सधैँभरिको कहर

  • प्रदेश १

- माधव घिमिरे/विराटनगर

विराटनगर महानगरपालिका–१२ सिमराही टोलस्थित मुसहर बस्तीका मन्जकुमार ऋषिदेव परिवारसहित वर्षायाममा घर छाडेर अन्यत्र बस्छन् । उनीजस्तै हरेक वर्ष बर्खाभर अन्यत्र गएर बस्नुपर्ने बाध्यतामा मुसहर बस्तीका दर्जनौँ परिवार छन् । “वर्षा सुरु हुनासाथ केसलिया खोलाको बाढीले यहाँबाट खेदाइहाल्छ,” ऋषिदेवको दुखेसो छ, “१० वर्षयता हरेक वर्ष गाउँको स्कुलमै बास हुन्छ हाम्रो ।”

सिमराही, दरैया, मलंगवा र महतो टोलका सयौँ बासिन्दाको समस्या उस्तै छ । बाढीले घर डुबाउँछ । खानेकुरा, कपडा केही सद्दे रहँदैन । अनि नजिकका स्कुल र अरू सार्वजनिक स्थलमा गएर नबसी धर पाइँदैन । “वर्षा सकिएर पानी घटिसकेपछि मात्र पुरानो ठाउँ फर्कने गरेका छौँ,” ऋषिदेव भन्छन्, “त्यतिन्जेल अरूले गरेको सहयोगबाट गुजारा चलाउनुपर्छ ।”

बाढीमा उर्लेर आउने केसलिया खोलाको पानी बस्तीतिर नपस्ने गरी कुनै संरचना नबनाइएकाले स्थानीयले दुःख पाउने गरेका छन् । वडाध्यक्ष हिरालाल कामत केसलियामा बाँध बाँध्न वडाको क्षमताले नभ्याउने भएकाले महानगरपालिकालाई आग्रह गरेको बताउँछन् । “खोलामा बाँध राख्ने वा विस्थापित हुनेलाई सुरक्षित स्थानमा पक्की घर बनाएर स्थानान्तरण गर्नुपर्छ,” कामत भन्छन्, “यसो नभए हरेक वर्ष उही समस्याले पिरोलिनुपर्ने अवस्था छ ।”

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका सधैँ वर्षामा डुबानमा पर्दै आएको छ । यसपालि नगरका हरेक वडा डुबानमा परे । सयौँ परिवार विस्थापित भए । नगरभित्रका भित्री सडकको पानीले निकास नपाउँदा बढी समस्या देखियो । महानगरका इन्जिनियर भरत न्यौपाने ढल र निकास निर्माणको काम नसकिँदा समस्या भएको औँल्याउँछन् । क्षेत्रीय सहरी विकास योजनाअन्तर्गतको विकास निर्माणका काम अहिलेसम्म ७० प्रतिशत सकिएको उनको भनाइ छ ।

झापाको कन्काई नदी आसपासका बासिन्दाको पनि समस्या उही हो । वर्षा हुने क्रम बढेर नदी उर्लन थालेपछि गाउँबस्तीतिर भँगालो छिर्छ । अनि आसपासका गौरीगन्ज, होकलबारीजस्ता गाउँका सयौँ बासिन्दा अन्यत्र नगई सुखै छैन । केही स्थानमा बनाइएका बाँधले समेत नथाम्ने गरी भलबाढी गाउँ हानिएपछि ज्यान जोगाउन गाउँले सुरक्षित स्थान खोज्दै भौँतारिने गरेका छन् ।

यसैपालि पनि सयौँ बासिन्दा अन्यत्र गएर बसे । “घर डुब्न थालेपछि अर्थोक सामानको वास्ता नगरी ज्यान जोगाउन यहाँबाट भाग्नैपर्छ,” होकलबारीकी चन्द्रकुमारी राई भन्छिन्, “बाँध फुटाएर खोला गाउँ छिरेपछि कसरी बचिन्छ ?” यो अवस्था स्थानीय राई, लिम्बू र सीमान्तकृत सन्थाल आदि समुदायले हरेक वर्ष बेहोर्दै आएका छन् । झापाका कन्काई, बिरिङ, मेचीलगायत खोलामा आउने बाढीले आसपासका क्षेत्र प्रभावित हुने गरेका छन् । सुनसरी र मोरङमा लोहन्द्रा, बक्राहा, सिंगिया, बूढी खोला, सुनसरी खोलामा आउने बाढी गाउँबस्ती पसेर विनास हुने गरेको छ ।

तराई क्षेत्रमा देखिने मुख्य समस्या नदी खोलानजिकै बगरमा अनि खोलाकै सतह बराबरीमा भएका बस्ती हुने गरेका छन् । अवैज्ञानिक भूउपयोग पनि बाढीको मुख्य कारण रहेको विज्ञहरूको भनाइ छ । पूर्वमा हरेक वर्ष संकटका रूपमा देखापर्ने कोसी नदीको बाढी हो । वर्षाभर यो नदी आसपासका सुनसरी, सप्तरी र उदयपुरका गाउँबस्ती त्रासमय बन्छन् ।

२ भदौ ०६२ मा कोसी ब्यारेजभन्दा १३ किलोमिटर उत्तर सुनसरीको पश्चिम कुसाहामा तटबन्ध भत्किएर कोसी पूर्व हानिँदा नेपालका ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका थिए भने भारत बिहारका ३ लाखभन्दा बढी । त्यसबेला विस्थापित भएका अन्यत्र बसिरहेका छन् । ठूलो क्षेत्रफलको खेतीयोग्य जग्गा बगरमा परिणत भएको छ ।

कोसीमा पानीको बहाव उतारचढाव हुँदा पूर्व पश्चिम राजमार्गलाई जोड्ने कोसी ब्यारेज जोखिममा पर्ने गरेको छ । कोसी सम्झौताअनुसार ब्यारेजको रेखदेख र मर्मत  जिम्मा भारत सरकारको छ । भारतीय भूमिमा सिँचाइ गर्ने उद्देश्यले बनाइएको कोसी ब्यारेजका ढोका खोल्ने र बन्द गर्ने अधिकार भारत, बिहार राज्यको जल संशाधन विभागको छ । अत्यधिक पानीको बहाव हुँदा पनि समयमा ब्यारेजका ढोका नखोलिदिँदा नेपाली गाउँबस्ती डुबानमा पर्ने गरेका छन् । ब्यारेजमा पानी निकासका लागि ५६ वटा ढोका छन् ।

प्रकाशित: श्रावण ५, २०७६