फेसबुक–ट्वीटर छाड्दा

- जीवन क्षत्री

डिसेम्बर २०१६ मा सामाजिक सन्जाल छाड्दा लागेको थियो, ट्वीटर र फेसबुकबाट यो मेरो अस्थायी बहिर्गमन हुनेछ । दैनिक जीवनको अभिन्न अंग बनिसकेका ती माध्यम सधैँका लागि छाड्न सकिन्छ भन्नेमा म विश्वस्त थिइनँ । त्यसैले त्यहाँबाट बाहिरिनुका कारणबारे मैले आफ्नो लेखको शीर्षक ‘मैले (अ)सामाजिक सन्जाल किन छाडिनँ ?’ भन्ने राखेको थिएँ । लगत्तै पोखरामा भएको नेपाल साहित्य महोत्सवमा पनि म सामाजिक सन्जाल छाड्ने आफ्नो निर्णयप्रति धेरै नै रक्षात्मक थिएँ । सामाजिक सन्जालका नकरात्मक पक्षबाट उदेक लागे पनि तिनलाई नचलाउँदा केही आवश्यक सूचना, प्रसंग, सन्दर्भ वा ज्ञान छुटिहाल्छ कि भन्ने भय मेरो मनमा थियो ।

सामाजिक सन्जालबाट बाहिरिएपछि दिन, साता, महिना र वर्ष बिते । मलाई पहिले चिन्तापूर्वक अपेक्षा गरेझैँ केही छुटेको वा पछि परेको भावले कहिल्यै तर्साएन । नयाँ जीवनशैलीमा अभ्यस्त भएँ । फरक विषयमा आउने छिटफुट प्रसंगबाहेक दुई वर्षसम्म यो विषयमा मैले कतै केही लेखिनँ ।

ती सन्जालबाहिर अढाई वर्ष बितेपछि यसपल्ट यो विषयमा प्रत्यक्ष छलफलको मेसो जुर्‍यो । यसबीच हाम्रो पारिवारिक प्रयासमा विविध विषयमा प्रत्यक्ष छलफल र दोहोरो अन्तर्क्रिया हुने गरी डबली बुक क्याफे स्थापित भइसकेको थियो । भरतपुरको डबली र पोखराको उस्तै थलो रिडर्स कर्नरमा गरी झन्डै सय जनासित मैले यस विषयमा अनुभव सुनाउने र सिकेका कुरा बताउने मौका पाएँ । गजब त के भने दर्शकदीर्घाबाट जति  प्रतिक्रिया आए, तीमध्ये कुनैले पनि मैले औँल्याएका सामाजिक सन्जाल–संस्कृतिका विकृति र समस्याको प्रतिवाद गरेनन् ।

बरु धेरैमा मैले यस्तो भावचाहिँ बलियो पाएँ सामाजिक सन्जालमा समस्या बग्रेल्ती छन् । अवस्था बिग्रँदो पनि छ । अतिवाद बढ्दो छ । ‘ट्रोलिङ’ अकासिँदो छ तर विविधतापूर्ण सूचना सुविधापूर्वक एक ठाउँमा ल्याउने र धेरै मानिसबीच सम्पर्क सम्भव तुल्याउने गुनका कारण ती माध्यम छाडिहाल्न सकिँदैन । निन्दा असह्य भयो भने मान्छे वा ‘नोटिफिकेसन’ ‘ ब्लक’ गर्ने, बसिनसक्नु भयो भने केही दिन त्यहाँबाट बाहिरिने । जो पायो उसैसँग बहसमा नभिड्ने तर आफ्ना कुरा बलियोसँग राख्न पनि नछाड्ने ।

साथीहरूको यो कुराले मलाई सामाजिक सन्जाल छाड्ने बेलाको आफ्नो चिन्ता फेरि सम्झायो, केही कुरा छुटिहाल्छ कि ! पछि परिहालिन्छ कि !

जहाँ समस्या, त्यही समाधान । सन्जालबाट बाहिरिनासाथ मेरो दैनिकीमा जुन विशाल रिक्तता खडा भयो, त्यसलाई भर्न मैले सक्रिय रणनीति अँगालेँ । उसै फनि स्क्रिन र माइत्रोस्कोपको दोहोरो मारमा परेका मेरा आँखा सुक्खापनको समस्याले जर्जर भएका थिए । त्यसैले ज्ञान प्राप्तिको वैकल्पिक इन्द्रियका रूपमा मैले कानलाई अघि सारेँ । सुनाइको समय अधिकतम गर्न खासगरी कामबाट घर फर्कंदा म सार्वजनिक सवारी साधन छाडेर पैदल हिँड्न थालेँ । अरू बेला पनि जोगाड गर्न सकिने एकाध घन्टा मिलाएर दैनिक कम्तीमा पनि तीन घन्टा मैले विविध सामग्री सुन्न सक्ने भएँ ।

इतिहासमा यसै पनि मेरो चाख छ । त्यसैले पश्चिमा सभ्यताको इतिहाससम्बन्धी वृक्तचित्रबाट मेरो सुन्ने यात्रा सुरु गरेँ । जिसस क्राइस्टको जीवन र इसाई धर्मको उद्गमसम्बन्धी अमेरिकी सार्वजनिक प्रसारण संस्था पीबीएसले बनाएको वृत्तचित्रले मेरो श्रवण–संसारको उद्घाटन गर्‍यो । रोमन साम्राज्यको उत्थान र पतन, इस्लाम धर्मको उदय, मध्ययुगीन धर्मयुद्ध, प्रोटेस्टेन्ट सुधार अभियान, पुनर्जागरण र प्रबोधन युग, औद्योगिक क्रान्ति, फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्तिबारे अनेक वृत्तचित्र मैले शृंखलाबद्ध सुनेँ । त्यसपछि पछाडि फर्केर बुद्धको जीवन र बौद्धधर्मको उदयबारे सुनेँ । अनि चीन, भारत, पाकिस्तान र बंगलादेशबारे ऐतिहासिक वृत्तचित्र खोजी–खोजी सुनेँ ।

 करिब ६ महिनामा मेरो मानसपटलमा विश्व इतिहास एउटा शृंखलाका रूपमा हाजिर थियो जबकि त्यसअगाडि अनेक ऐतिहासिक घटनाक्रम अलगअलग बिन्दुजस्ता लाग्थे । यसैबीच हेनरिक इब्सेन र ओस्कार वाइल्डका नाटकको दृश्यलाई बिर्साउने श्रव्य संस्करण अडियोबुकमा सुन्ने लत लागिसकेको थियो । इब्सेनको द डल्स हाउस र वाइल्डको अन आइडियल हस्बेन्ड नाटक त धेरै पल्ट सुनेँ । हरेकपल्ट सुन्दा लेखकले लुकाइराखेको रहस्यको एउटा नयाँ पत्र खुलेजस्तो हुने । यसबाहेक समसामयिक र भविष्यमुखी विषयमा विभिन्न विज्ञका लेक्चर र प्यानल छलफल सुन्नु पनि दैनिकीको पाटो बन्यो । भारतमा रामचन्द्र गुहा र प्रतापभानु मेहताजस्ता विश्लेषकले जति इतिहास र राजनीति बुझाउँथे, गुल्जारजस्ता कला–साहित्यका हस्तीले भावनाको गहिराइमा पुर्‍याउँथे । न्युजलन्ड्री र अल्जेब्राजस्ता भारतीय च्यानल र सोले मूलधारका मिडियामा कतै नपाइने सूचना र विचारसम्म पुर्‍याउँथे । पश्चिमा विश्वमा पछिल्लो समय चलेका बहसबारे ‘टेड टक’ लगायत कार्यक्रममा विविधतापूर्ण विचार सुन्न पाइन्थ्यो ।

 सामाजिक सन्जाल छाडेको केही महिना नबित्दै मेरो चासोको विषय के, त्यसका लागि सिकाइको कस्तो स्रोतमार्फत कसलाई पछ्याउने भन्ने आफैँले सक्रियतापूर्वक मानसिक नक्सा बनाउन थालेँ । अहिले पनि कहिलेकाहीँ केही महिना लामो एउटा सिजनभर एउटै विषयलाई अनेक कोणबाट हेर्ने सामग्री मात्रै सुन्ने गर्छु । सुन्ने सामाग्रीबाट उठेका जिज्ञासा समाधान गर्नसमेत अनलाइन सर्च गरेर नयाँ सामग्री खोजेर पढ्ने विकल्प त जहिले पनि छँदै छ । सीमित देशी–विदेशी सञ्चार माध्यम नियमित पढ्ने दिनचर्या पनि कायमै छ । खासगरी भारतीय अनलाइन स्क्रोल, क्याराभान र द वायर, बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका न्युयोर्क टाइम्स र न्युयोर्करका विश्लेषण र लामा आलेख विविध सूचना र विचार ग्रहण गर्ने भरपर्दा माध्यम बनेका छन् ।

सामाजिक सन्जालमा रहेका साथीमा त्यहाँको ‘एल्गोरिदम’ ले खोजिदिने विविध सामग्रीसम्म पहुँच नहुँदा पछि परिन्छ कि भन्ने भय देखिन्छ । तर सबै कुरा चपाएर निल्न मात्रै छाडिदिने सामाजिक सन्जाल संस्कृतिले के कुरालाई ओझेल पारिदिएको छ भने कुनै पनि बाह्य ‘एल्गोरिदम’ ले भन्दा प्रभावकारी खोजी गर्ने क्षमता हाम्रो मस्तिष्कमा पहिल्यैदेखि छ । त्यसबाहेक सामाजिक सन्जालले खोजिदिने आकाश–पातालका यावत सामग्रीमा विविधता त हुन्छ तर तिनको विषय, प्रस्तुति वा सन्देशमा सुसंगति हुने सम्भावना कम हुन्छ ।

अडियोबुक्स र युट्युबमा रहेका वृत्तचित्रलगायत अनेक सामग्रीले धानेको मेरो श्रवण–सिकाइले यस वर्ष अर्को छलाङ मार्‍यो पोडकास्टमार्फत । अडियोबुक्स र वृत्तचित्र सुन्ने संसारका नदी हुन् भने पोडकास्ट समुद्र । अडियोबुकमा पढ्नका लागि लेखेका किताब वाचन गरिने र वृत्तचित्र श्रव्य–दृश्य माध्यमका लागि बनाउने हुँदा तिनका आफ्नै सीमा हुन्छन् । तर श्रव्य–ज्ञान र श्रव्य–पत्रकारिताकै लागि बनाइएका पोडकास्टमा नवीनता, मौलिकता र अन्वेषणको सीमा छैन । यी पंक्ति लेखिरहँदा म माइक डंकनको संसारको रूप बदल्ने क्रान्तिबारेको पोडकास्ट ‘रिभोल्युसन्स’ को बीचमा छु । फ्रान्सेली क्रान्तिबारे मात्रै चर्चा गरिएका कम्तीमा ३५ घन्टा अवधिको शृंखला दस दिनजतिमा सुनी सिध्याउने मेरो योजना छ । यदि फ्रान्सेली क्रान्तिबारे हिस्ट्री च्यानलको वृत्तचित्र ऊक्त त्रान्तिको हेलिकप्टरबाट देखिने दृश्य थियो भने डंकनको पोडकास्ट १७९० तिरको पेरिसका सडकका कुनाकुनाबाट देखिने दृश्य हो । विविध विषयका यस्तै गहन हजारौँ पोडकास्ट अहिले सहजै उपलब्ध छन् ।

 सामाजिक सन्जाल छाड्ने बेला मेरो अर्को मुख्य चिन्ता थियो, आफ्ना कुरा राख्ने यस्तो माध्यम छाड्दा कतै आवाजविहीन त हुन्न ? दैनिकजसो चल्ने सामाजिक–राष्ट्रिय बहसबाट म छुट्ने त होइन  ? त्यो चिन्ता दूर गर्न मैले त्यही समय हाराहारी दुई नयाँ वेबसाइट दर्ता गरेँ, एउटामा नेपालीमा र अर्कोमा अंग्रेजीमा आफ्ना कुरा राख्ने गरी । तिनमा नियमित लेख मात्रै नभई एउटा ‘कमेन्ट्री’ खण्ड राखेर आफूलाई लागेका फुटकर कुरा निरन्तर प्रकाशित गर्ने योजना बनाएँ । तर सन्जालबाट बाहिरिनासाथ मलाई नयाँ तत्त्वबोध भयो, मैले जगतका यावत विषयमा नबोल्दा, पाण्डित्याइँ नछाँट्दा वा टिप्पणी नगर्दा के नै पो बिग्रन्छ ? अनगन्ती विषयमा विज्ञमत नदिएपछि परिने भ्रम त सामाजिक सन्जालको विकाससँगै आएको न हो, मौनताको शालीनतालाई अपमान गर्दै हरेक मानिस बहुविज्ञ बन्न थालेको पनि त तिनै सन्जालको चरित्रका कारण हो ।

त्यही तत्त्वबोधका कारण यी अढाई वर्षमा मैले एकाध दर्जन मात्रै सामग्री ती नयाँ साइटमा प्रकाशित गरेको छु जबकि त्यस अगाडिको त्यत्तिकै अवधिमा आफ्नो ब्लगमा झन्डै तीन सय पोस्ट गरेको थिएँ । सन्जालबाट बहिर्गमनसँगै अरू धेरै विषयको विज्ञ भएको भन्ने आफ्नो भ्रम तोडियो, फोटोग्राफर, समीक्षक, कवि, सार्वजनिक वक्ता, अन्तर्राष्ट्रिय मामलाविज्ञ, खेल विश्लेषक आदि । त्यससँगै मलाई कुनै क्षेत्रमा पछि परेको होइन कि बहुविज्ञ हुनुको नाजायज र अनावश्यक बोझ उतारेको आभास भयो । फर्केर हेर्दा लाग्छ, सामाजिक सन्जाल छाडेसँगै मैले समाजमा आफ्नो औचित्य र सान्दर्भिकता नाप्ने मानक नै बदलिइसकेका छन् । आफ्नो विज्ञता भएको कुनै विषयमा बलियो तर्क राख्नुको महत्त्व मलाई पहिल्यै थाहा थियो, अब बाँकी यावत विषयमा मौन रहनुको महत्त्व र शालीनता पनि थाहा भइसकेको छ ।

मैले एउटा कुरा खुब गम खाएर सोचेँ, सामाजिक सन्जाल छाडकोमा मलाई पछुतो भएको कुनै विषय छ ? लामो प्रयासपछि याद आयो, केही साथीले सबै साथीभाइ फेसबुकमा भएको सम्झेर बिहेको निम्तो त्यता राखेपछि फोन गर्ने दुःख गरेनन् । म छुटेँ तर न बिहे रोकिए, न त मैले छुटाउनै नहुने केही छुटाएँ । सामाजिक सन्जाल छाडेकामा पछुताउनुपर्ने जति पनि कारण छन्, ती यसभन्दा गम्भीर भएको मलाई हेक्का छैन ।

प्रकाशित: श्रावण ८, २०७६

ट्याग: अनुभूति