बसाइँ सर्न नसक्दा...

  • प्रदेश ५

- घनश्याम गौतम/गुल्मी

सत्यवती गाउँपालिका–४ लिम्घा, भीरकुनामा माथिपट्टि जंगल छ । फेदीमा बस्तीसहितको खेती गर्ने जग्गाजमिन छ । जमिन नै प्रमुख आयस्रोत भएको भीरकुनामा ८१ मध्ये ७५ घर दलित छन् । ७ असार बिहानै जंगलको फेदीबाट बग्दै गाउँ पसेको पहिरोले घर बगाएपछि ८ जनाको ज्यान गयो ।

भीरकुनामा पहिरो गएको पहिलोपल्ट  भने होइन । ०१८ को पहिरोमा केही घर क्षतिग्रस्त भएका थिए । घटना दिउँसो भएकाले त्यतिबेला मानवीय क्षति हुन नपाए पनि जोखिम कायमै थियो । ०३५/३६ तिर बस्ती अन्यत्रै सार्न पञ्चायतकालीन जनप्रतिनिधिले छलफल चलाए ।

पूर्वगाविस अध्यक्ष पूर्णबहादुर शाहीका अनुसार बस्ती स्थानान्तरणको प्रयासमा स्थानीय समुदायलाई नै राजी गराउन सकिएन । शाही भन्छन्, “धेरैको पर्याप्त बारी छ । त्यसैमा उनीहरू आश्रित भएकाले अन्यत्र गएपछि यहाँ भएजत्तिको जग्गा पाइँदैन भनेरै सर्न मानेनन् ।”

त्यसको परिणाम अहिले एकै गाउँबाट ८ जना महिला र बालबालिकाले ज्यान गुमाए । बस्तीमा माथि जंगलबाट बेलाबेला ढुंगा पनि झर्ने गर्छ । असुरक्षित बस्ती भएकाले अन्यत्र व्यवस्थापन जरुरी रहेको शाही बताउँछन् ।

भीरकुनामा खानेपानीको सामान्य सुविधा भए पनि विद्युत् र सडक पहुँच छैन । विद्यालयको समस्या पनि उस्तै छ । गाउँपालिका अध्यक्ष सुवर्ण ज्वारचन शाही पनि बस्ती सार्न स्थानीयलाई आकर्षित गर्न नसकिएकाले अहिलेको घटना घटेको बताउँछिन् । भन्छिन्, “हामीले डाँडाका बस्ती र एकान्तका घरलाई सधैँ जोखिम सूचीमा राख्ने गरेका छौँ । तत्काल उनीहरूले आफ्नो जग्गाजमिन मात्र हेर्छन् र सर्न मान्दैनन् । त्यसकारण ठूलो क्षति पुग्यो ।” अब सबै स्थानीय तहले जोखिमयुक्त गाउँबस्तीको पहिचान गरी सुरक्षित स्थानलाई आवास क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ ।

सत्यवतीकै वडा–३ को ठूलो लुम्पेकको सिङ्दीमा पनि पहिरोमा परेर पाँच जनाले ज्यान गुमाए । सिङ्दी गाउँमा २६ परिवारको बसोबास छ । मदानीको आकारमा रहेको गाउँमा डाँडाबाट बगेको पहिरो खाल्डोबाट बगेपछि दुई घर बगे । दुई घरका चार र एक जना पहिरो देखेर भाग्दै गर्दा पनि जोगिन सकेनन् ।

सबै गाउँ पहिरोले घेरिएको छ । लुम्पेकका कुर, सिङ्दी, मुरुङ्दी, पल्लो खोला, कुतडाँडा, रितडाँडालगायत बस्ती उच्च जोखिममा छन् । सबै बस्तीबाट ७० भन्दा बढी परिवार विस्थापित भएर चार दिनदेखि स्थानीय धर्मपुर माविमा बस्दै आएका छन् ।

त्यहाँकै ढुंगाचाल्ने गाउँ पनि थप जोखिममा छ । १५ घरपरिवार रहेको यहाँ पनि ०७२ को भूकम्पले गाउँ चिरा परेको थियो । तर स्थानीयले छाड्न नमान्दा अहिले पनि बढी जोखिम छ । गाउँको तीनतिरबाट पहिरो गएपछि सबै परिवार विस्थापित भएको स्थानीय अगुवा गिरबहादुर परियार बताउँछन् । “जोखिम छ, यहाँ नबस्नुस् भन्दै आएका छौँ,” परियार भन्छन्, “तर मान्दैनन्, कहिले क्षति हुने हो भन्ने त्रास छ ।”

गाउँपालिका प्रमुख पारिश्वर ढकालले गाउँपालिकाको भौगोलिक बनाबट नै बेसीका फाँटमा खेती गर्ने र पहाडको टुप्पोमा बस्ने प्रकृतिको हुँदा सधैँ जोखिम रहेको औँल्याउँछन् । “पुर्ख्यौली बस्ती भएकै कारण बस्दै आएको स्थान छाड्न सहज नहुनु स्वाभाविक हो,” उनी भन्छन्, “अझै पनि केही बस्ती त्यस्तै जोखिममै छन् ।” प्रायः विपन्न समुदाय नै जोखिमपूर्ण अवस्थाको बनोटमा रहने गरेकाले विपत्ति पनि त्यहीँ नै बढी हुन्छ ।

पहाडी क्षेत्रमा भौगोलिक बनावटको अध्ययन नगरी सडक निर्माण गर्ने क्रम तीव्र छ । त्यसमा हेभी इक्वेपमेन्ट प्रयोग हुन्छन् । खुकुलो माटो रहेको क्षेत्रमा नजिक बस्ती पारेर तल र माथिबाट सडक खन्ने गरिन्छ । त्यसले पनि जोखिम बढाउने गरेको छ ।

लुम्पेकका विस्थापित परिवार


भूगोलको अध्ययन नगरी हुने गरेका विकास संरचनाका कारण पनि पछिल्ला वर्ष पहाडका बस्तीमा भूक्षयको खतरा बढ्दै गएको भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बुटवलका हाइड्रोजियोलोजिस्ट प्रकाश ज्ञवाली बताउँछन् । “विकास गर्नुपूर्व जमिनमुनिको सतहको बनोट कस्तो छ, अध्ययन गर्नैपर्छ,” उनी भन्छन्, “तर हामीकहाँ अहिलेसम्म त्यो परम्परा नै छैन ।” आँखाले देखेको सतहमा जथाभावी निर्माणका काम गर्दै आइरहेकाले त्यसको परिणामले ठूलो विपत्ति ल्याउने गरेको उनी सुनाउँछन् । थप्छन्, “पहाडी बस्तीमा अझै ध्यान दिनु जरुरी छ ।”

पहिरोले सत्यवती गाउँपालिकाको दुई गाउँ लिम्घा र लुम्पेकबाट १ सय ३० घरपरिवारका ५ सयभन्दा बढी विस्थापित भएका छन् । दुवै गाउँमा जाने सडक यातायात अवरुद्ध छ । ६ साउनदेखि परेको पानी नरोकिँदा विस्थापितको व्यवस्थापन र सडक सञ्चालन हुन नसकेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको भनाइ छ ।

पहिरोलगत्तै दुवै गाउँ पुगेका बराल जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षित स्थानमा विस्थापितलाई स्थानान्तरण गर्नुको विकल्प नरहेको बताउँछन् । “जनप्रतिनिधिको सहकार्यमा सुरक्षित स्थलको खोजी हुँदै छ,” उनी भन्छन्, “सडक खोल्ने कार्य पनि भइरहेको छ । तीन वटै सरकार विस्थापितको उद्धार र व्यवस्थापनमा सक्रिय छन् ।” दुवै गाउँमा गरेर पहिरोले १३ जनाको ज्यान लिएको छ । २ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । १ हजारभन्दा बढी पशु चौपाया र पशुपक्षी मरेका छन् ।

प्रकाशित: श्रावण १२, २०७६

ट्याग: प्रदेश ५