[पुस्तक समीक्षा] संघर्ष र साधना

पुस्तक : बालापन जीवनको | लेखक :  रामेश | प्रकाशक : फिनिक्स बुक्स | पृष्ठ : २५७ | मूल्य  : ३५० रुपैयाँ | 

- गुरुङ सुशान्त

‘गाउँ–गाउँबाट उठ...बस्ती–बस्तीबाट उठ...’ यस्तै गीतको बलमा ठूल्ठूला आन्दोलन र समर भएका छन् । क्रान्तिलाई अडिलो सामलतुमल चाहिँदा यस्ता गीत हाजिर भए । यिनै संगीतमा झंकृत हुँदै निहत्था जनतासमेत आन्दोलनको आँधीबेहरीमा होमिए । जनता जगाउने यस्तै संगीतको चर्चा हुँदा रामेश, रायन, मञ्जुल, अरिम समूहको योगदानलाई बिर्सनै मिल्दैन । त्यो समूहले नेपालका गाउँ–बस्तीमा दीनहीन जनका दुःख र पीडालाई आफ्नो मादल र गितारमा उन्यो । आन्दोलनबाट उठेका व्यक्ति र दल अनेकौँ पटक सत्ताको बार्दलीमा पुगे तर किसान र मजदुरका दुःखका पहाड उसरी नै ठडिएका छन् । ती भुइँतहका गाथा गाउँदा फेरि पनि उनै रामेशहरु सम्झिइन्छन् । श्रोता–पाठकलाई लाग्न सक्छ, ती संस्कृतिकर्मीका जीवनका उकाली–ओराली कस्ता होलान् ? रामेशको बालापन जीवनकोले जिज्ञासु पाठकलाई केही उत्तर दिन्छ ।

क्षणिक आवेग र आकर्षण पोख्ने मौसमी गीतको भेलबाढीछेउ उभिएर जनताका दुःख समेटेर जनतालाई नै झझकाउने संगीतमा निरन्तर लागिरहनु चानचुने काम थिएन । चल्तीको भाका र भावभन्दा बेग्लै बाटो हिँड्नु अर्को जोखिम उठाउनु थियो । बाल्यावस्थाका दिन सम्झेर प्रायः मानिस प्रसन्न हुने गर्छन् किनकि ती अद्वितीय र निष्कपट हुन्छन् । रामेशको बालापन पनि अनेक जिज्ञासासहित सांगीतिक माहोलमा रमेको खुलस्त पार्छ, पुस्तकले ।

उनी शास्त्रीय संगीतका सोखिन बुबाको ग्रामोफोनमा विविध गीत सुनेर हुर्किए । रामेशको बालापनले ठान्थ्यो– शास्त्रीय संगीत नै खास हो, अंग्रेजी गीत गाउनु इज्जतिलो बन्नु हो । उतिबेलाको रजगजमा थियो– भारतीय गीतदेखि उतैको वाद्ययन्त्रसम्म । तिनै भारतीय संगीतको हावा दरबार छिर्‍यो । बुबा दरबारिया शासकसँग नजिक रहेकाले स्वाभाविक रुपमा रामेश भारतीय संगीतको गुञ्जनमा हुर्किए । युवाकालमा भने उनको संगीतले अर्कै मोड लियो । पछि न्याय, समानता र स्वतन्त्रताका लागि स्वरमा स्वर, हातमा हात मिलाउन आग्रह गर्ने यी जनगायकका बालऔँलाहरु भजनिया तबलामा नाचेको विगत पढ्दा पत्याउन मुस्किल पर्छ । जन–जागरणमा हिँड्दा रामेशहरु गाइने भनेर ‘अछूत’ बनाइए पनि ।

भजन–कीर्तनको माहोलमा हुर्किएकाले होला, नेपाली क्रान्तिको सांस्कृतिक जागरणमा यति लामो योगदान गरेका रामेशमा भने कहीँ–कतै रहस्यवादको धङधङी बाँकी देखिन्छ । तीन वर्ष पनि नपुगेको चिचिलाले आफूभन्दा अग्लो तबला बजाएर सबैलाई छक्क पारेको प्रसंगलाई दिदीको मुखबाट बोल्न लगाएका छन् उनले । हुन सक्छ, सानै बालकले बजाएकाले प्रशंसाका लागि पनि मिलाएर सुनिदिए, घरका अग्रजले । लेखकले आफूमा जन्मसिद्ध प्रतिभा रहेको भान पर्ने गरी तबला प्रसंगमा जोड दिएका छन् । प्रश्न उम्रिन्छ– रामेशलाई आदर्श मान्ने कोही सिकारुले अवसरलाई सदुपयोग गर्ने कि रहस्य र चमत्कारी प्रतिभा पर्खेर बस्ने ? स्मरणीय पक्ष– श्रोताले आज जानेको–मानेको रामेश जनताका गायक हुन्, न कि कुनै जादुगरी । अथक सांगीतिक साधना, सत्तासँगको संघर्ष र सीमान्तकृत जनको पक्षमा उभिने वैचारिक अडानले नै उनलाई रामेश बनाएका हुन् ।

रामेशले साढे सात दशक उमेरबिन्दुमा उभिएर आफ्नो बाल्यकाललाई फर्केर हेरेका छन्, पुस्तकमा । घोडासहितको सम्भ्रान्त परिवारमा जन्मेका रामेशले निम्न वर्गीय मानिसका व्यथालाई आफ्नो गीतको संगीत बनाए । सामाजिक न्याय र राष्ट्रियताको पक्षबाट आजीवन विभिन्न मोर्चामा उभिएर लडेका रामेशले बाल्यकालीन सम्झनाबाट पुरानो समयलाई अभिलेखमा उतारेका छन्, जुन नयाँ पुस्ताका लागि इतिहास बुझ्ने सानो आँखीझ्याल हुन सक्छ । बालापन जीवनको एक कलाकारले बाल्यकालमा वाद्यवादन र सांगीतिक आलाप–संलापसँगको संगत मात्र होइन, नेपाली राजनीतिले भोगेको आरोह–अवरोहलाई निकटबाट अनुभूत गर्ने गोरेटो पनि हो ।

कांग्रेस र राणाबीचको द्वन्द्वले समाजमा पारेको प्रभावलाई अनुभवपरक ढंगले प्रस्तुत गरेका छन्, रामेशले । आफ्नो लोग्नेको प्राण रक्षार्थ हतियारधारीसँग पनि नदब्ने रामेशकी आमाको साहस पढ्दा सम्मानभाव जागेर आउँछ । राणाकालीन सामाजिक संरचना र सोचको यथार्थ पढ्न चाहने वर्तमान पुस्ताका लागि यो किताब पठनीय सामग्री हो, यद्यपि यसमा इतिहासका अवयवलाई भाँती पुर्‍याएर राखिएको छैन ।

एक बालकको कौतूकमय यात्रा पढ्दा–पढ्दै पाठक नेपाली कम्युनिस्ट राजनीतिको ऊहापोहबारे पनि गम्भीर हुन बाध्य हुन्छ । नेपाली राजनीतिमा सत्ताप्राप्तिको छिनाझप्टीले ग्रामीण परिवेशका निर्दोष परिवारसमेत कसरी तरंगित थिए भन्ने एक खाले तस्बिर पुस्तकले उतारेको छ । पाठकका लागि यो खुराक हो । तर प्राविधिक कोणबाट हेर्दा– बालकले त्यो बेला आफ्ना अग्रजले गरेका संवादका गहकिला शब्द पनि भाँती पुर्‍याएर सम्झेको प्रसंगचाहिँ उति स्वाभाविक लाग्दैनन् ।

सामान्य पाठकले पनि अनुमान गर्न सक्छन्, बालापनको रामेशलाई राजनीतिक सुझबुझले परिपक्व रामेश चाबुक हान्दै छन् । रामेशको आत्मकथा पढ्न चाहने पाठकले योभन्दा उम्दा भाषा खोज्छन्, जसलाई लेखकले बालापनपछिका जीवनयात्रामा प्रयोग हुने अपेक्षा गर्न सकिन्छ ।

 

प्रकाशित: श्रावण ८, २०७६