चीनलाई नेपालको सैनिक सहयोग

- हरिराम जोशी

नेपाल सानो र गरिब राष्ट्र भए पनि विशाल देश चीनलाई सैनिक सहयोग गरेको गर्विलो इतिहास छ । नेपालले चीनलाई सैनिक सहयोग मात्र नगरेर आफ्नो प्रभावसमेत त्यहाँ विस्तार गरेको थियो । चाँगुनारायणको अभिलेखअनुसार नेपालमा गज सेना (हात्ती), अश्व सेना (घोडचढी) र पदाती (स्थल सेना) को संरचना थियो । सेनाका तीन संरचनामध्ये नेपालमा घोडचढी सेनाको कार्यभार मुख्य रहेको विभिन्न वंशावलीमा उल्लिखित छ ।

सातौँ शताब्दीमा आभीर राजा जिष्णु गुप्तले आफ्नो मुद्रामा घोडाका आकृति राखेको पाइएकाले नेपालमा घोडचढी सेनाको संरचना त्यतिबेलैदेखि कायम रहेको देखिन्छ । लडाइँका क्रममा अश्व सेना टाढाटाढासम्म छिटो पुग्ने र शक्रु सेनामाथि आत्रामक कारबाही गर्न सक्षम हुँदा यो सेनालाई प्राचीन कालदेखि नै मान्यता दिइएको पाइन्छ । सातौँ शताब्दीमा नेपालले यही अश्व सेनाको टुकडी पठाएर चीनलाई सैनिक सहयोग गरेको थियो ।

सातौँ शताब्दीतिर चीनका राजदूत वाङ हु चे भारतको मगध (हाल बिहार) राज्य भ्रमणमा आएका थिए । भ्रमणका क्रममा चिनियाँ राजदूत र मगधका राजाबीच झगडा पर्‍यो । झगडाकै कारण मगधका राजाले चिनियाँ राजदूतलाई कैद गरे । त्यो खबर नेपालसम्म आइपुग्यो । चीनले आफ्ना राजदूत छुटाउन नेपाल र तिब्बतलाई सैनिक सहयोगका लागि आग्रह गर्‍यो । चीनको आग्रहपछि नेपालले सात हजार घोड सवार सेना मगधमा आक्रमणका लागि पठायो ।

त्यतिबेला मगधका राजा हर्षवर्धनको मृत्युपछि अरुणाश्वर राज्यासनमा थिए । चिनियाँ राजदूतलाई मगध राज्यबाट छुटाउन नेपाल र तिब्बतले सैनिक सहयोग गरे । नेपाली घोड सवार सैनिकसँगको लडाइँमा मगधको सेना नराम्ररी पराजित भयो । सैनिक सहयोगपछि चिनियाँ राजदूतलाई मगध राज्यबाट फिर्ता ल्याएर नेपालले चीनसमक्ष सकुशल पुर्‍याइदियो । सैनिक सहयोगकै कारण ठूलो राष्ट्र चीनमा नेपालको प्रभाव विस्तार हुन सक्यो ।

सैनिक सहयोगपछि नेपालको सांस्कृतिक/राजनीतिक प्रभाव चीनमा परेको विभिन्न वंशावलीमा उल्लेख छ । नेपालको प्रभाव विस्तारकै कारण चीनमा नेपाल संवत् प्रचलनमा आएको हो । १४ औँ शताब्दीतिर नेपालमा शक्तिसिंह रामवर्धन राजा भएको समय चीनमा नेपाल संवत् प्रचलनमा रहेको विभिन्न वंशावलीमा उल्लेख छ । यद्यपि चिनियाँ सम्राट तायिमिङले उक्त संवत्लाई महाचीनाब्द नाम दिई नेपालको प्रभुत्वमा चीन नरहेको देखाउने प्रयास गरेको पाइन्छ । त्यसको प्रमाण चिनियाँ सम्राटले नेपालका सम्राटलाई पठाएको फरमाना (राजकीय) पत्रमा महाचीनाब्द उल्लेख छ । राजनीतिक रुपमा ठूलो देशका सम्राटले सानो देश नेपालको प्रभावमा परेको नदेखाउन पनि नेपाल संवत्लाई महाचीनाब्द नाम दिएका हुन सक्छन् । यसबाट पनि नेपाल संवत्ले बाह्य विश्वमा आफ्नो प्रभुत्व जमाउन सफल भएको मान्नुपर्छ ।

१४ औँ शताब्दीमै उनै चिनियाँ सम्राटले नेपालका अर्का राजा शक्तिसिंहरामलाई पठाएको फरमानापत्र नेपालको रञ्जना लिपि र संस्कृत भाषामा लेखिएको छ, जसमा नेपाल संवत्कै प्रयोग गरिएको छ । यसले पनि चीनमा नेपालको रञ्जना लिपि नेपाल संवत् प्रचलनमा रहेको मान्नुपर्छ । कुनै बेला विशाल शक्ति चीनमा रञ्जना लिपिले प्रभाव जमाएकैले हुनुपर्छ, संयुक्त राष्ट्रसंघमा सदस्य हुन नेपालको राष्ट्रिय लिपिका रुपमा रञ्जना लिपि प्रयोगमा ल्याइएको थियो ।

२० औँ शताब्दीमा पनि नेपालले खम्पा काण्ड वा वाङ्दी अपरेसन (सन् १९५९) मा चीनलाई सैनिक सहयोग गरेको हो । चीनले तिब्बतमाथि कब्जा जमाएपछि नेपालको सीमामा पश्चिमा मुलुकबाट हतियार र आर्थिक सहयोग पाएर उपद्रव मच्चाइरहेका तिब्बती विद्रोहीलाई दबाउन सैनिक सघाएको थियो । चीनको विशेष आग्रहमा गरिएको सैनिक कारबाहीकै कारण तिब्बती छापामार विद्रोह दमन गर्न नेपाली सैनिक सफल हुन सक्यो ।

इतिहास/संस्कृति लेखनका क्रममा नेपालले चीनलाई सैनिक सहयोग गरेको विषय ०७० मा प्रकाशन गरेको प्रदीप अभिनव संस्कृति विश्वकोशमा समेटेको छु ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: श्रावण १०, २०७६

×