लुकुम मेलामा झाँक्री भेला

- महेश केसी/रुकुम

अग्लो पहाडको फेदीमा छ, लुकुम गाउँ । संघीयताले जन्माएको देशकै कान्छो जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका–१ मा पर्ने यो ठाउामा खाम मगर जातिको बसोबास छ । यिनै मगर जातिको मौलिक संस्कृति हो, झाँक्री मेला । धामी–झाँक्री रुढीवादी र अन्धविश्वासी जीवनपद्धति नै हो तर यहाँका लागि भने मौलिक संस्कृति पनि हो । हरेक वर्ष साउन पहिलो साता लुकुम गाउँमा झाँक्री मेला लाग्ने गर्छ ।

गाउँछेउको पूर्वतिर अवस्थित चौतारोमा अग्ला धुपी सल्लाका रूख छन्, त्यही धुपी सल्ला भएको ठाउँमा भेला हुन्छन्, गाउँभरका झाँक्री । १ र २ साउनलाई छाडेर आउने सोम, मंगल र शनिबारमध्ये एक दिन यो मेला आयोजना गर्ने प्रचलन रहेको बताउँछन्, झाँक्री समूहका अध्यक्ष जोधे पुन । उनका अनुसार धेरै वर्षपहिले यहाँका स्थानीयलाई भूतप्रेतले सताएपछि त्यसलाई भगाउन तन्त्रमन्त्र प्रयोग गरिएको थियो । तिनै झाँक्रीले गाउँबाट भूतलाई लेखेटेको खुसियालीमा हरेक वर्ष यो मेला आयोजना गरिन्छ । “विधि जानेका र तन्त्रमन्त्र बुझेका झाँक्री घरघरै भएको लुकुम गाउँमा यस वर्ष पनि ३० जना झाँक्री एकै ठाउँ भेला भएर नाचे,” गाउँका पूर्वशिक्षक रुजिधन घर्ती मगर सुनाउँछन्, “मुहारमा अनुहारमा मोसो दलेका र झाँक्री वस्त्र पहिरिएका तान्त्रिकको यो जमघट यहाँको मौलिक संस्कृति र चिनारी हो ।”

गाउँमा रहेका हरेक थरबाट कम्तीमा एक जना झाँक्री नाच्न तयार हुनुपर्छ । झाँक्री पठाउन नसक्ने थरलाई भने जरिवाना तोकिएको अध्यक्ष पुन बताउँछन् । झाँक्री भएर पनि सहभागी नबनाउनेलाई १ हजार र झाँक्री नै नभएकालाई ७ सय रुपैयाँ जरिवाना लाग्ने नियम रहेको सुनाउँछन्, पुन । जरिवानाबापतको रकम भने त्यही झाँक्री समूहले मेला व्यवस्थापनमा खर्चिन्छ ।

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाका अनुसार यस्ता संस्कारमा झाँक्रीका सहयोगी अर्थात् चेलालाई भान्जा भन्ने चलन छ । यिनै भान्जा पछि गएर झाँक्री बन्छन् । भान्जा बन्न चाहनेमा धेरैजसो युवा हुन्छन् ।

पाहुनालाई सिस्नोले पोलेर स्वागत गरिने यो मेलामा मगन हुन स्थानीय मात्र होइन, वरपरका गाउँले पनि मरिहत्ते गर्छन् ।

तस्बिरहरु हेर्नुहोस :

प्रकाशित: श्रावण १९, २०७६

×