ठूलो सिसी क्यामेरा

- सुरेश किरण

अहिले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि ठाउँठाउँमा सिसी क्यामेरा राख्ने अभियानै चलाएको छ । यो अभियानमा नेपाल प्रहरी सफल नै भन्नुपर्छ । सिसी क्यामेरा जडानलाई नेपाल प्रहरीले यतिबेला यसरी अघि बढाएको छ, मानौँ– प्रहरीले जति पनि अपराध पत्ता लगाउन नसकेर थाँती परेको छ, त्यो जम्मै सिसी क्यामेरा नभएर मात्रै हो । यदि सिसी क्यामेरा मात्रै ठाउँमा भएको भए निर्मला पन्तका हत्यारासमेत उहिल्यै समातिन्थे होला ।

 सिसी क्यामेरा जडान द्रुत गतिमा अघि बढ्दै थियो । त्यही बेला प्रहरी प्रधान कार्यालयमा एउटा अधबैंसे मानिस देखापरे । उनको हातमा एउटा ठूलो बाकस पनि छ । उनी भित्र जान खोज्दै थिए । गेटैमा रोकेर सोधियो, ‘ओए, कहाँ जान लागेको ?’

‘भित्र ।’ उनले संक्षिप्त उत्तर दिए ।

‘किन ?’ प्रश्न पनि संक्षिप्तै आयो ।

‘यो दिन ।’ उनले हातको बाकस देखाए ।

‘के यो ?’ प्रहरीको आँखा बाकसतिर डुल्न थाल्यो ।

‘सिसी क्यामेरा ।’

‘सिसी क्यामेरा ? यत्रो ठूलो ?’

‘यो बाटोमा राख्ने सिसी क्यामेरा होइन नि, यो त प्रहरी प्रधान कार्यालयमै राख्ने सिसी क्यामेरा हो ।’

‘प्रधान कार्यालयमा कहाँ राख्ने यो सिसी क्यामेरा ?’

‘अहिले ठाउँठाउँमा प्रहरीले सिसी क्यामेरा जडान गरिरहेको छ नि । त्यो जम्मै क्यामेराको मोनिटरिङ गर्ने एउटा छुट्टै कोठा त होला नि । हुँदैन ?’

‘त्यो त भइहाल्छ नि, नभए मोनिटरिङ कसरी हुन्छ ?’

‘होऽऽ, त्यही सिसी क्यामेराको मोनिटरिङ गर्ने कोठामा यो सिसी क्यामेरा राख्ने हो,’ अधबैँसे अलि खुल्न थाले, ‘वास्तवमा साँच्चैको गल्ती कहाँ भइरहेको छ र अपराध कहाँबाट सुरु हुँदैछ भन्ने कुरा अरु सिसी क्यामेराले होइन, यो सिसी क्यामेराले पत्ता लगाउँछ । बुझ्नुभो ?’

यति भन्दै अधबैँसे ठूलो सिसी क्यामेरा त्यहीँ छाडेर हिँडे ।

तर उनले उपहार दिएर गएको त्यो ठूलो सिसी क्यामेरा प्रहरी प्रधान कार्यालयले जडान गर्‍यो/गरेन, त्यो भने

अज्ञात नै छ ।

प्रकाशित: श्रावण १७, २०७६

×