सफलताको मुल्य

- गोकर्ण गौतम

‘साहूले पासपोर्ट राखेको ६ वर्ष भयो । आउन मिल्दैन भन्छ, जहिले पनि...’ फिल्म बुलबुलकी मुख्य पात्र रणकला (स्वस्तिमा खड्का) ले घरिघरि बोल्ने संवाद हो, यो । उनका पति साउदी अरब भासिएका हुन्छन् । जसरी रणकलाका पति अरबमा अलपत्र परेका हुन्छन्, त्यसैगरी कुनै समय बुलबुलका लेखक/निर्देशक विनोद पौडेलको अरबमा विचल्ली भएको थियो । १८ वर्षमा अरब पुगेका थिए, साहूले पासपोर्ट खोसिदियो । त्यसपछि न तलब पाए, न त नेपाल फर्कन । सकसै सकसमा बित्यो पाँच वर्ष ।

“त्यो पात्र लेख्दा मैले कहीँ न कहीँ आफैँलाई लेखेको थिएँ,” विनोद भन्छन् । त्यही फिल्मले विनोदलाई उत्कृष्ट निर्देशकको राष्ट्रिय अवार्ड दिलायो । अघिल्लो वर्ष फिल्म चलेबाटै उनलाई राष्ट्रिय अवार्डको निर्विवाद हकदार मानिएको थियो । अरबको बन्धनबाट यहाँसम्मको यात्रा आफैँमा छलाङ हो, जसका लागि विनोदले हन्डरका यावत् पहाड छिचोल्नुपरेको छ ।

विनोदका बुबाआमा रोजगारीका लागि कपिलवस्तुबाट भारत गुजरात पुगेका थिए । विनोद त्यहीँ जन्मिए । ७ कक्षा पढेर कपिलवस्तु फर्कंदा उनमा फिल्मको भूत सवार भइसकेको थियो । अमिताभ बच्चनको अभिनय र एक्सन फिल्मका पूरा फ्यान । साथीहरु भेला पारेर हेर्दै नहेरेका र बन्दै नबनेका फिल्मका मनगढन्ते कथा सुनाउन सिपालु थिए उनी । जीवनमा एउटै लक्ष्य थियो, जसरीतसरी ‘हिरो’ हुने । नेपाल आएपछि पनि फिल्म–मोह ज्यूँका त्यूँ थियो । एसएलसी सकेपछि साइन्स पढे ।

बुबाको सपना थियो, छोरालाई डाक्टर बनाउने । तर प्लस टु नसकिँदै विनोदका बुबा बिते । बुबाको सपना अधूरो भयो, उनको काँधमा जिम्मेवारीको बोझ थपियो । घरको जेठो सन्तान न परे । घर खर्च चलाउनै धौधौ भएपछि १६ वर्षमै चिनी उद्योगमा श्रम बेच्न थाले । ड्युटी थियो, पानी र चिया ‘सर्भ’ गर्ने, सरसफाइ  र भाडा माँझ्ने ।

महिनाभरि खटेर काम गर्‍यो, तलब आउँथ्यो, १८ सय । भाइ–बहिनीलाई पढाउनै नपुग्ने । तिनताका साउदी अरब जाने लहर चलेको थियो । विनोद पनि गरिबीको उकुसमुकुसबाट उम्कन अरबको राप सहन राजी भए । ऋणपान गरेर उता पुगे तर एकपछि अर्को परिबन्दमा फस्दै गए । कम्पनी जाली परेछ, पासपोर्ट हडप्यो, काममा लाद्यो तर तलब दिएन । चुइँक्क बोल्यो भने ज्यानै जाला भन्ने भय । परिवारसँग फोनमा कुराकानी गर्न पनि मुस्किल हुन्थ्यो । निरीह भएर काम गर्नुको विकल्प थिएन । ज्यादतीपूर्ण पल सम्झँदै विनोद भन्छन्, “नेपाल फर्कन पाइएला भन्ने आशै थिएन । अरबमा सड्छुजस्तो लाग्थ्यो ।” पाँच वर्ष कालकोठरीमा बिताएपछि उनी बल्ल स्वदेश फर्कन पाए ।

नेपाल फर्कंदा विनोदसँग अब जे गर्छु, नेपालमै गर्छु, रगत–पसिना बगाउन विदेश जान्नँ भन्ने संकल्पबाहेक अर्थोक थिएन । तर यहाँ के गर्ने, अन्योल थियो । मनको कुनामा अझै हिरो बन्ने चाह जीवित थियो ।

एक दिन कलेज अफ् फिल्म स्ट्डिजको विज्ञापन देखे । ढुंगो खोज्दा देवता मिलेजस्तो भयो । कलेजमा भर्ना भए । विनोद सम्झन्छन्, “शिक्षक गतिला थिएनन्, क्यामेरासमेत थिएन तर साथीमाझ फिल्मी माहोल थियो । त्यसबाटै सिक्न खोजियो ।” अभिनय मुख्य विषय लिएर स्नातक सके । यो तीन वर्षले उनलाई हिरो होइन, अभिनेता बन्न प्रेरित गर्‍यो ।

त्यतिबेला फिल्म पढेको भन्नासाथ नाक खुम्च्याउँथे, फिल्म उद्योगका स्थापित हस्तीहरु । फिल्म पनि पढ्ने कुरा हो र भनेर खिल्ली उडाइन्थ्यो । यो सोचको सिकार विनोद पनि भए, पढाइ सकियो तर फिल्ममा काम पाएनन् । अभिनय पढे पनि उनी पटकथा लेख्थे । उनकै साथी रामराजा दाहालका लागि हे युवा फिल्म लेखिदिए । मुख्य चरित्रमा विनोद पनि थिए । जसोतसो खिचियो तर फिल्म चले–नचलेको पत्तै भएन ।

अर्को फिल्म टार्गेटको हालत पनि भिन्न रहेन । भन्छन्, “न काम पाएको थिएँ, न त पाएको काम चित्त बुझिरहेको थियो । त्यसैले ममा फ्रस्टेसन सुरु भइसकेको थियो ।” रियालिटी सो सुपर एक्टिङ कम्पिटिसनबाट नाम कमाए तर काम पाएनन् ।

यसरी तड्पिरहेका बेला नारायण पुरीको पीडा फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भए । शुभमुहूर्त पनि भयो । तर पीडाको पीडा के भइदियो भने त्यो बीचमै तुहियो । सिग्नेचर नामक अर्को फिल्मले पनि पूर्णता पाएन । ठक्करै–ठक्कर । खेल्न नपाएपछि निर्देशन गर्न तम्सिए, दुई महिना आफैँ कोठामा थुनिएर पटकथा लेखे । तर निर्माताको हस्तक्षेप सहन नसकेपछि त्यत्तिकै तुहियो ।

निराशाले सीमा नाघिसकेको थियो । यहाँ माखो नमर्ने, बरु तनाव थपिने देखेपछि बेलायत गए, एमबीए पढ्न । बेलायत बसाइले कामप्रतिको इमानदारी सिकायो, परिपक्व बनायो । भन्छन्, “विभिन्न संस्कृति र मनोदशाका मान्छेसँग संगत गर्ने मौका मिल्यो । त्यसैले फ्रस्टेड भएर बेलायत गए पनि उपयोगी भयो ।”

‘अन्तर्राष्ट्रिय बजार’ मा स्नातकोत्तर गरेपछि स्वदेश फर्किए । भीएस निकेतन र नासा कलेजमा पढाउन थाले । फिल्मसँग दूरी बढ्दै थियो, त्यही बेला एकसाथ दुई मौका जुर्‍यो । एउटा, उनी आफैँ पढेको ओस्कार इन्टरनेसनल कलेजको प्रिन्सिपल हुने । दोस्रो, साँघुरोको पटकथा लेख्ने । दुवै काममा उनी सफल भए ।

त्यसो त उनले निर्देशन गरेको सर्ट फिल्म अवेकन आइज सन् २००८ मै कान्स फेस्टिभलको सर्ट कर्नरमा चयन भएको थियो । साँघुरोले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाएसँगै विनोदलाई पटकथाका अफर आउन थाले ।

खासमा उनले बुलबुल आफ्ना निम्ति भन्दा पनि राजेन्द्र शलभका लागि लेखेका थिए । शलभसँग कुरा नमिलेपछि जोयश पाण्डे निर्देशन गर्न लागिपरे । जोयशले पनि नगरेपछि विनोद आफैँले निर्देशनको कमान्ड सम्हालेका थिए । भन्छन्, “बुलबुल बनाउनुअघि एउटै प्रण गरेको थिएँ, बजारबाट निर्देशित हुँदै हुन्नँ, मेरो सोचलाई इमानदारीपूर्वक दृश्यमा भन्ने प्रयास गर्छु ।” यही इमानको प्रतिफल हुनुपर्छ, बुलबुल अब्बल दरियो । सार्क फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ । राष्ट्रिय अवार्ड जितेपछि जिम्मेवारी थपिएको आभास भएको छ, विनोदलाई ।

यतिबेला उनी भुटानी शरणार्थीमाथि एक्रोन इन्टरनेसनल नामक फिल्म बनाउने गृहकार्यमा जुटेका छन् । यसका निर्माता अमेरिकी हुन्, छायाँकन पनि अमेरिकाको एक्रोन सहरमा हुनेछ । यस फिल्मबाट अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दरिलो उपस्थिति जनाउने उद्देश्य लिएर खटिरहेका छन् ।

“अरु धेरै गर्न बाँकी छ । कम्तीमा फिल्ममा लाग्दा निम्तिएका सुरुआती फ्रस्टेसन सकिएको छ,” विनोद आत्मविश्वासी सुनिए, “अब सुरु हुँदै छ, मेरो सिनेम्याटिक यात्रा ।”

प्रकाशित: श्रावण ७, २०७६