पदयात्रा

  • कविता

- श्रवण मुकारुङ

 

उकालो

ओह्रालो

घुम्ती

पच्याङ

खोँच

जंगल

भीर

खोला

फेरि उकालो

फेरि ओह्रालो

फेरि अर्को पहाड...

उफ !

अब सक्दिनँ म हिँड्न

 

तिमीलाई पछ्याउँदा पछ्याउँदै

पैतालाबाट यस्तरी रगत बगेको

पत्तै पाइनछु मैले

काँडा बिझेछ

कैँडा लागेछ

दम्को परेछ

 

अहिले यतिखेर

अप्ठ्यारोमा आइपुगेपछि पो थाहा भो मलाई

कि, यो यात्रा

मात्र तिम्रो हो

म त खै कुन मोहले तानिएछु त्यसै

बतासले बादल तानेझैँ

तारा खस्दा उज्यालो तानिएझैँ

 

ए सुन त !

तिम्रो कुमबाट छिरेको घामको किरणले

यहाँ मेरो आँखाको बाटो छेक्यो

र पहिलोपल्ट थाहा पाएँ मैले–

सहयात्रा भ्रम हो

मानिसको जीवन

एक्लो छ

 

त्यसैले बिन्ती छ मेरो

त्यहाँ त्यसरी नपर्ख मलाई

मलाई यत्तिकै यहीँ छाडेर जाऊ तिमी

तिम्रो बाँकी कथा

कुनै दिन

मेघझैँ गर्जिएला, म त्यो सुनूँला

वा आकाशमा

झिलिक्क चम्किएला, म त्यो हेरुँला

कि तिम्रो जीउमा अल्झेको कुरो

कतै झरेर उम्रेपछि

फेरि यो यात्रामा आउनेलाई

उसको गोडामा अल्झेर

त्यसले सुनाउला

कि त्यो रुख,

जसको काखमा तिमी भरै बास बस्नेछौ

त्यसको फल खाएर उडेको चराले अर्को रुखमा बिस्ट्याउला

उम्रेला त्यो फेरि

र त्यसले प्रत्येक याममा

ऋतु गीतझैँ गाउला

 

खै कहाँ हो कहाँ पुगूँला भनेर

हात समाएको थिएँ तिम्रो

यो बीच बाटोमा आइपुगेपछि पो

अचानक थाहा पाएँ मैले–

कसैको हात

कमजोरले मात्र समाउँछ

 

लौ, मैले त

फर्किने गोरेटो नै भुलेछु

 

अब म

जसोतसो

बामे सर्दै

उ... त्यो गाउँमा पुग्छु

पानी माग्छु

गुन्द्री माग्छु, सुस्ताउन

र फर्फराइरहेको त्यो लुङ्दर हेर्दै

निदाउँछु

 

ब्युँझेपछि

मलाई हेर्न भेला भएका तारालाई

भन्नेछु–

कि एउटा मानिस

कुनै पनि बेला आइपुग्नेछ यहाँ

तर म

अस्ताउनै लागेको जूनलाई पिठ्युँमा बोकेर

शीताम्मे झुलिरहेको गहुँबारीको बीचैबीच

गइसकेको हुनेछु

 

सायद मलाई

त्यो गाउँको कुनै दुब्लो कुकुरले

पछ्याउनेछ निकै परसम्म

जसरी तिमीलाई

पछ्याएको थिएँ मैले ।

प्रकाशित: श्रावण १३, २०७६

ट्याग: कविता