रणनीतिक पठन
अमेरिकी गृहयुद्ध र त्यसपछिको नयाँ युगलाई केन्द्रमा राखिएको उपन्यास गन विथ द विन्डले मलाई आकर्षित गरिरहन्छ ।
अमेरिकी गृहयुद्ध र त्यसपछिको नयाँ युगलाई केन्द्रमा राखिएको उपन्यास गन विथ द विन्डले मलाई आकर्षित गरिरहन्छ । मार्गरेट मिचेलको जीवनकालमा प्रकाशित एक मात्रै यो उपन्यासलाई नेपालका युद्ध, व्यवस्था परिवर्तन र त्यसपछिका बेथितिसँग जोडेर हेर्न सकिन्छ । गणतान्क्रिक संविधान निर्माण र दास–मुक्तिको प्रसंगमा अमेरिकामा त्रुटि भएकै थियो । भनियो, हरेक व्यक्ति जन्मजात समान हुन्छ । तर संविधानमा कुनै विशेष व्यवस्था नगरिएका कारण दासहरुले पछि राज्यसत्तासँग लड्नुपर्यो, जसले गृहयुद्धको रुप लियो ।
एटलान्टा जर्जियामा एक दक्षिण अमेरिकी परिवार कपास खेतीमा रमाएर बसेको थियो । तर दासत्वविरुद्ध गृहयुद्ध छेडिएपछि उत्तरले गरेको आक्रमणमा त्यो परिवार आहत हुन्छ । जसको अहं, विचारधारा र सिद्धान्तको खातिर लडेको भए पनि अन्ततोगत्वा युद्धले तहसनहस नै पार्छ भन्ने निचोडलाई मनोहारी ढंगले वर्णन गरिएको छ । रेट बटलर र स्कारलेट ओ’हारालाई लेखकले सम्झनायोग्य पात्रता दिएकी छन् । पात्रहरुका गतिशीलता, प्रेम, युद्ध, स्वार्थीपनले उपन्यासलाई जीवन्त बनाएका छन् । युद्धको चपेटाबीच मानिस प्रेमलाई एकातिर राखेर अर्कैसँग बिहे गर्नुपर्ने बाध्यतालाई रोचक शैलीमा पस्किएकी छन् मार्गरेटले । मुलुकले भोगेको द्वन्द्व र आफ्नै जीवनका अनेक उतारचढावपछि स्कारलेट घुमिफिरी आफ्नो मातृभमि फर्किएको दृश्य मर्मस्पर्शी लाग्छ ।
अमेरिकी सेनाका जर्नेल प्याटन जथाभावी बोलेर विवादमा मुछिए पनि लडाइँमा निकै प्रभावी मानिन्थे । स्पेनी युद्ध, प्रथमदेखि द्वितीय विश्वयुद्धसम्म लडेका प्याटन ठूला–ठूला चुनौतीसँग लड्न सक्ने, दृढ संकल्पका पर्याय मानिन्थे भने दुस्मनका लागि भयभीत र सम्मानित दुवै ठानिन्थे । अमेरिका एकीकरण क्रममा पश्चिमतिर विस्तार गर्दा रेड इन्डियनसँगको लडाइँमा कुशलतापूर्वक लड्ने उनै प्याटन थिए । कुलीन घरानाबाट आएका तिनै प्याटनको व्यक्तित्वको सांगोपांगो बुझ्नका लागि ल्याडिसलेस फरागोलिखित पुस्तक हो, प्याटनः ओर्डियल एन्ड ट्रायम्फ । प्याटन बेलाबेला आफ्नै पल्टनका जोडालाई अपमानित गरेका कारण विवादमा पर्थे । व्यावहारिक कार्यकुशलता र नेतृत्व क्षमताका कारण उनी अरुभन्दा ज्यादा आँटिला मानिन्थे । नेतृत्वमा रहेका समकालीनहरु सैद्धान्तिक कोणबाट बढी नै सोचविचार गर्थे भने विशुद्ध सैनिकका रुपमा आफूलाई मैदानमा तुरुन्तै उतार्थे ।
दोस्रो विश्वयुद्धमा जर्नेल मोन्गोमेरी र प्याटनबीच एक प्रकारको प्रतिद्वन्द्विता थियो । युरोप आक्रमणताका अमेरिकासँग प्रशस्त स्रोत–साधन थियो भने बेलायतको रित्तिसकेको थियो । उच्च आक्रमणका लागि चाहिने तेल–ट्यांकजस्ता स्रोत–साधनमा प्याटनले भन्दा मोन्गोमेरीले बढी ग्राह्यता पाएका थिए । जर्मनले ठूलो प्रत्याक्रमण गर्दा आफ्नो सेना दक्षिणमा भए पनि नब्बे डिग्री कोणमा घुमाउन प्याटन सफल भए । र, लाखौँ सेनालाई फेरि लडाइँमा लगाए । यो चानचुने योजना र आँटले सम्भव थिएन । अवलोकन, अध्ययन र अनुभवबाट प्राप्त अन्तर्दृष्टि नै उनको ताकत थियो । कतिपयले उनको सनकीपनमाथि विश्वास गरेका थिएनन् । थाहै छ, लडाइँ गर्नु नपरे सबैभन्दा उत्तम । तर युद्ध–मैदानमा होमिसकेपछि बोली र गोली मात्रै चल्छन्, सोच र सम्झौताका लागि कुनै स्थान बाँकी हुँदैन । सम्झौता सकेपछि नै बन्दुक चल्ने हो । लडिरहनु सेनाको पेसागत कर्तव्य हो । यही कर्तव्यपथमा प्याटन खरो उत्रिए । चर्चिलले समेत प्रशंसा गरेका प्याटन दोस्रो विश्वयुद्धपछि अवकाश जीवन बिताइरहेका बेला गाडी दुर्घटनाका कारण बिते ।
‘नाइन/इलाभेन’ मा विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवन ढलेपछि सुरक्षा–रणनीतिमा ठूलो तरंग ल्यायो र विश्व नै ध्रुवीकृत भयो । कमजोर र खराब रणनीतिका कारण आतंकवादी तह लाउन नसकेको आरोप अमेरिकाले खेप्नुपर्यो । बेलायती इतिहासकार हिउ स्ट्र्याचन भन्छन्, ‘रणनीति निर्माणको प्रक्रिया उस्तै हुन्छ । तर जब युद्धमा होमिन्छ, तब युद्धको आकार–प्रकार र प्रकृतिअनुसार रणनीति र परिणाम फरक पर्छ ।’ उनले युद्धनीतिबारे आफ्ना धारणा द डिरेक्सन अफ वारमा राखेका छन् ।
एक थरी भन्छन्, रणनीति नित्य गतिशील हुने भएकाले परिस्थितिजन्य परिवर्तन हुन्छ । अर्का थरी भन्छन्, भूगोल, प्रक्रिया, जनता, संस्कृतिजस्ता आधारभूत अवयवका कारण रणनीति परिवर्तन हुँदैन । दुवैका धारणा तर्कसंगत छन् । आवश्यकताअनुसार युद्धका स्वरुप बदल्नुपर्ने पाटोलाई पनि नजरअन्दाज गर्न सकिँदैन । स्पेनमा नेपोलियनले पनि छापामार युद्ध लड्नु परेको इतिहास साक्षी छ । राजनीतिक, आर्थिक, सैनिकजस्ता राज्यका तफ्वबीचको समन्यवबाट मात्रै महा–रणनीति बन्न सम्भव हुन्छ । युद्धका अनेक प्रकार हुन्छन्– छापामारदेखि ट्यांक–तोप हुँदै परमाणु युद्धसम्म । यी युद्धका नियम र प्रकृतिबमोजिम रणनीति परिमार्जन हुन्छन् । त्यसका लागि सेना र नागरिकबीच समन्वय हुनु जरुरी छ । सबभन्दा पहिले युद्धको प्रकृति बुझेर रणनीतिलाई ताजगी दिनुपर्नेमा जोड दिन्छन्, स्ट्र्याचन । उनी ऐतिहासिक परिप्रेक्ष्यसँग जोड्दै इराक, इरान, अफगानिस्तानका युद्धदेखि अलकायदाजस्ता दस्ताको समेत विश्लेषण गर्छन् ।
युद्धले रणनीति माग्छ कि रणनीतिले युद्ध हाँक्छ भन्ने पनि बहस छ । तर लडाइँको मैदानमा गइसकेपछि कतिपय रणनीति अनिश्चिततामा फसिदिन्छन् । राम्रो योद्धाले परिस्थिति मूल्यांकन गरेर रणनीतिलाई आफूअनुकूल ढाल्छ, त्यसमा लचक हुनुपर्छ । तर आधारभूत रणनीति हुनैपर्नेमा स्ट्र्याचन जोड दिन्छन् ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...