एक पत्रिकाको पुनर्जन्म

- राजकुमार बानियाँ

हालै एक बंगलादेशी लेखकले नेपाली पत्रिका खोज्दै जाँदा ठमेलमा भेटेछन्, प्रतीक । यो कविताप्रधान त्रैमासिकको पछिल्लो अंकमा रुसी १३, फ्रेन्च ११, नेपाली, भारतीय र अन्य १३ कविका साथै न्युयोर्क टाइम्स बेस्ट सेलर सुसन सापिरोको द बाइलाइन बाइबलको समीक्षा देखेर चमत्कृत भएछन् । अनि इमेल पठाएछन्, ‘के यसैगरी बंगलादेशी कविहरुको विशेषांक निकाल्न सकिँदैन ?’

ती बंगलादेशी लेखकको इमेलले प्रतीकका सम्पादक युयुत्सु शर्मा, ५९, सुरुमा हौसिए पनि ‘ओके’ भन्न हच्किए किनभने दक्षिण एसियाली कविहरुको गनगनले उनी हत्तुहैरान भइसकेका छन् । सुनाउँछन्, “यताका प्रायः लेखक दुःखी आत्माजस्ता छन् । अनौठो अहंकार र कुण्ठाले भरिएका ।”

केही पहिले ‘कन्टेम्पोररी युरोपियन पोयट्री’ विशेषांक निकाल्दा १४ भारतीय कविलाई पनि समेटेका रहेछन् । तर कविहरुले  गुनासो गरेछन्, ‘युरोपियनलाई ज्यादै ठूलो बनाएछौ, हाम्रो त कभरमा नाम मात्र होइन, फोटो पनि हाल्नुपर्थ्यो ।’ युयुत्सुले त्यसमा विवाद गरेनन्, बरु ‘गल्ती भयो हजुर, माफी पाऊँ’ भन्दै उम्किए ।

विश्व साहित्यमा के भइरहेको छ ? क–कसले के लेखिरहेका छन् ? विभिन्न अन्तर्राष्ट्रिय भाषाका कविताको इतिहास र वर्तमान अनुहार कस्तो छ ? के–कस्ता किताब निस्किएका छन् ? तिनको समीक्षाका साथै गतिविधि समेटिएका हुन्छन्, प्रतीकमा ।

यसको खास विशेषता हो, अनुवाद । बाहिरका साहित्य अनुवाद भएर आउँछन् भने यहाँका साहित्य अनुवाद भएर जान्छन् । “अनुवाद मात्रै ठूलो कुरा होइन, के अनुवाद गर्ने र कसरी गर्ने भन्ने बुझ्नु जरुरी छ,” युयुत्सुको अनुभव छ, “यहाँका कतिपय अंग्रेजीबाज आफ्नै कमसल रचना अनुवाद गरेर आत्मरतिमा रमाइरहेका छन् ।”

प्रतीकसँग युयुत्सुको सहयात्राले दुई दशक नाघिसक्यो । हरि अधिकारी संस्थापक सम्पादक रहेको यस पत्रिकामा मोहन कोइराला, परशु प्रधान, ध्रुव सापकोटाजस्ता हस्ती पनि जोडिएका थिए । प्राध्यापन छाडेर बसेका बेला युयुत्सुले यसको नेतृत्व लिए, ०४४ मा । नेपाली साहित्यलाई अंग्रेजी भाषामा अनुवाद गरी विश्वमञ्चमा उभ्याउने मनसुबा भए पनि आफ्नै खल्ती टकटकाउनुको विकल्प थिएन । एक हिसाबमा पल्लेदारीको जस्तो थियो उनको काम । लेखकहरुका रचना माग्यो, अनुवाद गर्‍यो, प्रेस पठायो, प्रुफ हेर्‍यो अनि पत्रिका झोलामा हालेर बाँड्दै हिँड्यो ।

सुरुको अंकमा उनले आवरणमा लाखेको चित्र राखेर निकाले, ‘न्यू राइटिङ फ्रम नेपाल’ । देवकोटा, रिमाल, भूपी, माधव घिमिरे, दुर्गालाल श्रेष्ठ, मञ्जुल, विमल निभा, हरि अधिकारी, प्रतिसरा सायमीका कविता अनि तारानाथ शर्मा र जगदीशशमशेरका गद्य लेख समेटिएको थियो त्यसमा । अरु अंकमा उनले विजयबहादुर मल्ल, सीता पाण्डे, शैलेन्द्र साकार, ध्रुवचन्द्र गौतम आदिका कथा अनुवाद गरेर छापे । उनले यताका कविता मात्र अनुवाद गरेनन्, कमलेश्वर, उदय प्रकाश, निर्मल बर्मा, जेपी दास, गिरधर राठी, विष्णु प्रभाकर, रघुवीर सहाय, शशिकान्त महापात्र आदि भारतीय लेखकका रचना पनि अंग्रेजीमा अनुवाद गरेर छापे ।

केही वर्ष पत्रिका त्यसरी नै चल्यो । नयाँ अंकको प्रुफ पढ्दै थिए प्रेसमा । अचानक आमा बिरामी भएको खबर आयो । उनी हडबडाउँदै भारततिर दौडे । आमाको निधन भइसकेछ । आमाको अन्तिम बोली सुन्न नपाएको आत्मग्लानिले युयुत्सुलाई पत्रिकाको कामप्रति नै वितृष्णा जागेर आयो । केही वर्ष उनले प्रतीकलाई सम्झन पनि चाहेनन् । पत्रिका निकाल्यो भने फेरि केही अपशकुन आइलाग्छ कि भन्ने त्रास छायो उनमा ।

अंग्रेजी पत्रपत्रिकामा स्तम्भ लेखेर रोजीरोटी चलाइरहेका युयुत्सुको सन् २००७ मा पोयट्री लन्डनका सम्पादक पास्कल पेटिटसित भेट भयो, बेलायतमा । पेटिटले अनौठो प्रश्न सोधे– ‘नेपालमा पनि कवि छन् र ?’ वाचाल युयुत्सुले पनि स्वाद फेरिहाले– ‘नेपालमा पनि शेक्सपियर, यिट्स, वर्डस्वर्थ, कलरिजपछिका बेलायती कविको नामै थाहा छैन ।’

कुरा चल्दै जाँदा पेटिटले यो बेखबरी तोड्न बेलायती कविको विशेषांक निकाल्न उक्साए । जिरो बजेटमा चलिरहेका युयुत्सु हच्किए, बेलायतका नामी कविहरु निःशुल्क रचना छाप्न तयार होलान्

र ? पेटिटकै कारण विश्वको एउटा कुना काठमाडौँबाट कविता छाप्न कविहरु लालायित भए र पेटिटको अतिथि सम्पादकत्वमा २६ बेलायती कविको विशेषांकसहित प्रतीकको पुनर्जन्म भयो । युयुत्सु भन्छन्, “मैले आफ्नो पत्रिकामा बेलायतका राष्ट्रकवि भइसकेकाहरुका कविता छापिने कल्पनासमेत गरेको थिइनँ ।”

यसैगरी प्रतीक घरी डच कविहरुको विशेषांक बोकेर आयो, घरी भारत र चीनको विशेषांक । न्युयोर्क राइटर्स वर्कसपले काठमाडौँको पत्रिका भनेर ५ सय डलरको विज्ञापन उपलब्ध गराउँदा उनी कति खुसी भए भन्ने लेखाजोखा नै छैन । त्यसो त उनले पैसाका लागिभन्दा पनि सोखका निम्ति निकालेका हुन् पत्रिका । अब त यो जीवनशैली नै भइसकेको छ ।

युयुत्सुको आदर्श साहित्यिक पत्रिका हो, द प्यारिस रिभ्यू । सुरुमा फ्रान्स अनि पछि अमेरिका मुकाम भएको पत्रिका । लेखकको प्रमाणपत्र मात्र होइन, साहित्यको बहस अनि अन्तर्राष्ट्रिय स्तरको आदानप्रदान पनि गराउने पत्रिका । दैनिक अखबारका शनिबारे परिशिष्टांकको हूलमुलमा साना लगानीका साहित्यिक पत्रिकाको दयनीय अवस्थाले उनलाई भतभती पोल्छ । शारदा, रुपरेखा आदि नामी साहित्यिक पत्रिकाको योगदान उनी भुल्न सक्दैनन् । सरकारी स्तरबाट गरिमा लगभग बन्द छ भने मधुपर्क जेनतेन चलिरहेको छ । साहित्यिक आन्दोलनका रुपमा रहेको प्रतीकलाई अझ राम्रो प्लेटफर्म बनाउने उनको कोसिस जारी छ ।

प्रतीकका सम्पादक युयुत्सु आफैँ रोलर कस्टर मसिनजस्ता लाग्छन्  । कविता र स्तम्भ लेख्छन्, अनुवाद र सम्पादन गर्छन् । किताब पसल चलाउँछन् । अमेरिकादेखि चीनसम्मका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर भएर पढाउँछन् पनि । दक्षिण एसियाको दुःख उनलाई थाहा छ– यहाँ लेखकले के–के गर्नुपर्छ होइन, पाए/भेटेसम्मका सबथोक भ्याउनुपर्छ । नभएर जिन्दगीको गाडी नै चल्दैन ।

“कमलादी, गणेशस्थाननेर नेवार दाजुभाइको एककोठे लेटर प्रेसमा सिसाका अक्षर जोडेर पत्रिका निकालेको अनि सेतो सर्ट कालै हुने गरी प्रुफ पढेको हिजैजस्तो लाग्छ,” उनी झल्याँस्स हुन्छन्, “अहिले म भारतको अत्याधुनिक प्रेसमा छापेर अमेजनडटकममा आनन्दले पत्रिका बेचिरहेको छु ।”

प्रकाशित: श्रावण २०, २०७६

ट्याग: रङ