अरुन्धतीको आँट

- विष्णु सापकोटा

बिक्री र चर्चाका हिसाबले समेत निकै माथिल्लो हारमा उभिएको गड अफ स्मल थिंग्सको पठन अरु उपन्यासजस्तो सरल छैन । तर यही उपन्यासबाटै अरुन्धती रोय विश्वकै गिनेचुनेका उपन्यासकारमा परिन् । उपन्यासमा राजनीतिले बुनेको भारतीय समाजका पात्रमाथि कसरी इतिहास बगेको छ भन्ने यथार्थलाई बडेबडे ऐतिहासिक विचारधारा नथोपरीकन प्रस्ट पारिएको छ । जिन्दगीका अर्थ खोज्ने क्रममा हामी ठूल्ठूला कुरा हेर्दै जान्छौँ तर साधारण मानिएका पात्र र वस्तुमा गहन अर्थ भेटाउने पाटोलाई अरुन्धतीले कुशलतापूर्वक उनेकी छन् ।

बौद्धिक–तार्किक लेखनको ताकतकै कारण अरुन्धतीका कुनै पनि पुस्तक नबिराई पढ्न मन लाग्छ । सत्ता–संस्थापनले लाद्ने अधिनायकत्वविरुद्ध उनी निर्धक्क प्रश्न उठाउँछिन् । पुँजीवादले खडा गरेका विभेदका विपक्षमा र सीमान्तकृत पात्रको पक्षमा उभिने रोयको बौद्धिक आँटले धेरैलाई कायल बनाउँछ । नर्मदा बचाऊ अभियानमा लागिसकेकी अरुन्धतीसँग संयोगले १९९९ मा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा भेट हुँदा लालित्यपूर्ण वैचारिक वर्णन गर्न सक्ने उनको विशिष्ट लेखकीय कौशललाई सम्झेको थिएँ । उपन्यासमा महिलामाथि हुने घरेलु हिंसा, दलितले भोग्नुपरेका अपहेलना र उत्पीडनमा भारतीय समाजको अनुहार देख्न सकिन्छ । साधारण पात्रका औसत जीवनमा विचारधारा कसरी लादिएको हुन्छ भन्ने स्पष्ट चित्र छ, उपन्यासमा । हिंसा पनि एउटा विचारधारा हो । पुरुष भएपछि हिंसा गर्ने छूट छ, केटाकेटीलाई ठूलाले हेप्न पाइन्छ, साना भनिएका जातिमाथि थिचोमिचो गर्न पाइन्छ भन्नु पनि विचारधारा नै हो । धर्मजस्तै बन्दै गएका कम्युनिस्ट पार्टीमाथिको व्यंग्य पुस्तकको अर्को सशक्त पक्ष हो । उपन्यासका पात्रले भोग्नुपरेको उत्पीडन नेपाली समाजको पनि व्यथा भएकाले नेपाली पाठकका लागि उति नै मर्मस्पर्शी लाग्छ ।

मानव इतिहासबारे धेरैले लेखेका छन् तर मानव–जातिको विकासक्रमका विभिन्न चरणमाथि स्यापियन्समा मिहीन र तार्किक टिप्पणी छ । बौद्धिक इतिहासमाथि रहेको आफ्नो रुचिका कारण युवल नोह हरारी पढ्दा खुराक भेटेजस्तो लाग्छ । देश/राज्य बन्नुका ऐतिहासिक कारणसहितको राजनीतिक इतिहास त छँदै छ । मान्छे किन समुदायमा बस्नुपर्‍यो ? ऊ काम, क्रोध, लोभ, मोहसँग कसरी ठोक्कियो ?

यस्ता प्रश्नको उत्तरमा आउने सहज र स्थापित उत्तरलाई विनिर्माण गरी विश्लेषण गर्छन् हरारी । स्यापियन्सले मानव इतिहासको यति विहंगम दृष्टि र विकासक्रम हामीसामु पस्किदिन्छ कि ७० हजार वर्षयता विकसित सामाजिक संस्था, राज्य, विविध वादजस्ता महत्वपूर्ण विषय भर्खरै चलायमान भएझैँ लाग्छ । इतिहासको ऐना अगाडि राखेर वर्तमान मानवीय उपक्रम किताबले देखाएको छ, जसले भविष्यको बाटो आकलनमा पनि सहयोग गर्न सक्छ । युवा पुस्ता मात्रै होइन, मानव इतिहास बुझेको दाबी गर्ने पुरानो पुस्ताले पनि यो किताब पढ्नु उत्तिकै अर्थपूर्ण छ ।

भाषाले स्मृतिलाई व्यवस्थित बनाउँछ । र, त्यसैबाट मिथक निर्माण हुन्छ । अहिले पनि स्वर्ग र भगवान्जस्ता मिथकमाथि संसारका धेरै मानिस विश्वास गर्छन् । उनको विचारमा हुँदै नभएको कुरा पत्याउने र स्वघोषित ‘अब्बल’ प्राणी मान्छे मात्रै हो । कतिपय प्राणी मान्छेभन्दा संवेदनशील हुन्छन् तर मान्छेले आफ्ना कतिपय हिंसात्मक हर्कतलाई पाशविकको संज्ञा दिएर पशु–जगतमाथि अवमूल्यन गरेको छ । हरारी समाज, राज्य, प्रणाली, व्यवस्था, विचारधारा आदिलाई ऐतिहासिक सोपानमा राखेर पर्गेल्छन् ।

ज्याँ पाल सार्त्रको मास्टरपिस बिइङ एन्ड नथिङनेस मलाई धेरै प्रभाव पार्नेमध्येको पुस्तक हो । यसमा विश्वलाई तरंगित गर्न सक्ने आधुनिक विचारधारा अस्तित्ववादलाई सैद्धान्तिकीकरण गरिएको छ । विश्वयुद्धको निराश पृष्ठभूमिमा मान्छे ले आफ्नो अस्तित्व दाबी गर्दा कर्मको जिम्मे वारी लिने व्यक्ति पनि खोज्न थाल्यो  । हामी को हौँ ? हामी किन यहाँ छौँ ? जीवनको अर्थ के हो ? अनेक विधा र प्रशाखा भए पनि दर्शनमा मुख्य गरी यिनै प्रश्नको उत्तर खोज्ने प्रयत्न हुन्छ ।

उत्तरआधुनिकतावादले दर्शनमा नयाँ बहस सिर्जना गर्‍यो, जसले सत्य र केन्द्रलाई हेर्ने दृष्टि विनिर्माण गरिदियो । जति नै बढी हल्लाखल्ला गरे पनि उत्तरआधुनिकताको जग अस्तित्वादमै गएर ठोकिन्छ । अर्थको एक केन्द्र भत्काएर बहुलतालाई उत्तरआधुनिकताले बढावा दियो तर अर्थको खोज गर्न सिकाउने त अस्तित्ववाद नै हो । जीवनका खोक्रोपन, दुष्कर्म र निरर्थकताको कारक धार्मिक रहस्यमा लगेर टुंग्याइदिने बहानालाई चुनौती दिएकाले पनि मलाई अस्तित्ववाद आकर्षक लाग्छ ।

पुरातनपन्थी महाआख्यानलाई चुनौती दिँदै सार्त्रले ‘हामी छौँ र सत्य छ’ भन्ने भाष्य स्थापित गरे । यद्यपि उनको विचारलाई मलजल गर्ने थुप्रै समकालीन साहित्यिक रचना थिए । मानव अस्तित्वपछि मात्रै आस्था, विचार र सत्य आउनेमा उनी जोड दिन्छन् ।

करिब चार हजार वर्षको पश्चिमा दर्शनशास्त्रको इतिहास केलाउँदा बिइङ एन्ड नथिङनेसपछि जीवनका नयाँ उत्तर आएजस्तो लाग्दैन ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: श्रावण १४, २०७६