नेपाली झन्डाको विरासत

- हरिराम जोशी

संसारकै प्राचीनमध्येमा पर्ने नेपालको राष्ट्रिय झन्डाका विषयलाई पछिल्लो समय राजनीतिक रङ पनि दिन खोजियो । चन्द्र–सूर्य अंकित झन्डाको प्रतिनिधित्व शाहवंशले गरेको भन्दै यसलाई फेर्नेसम्मका आवाज मुखरित भए । तर झन्डाको इतिहास शाहवंशको नभई १३०० सय वर्ष पुरानो हो । नेपाली झन्डामा राजा/महाराजाले आफूलाई शक्तिशाली देखाउन चन्द्र–सूर्य अंकित गरिएको भनिए पनि इतिहासले त्यसो भन्दैन । झन्डाको मान–सम्मान राजा/महाराजाले पनि राखेको विभिन्न वंशावलीमा उल्लेख छ ।

नेपालको राष्ट्रिय झन्डा अरु देशको भन्दा फरक छ । संसारका सबैजसो झन्डा चारकुने छन् तर नेपालको झन्डा तीन कुना जोडिएर बनेको छ । राष्ट्रिय झन्डामा दुइटा चुच्चो हुनुको अर्थ पनि विशेष रहेको इतिहासकारको मत छ । यसको अर्थ नेपाल पहाड, तराई र हिमाल रहेको चुचुरासहितको देश भन्ने नै हो ।

लिच्छविकालीन अंशुवर्माको मुद्रामा पनि दुई पताकासहितको नेपालको झन्डा अंकित छ । यी मुद्रामा सिंहले झन्डा समातेको छ । यसको अर्थ सिंहलाई शक्ति र स्वाभिमानको स्रोत भनिएको हो । मानदेवकालीन मुद्रामा सिंहले झन्डालाई अभिवादन गरेको छ । यसको अर्थचाहिँ सिंह सत्ताको प्रतीक भए पनि झन्डालाई सम्मानभाव दर्शाउनुपर्छ भनिएको हो । अंशुवर्माको अर्को मुद्रामा पनि दुवैतिर सिंहाकृति छन् । उक्त सिंहाकृतिलाई राष्ट्रिय चिह्नको झन्डाको रुपमा मान्यता दिइएको हुन सक्छ ।

झन्डामा रहेको चन्द्र–सूर्यको सांकेतिक अर्थ हामी सबै यसमा गोलबद्ध र एकताबद्ध छौँ भन्ने हो । यसर्थ झन्डा राष्ट्रिय एकता र सहिष्णुताको प्रतीक पनि हो । झन्डामा चन्द्र माथि र सूर्य तल छन् । चन्द्र शान्तिको प्रतीक र सूर्यको अर्थ परिवर्तन हो । शान्ति पूरा भएपछि मात्र सामाजिक, राजनीतिक र आर्थिक समृद्धि आउँछ भन्ने देखाउन खोजिएको हो ।

नेपाली झन्डाको इतिहास धर्मसंस्कृति र मेला/महोत्सवसँग पनि जोडिएको छ । विभिन्न देवस्थलमा राखिएका झन्डा पनि दुई पताकासहितका हुन्छन् । इन्द्रजात्रामा इन्द्रध्वज उठाएको सबैले हेर्छन् तर ध्वज ढालेको कसैले हेर्नु हुन्न भन्ने मान्यता छ । त्यो भनेको झन्डालाई नागरिकले दिने सम्मान हो ।

मच्छिद्रनाथबारे पनि यस्तै मान्यता छ । मच्छिन्द्रनाथको रथयात्रा गरी सहर परिक्रमा गराउँदा सबैले बाजागाजासहित पूजाआजा र सम्मान प्रकट गर्छन् । तर यात्रा समापनपछि मच्छिन्द्रनाथलाई फर्काएर लैजाँदा कसैले हेर्दैनन् । त्यो भनेको झन्डा/पताकाप्रतिको सम्मान हो । झन्डाको आस्था अटल छ भनिएको हो ।

लिच्छविकालीन समयदेखि नेपाली झन्डाको इतिहास अहिलेसम्म अविच्छिन्न रहेकाले यसलाई फेर्नुपर्छ, परिवर्तन गर्नुपर्छ भन्ने मत पनि सुनियो । पहिचानवादी/परिवर्तनकारी जे भनिए पनि तिनीहरुले नेपाली झन्डाको इतिहास बुझेनन्/बुझ्न चाहेनन् । राष्ट्रियताको मियो नेपाली झन्डाप्रति दृष्टिदोष देखाउनु सबै एकताबद्ध छैनौँ भन्न खोजिएको हो । नजिकबाट इतिहास नखोज्ने र जुनसुकै प्राचीन ऐतिहासिक वस्तु नामेट पार्ने मनसुबा यसभित्र लुकेको छ ।

झन्डाबारे बाहिर आएका अफवाहका विषयमा अहिलेसम्म नेपालका इतिहासकार, पुरातत्वविद्, विद्वान्/पण्डितहरु कसैले पनि शब्द खर्चिएका छैनन् । राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीलगायतले पनि यसबारे केही बोलेको मैले सुनेको छैन । अचम्म के भने विसं २००४ मा पहिलोपल्ट काठमाडौँ हनुमानढोकामा आयोजित साहित्य सम्मेलनमा ‘राष्ट्रिय झन्डा’ विषयमा राष्ट्रकवि घिमिरेको कविताले पहिलो स्थान प्राप्त गरेको थियो ।

नेपाली झन्डाका विषयमा मैले छुट्टै खोज/अनुसन्धान नगरे पनि इतिहास, संस्कृति विषयविज्ञको नाताले जागिरकै सिलसिलामा २०३३ मा उत्तरप्राचीनकालीन मुद्रा विषयको पुस्तक लेखियो । साझाले प्रकाशन गरेको उक्त पुस्तकमा प्राचीन मुद्राबारे गहिरो अनुसन्धान गरियो । प्राप्त ऐतिहासिक सामग्रीमा अंशुवर्मा, मानदेवकालीन समयका मुद्रामा पनि नेपालको राष्ट्रिय झन्डाका विषयमा वर्णन गरिएको फेला परे । त्यसकारण नेपालको राष्ट्रिय झन्डा कुनै पनि कालका राजा/महाराजालाई आधार मानेर निर्माण गरिएको प्राचीन ऐतिहासिक प्रमाणले पुष्टि गर्दैनन् ।

प्रकाशित: श्रावण १६, २०७६