फोहोरी कार्यालय !

- कलेन्द्र सेजुवाल

नयाँ घर, नयाँ कार्यालय । वीरेन्द्रनगरमा भर्खरै खुलेको कर्णाली प्रदेशको यातायात व्यवस्था सेवा कार्यालय बाहिरबाट हेर्दा आकर्षक देखिन्छ । आर्थिक वर्षको अन्तिम दिन मोटरसाइकलको कर बुझाउन गएको मलाई कार्यालयभित्रको दृश्य देखेर त्यो आकर्षण मिथ्या लाग्यो ।

सेवाग्राहीसँगै म पनि आधा घन्टासम्म लाइन लागेँ । लाइनमा उभिँदाको सास्तीभन्दा बिलिङ गर्न कम्प्युटरमा बसेका कर्मचारीको फोहोरी मुख देखेर उकुसमुकुसै भयो । ती कर्मचारीको मुखभरि गुट्खा थियो । त्यसमाथि गुट्खा चपाउँदा ओठै लतपतिएको । उनी प्याच्च–प्याच्च कुर्सी नजिकको बाल्टीमा थुकिरहेका थिए । लाइनमा लागेका मान्छे भने घिनाउँदै मुख छोपिरहेका थिए ।

त्यत्तिकैमा मलाई लाइनमा देखेर यातायात व्यवसायी रमेश सापकोटाले भने, “तपार्इं पनि लाइनमा ? भित्र गएर गरे भइहाल्थ्यो नि !” मलाई मनको उकुसमुकुस पोख्न सहज बनाइदिए, सापकोटाले । कोठाभित्र बसेका ती कर्मचारीले सुन्ने गरी भनेँ, “लाइनमा बसेर काम गर्नु त रमाइलै हुन्छ, बरु भित्र बसेका सरले गुट्खा खाएको हेर्दा बान्ता होलाजस्तो भइसक्यो ।”

ती कर्मचारीले पुलुक्क मतिर हेरे । फेरि आफ्नै सुरमा गुट्खा चपाउन थाले । एक मनले सोचेँ, कार्यालय प्रमुखलाई रिपोर्ट गरिदिऊँ कि ? तर त्यतातिर लागिएन । मनमनै सोचेँ, सेवाग्राहीको भीडभाड हुने सार्वजनिक स्थलमा धूमपान र मद्यपान मात्र होइन, पानपराग, गुट्खाजस्ता वस्तुको प्रयोग निषेध कहिले गर्ने ? कसले गर्ने ?

संसद्मा सौतेनी व्यवहार

संसद्को बैठक कक्षमा गइसकेपछि संसदीय मर्यादा तथा नियमको सम्मान गर्नु सबैको कर्तव्य र दायित्व हो । कर्णाली प्रदेशसभा भवनमा भने दर्शक र सञ्चारकर्मीलाई मर्यादा कायम गर्ने नाममा नेल हालेजस्तो व्यवहार हुन्छ । बोल्न त कुरै छाडौँ, ठूलो स्वरमा श्वास फेर्दासमेत मर्यादापालकले कर्के नजर लगाइहाल्छन् । कुर्सीमा बस्दाबस्दा थाकेर शरीर चलमलाउन थाल्यो भने त सीधै पाखुरा समातेर बाहिर पठाउन खोज्छन् । संसद्को बैठक कक्षलाई शान्त र मर्यादित बनाउने नाममा यस्तो कडाइ गरिनु अस्वाभाविक होइन । तर दर्शकको रुपमा गएका सर्वसाधारण र समाचार संकलक  पत्रकारलाई त्यतिबेला आश्चर्य लाग्छ, जब अघिल्लो लबीमा बसेका सांसदको अशोभनीय हर्कत देखिन्छ ।

बैठक कक्ष नै गुन्जिने गरी हँसिमजाक गर्नु, मोबाइलमा ठूलै स्वरमा कुरा गर्नु, रोस्ट्रम नै छेकिने गरी ओहोरदोहोर गर्नु त सामान्य नै भयो । कतिपय सांसद रोस्ट्रममै गएर असंसदीय भाषासमेत बोल्छन् । यही मेसोमा एक पटक संसद्को सुरक्षा कमान्ड सम्हालेका प्रहरी निरीक्षकलाई मैले सोधेँ, “हामीलाई मर्यादाको नेल लगाउने, सांसदलाई भने छूट ?” उनले निरीह स्वरमा भने, “माननीयज्यूलाई त हामीले केही गर्नै मिल्दैन सर !”

अनि मलाई लाग्यो, संसद्को मर्यादा कायम गर्ने जिम्मेवारी सांसदको पनि होइन र ?’ मर्यादारुपी दोहोरो प्रावधानबारे सभामुखले कहिले सोच्लान् ? पत्रकार र दर्शकमाथि गरिने सौतेनी व्यवहार कम होला त ?

‘अलि (कडा) लेख्नुपर्‍यो !’

नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कँडेल सामान्य जीवनशैली अपनाउने र सहजै उपलब्ध हुने नेतामा पर्छन् । केही समयअघि एकाबिहानै उनीसँग वीरेन्द्रनगर नयाँसडकस्थित रिजाल चियापसलमा भेट भयो । हात मिलाउनेबित्तिकै पुरानै शैलीमा उनले भनिहाले, “हुँ, तपाईं (कान्तिपुर) ले सरकारका बारे अलि (कडा) लेख्नुपर्‍यो !” उनको आशय स्पष्ट थियो, सरकारको विरोधमा लेखियोस् ।

मैले प्रदेश सरकारले गरेका राम्रा–नराम्रा सबै कामबारे कान्तिपुरले निरन्तर लेखिरहेको तथ्यसहित बताएँ । पत्रिकामा आएका समाचारकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निर्णय र कामकारबाहीमाथि छानबिन थालेको पनि सुनाएँ । उनी भने सन्तुष्ट हुन सकेनन् । मलाई भने सत्तापक्षकै वरिष्ठ नेताले आफ्नै सरकारका बारे सडकमै विरोधमा लेख्न पत्रकारलाई ‘आग्रह’गर्दा अचम्म लाग्यो ।

हुन त कर्णाली प्रदेशसभामा प्रतिपक्षीभन्दा सत्तापक्ष सरकारको विरोधमा खरो उत्रिने गरेको छ । संसद्को पहिलो बैठकमा तत्कालीन एमाले संसदीय दलको नेताको हैसियतले बोल्दाबाहेक कँडेलका त्यसपछिका हरेक भाषणमा सरकारको कडा आलोचना वा सरकारप्रति कटाक्ष हुने गरेको छ । सत्तापक्ष होस् वा प्रतिपक्षी, नराम्रा कामको विरोध गर्नु अन्यथा होइन । रचनात्मक आलोचनाले सरकारलाई पनि सही बाटोमा हिँड्न सहयोग गर्छ । तर सत्तापक्षका नेताले नै सदनमा मात्र होइन, सडकमा समेत सरकारको विरोध गर्नुको अर्थ भने बुझिनसक्नु छ ।

प्रकाशित: श्रावण ७, २०७६