खाजाको १४ हजार !

- पर्वत पोर्तेल

मणिपुरको नेपाली गाउँ काङ्लातोम्बीको फाँट हुँदै पहाड उक्लिएका हामी बिहान ११ बजे मोरे पुग्यौँ । भोकले पेटमा मुसा दौडन थालेका थिए । “कतै राम्रो होटल छ ?” मैले स्थानीय व्यापारी कुमार रेग्मीलाई सोधेँ । उनले बजारको भित्री गल्लीतिर लिएर गए । काठमाडौँको असनभन्दा पनि साँघुरो ।

तीन मिनेट जति गल्ली छिचोलेपछि एक बर्मेली रेस्टुराँमा पुग्यौँ । हेर्दा चिटिक्क, कामदार युनिफर्ममा ठाँटिएका । कुमारले एक वेटर महिलालाई बोलाएर बर्मेली भाषामा कुरा गरे । मैले भनेको थिएँ, अघाउने होस्, बर्मेली स्वादको होस् ।

१० मिनेटपछि ती वेटरले थुक्पा ल्याइन्, एकछिनमा तारेका बर्मेली माछा । आलुदम पनि आयो । अरु केही आइटम आए । साथी सञ्जयले बर्मेली बियर पिउने इच्छा गरे । कुमार पसलतिर हिँडे । यति धेरै परिकार खाइसक्न झन्डै एक घन्टा लाग्यो ।

पैसा तिर्ने बेला कुमारजी आइपुगेनन् । बर्मेलीले नेपाली भाषा बुझ्ने कुरै भएन । अंग्रेजीबाट कुरा गरेको होटलवालाले बुझेनन् । मैले अंग्रेजीमा बिल मागेँ । वेटरले बुझिनन् । होटल साहूले क्यालकुलेटरमा देखाए– १४ हजार रुपैयाँ ।

जम्माजम्मी १५ हजार रुपैयाँ बोकेर यात्रामा हिँडेका हामी खाजाको बिल नै १४ हजार सुनेपछि ट्वाँ पर्‍यौँ । बियरले हल्का मातेका सञ्जयलाई पनि नशाले छाडेछ । धन्न होटल साहू अलिअलि हिन्दी बुझ्ने रहेछन् । सोधियो, भारतीय रुपैयाँचाहिँ कति ? ७ सय । लामो सास फेर्दै सञ्जयले भने, ”दाइ अर्को बियर थपौँ ।”

व्यापारमा नेपाली

दिल्ली–मणिपुर–म्यानमारको रुट प्रयोग गरेर भइरहेको मानव तस्करीको रिपोर्टिङ सिलसिलाले म्यानमार पुर्‍याएको थियो । म्यानमार मेरो दोस्रो यात्रा थियो । तीन वर्षअघिको म्यानमार भ्रमण जति रोचक र उत्साहजनक थियो, यस पटक न रोचक, न त उत्साहजनक । बरु फिक्का थियो । विगतमा भेटिएका साथीसंगी कोही देखिएनन् । म्यानमारका धेरैजसो नेपालीभाषी अगुवा अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघको महासभामा भाग लिन गएका रहेछन् ।

नयाँ साथी भेटिए, भारतको मोरे भन्ने सानो बजारसँगै रहेको टमुको नाम्फालुममा । यो अन्तर्राष्ट्रिय सीमाको विशेषता रोचक छ, एक पाइला वर भारत, अर्को पाइला टेक्दा म्यानमार । टमुको नाम्फालुमका पसलमा धेरैजसो नेपाली अनुहार देखिन्छन् । बोलीचालीको लबज नेपालतिरकै स्तो । नेपालीभाषी व्यवसायी वासु भट्टराई भन्दै थिए, “यहाँको सिंगो बजारमा हाम्रो प्रभाव छ ।” सानोतिनो व्यापार बर्मेलीको, ठूलो लगानी नेपालीको । त्यही भएर ठूला व्यापारीमा गनिँदा रहेछन् यहाँका नेपाली ।

एकै परिवारको सिंगो गाउँ

विश्वकै ठूलो परिवारबारे पढेको मात्रै थिएँ । यसपल्ट प्रत्यक्ष देखेँ । गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नामांकित यो परिवार वास्तवमै अनौठो रहेछ । सिंगो गाउँ एउटै परिवारको रहेछ । भारतको पूर्वोत्तर राज्य मिजोरमको आइजोलबाट करिब ५० किलोमिटर यात्रा तय गरेपछि बाक्तोङ जिल्ला पुगिन्छ, जहाँ विश्वकै ठूलो परिवारको गाउँ छ ।

यो परिवारका अगुवा जायोन नाङ्खा हुन् । ७५ वर्षका जायोनका पत्नी ३९ वटी रहेछन् । ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य । जायोनसँग १ सय ८० जना बस्छन् । तीनतले घरमा यी सबै अटेका छन् । फराकिलो किचनमा दैनिक सय किलोभन्दा बढी चामल पाक्छ ।

“जायोनको घर कता हो ?” मिजोरमका नेपालीभाषी अजय थापाले एक महिलालाई सोधे । ती महिलाले बैजनी रंगको घर देखाउँदै भनिन्, “घर त्यो हो, म उनकी नातिनी हुँ ।” हामीले छिमेकी ठानेकी ती महिला त नातिनी पो रहिछन् । जायोनको घर छिर्नेबित्तिकै आँगनमा महिला ढुंगा, इँटा ओसार्दै थिए । मैले ठानेँ, यी मजदुर होलान् । तर मेरो अनुमान फेल खायो । ती महिला त कति जायोनका पत्नी र कतिचाहिँ छोरी, बुहारी पो रहेछन् । “हाम्रो गाउँमा काम गर्ने मजदुर पनि हामी नै हो, मालिक पनि हामी नै,” जायोनले भने ।

जायोन पेसाले काठ मिस्त्री रहेछन् । करिब ४ सय घरको सिंगो गाउँ जायोनकै हाँगाबिँगाबाट बनेको हो । २ हजार ५ सयजति त जनसंख्या नै रहेछ । वार्षिक २ सयजति शिशु थपिने रहेछन् । “बाहिरको परिवारका मान्छे कोही पनि आउँदैनन्,” जायोनका जेठा छोरा नुन पारलियान भन्दै थिए, “यहाँका स्कुल, खेल मैदान सबै हाम्रा परिवारले बनाएका हुन् ।” यो परिवारको सय वटा त भलिबल टिम नै रहेछ ।

प्रकाशित: श्रावण १४, २०७६

×