मेरो कथा खाली–खाली पिँजडामा खोज...

- देवेन्द्र भट्टराई

गीतांगे डाँडा । सन् ७० को दशक । अलिक बादल  लागेको घुर्मैलो एउटा दिनमा मनबहादुर मुखिया पनि धुम्मिएका थिए । उनकै भनाइमा– “एकदमै वेदनाको क्षण आयो । आफैँलाई सम्हाल्न नसकेको, त्यस्तै परिस्थितिले लछारपछार गराएको क्षणमा शान्ति ठटाल दिदीको आश्रयमा पुगेको थिएँ । गीत लेखेर गएको थिएँ – मेरो कथा खालीखाली पिँजडामा खोज, मेरो व्यथा भत्किएको मन्दिरलाई सोध...।

   सुरुमा दिदीले टेरपुच्छर लाएकी थिइनन् । शब्द सुनेपछि पुलुक्क हेरिन् । अनि हारमुनियमका रिडमा औँला नचाउन थालिन्... । हेर्दाहेर्दै आधा घन्टामा तयार भयो यो गीत । म भावनात्मक द्वन्द्वको अवस्थामा थिएँ, यो गीतले ‘क्याथर्सिस’ को काम गर्‍यो ।”

सन् १९७७ जनवरी । एक दिन एकाएक दार्जिलिङ चौरस्तामा शान्ति–मनबहादुर भेटिए । शान्तिले सुनाइन्, ‘लु  भाइ, ‘मेरो कथा’...गीत नारायणगोपालले गाउने भए है ।’

“ओहो, यो त लकको कुरा हो नि...,” एकै सासको जवाफ थियो, मनबहादुरको । यसरी बज्न थाल्यो एउटा गीत, मेरो कथा...। सन् १९८२ मा अर्की गायिका विमला सेन्चुरीले खर्साङ रेडियोमा यही गीत फेरि रेकर्ड गराएकी थिइन् ।

मुखियाका बुझाइमा सधैँ हल्लाखल्ला भइरहने थलो थियो– गीतांगे डाँडा । त्यो हाहुमाझ कुनै व्यक्तिभित्र पस्नु, भित्रै पसेर स्रष्टा पहिल्याउनु अनि त्यही भरमा गायक अथवा संगीतकार बन्नु चानचुने कुरा थिएन । मुखियाका शब्दमा यसकारण ठटाल ‘चानचुने’ थिइनन्, ‘सितिमिति’ होइनन् ।

धेरै वर्षपछि यसपाला मुखिया र ठटालको भेट भयो, काठमाडौँ नेपालय घरमा । यी दिदी–भाइले धेरै समय पुराना दिन सम्झिए । एकअर्काका राम्रा–नराम्रा बानी उधिनिहेरे ।

शान्ति : दार्जिलिङमा पूरा छाएको थियो हो, मुखिया । गीतकार, कलाकार, लेखकका रुपमा मुखिया भन्नेबिक्तिकै ‘क्रेज’ थियो । ऊ छुच्चो पनि थियो, मापाको छुच्चो ।

मनबहादुर : छुच्चो हुनु चैं दिदीबाटै सिकेको  आबुइ...

शान्ति : अन्ता हामीलाई पनि न्यास्रो भयो, मुखिया नेपाल गएपछि (सन् १९७९) । मकहाँ आइरहन्थ्यो, झिंझो लाग्ने गरी कराइरहन्थ्यो । कति पटक कराएरै अरुणा (लामा) लाई रुवाएको पनि थियो ।

मनबहादुर : मैले १९५२ देखि चिनेको हो दिदीलाई । म प्रि–स्कुलमै पढ्थेँ । दिदीको बुद्धकन्या स्कुल छेउमै घर थियो । हामी त यताउता दगुरी बस्थ्यौँ । ‘उता जाओ है, भुराभुरी हो’ भनेर दिदीले दपेट्थिन् घरिघरि । नामै ‘छुच्ची दिदी’ राखिदिएका थियौँ । भन्नु त मिल्दैन तर शान्ति दिदीबारे उतातिर निकै ‘मिथ’ हरु थिए, धेरै सुनियो । कति सुनेर ‘इग्नोर’ पनि गरियो । कतिमा रमाइलो मात्रै मानियो ।

शान्ति : तिमी केही नभन है मुखिया, चुपो लागेर बस...खुबै मिथहरु ! मिथ होइन, सब मिथ्या हो...।

मनबहादुर : एक पटक अल्लारे काइदाको गीत लेखेर दिदी छेउ पुगेको थिएँ– मेरो मनमा के छ के छ, तिम्रो मनमा के छ...

दिदीले पुलुक्क हेरेर गाली गर्नुभो– यस्तो पनि गीत लेख्ने हो ? संगीत त भर्नुभो तर रेकर्ड भएन ।

शान्ति : सायद सन् ७६ को अन्त्यतिर हुनुपर्छ । गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ माथि प्रताप सुब्बाले फिल्म बनाउने भएछन् । त्यसको प्लट, कथा लिएर प्रताप मकहाँ आए । अब शब्द–संगीतको काम पूरा गर्नु थियो । अनि मैले झट्टै मुखिया भाइलाई सम्झिएँ । उसलाई भेटेर कथाको ‘सिन’ सुनाएँ । उसले पनि लेखिहाल्यो– उडी जाउँ भने म पन्छी होइन र अरु गीतहरु... । त्यसरी परालको आगो (सन् १९७८) मा म, प्रताप र मुखिया गाँसियौँ ।

मनबहादुर : उबेला गोर्खा दुःख निवारक सम्मेलन र सम्मेलन–हल भनेसि एउटा ‘जंसन’ नै थियो । त्यो हलमा मैले एक पटक शान्ति दिदीले गाएको सुनेको थिएँ, लोकभाकाको एउटा गीत– यो माया तिम्रै हो साइँला/थाप रुमाल, बाँध बलियो...। त्यसबेला गुरु अम्बर गुरुङलाई पनि दर्शकदीर्घाको अघिल्लो पंक्तिमा देखेको थिएँ, परैबाट । तर यो साइँला गीत न फेरि कतै सुनियो, न त रेकर्ड नै भयो ।

पछि सन् १९७१ मा बंगलादेश मुक्ति आन्दोलन चम्केको थियो । त्यसबेला एउटा नाटकका लागि महिला, बालबच्चाको बिजोग भएको कथानक गीत मैले लेखेको थिएँ । शान्ति दिदीले संगीत भरेको यो गीत पनि रेकर्ड हुन पाएन ।

शान्ति : यो मुखिया भाइ त आन्दोलनकारी पनि हो नि, उग्र भाँतीको । उसबेला भाषाको आन्दोलन निकै चर्केको थियो । प्रधानमन्त्री इन्दिरा गान्धी सन् १९७२ मा दार्जिलिङ आएकी थिइन् । ठाउँठाउँमा स्वागत गेट बनिएको थियो । गाग्रीहरु सजाएर बाटाका छेउछाउ राखिएका थिए । सिंगमाढीको सेन्ट जोसेफ ग्राउन्डमा इन्दिरा, मुख्यमन्त्री सिद्धार्थ शंकर रे आदिको भाषण हुनेवाला थियो । सबैमा चासो थियो, इन्दिराले नेपाली भाषाबारे के बोल्नेछिन् भनेर । नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा हाल्नका लागि आन्दोलन जारी थियो । त्यो समारोहमा स्वागत गान गर्न भने ठटाल, अरुणा लामा र शरणलाई लगिएको थियो । हामी ‘भीआइपी’ सत्कारमा थियौँ ।

ग्राउन्डको भित्तामा टन्नै छन् हो, मान्छेहरु । प्रधानमन्त्रीले भाषणमा भनिन्– ‘दार्जिलिङ कति सुन्दर ठाउँ छ । यहाँ एजुकेसनका लागि कति राम्रा स्कुलहरु छन् । यहाँको हावापानी राम्रो छ, यहाँका मानिस पनि उस्तै राम्रा छन् ।...तपाईंहरुसँग तागत छ, जोस छ । यसलाई सही काममा लगाउनुहोस् । जस्तो कि, पानीको सही उपयोगले खेत उर्बर हुन्छ, बिजुली निस्कन्छ...आदि

लामो भाषण जारी थियो । पारिपट्टि भीरमा काला झन्डा लिएर मनबहादुर मुखियासहितका केटाहरु बसिरहेका रहेछन् । एक्कासि सुनियो– ‘ह्वाट अबाउट आवर ल्यांग्वेज...? हाम्रो भाषा खोइ ?’

अनि छिनभरमै भीर र भित्तातिर छ्याप्पै काला झन्डा देखिए, मान्छेहरु भागाभाग गर्न थाले । अचानक प्रधानमन्त्री बोल्दै गरेको माइक पनि बन्द भयो । हत्तपत्त स्कर्टिङ गाडीमा राखेर प्रधानमन्त्रीलाई भगाइयो । उनलाई गभर्नर हाउस लगियो । बेलुका चियापानमा हामी कलाकारलाई बोलाइएको थियो । तर डरको मारे...कोही गएनौँ । यो घटना मेरा निम्ति ‘आँखो देखी हाल : मुखिया’ थियो, भुल्नु नसक्ने ।

यसरी इतिहासका साक्षीसामुन्ने ‘फात्सुङ’ को अर्को किस्सा सुनिरहेका बेला मनबहादुर र शान्ति कहिले हँसीमजाकमा हुन्थे, कहिले रुन्चेझैँ सुनिन्थे । ७० को दशकपछि अनि देउराली रुन्छ नाटक लिएर मुखिया दार्जिलिङ, कालिम्पोङ, गान्तोक, मङ्पु हुँदै काठमाडौँमा उत्रिएपछि उनको नामकामै अर्को बन्यो । यसको पनि पृष्ठभूमि रहेछ ।

सन् १९५४ तिर बालकृष्ण सम अमरसिंह नाटक लिएर दार्जिलिङ पुगेका रहेछन् । लगत्तै गायक धर्मराज थापासहितको टोलीले दार्जिलिङ पुगेर ‘नेपालीले माया मार्‍यो बरी लै’ गाएर प्रवासीलाई जुरुक्कै बनाएको रहेछ ।

अलिक पछि सन् १९७५ तिर शिवशंकर थापा, गोविन्द कटुवाल र दीप श्रेष्ठ पुगेका रहेछन् दार्जिलिङ । शिगोदि पत्रिकामा दार्जिलिङ यात्रा र शान्ति दिदीसँगको भेटवार्ताबारे उही बेला लेखिएको रहेछ ।

त्यही बेला मनको बाँध फिल्मी टिम दार्जिलिङ उत्रिएको रहेछ । बसुन्धरा भुसाल, हरिप्रसाद रिमाल, सुष्मा शाह, मीना सिंह, हरकुमार सिंह (वितरक) सहित त्यो टोलीमा थिए । प्रज्ञा प्रतिष्ठानका कुलपति लैनसिंह बाङ्देल नि पुगेका रहेछन् ।

यो पृष्ठभूमि किन भने यी सबैले ‘दार्जिलिङको प्रतिनिधित्व हुने गरी काठमाडौँमा केही कार्यक्रम गर्नुपर्‍यो’ भन्ने आग्रह गर्दै आएका रहेछन् । त्योताका चल्तीमा थियो– अनि देउराली रुन्छ नाटक ।

यसरी सन् १९७६ को फेब्रुअरीमा नाटककार मुखियासहितको टिम काठमाडौँ आएको थियो, प्रज्ञाको निम्तोमा । अनि देउराली रुन्छले काठमाडौँमा लगातार ३ महिना ‘धुम’ मच्चाएको थियो ।

मुखियाका शब्दमा दार्जिलिङमा तीन ठाउँ थिए– उनी ढुक्कैसँग गइरहने । शान्ति, अरुणा र रामलाल अधिकारीको निवास । पछि सबै छिन्नभिन्न भए । उनी धेरै पछि ठटालको त्यही घर खोज्दै दार्जिलिङ गए । तर गीतांगे डाँडाछेउ दिदीको त्यो घर रहेनछ । दिदी पनि भेटिइनन् । सोधखोज गर्दा दिदी कागझोडा बस्छिन् भन्ने मुखियाले थाहा पाए । त्यहाँबाट पनि दिदी सिलिगुढी गएको पत्तो भएछ । अनि केही दिन चौरस्तातिर टहलिँदै काठमाडौँ फर्किए ।

“चाइल्डहुड–मेमोरी जाँदैन क्या भाइ...,” यसो भनिरहँदा शान्ति दिदीका गहभरि आँसु थिए । त्यो गीतांगे डाँडा । रहकुमारी राई भन्ने गायिका, शेखर दीक्षितकी श्रीमती । ईश्वरबल्लभका ससुरा मन्थुलाल क्षत्री पनि त्यही थिए, गोर्खा दुःख निवारकका एक संस्थापक । जोगेन खान भन्ने अर्केस्ट्रा कन्डक्टर । जोगेनले बल्लभको ‘एउटा नीलो सूर्यास्त’ मा अर्केस्ट्रा बजाएका थिए ।

“अब त्यो दार्जिलिङ रहेन । म पनि पुग्छु कहिलेकाहीँ तर कुनै बिरानो ठाउँ पुगेजस्तो । कसैले चिन्दैन,” रुन्चे स्वरमा मुखिया ।

ती सन् ७० का अन्तिम वर्ष थिए । शान्ति दिदी टिस्टा तरेर सिक्किम पुगेकी थिइन्, मुखिया भने मेची तरेर काठमाडौँ आएका थिए ।

यसरी सम्झिरहेका थिए, दुवैले इतिहासको स्वर्णिम कालखण्ड । एकअर्कालाई सुनाइरहेका थिए :

यो आँसु अहिले खर्च नगर

जुनी नै रुनु छ,

यही आँसु बगाई तिमीले

संसारको मैलो धुनु

नाटक : क्रसमा टाँगिएको जिन्दगी । लेखक : मनबहादुर मुखिया  । संगीत : कर्म योञ्जन । स्वर : शान्ति ठटाल ।

प्रकाशित: श्रावण १४, २०७६