शैक्षिक समानताबाट वर्ग विहीन समाजतिर

- कृष्ण धराबासी

कक्षा पाँचको महेन्द्रमालामा पढेका तीन पाठको मलाई आज पनि सम्झना छ । रविन्सन क्रुसो, एन्डरुक्लस दासको कथा र कुकुरको यात्रा । ती पाठले मलाई भावुक र कल्पनाशील बनाएथे । कालान्तरमा म आख्यान लेखनतिर आकर्षित हुनुमा बाल्यकालका ती पाठको प्रभाव थियो ।

कक्षा सातसम्म मैले पढेको शिक्षालाई पुरानो शिक्षा भनियो । ०२८ देखि नयाँ शिक्षा लागेको थियो । पुरानो शिक्षाका इतिहास, भूगोल, साहित्य, गणित स्तरीय थिए । अंग्रेजी, नेपाली व्याकरण, गणितको ज्ञान कलेजमा पनि सहयोगी बन्न सक्थे ।

नयाँ शिक्षाको पाठ्यक्रम तुलनात्मक रूपमा कमजोर थियो । एसएलसी पास गरिसक्दा पनि कति विद्यार्थी ह्रस्वदीर्घ र काल राम्ररी जान्दैनथे । प्रयोगात्मक शिक्षाको नाममा ल्याइएको नयाँ शिक्षाले न बौद्धिकता सिकायो, न त रोजगारीमूलक बनायो । एकाइ, त्रैमासिक परीक्षाको अंक जोडिँदै गएर उत्तीर्ण हुने पद्धतिले विद्यार्थीमा अध्ययनको गाम्भीर्य हराएर गयो । बहुवैकल्पिकबाट चिह्न लगाउने चलनले लामो उत्तर लेख्ने क्षमता घटाएर लग्यो ।

०४६ पछि शिक्षामा जुन परिवर्तन गरियो, त्यो त झन् के भयो के ! न नयाँ भो, न त पुरानो । निजी विद्यालयको व्यावसायिक प्रतिस्पर्धासँग दाँजिन नसक्ने सरकारी विद्यालय र विद्यार्थीबीच ठूलो वर्गीय र शैक्षिक खाडल पर्दै गयो । सम्पन्न र विपन्न परिवारका छोराछोरीबीच परिचय पनि हुन छाड्यो । शिक्षाको अव्यवस्थाका कारण देशमा पुरिनै नसक्ने बौद्धिक र वर्गीय खाडलको रचना गर्‍यो । आज छिमेककै नानीहरू एकअर्कामा अपरिचित छन् । यस्तै शैक्षिक व्यवस्था त्यसबेला हुन्थ्यो भने आजका विशिष्ट लेखक, प्राध्यापक सञ्जीव उप्रेतीसँग मेरो कक्षा तीनको चिसो भुइँमा बोरा ओच्छ्याएर पढिरहेको अवस्थामा भेटै हुने थिएन ।

डेढ सय वर्षअघि जर्मन दार्शनिक कार्ल मार्क्सले वर्गविहीन समाजको कल्पना गरेका थिए । त्यसको राजनीतिक अभ्यास संसारभरि गरियो, गरिँदै छ ।  साँच्चैको वर्गविहीन समाज कुनै युगमा पनि सम्भव छैन । वर्गीयताको दूरी भने कम गर्न सकिन्छ । वर्गभेदको दूरी घटाउने अभ्यास शिक्षाबाटै प्रारम्भ गर्नुपर्छ । आजको निजीकरणको व्यावसायिक अभ्यासमा सय प्रतिशत नै सरकारले निःशुल्क बनाउन नसक्ला तर शिक्षाको गुणस्तरलाई सबैको पहुँचमा पुर्‍याउन सक्नुपर्छ । जुनसुकै तरिकाले पनि निजी र सरकारी विद्यालयका बालकबीच भेटघाट र संवाद गराउन सक्नुपर्छ ।

मेरा सबै छोराछोरीले नर्सरीदेखि नै निजी विद्यालयमा पढे तर उनीहरूले आफू हुर्किएको समाज चिन्दैनन् । उनीहरू विमानमा उड्छन्, होटलमा बस्छन्, रिजर्भ गाडीमा कुद्छन् । तिनका साथी पनि त्यस्तै छन् । उनीहरूलाई लाग्छ, तिनीहरूको समाज आफूले देखे/भोगिरहेको जस्तै हो । मेरा साहित्य पनि उति काम लाग्दैन किनकि उनीहरू अंग्रेजी पढ्छन् ।              

व्यक्तिवादी बनेको समाजसँग धेरै खाले सामूहिक दायित्व अनुपस्थित हुँदै जानेछन् । त्यस्तो बेला नागरिकभित्र हुनुपर्ने कैयौँ भावुकता नरहन सक्छन्, जसको परिणाम हुन्छ– फेरि कुनै विचार, देश, संस्कृति र धर्मको अनौपचारिक दासताको प्रारम्भ ।

आजको हाम्रो शिक्षाको अवस्थालाई इतिहासतिर फर्काउनु भनेको होइन । तर शिक्षा त्यस्तो पनि नहोस्, जसले हाम्रो भाषा, संस्कृति, राष्ट्रियतालाई नै गौण बनाओस् । संसारभरिका आधुनिकतम ज्ञानका विज्ञ भएर पनि उनले आफ्नोपनलाई नभुलून् ।

पाँच वर्षको अमेरिकी बसाइमा मैले प्रत्येक टोलमा एउटा चर्च पनि देखेँ । सुनेको थिएँ, अमेरिका संसारको सबैभन्दा आधुनिक, वैज्ञानिक र धर्म निरपेक्ष देश हो । विज्ञानको चरम उन्नति गरेर संसारमाथि प्रविधि र शस्त्रले शासन गरिरहेको त्यो मुलुकमा धार्मिक कट्टरता कसरी बाँचिरहेको होला ? यताजस्तो देखिने गरी उनीहरू कट्टर छैनन् तर भित्रभित्रै सामाजिक रूपमा गैरइसाईहरू हीनताबोध गरिरहेका हुन्छन् । त्यहाँको समाजसेवीले आफ्नो सेवाको प्रारम्भ चर्चबाटै सुरु गरेको हुन्छ र प्रत्येक मानिसलाई चर्चमा जान मनोवैज्ञानिक रूपमा प्रेरित गरिन्छ । अन्तरिक्षका एक–एक तारा गनेर फुर्सद नपाएको अमेरिकालाई आज पनि किन त्यति धेरै चर्च र गिर्जा चाहिएको होला ?

बिस्तारै बुझ्दै गएँ । त्यो त उनीहरूको संस्कृति रहेछ, जसलाई निरन्तर जोगाइरहेका छन् । जतिसुकै आधुनिक भए पनि आफ्नो परम्परालाई राज्यले नै अनेक सुविधा दिएर बचाएकै छ । सानैदेखि नानीहरूलाई त्यसको शिक्षा पनि दिइरहेकै छ । हामीले यता उहिले पढाउँदै गरेको नैतिक शिक्षा अचेल कता पुगेको हुँदो हो ?

अमेरिकामा पाँच वर्ष बस्ने क्रममा मैले त्यहाँको माध्यमिक शिक्षालाई नजिकबाट देख्ने मौका पाएँ । हाम्रा छोरा अपूर्व यहाँबाट आठ कक्षा पूरा गरेर त्यहाँ पुग्दा १३ वर्षका थिए । उनलाई त्यहाँ उमेरअनुसार मात्र भर्ना गर्न पाइयो । त्यसमा पनि केही विषयमा पुनः परीक्षा दिनुपरेको थियो । अतिरिक्त कक्षा पनि लिनुपरेको थियो । त्यहाँको माध्यमिक शिक्षा पूरा गर्दा विद्यार्थी १८ वर्षको हुनुपर्ने भएकाले उमेर गणना गरेर उनलाई कक्षा आठमा राखियो ।

पछि जब पढाइ हुन थाल्यो, मैले उनका पाठ्यपुस्तकबारे चासो राखेँ । सम्पूर्ण पाठ्यसामग्री विद्यालयले नै उपलब्ध गराउने र अधिकांश पढाइ इन्टरनेटका माध्यमबाट हुँदो रहेछ । उनीहरू पुस्तकको भारी बोकेर स्कुल जाँदा रहेनछन् । खेलिरहेका देखिने तिनीहरू पढिरहेका पो हुँदा रहेछन् । पाठ घोक्नेभन्दा प्रायोगिक अभ्यास पठनशैली हुँदो रहेछ । अभिभावक पनि उत्तिकै सक्रिय बनाइन्छन् । विद्यार्थी कक्षाकोठामा पुगेन भने तुरुन्त अभिभावकलाई फोन आइहाल्छ । विद्यार्थीले स्कुलमा कुनै कमजोरी गरे हुलाकबाट जानकारीपत्र आउँछ । जुन विषयमा ऊ कमजोर छ, त्यसबारे अभिभावकलाई जानकारी गराउँदै त्यसका लागि अतिरिक्त निःशुल्क कक्षाको व्यवस्था हुन्छ । विद्यार्थी पढाइमा कमजोर हुनुका कारण खोज्दा घरेलु वातावरणको अनुसन्धान गरिन्छ । विद्यार्थीलाई स्कुलमा भर्ना लिनुअघि नै उसको अलग्गै सुत्ने/पढ्ने कोठा छ/छैन, त्यो निरीक्षण गरिन्छ । उसलाई कुनै पनि प्रकारको तनाव भए त्यसको जवाफदेही अभिभावक हुन्छ ।

त्यहाँ बच्चा १८ वर्षसम्म सरकारले अभिभावकको जिम्मामा दिएको एउटा सरकारी सम्पत्तिजस्तो मानिन्छ । १२ कक्षासम्मको शिक्षा, स्वास्थ्य, भोजन र सुरक्षा जिम्मा सरकारले लिएको हुँदा बाबुआमाको माया पनि सरकारी दायराभित्रै देखिन्छ । विद्यार्थीलाई कुनै विषयमा अनुत्तीर्ण भएर फेरि कक्षा दोहोर्‍याउने छूट छैन । उसले कुनै विषयमा अनुत्तीर्ण भएकै कारण अघिल्लो कक्षामा चढ्न पाउने ढोका बन्द हुँदैन, बरु अघिल्लो कक्षामा पुगेर पनि अनुत्तीर्ण भएको विषयका लागि अतिरिक्त कक्षा लिएर पास हुँदै जानुपर्छ । १८ वर्ष कट्दा उसले कक्षा १२ पनि पूरा गरिसकेको हुन्छ । उसले जस्तो परिणाम ल्याए पनि अब फेरि स्कुलमा हुँदैन ।

माध्यमिक तहसम्म पूर्ण निःशुल्क र शिक्षाको गुणस्तर उच्च हुने हुँदा सबैजसो नानीहरू सरकारी स्कुल नै जान्छन् । निजी स्कुल पनि हुन्छन् र त्यस्ता स्कुलमा सम्पन्नले मात्र पठाउँछन् । पढाइ मात्र होइन कि विपन्नका लागि स्कुल बस, खाजा र खाना पनि निःशुल्क हुन्छ । राम्रो अंक ल्याई स्कुल पास गरेकालाई कलेजले नै राम्रो सुविधा दिएर बोलाउँछन् । शुल्क तिरेरै पढ्नुपरे पनि शैक्षिक ऋणको व्यवस्था हुन्छ । यस्तो ऋण पढिसकेर जागिर खान थालेपछि ३० वर्षभित्र तिरिसक्नुपर्छ । त्यहाँ सरकारले अनिवार्य रूपमा माध्यमिक शिक्षा पूरा गर्ने सुविधाको व्यवस्था गरेको हुन्छ तर कतिले ती सबै सुविधा पाएर पनि पढ्दैनन् । त्यहाँ पनि स्कुल पास नगर्नेको ठूलै जमात भेटिन्छ । ज्ञानका हरेक क्षेत्रमा अमेरिकाले संसारलाई कसरी शासन गरेको छ भन्ने त्यहाँको शिक्षामा सरकारले गरेको लगानी र त्यसबाट प्राप्त उच्च स्तरको जनशक्ति नै हो । सम्पन्नताको जग भन्नु नै शिक्षा हो । नागरिक नै अशिक्षित रहे सरकारले जति नै पैसा खन्याए पनि त्यसले राम्रो परिणाम ल्याउँदैन ।

हाम्रो देशमा शिक्षालाई महँगो बनाइएको छ । मध्यम स्तरको आर्थिक परिवारका लागि यो अप्राप्यजस्तै छ । खुला बजार अर्थतन्त्रले उपभोक्तालाई आफ्नो क्रयशक्तिअनुसार बजार व्यवस्थापन गरेको हुन्छ । ऊ आफ्नो क्षमताअनुसार किन्न स्वतन्त्र छ । तर शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले विशेष भूमिका खेल्नुपर्ने हुन्छ ।

त्यसो त हाम्रो देशको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन निजी विद्यालयको योगदान महत्त्वपूर्ण छ । हाम्रो देशबाट माध्यमिक शिक्षा पूरा गरेकाहरू संसारका ती अतिविकसित देशमा उच्च अध्ययनका लागि पुगेर तरक्की गरिरहेका छन् । विदेशमा पढिरहेका अधिकांश नेपाली ती देशका विद्यार्थीभन्दा अब्बल देखिने गरेका छन् । शिक्षा क्षेत्रमा हाम्रो अत्यन्त उच्च स्तरको जनशक्ति तयार भइरहेको छ, विदेशमा । उनीहरू सकेसम्म आफ्नो योग्यतालाई आफ्नै देशमा खर्च गर्न चाहन्छन् । त्यो जनशक्तिलाई यता आकर्षित गर्न सरकार अब तयार हुनुपर्ने भएको छ ।

अमेरिकी नासाका युवा वैज्ञानिक लुजेन्द्र ओझा, जो मंगल ग्रहमा पानी पत्ता लगाउने वैज्ञानिकको टोलीमा थिए । मरेको मान्छेको मुटु जिउँदो मान्छेमा प्रत्यारोपण गर्ने विश्वको पहिलो चिकित्सक डा कुमुद धिताल अस्ट्रेलियामा अध्ययनकै लागि गएका नेपाली विद्यार्थी थिए । साधन, सुविधा र प्रविधिको उपलब्धता भए नेपाली युवा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन सक्दैनन् भन्ने छैन ।

हामीले देशको सरकारी विद्यालय शिक्षाको गुणस्तरलाई निजी विद्यालयसरह नपुर्‍याएसम्म सबै वर्गका बालकको प्रतिभामाथि न्याय हुन सक्दैन । शिक्षाको समानताबाटै वर्गविहीन समाजतिरको यात्रा सुरु हुन्छ ।

प्रकाशित: श्रावण १४, २०७६