म्यागजिनका चार कुइनेटा

- भास्कर गौतम

म्यागजिन शब्द फ्रान्सेलीबाट अंग्रेजी हुँदै नेपालीमा आयो । शब्दको आगमन धेरै पहिले भए पनि म्यागजिन कर्म मूलतः साहित्यिक वृत्तमा सीमित थियो । छिटपुट रूपमा सामान्य–ज्ञान केन्द्रित म्यागजिनहरूको पनि उपस्थिति थियो । न्युज–म्यागजिनको नेपालीकरण ०५० को दशकबाट भएको हो ।

पछिल्लो दुई दशकमा न्युज म्यागजिनले आफूलाई स्थापित गरे पनि पत्रकारितामा म्यागजिनको प्रभाव सीमित छ । पञ्चायतकालमा बहुदल स्थापनाको मिसनसहित साप्ताहिक पत्रिकाले सशत्त उपस्थिति जनाएका थिए । बहुदलीय व्यवस्थाको आगमनपछि साप्ताहिक पत्रकारितामा संलग्नमध्ये कसैले पनि आफूलाई तत्कालै म्यागजिन सञ्चालन गर्ने, त्यसलाई प्रभावकारी तरिकाले चलाउने नजिर बसाउन सकेनन् । सम्भवतः तीन दशकपछि ठूलो राजनीतिक उभारले धेरै परिघटना निम्त्यायो । देश र समाजलाई सापेक्षिक रूपमा घटनाप्रधान बनायो । दैनिक पत्रिकाले बजार ओगटे ।

दैनिक पत्रिकाको विस्तार व्यापक भएकाले पनि बौद्धिक काल्पनिकीमा न्युज म्यागजिनले अपेक्षाकृत आफ्नो हस्ताक्षरलाई अपरिहार्य बनाएको छैन । यस्तो अवस्था आउन बाँकी छ । निकट भविष्यमा समेत म्यागजिनले सार्वजनिक वृत्तमा निर्णायक हस्तक्षेप गर्ने सम्भावना झिनो देखिन्छ । यद्यपि ०४६ पछि म्यागजिनकारिताले कोरेको गोरेटोका चार कुइनेटा छन् ।

प्रयोग

पञ्चायतकालभरि उद्देश्यमूलक साप्ताहिक चलाएको अनुभव सञ्चारकर्मीसँग थियो । त्यस्तो अनुभव खुला राजनीतिक व्यवस्थासँगै म्यागजिनकारितामा परिणत भइरहेको थिएन । धेरैलाई बजारको सामना गर्ने राम्रो ज्ञान थिएन । अनुभवको अभाव थियो ।

०४६ पछि म्यागजिनको सुरुआत आशलाग्दो रहेन । केही समयमै जनमञ्च प्रारम्भ भयो । जनमञ्चले आफ्नो मतलाई विस्तार गर्न नपाउँदै त्यसको टोली कान्तिपुर दैनिकमा मिसियो । म्यागजिन बन्द भयो । लगत्तै विश्वमित्रले म्यागजिनको ठाउँ लिने कोसिस गर्‍यो । ठाउँ मात्र लिएन, जनमञ्चको नियतिसमेत सकार्‍यो । म्यागजिन आफ्नो जरो गाड्न नपाउँदै बन्द भयो । जनमञ्च र विश्वमित्रको टोलीमा उत्साह त थियो तर खुला राजनीति र बजारको भेउ नेतृत्वले पाएन ।

केही समयपछि करिब उस्तै नियति बोकेर काठमाडौँ टुडे बजारमा आयो । केही समयमा बन्द पनि भयो । तर नेपाली बजारमा म्यागजिनको सम्भावना पर्याप्त रहेको संकेत काठमाडौँ टुडेले दियो । टीकाराम राईको नेतृत्वमा यसको टोली सानो थियो । तर घटनाकेन्द्रित साप्ताहिक समाचारबाट घटनाको प्रवृत्ति बुझ्ने, विषयवस्तु प्रस्तुत गर्ने कोसिस भयो । खोज पत्रकारिता केन्द्रबाट उत्पादित लामा लेखसमेत नियमित प्रकाशित हुन थाले । काठमाडौँ टुडेले गहकिला सामग्रीको माग छ भन्ने देखायो । म्यागजिनको बजार छ, पाठक पनि छन्, लगानीकर्ता पनि हुन सक्छन् भन्ने संकेत दियो । तर व्यावसायिक कमजोरीका कारण अल्पायुमै यो म्यागजिन बन्द भयो ।

उचाइ

यी म्यागजिन चलाउन भइरहेको प्रयोगलाई हिमाल निकाल्ने टोलीले नियालिरहेको थियो । त्यही अवधिमा वसन्त थापाको सम्पादनमा हिमाल द्वैमासिकले राम्रो सामग्री उत्पादन गरिरहेको थियो । तर त्यो हिमाललाई बजारमा टिक्न हम्मे पर्‍यो । यही बीच ०५६ मा हिमाल खबरपत्रिका त्यस्तो म्यागजिन बन्यो, जसले नेपाली पत्रकारितालाई घटना विशेषबारे जानकारी पाउने चक्रबाट घटना प्रवृत्ति बुझाउने अभ्यासमा ढाल्ने जमर्को गर्‍यो । हिमाल खबरपत्रिकामा काठमाडौँ टुडेका सल्लाहकार र देशान्तर साप्ताहिकका सम्पादक राजेन्द्र दाहालले सम्पादनको जिम्मा पाए । खबरपत्रिकाले राम्रै गर्न थाल्यो । त्यसैले अर्को वर्ष साउनमा कान्तिपुर पब्लिकेसन्सले नेपाल पाक्षिक निकाल्न थाल्यो ।

हिमाल र नेपाल बजारमा राम्रै चले । न्युज म्यागजिनको बजारलाई प्रतिस्पर्धीसमेत बनाए । समयक्रममा धेरै म्यागजिन आए/गए पनि हिमाल र नेपालले आफूलाई बजारमा स्थापित गरेका छन् । दुवै पत्रिकाको हकमा प्रारम्भिक वर्षलाई फर्केर हेर्दा म्यागजिनको सफलताको जस केवल नेतृत्वलाई मात्र जाँदैन । प्रत्येक सम्पादकले म्यागजिनलाई पृथक नेतृत्व दिने र फरक किसिमले सञ्चालन गर्ने गरेकामा विवाद रहेन ।

हिमाल र नेपाल मूलतः माओवादी द्वन्द्व विस्तार भइरहेको समयमा आए । माओवादी वरिपरिको विषयवस्तुको लामो समय बाहुल्य रह्यो । द्वन्द्वकालीन राजनीतिक घटनाका अनेकौँ सिलसिलाले म्यागजिनलाई स्थापित गर्न निकै सघाए । घटना प्रवृत्तिबारे सामग्री उत्पादन गर्ने क्रममा हिमाल खबरपत्रिका प्रारम्भिक समयदेखि नै अलिक ओपिनिएटेड म्यागजिन बन्यो । आज पनि त्यही रूपमा स्थापित छ ।

नेपालले आफूलाई खबरमुखी र घटना प्रवृत्तिलाई विश्लेषण गर्ने म्यागजिनको रूपमा विकास गर्‍यो । त्यसरी नै नेपाल स्थापित पनि भयो । सम्भवतः कान्तिपुर पब्लिकेसन्सको विशाल पहुँचले नेपाललाई खबरप्रधान हुन ठूलो आधार मिल्यो । आज पनि नेपाल मूलतः खबरमुखी घटना प्रवृत्तिलाई बुझ्ने र विश्लेषण गर्ने कार्यमा बढी विश्वास गर्छ ।

 शिथिलता

जसरी म्यागजिनको विस्तारमा राजनीतिक परिस्थिति प्रधान रह्यो, त्यसरी नै म्यागजिनलाई शिथिल बनाउने कार्यमा समेत राजनीतिले भूमिका खेल्यो । बजारसँग गाँसिएको राजनीतिक आयाम उत्तिकै महत्त्वपूर्ण छ । ०४६ पछिको दशकमा बजारलाई लक्षित गर्दै चिल्लो कागजमा छापिने म्यागजिन मात्र फस्टाएका थिएनन्, बजारलाई गौण मान्ने गैरनाफामुखी प्रकाशनसमेत प्रभावशाली थिए ।

हिमाल द्वैमासिकले प्रारम्भदेखि नै गहकिलो खुराक दिएको थियो । यदि हिमाल द्वैमासिकमा गहकिला समसामयिक लेख छापिन्थे भने अस्मिताले नारीप्रधान लेख छाप्थ्यो । त्यस्तै मूल्यांकनले वामवृत्तको नेतृत्व गर्दै वैचारिक लेखलाई मूल खुराक बनाएको थियो । मूल्यांकनमा धेरै लामा लेख पनि छापिन्थे । अर्कोतर्फ विकास त्रैमासिक रूपमा निस्कन्थ्यो, जहाँ विकासको राजनीति र मूलतः दलित सवालमा गहकिला सामग्री निस्कन्थे । म्यागजिनको संसारमा यति हुँदाहुँदै वातारणीय विषयले छिटपुट मात्र स्थान पाइरहे । त्यसैले हाकाहाकीले पर्यावरण र वातावरणलाई समातेर आफ्नो अलग स्थान बनायो ।

यी सबै म्यागजिनले नाफा कमाउने उद्देश्यलाई गौण ठाने । सामाजिक वास्तविकता र सशक्त वैचारिक सामग्रीलाई महत्त्व दिए । परिणाम यी म्यागजिनलाई बजारले पेल्यो । यी प्रकाशनको व्यवस्थापन पनि बजारोन्मुख थिएन । त्यसैले गहकिलो खुराक प्रस्तुत गरिरहे पनि बजारमा टिकिरहने मेसो यी पत्रिकाले पाएनन् । निरन्तरको घाटा शिथिलताको एउटा प्रमुख कारण बन्यो ।

यी म्यागजिन शिथिल रहनुमा बजार मात्रै कारण थिएन । बजार र व्यवस्थापकीय सवालसँग जुधिरहेको भए पनि मूल्यांकन मूलतः राजनीति कारणले थला पर्‍यो । मंसिर ०५८ मा संकटकाल लागू भयो । संकटकाल लागू भएपछि राज्यको कुदृष्टि मूल्यांकनमाथि पर्‍यो । अरू पाठकबाहेक माओवादी निकट रहेकाहरूले जिल्ला–जिल्लामा मूल्यांकन पढ्ने अनुमानमा पत्रिकाको बिक्री वितरणमा राज्यले अघोषित रोक लगायो । संकटकालपूर्व १९ हजारसम्म बिक्री हुने पत्रिका संकटकालसँगै तीन–चार हजारमा झर्‍यो । त्यसपछि संकटकाल त हट्यो तर मूल्यांकनमाथिको संकट गहिरिँदै गयो । संविधानसभाको बहसले राजनीतिक वृत्तमा आकार ग्रहण गर्दै गर्दा पत्रिकाले काँचुली फेर्न खोजेको आभास त दियो । आफूमाथि लागेको संकट हटाउन भने सकेन । मूल्यांकन बन्द नै भयो । पछि पुनः प्रकाशित गर्ने प्रयास त भयो तर पहिलेजस्तो ओज रहेन ।

०६३ को परिवर्तनलगत्तै हिमाल र नेपाल पनि केही समयलाई शिथिल रहे । लामो समय खिचातानी र द्वन्द्वरत सामग्री उत्पादन गरिरहेका म्यागजिनलाई शान्ति र सहमतिको बाटो अँगाल्न खोजेको राजनीतिले अलमल्यायो । बदलिँदो परिवेशमा के बेच्ने, कसरी आफूलाई रूपान्तरित गर्ने आदि सवालबारे नेतृत्वमा रहेकाहरूले राम्ररी सोच्न सकेनन् । यसले पत्रिकाको विषयवस्तु र बजार दुवैलाई असर गर्‍यो । न्युज म्यागजिन सोचे जसरी बजारमा प्रभावकारी हुन सकेन ।

पुनर्जागरण

लामो समयपछि शिथिल प्रायः रहेको म्यागजिनकारिता पुनः जाग्ने कसरत गरिरहेको अवस्थामा छ । जाग्ने आकांक्षा मात्र हुँदैमा न्युज म्यागजिन पुनर्जागृत हुने होइन । जाग्नलाई सन्दर्भ र परिवेश मिल्नुपर्छ । राजनीतिमा गहिरो सामाजिक द्वन्द्वले प्रकट रूप नलिँदा सुषुप्त रहेका विमतिबारे म्यागजिनले दिन सक्ने खुराक धेरै छन् । त्यस्तै गहिरिएको आर्थिक असमानता, सामाजिक विभेद र राजनीतिक गोलचक्करलाई कसरी गहिराइमा गएर खोजमूलक सामग्री निकाल्नेबारे म्यागजिन रहर मात्र होइन, धेरै काम पनि गर्न सक्छ । त्यस्तो रहरलाई अन्यका अलावा तीन कुराले  प्रभावित तुल्याएको छ– दैनिक पत्रिका, अनलाइन र लगानी ।

दैनिक पत्रिकाले लामा–लामा सामग्री छाप्न थालेपछि म्यागजिनलाई धेरै असर पर्न थाल्यो । यस्तो अवस्थालाई चिर्न म्यागजिनलाई सजिलो छैन । अझ पछिल्लो समय तत्कालै छाप्ने र तत्कालै प्रतिक्रिया खोज्ने अनलाइन पुस्ताले म्यागजिनकारितालाई ठूलै चुनौती दिएका छन् । यस्तो अवस्थामा म्यागजिनले आफूलाई हस्तक्षेपकारी भूमिकामा स्थापितका लागि गर्नुपर्ने धेरै छ । यसका लागि सम्पादक र एकाध व्यक्तिले प्रकाशकीय विश्वास जितेर मात्र हुँदैन । मानवीय संसाधनमा मनग्गे लगानी गर्नुपर्छ ।

मानवीय स्रोतमा लगानी गर्न सकियो भने मात्र गहकिलो सामग्री उत्पादन गर्ने आधार मिल्छ । त्यस्तो आधार बेगर सार्वजनिक वृत्तको काल्पनिकीमा निर्णायक स्थान बनाउने कार्य म्यागजिनकारिताले गर्न सक्दैन । त्यसले गर्ने भनेको प्रतिष्ठाका लागि म्यागजिन निकाल्दै बजारको खाली ठाउँको पूर्ति गर्ने हो । यस्तो गरिरहँदा स्वअपेक्षा के हो भने पाठकमाझ खट्किएको घटनाको प्रवृत्ति बुझ्न लामो रिपोर्टिङमार्फत म्यागजिनले योगदान गरिरहेको छ । अहिले केही अपवाद अवस्थामा मूलतः यति मात्र भइरहेको छ । के यतिमै रमाएर सार्वजनिक वृत्तको काल्पनिकीमा निर्णायक स्थान बनाउने कार्यबाट म्यागजिनकारिता रमाइरहने हो  ? पुनर्जागरणतर्फ लाग्ने होइन ?

प्रकाशित: श्रावण १३, २०७६