बूढो भइएछ

- नेपाल संवाददाता

साउन पहिलो साता भर्खरका युवायुवतीले फेसबुकमा एकाएक बूढो भएका तस्बिर पोस्टिए । तन्नेरी भए पनि बूढाबूढी देखिने तस्बिर बनाइदिने फेसएप भाइरल बन्यो । जहाँ युवा बूढो एपमा रमाइरहेका छन्, त्यहीँ वरिष्ठ कलाकार हरिवंश आचार्यले बूढो हुन मन छैन भन्दै गीत गाएका छन् ।

आचार्यका शब्द र स्वरमा रहेको गीतमा बूढेसकाल कति अत्यासलाग्दो छ भन्ने चित्र छ । हास्य कलाकार आचार्यले बूढो मान्छेकै स्वरमा गीत गाएका छन् । २७ असारमा युट्युबमा सार्वजनिक गरिएको गीतमा प्रशंसकले समयसँगै ‘आफ्नो प्रिय कलाकार बूढो भएकामा चिन्ता व्यक्त गर्दै’ कमेन्ट गरेका छन् ।

बूढेसकाल यौवनकालजस्तो सुन्दर त होइन तर प्राकृतिक नियम टार्न नसकिने हुँदा खुसीसाथ अँगाल्नु नै जाती । उनले गीतमार्फत आफ्नै चिन्ता व्यक्त गरेका हुन् या अन्यको, त्यो भने जान्न बाँकी छ ।

 

 

प्रकाशित: श्रावण ५, २०७६

ट्याग: सहरमा