसा जोहो गरी आइपुग्छन् ।

संसारका लागि महत्त्वपूर्ण यस्तो श्रद्धा र आस्थालु ठाउँको संरक्षण भने छैन । राजा शुद्धोधनको राजप्रासाद तथा गौतम बुद्धले युवावस्था बिताएको स्थल तिलौराकोटमा कतिपय पर्यटक र उपासक/उपासिका प्रार्थनाका लागि आफैँ बोरा बोकेर जानुको विकल्प छैन ।

कपिलवस्तुमा रहेको निग्रोधारामको पनि उस्तै बिजोग छ । दर्शनका लागि घन्टौँ लाइन लाग्नुपर्छ । निग्रोधाराम, अर्थात् बुद्धले ज्ञान प्राप्त गरेपछि मातापितालाई पहिलो पटक भेटेको स्थल ।

नवलपरासीस्थित पुरातात्त्विक स्थल रामग्राम उस्तै उपेक्षित छ । रामग्राममा बुद्धको अस्तु धातु रहेको पुरातत्त्वविद् बताउँछन् । यी ठाउँ पुग्ने बाटोघाटो पनि भत्केर बेहाल छ । चारैतिर कोलाहल र धूवाँ–धूलोले आक्रान्त छ । ध्यान गर्ने, बस्ने वातावरण छैन ।

तिलौराकोटमा घुम्ने, रमाउने, ध्यान र प्रार्थना गर्ने पूर्वाधार अभावमा पर्यटक आउन नपाउँदै फर्किन्छन् । जापानीज ट्रस्ट इन फन्डको सहयोगमा बेलायतको दुह्राम विश्वविद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले गरेको सर्वेक्षणले तिलौराकोटमा पर्यटक औसत ३९ मिनेट बस्ने गरेको देखाएको छ । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वी द्वार तथा मध्यमा रहेको राजप्रासाद अवलोकन भ्रमण गरेर फर्कने गरेका छन् । एक पर्यटकले १ सय १० रुपैयाँ मात्र खर्चने गरेका छन् ।

पर्यटक आकर्षित गर्ने वातावरण नहुँदा लामो समय बस्ने अवस्था नभएको पुरातत्त्वविद् बताउँछन् । “प्रशस्त ऐतिहासिक र पुरातात्त्विक सम्पदा भईकन पनि पर्यटकलाई लोभ्याएर टिकाउनै सकेका छैनौँ । अवस्था निराशाजनक छ,” लुम्बिनी विकास कोषका प्रमुख पुरातत्त्व अधिकृत कृष्णबहादुर केसी भन्छन्, “अब सरोकारवाला मिलेर यहाँको बसाइँ लम्ब्याउनेतिर लाग्नुपर्छ ।”

अध्ययनअनुसार यहाँ आउने पर्यटकमध्ये ९० प्रतिशतले थोरै समय बिताउँछन् । १० प्रतिशत त आउनासाथ फर्किहाल्छन् । यहाँ श्रीलंका, म्यानमार, थाइल्यान्ड र भियतनामलगायत देशबाट सबैभन्दा बढी पर्यटक आउँछन् ।

लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीका अनुसार पर्यटकीय स्थलको पूर्वाधार विकास गरेर होटल सञ्चालनमा ल्याउन सके ३ दिनसम्म पर्यटक सजिलै रमाएर बिताउन सक्छन् । कला, संस्कृति, रहनसहन र चरा, वन्यजन्तु अवलोकन यहाँका आकर्षण हुन् ।

पर्यटकको बसाइ लम्ब्याउन सके यस क्षेत्रका नागरिक रोजगारीका लागि अन्त जानै नपर्ने तौलिहवा उद्योग वाणिज्य संघ अध्यक्ष गयाद्दिन कुर्मी बताउँछन् । पर्यटन व्यवसायी किरणचन्द्र पौडेल थप्छन्, “यहाँको पर्यटकीय सम्पदाबाट व्यवसायीले कुनै फाइदा लिन सकेका छैनन् ।

विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको तिलौराकोट आउने पर्यटक अन्य बुद्धस्थलमा कमै जान्छन् । अध्ययनअनुसार तिलौराकोट आएका ११ प्रतिशत मात्रै राजा शुद्धोधन र रानी मायादेवीको समाधिस्थल धमनिहवा स्तुप पुग्छन्, जुन तिलौराकोट दरबारबाट ७ सय मिटरको दूरीमा छ । ९ प्रतिशत मात्रै तिलौराकोटदेखि ७ सय मिटर पश्चिम–दक्षिणमा अवस्थित कपिलवस्तु संग्रहालय अवलोकन गर्न जाने गरेका छन् ।

राजा शुद्धोधनको राजप्रासाद तथा बुद्धले २९ वर्ष युवावस्था बिताएको स्थल तिलौराकोट, सम्राट अशोकद्वारा स्थापित निग्लिहवा र गोटिहवा यहाँ रहेका छन् । त्यस्तै बुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक राजधानी आउँदा आफ्ना मातापितालाई भेटेको निग्रोधाराम र हजारौँ शाक्यको सामूहिक वधस्थल सगरहवा पनि छ । त्यसैले तिलौराकोटलाई सयभन्दा बढी पुरातात्त्विक, ऐतिहासिक र प्राकृतिक मनोरम पर्यटकीय स्थल रहेको संग्रहालय मानिएको छ ।

पूर्वाधार अभावकै बीच पनि पवित्र ठाउँ भएकाले अनुयायी र उपासक–उपसिका यहाँ आउन छाडेका भने छैनन् । लुम्बिनीस्थित रोयल थाई विहार प्रमुख भन्ते फ्रा श्रीबोधीविड्स सुपोत कित्तीवन्नोका अनुसार धार्मिक पर्यटक यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ, पूर्वी र पश्चिमी द्वारमा बुद्धको बाल्यकालको जीवनलीला पाठ गर्छन् र शान्तिको अनुभूति गरी फर्कन्छन् ।

प्रकाशित: श्रावण ५, २०७६

×